भर्खरै :

क्युवाली नयाँ नेतृत्वलाई शुभकामना !

क्युवाली कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशन सोमबार सम्पन्न भयो । आठौँ महाधिवेशन विभिन्न कारणले महत्वपूर्ण बन्यो । फाल्गुन्सिओ बाटिस्टाको तानाशाही सरकारलाई अपदस्थ गरी सन् १९५९ को जनवरी १ मा फिडेल क्यास्ट्रो नेतृत्वको क्रान्तिकारी गुरिल्ला सेनाले हवाना कब्जा गरेको थियो । त्यही बेलाबाट क्युवामा समाजवाद स्थापनाको शिलशिला सुरु भएको थियो । क्रान्तिको नेतृत्व गरेका क्रान्तिकारी नेताहरूले नै क्युवाको नेतृत्व गर्दै आउनुभएको थियो । फिडेल क्यास्ट्रो, चे ग्वे भारा, राउल क्यास्ट्रो, भिल्मा एस्पिन, सेलिया सान्चेजलगायतले समाजवादी क्रान्तिको नेतृत्व गर्नुभएको थियो । उहाँहरूमध्ये कति जना संसारबाट बिदा भइसक्नुभयो भने कति जना सम्मानित जीवन बाँच्दै हुनुहुन्छ । क्रान्ति गर्नु जति महत्वपूर्ण कुरा हो, क्रान्तिको लागि सक्षम उत्तराधिकारी तयार गर्नु पनि त्यत्तिकै महत्वको विषय हो । विशेषतः सोभियत सङ्घमा संशोधनवादको उदयपश्चात् समाजवादी क्रान्तिको पराजयबाट संसारभरका कम्युनिस्ट र समाजवादीहरूले उत्तराधिकारीको प्रश्नलाई गम्भीरतापूर्वक लिने गरेका छन् । सक्षम र क्रान्तिकारी उत्तराधिकारी तयार गर्न नसके अघिल्लो पुस्ताले गरेका समर्पण, बलिदान र उपलब्धि नष्टमात्र हुने होइन, क्रान्ति र क्रान्तिकारी नेतृत्वको बदनाम हुने गर्छ ।
उत्तराधिकारीको प्रश्न क्युवामा पनि लामो समयदेखि छलफलको विषय बन्दै आएको थियो । क्रान्तिको निरन्तरताको निम्ति क्रान्तिकारी नयाँ पुस्ता बनाउनुपर्नेमा क्युवाली क्रान्तिको नेता फिडेल क्यास्ट्रोले आफू नेतृत्वमा छँदै जोड दिने गर्नुहुन्थ्यो । फिडेलपछि क्युवाली क्रान्तिको नेतृत्व क्रान्तिकारी योद्धा राउल क्यास्ट्रोले गर्नुभयो । नाताले राउल फिडेलका भाइ हुनुहुन्छ । तर, राउल आफै सिएरा माइस्ट्राको गुरिल्ला युद्धका योद्धा हुनुहुन्थ्यो । त्यसकारण, फिडेलको शारीरिक अशक्ततापछि क्रान्तिलाई अगाडि बढाउने जिम्मेवारी उहाँको काँधमा आइप¥यो । राउलले त्यो ऐतिहासिक जिम्मेवारीको सफलतापूर्वक निर्वाहमात्र गर्नुभएन । बरु, गुरिल्ला युद्धमा प्रत्यक्ष सहभागी भएको पुस्तापछि नयाँ क्रान्तिकारी पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न सफल हुनुभयो । सोमबार सम्पन्न क्युवाली कम्युनिस्ट पार्टीको महाधिवेशनबाट पार्टीको सर्वोच्च पद प्रथम सचिवमा मिगुएल डाएज कानललाई निर्वाचित गरेको छ । कानल क्युवाका राष्ट्रपति पनि हुनुहुन्छ । ‘ऐतिहासिक पुस्ता’ बाट नयाँ पुस्तालाई नेतृत्व भएको यो पहिलो अवसर बनेको छ ।
नयाँ नेतृत्वसामु निःसन्देह चुनौतीको ठुलो पहाड नै छ । एकातिर क्युवाली समाजवादी क्रान्तिको मूल भावनाबाट कति पनि तलमाथि नगरी सिद्धान्तनिष्ठ ढङ्गले पार्टी र देशलाई अघि बढाउनुपर्ने चुनौती छ भने अर्कोतिर बदलिँदो विश्व परिस्थितिअनुसार क्युवाली समाजवादलाई अझ दरिलो र अद्यावधिक बनाउने जिम्मेवारी पनि यो पुस्ताले सम्हाल्नुपर्नेछ । झट्ट हेर्दा कतिलाई यी दुई कुरा विरोधाभाषपूर्ण लाग्न सक्ला । तर, क्युवाको सन्दर्भ, ऐतिहासिक शिलशिलाको अध्ययन गर्दा यी दुई कुरा वास्तवमा परिपूरक हुन् । क्युवाली समाजवाद विकसित परिस्थितिअनुसार अद्यावधिक बन्ने कुरा जति सत्य हो, त्यसरी नै क्युवाली समाजवादको मूल भावनाअनुसार अघि बढेमात्र क्युवा बदलिंदो परिस्थितिमा पनि क्युवाली गौरव जोगाउन सक्षम हुनसक्छ ।
क्युवासमक्ष कोभिड–१९ को बढ्दो सङ्क्रमण ठुलो चुनौती हो भने विगत ६० वर्षदेखि सामना गर्दै आएको संरा अमेरिकी नाकाबन्दी अर्को चुनौती हो । अनुदार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पद त्याग्न केही समयअघि क्युवामाथिको नाकाबन्दीलाई पुनः थोपर्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।
इतिहासका हजारौँ प्रतिकूलता र चुनौतीको सामना गरेर संरा अमेरिकी साम्राज्यवादको नाकैमूनि समाजवादको झन्डा फहराइरहेको क्युवाको कम्युनिस्ट पार्टीको निम्ति चुनौती भनेकै जीवन हो । पार्टी, समाजवाद र राज्यलाई अघि बढाउनु छ भने ती सबै चुनौतीको सामना गर्नु र विजयी हुुनुको अर्को विकल्प छैन । ‘समाजवाद वा मृत्यु’ को क्रान्तिकारी स्कुलिङमा हुर्केको क्युवाली नयाँ नेतृत्वले कुनै पनि चुनौतीको अदम्य प्रतिरोध गर्ने विश्वास छ । नयाँ नेतृत्वलाई शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *