भर्खरै :

के नेपालमा पनि भारतकै अवस्था निम्त्याउने हो ?

भारतमा सङ्कटको अवस्था
सन्दर्भ भारतमा देखिएको कोरोनाको सुनामीको हो । केही सातादेखि भारतमा कोरोना भाइसबाट सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या ह्वात्तै बढेको छ । जनवरीमा कोभिड–१९ पुष्टि हुने सङ्ख्या दैनिक २०,००० भन्दा कम थियो तर अहिले सङ्ख्या दैनिक तीन लाख छुन लागेको अवस्था छ । भारतमा बितेको २४ घण्टामा दुई लाख ७० हजार जनाभन्दा बढीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको तथ्याङ्क सोमबार बिहान सरकारले सार्वजनिक ग¥यो । सो अवधिमा १,६१९ जनाको कोभिडसँग सम्बन्धित कारणले मृत्यु भएको बताइएको छ । अहिलेसम्म भारतमा डेढ करोडभन्दा बढी व्यक्तिमा कोभिड पुष्टि भइसकेको छ । तीमध्ये एक लाख ७८ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारत सरकारको तथ्याङ्कअनुसार अहिले देशभरि पुष्टि भएका १९ लाख २९,००० भन्दा बढी सक्रिय सङ्क्रमित छन् । मार्च महिनाको सुरुतिर भारतका स्वास्थ्य मन्त्री हर्षवर्धनले आफ्नो मुलुक कोरोना भाइरस महामारीमाथि विजयको ‘अन्तिम चरण’मा रहेको घोषणा गरेका थिए । उनले ‘अन्तर्राष्ट्रिय सहकार्यका विषयमा विश्वमै उदाहरणीय’ भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको प्रशंसा गरेका थिए । जनवरी महिनाबाटै भारतले विभिन्न देशमा कोभिड–१९ विरुद्धको खोप निर्यात गर्न थाल्यो जसलाई ‘खोप कूटनीति’ का रूपमा प्रशंसा गरिएको थियो ।
गत सेप्टेम्बर महिनाको मध्यतिर भारतमा एकैदिन ९३,००० भन्दा बढी सङ्क्रमित भइरहेका थिए । पछि भने सङ्क्रमित हुनेहरूको सङ्ख्या लगातार घटिरहेको थियो । २०२१ को फेब्रुअरी महिनासम्म आइपुग्दा भारतमा प्रतिदिन औसतमा ११,००० नयाँ सङ्क्रमित थपिएका थिए । सङ्क्रमण कम भएको सत्य थियो तर रोकिएकै भने थिएन । लक्षण नदेखिएका सङ्क्रमितले परीक्षण नगराउँदा र कन्टयाक्ट ट्रेसिङमा बेवास्ता गर्दा पनि कममात्र सङ्क्रमित देखिएका थिए । भाइरसलाई नियन्त्रण गर्न सफल भएको विषयको उत्साह गत वर्षबाटै बढिरहेको थियो । सत्तासीन राजनीतिज्ञ, नीतिनिर्माताहरू र सञ्चारमाध्यमहरूको एउटा समूहले भारत साँच्चै खतराबाट बाहिरिएको विश्वास गरेका थिए ।
फेब्रुअरी महिनाको अन्त्यतिर भारतका पाँचवटा प्रमुख राज्यमा निर्वाचनको घोषणा गरियो जहाँ ८२४ सीटमा प्रतिनिधि चुन्नका लागि मतदान गर्न १८.६ करोडभन्दा बढी मतदाताहरू रहेका छन् । एक महिनासम्म लाग्ने निर्वाचन मार्च २७ तारिखबाट सुरु भएको थियो । पश्चिम बङ्गालमा निर्वाचन आठ चरणमा सम्पन्न हुने गरी तोकियो  ।
निर्वाचनको प्रचारप्रसार सुरु हुँदा सुरक्षा मापदण्ड अनि सामाजिक दूरी कायम गरिएको थिएन । मार्च महिनाको मध्यतिर क्रिकेट बोर्डले १,३०,००० जनाभन्दा बढी मानिसलाई अति भीड हुने गरी भारत र इङल्यान्डबीच आयोजित दुईवटा खेल हेर्न दिएको थियो । अधिकांश दर्शकले मास्क लगाएका थिएनन् । उक्त खेल गुजरात राज्यको नरेन्द्र मोदी रङ्गशालामा सम्पन्न भएको थियो । एक महिनाभन्दा कम समयमा कोरोना भाइरसको प्रकोप पुरानै अवस्थामा फर्किन थाल्यो । भारत कोरोना भाइरस महामारीको दोस्रो लहरमा प्रवेश गरिसकेको थियो ।
अप्रिल महिनाको मध्यतिर भारतमा औसतमा प्रतिदिन एक लाख नयाँ सङ्क्रमित बढिरहेका थिए । अप्रिल १५ तारिखमा भारतमा एकैदिन दुई लाख सङ्क्रमित थपिए जुन एकैदिन थपिएको सर्वाधिक सङ्ख्या थियो । औसतमा प्रत्येक दिन ६६० भन्दा बढीले ज्यान गुमाइरहेका थिए । द लान्सिट कोभिड–१९ कमिशनका अनुसार सङ्क्रमण फैलिने क्रम नियन्त्रण गर्न नसके जुन महिनाको पहिलो हप्तासम्ममा भारतमा प्रत्येक दिन २,३०० जनाभन्दा बढी मानिसको मृत्यु हुन सक्छ ।
भारत अहिले जनस्वास्थ्यको हिसाबले सङ्कटकालीन अवस्थामा छ । अस्पतालमा चाप निकै बढेको छ । अस्पतालमा बिरामी राख्ने शय्या, औषधि, अक्सिजन र परीक्षणको अभाव चुलिएको छ । बिरामीका लागि अक्सिजन उपलब्ध नभएपछि भारत सरकारले ५० हजार टन अक्सिजन आयात गर्ने घोषणा गरेको छ । परीक्षण र उपचारका लागि सर्वसाधारण भारतीयले निकै सङ्घर्ष गर्नु परिरहेको छ । अक्सिजन र औषधिको कालोबजारी भइरहेको छ भने परीक्षणको नतिजा आउन कैयौँ दिन लागिरहेको छ । मृत्युको दर लगातार बढिरहेको छ । लास जलाउन घाटमा ठाउँ मिलिरहेको छैन, सडकमा नै लास जलाउन थालिएका छन् । लास जलाउन दाउराको अभाव देखिएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड व्यापक उल्लङ्घन भइरहेका छन् ।
भारतको खोप अभियान पनि यतिखेर समस्यामा छ । प्रारम्भिक दिनहरूमा भारतमै विकसित खोपको प्रभावकारिताबारे विवाद उत्पन्न भयो । भारतमा खोप अभियानलाई तीव्रता दिँदै गत हप्तासम्ममा १० करोड जनाभन्दा बढीलाई खोप दिँदा खोपको अभाव भइरहेको छ । विश्वकै सबैभन्दा ठुलो खोप उत्पादक दाबी गरेको भारतको सीरम इन्स्टिच्युट अफ इन्डियाले आफूसँग आवश्यक रकमको अभाव रहेकाले जून महिनाअघि खोप उत्पादन बढाउन सक्ने अवस्था नरहेको जनाएको छ । तर, भारत सरकारले त्यसलाई सुनिरहेको छैन बरु सरकारले आस्ट्राजेनेका खोपको निर्यातमा अस्थायीरूपमा प्रतिबन्ध लगाएको छ भने अन्य देशहरूमा उत्पादन गरिएका खोपहरूको आयात पनि खुला गरेको छ ।
अनि यी सबै कुराबीच आर्थिक हिसाबले विश्वकै सबैभन्दा व्यापक व्यावसायिक क्रिकेट प्रतियोगिता –आईपीएल प्रत्येक साँझ बन्द रङ्गशालामा भइरहेको छ, दशौँ हजार कार्यकर्ता निर्वाचनको प्रचारप्रसारमा जुटेका, हजारौँ मानिसहरू कुम्भमेलामा सहभागी भइरहेका छन् । भारतको दोस्रो लहर बेवास्ता, विवाह र अन्य सामाजिक कार्यक्रम जानु अनि राजनीतिक ¥याली र धार्मिक भेला गर्न दिएको सरकारको दोहोरो अर्थ लाग्ने खाले सन्देशका कारण बढेको हो । सङ्क्रमण घटेसँगै खोप लगाउनेहरूको सङ्ख्या पनि घटेको थियो । जुलाई महिनासम्ममा २५ करोड मानिसलाई खोप लगाउने लक्ष्य लिएको अभियानको गति पनि सुस्त पारिएको थियो ।
कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर अपरिहार्य रहेको भए पनि भारत सरकारले त्यसलाई सार्न वा त्यो आउने समय ढिला गराउन सक्ने र त्यसको प्रभाव कम गराउन सक्ने मौका थियो तर भारत सरकारले त्यसलाई गरेको आरोप विज्ञहरूको छ । भारतमा भाइरसको नयाँ प्रकारबारे महाराष्ट्रको रिपोर्टबाट गत फेब्रुअरीमै थाहा भएकोथियो तर भारत सरकारले त्यसलाई प्रारम्भिक दिनहरूमा अस्वीकार गरेको थियो ।
सङ्कटको स्थितितिर नेपाल
भारतको महाराष्ट्र, उत्तर प्रदेशलगायत राज्यमा सङ्क्रमण व्यापक भएपछि त्यहाँ ज्यालादारी काम गरिरहेका धेरै नेपालीहरू स्वदेश फर्कन थालेका थिए । तिनीहरूमध्ये धेरै कोरोना भाइरसको नयाँ प्रकारको वाहक बनेको अनुमान थियो । भारत– नेपाल सीमा नाकामा कडाइपूर्वक जाँच गरिएन । लक्षण देखिएर परीक्षण गरेकाहरूमा भने त्यो पुष्टि भयो ।
भारतमा पहिलो पटक भेटिएको कोरोना भाइरसको नयाँ भेरिअन्ट (प्रकार) बेलायतमा पत्ता लागेको हो । स्वास्थ्य अधिकारीहरूले त्यसमा भएको आनुवांशिक परिवर्तनले त्यसलाई झन् छिटो फैलिने बनाएको हुनसक्ने र यसअघिको सङ्क्रमण वा वर्तमान खोपले पूर्ण सुरक्षा गर्न नसक्ने बताएका छन् । यसबारेमा सुनिश्चिचताको निम्ति थप अध्ययनहरू आवश्यक रहेको बताइएको छ ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न भन्दै गत वर्षको चैतमा गरिएको लकडाउन यता नेपाल भारत सीमा क्षेत्रमा यात्रुहरू बोकेका सवारी साधनको आवतजावत बन्द छ तर अधिकांश नाकाबाट मानिसहरू हिँडेरै आवतजावत गरिरहेको सबैले देखिरहेकै छन् । झन्डै एक वर्षदेखि रोकिएका यात्रुवाहक सवारीसाधनहरूलाई खुला गर्ने गृहकार्य सरकारी निकायहरूले गरिरहेको पनि बताइएको छ । भारतमा कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्न थालेपछि त्यहाँ काम गर्न गएका नेपालीहरू स्वदेश फर्किन सक्ने सम्भावनाको आकलन गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सतर्कता अपनाइएको नेपाली अधिकारीहरूले बताएपनि त्यो औपचारिकताभन्दा बढी साबित हुन सकेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपाल–भारत सीमामा रहेका १३ वटा हेल्थ डेस्कलाई सक्रिय बनाइएको छ । खासगरी लक्षणसहितका बिरामीहरू आएको खण्डमा उनीहरूको एन्टिजन परीक्षण गर्ने र उनीहरू प्रवेश गरेपछि विदेशबाट नेपाल आएकाहरूले पालना गर्नुपर्ने क्वारेन्टिनका नियमहरू कडारूपमा पालना गराउन स्थानीय निकाय र सम्बन्धित पालिकाहरूको सहयोग लिने नीति आफूहरूले लिन लागेको बताइएको छ । अधिकारीहरूका अनुसार कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा, रूपेडिया, जमुनाहा, कृष्णनगर र काँकडभिट्टाजस्ता नाकाबाट धेरै मानिस आउने हुँदा हेल्थ डेस्क राखिएका छन् ।
भारतको उत्तराखण्ड राज्यको हरिद्वारमा दुई महिनासम्म लाग्ने र हाल लागिरहेको कुम्भ मेलाले पनि सङ्क्रमण व्यापक बनाउन निकै राम्रो भूमिका खेलिरहेको छ । कुम्भ मेलामा नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह दम्पतिलगायत ठुलो सङ्ख्यामा नेपालीहरू पनि पुगेका छन् । पूर्व राजा ज्ञानेन्द्र शाह दम्पत्तिलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भइसकेको छ, अरू धेरैजना पनि सङ्क्रमण बोकेर नेपाल फर्केका नहोलान् भन्न सकिन्न ।
स्वास्थ्य मन्त्रालयले दैनिक ११ हजार नेपाली कोभिड–१९ सङ्क्रमित हुने चेतावनी दिएको समाचार प्रकाशित भयो । स्वास्थ्य मन्त्रालयको यो चेतावनी नेपाल सरकारकै हो । सरकारले जनतालाई कुनै प्रलयको चेतावनी दिनेभन्दा पनि रोक्न आवश्यक कदम उठाउने हो । स्वास्थ्य मन्त्रालयको थप चेतावनी हो – असारसम्म ६ लाख सङक्रमित हुने अनुमान छ । सीमापारिबाट आएकालाई १० दिन क्वारेन्टिनमा राख्नुपर्दछ । नेपाल सरकार भने कोरोना महामारीको अर्को लहर रोक्न कुनै कदम प्रभावकारीरूपमा चालिरहेको देखिंदैन बरु जोखिम बढिरहेकै ठाउँहरूमा खेलाँची भइरहेको देखिन्छ । कोरोना भाइरसको नयाँ प्रकारले बालबालिका र युवा–युवतीहरू बढी सङ्क्रमित भएको देखिएको छ तर स्थानीय तहका सरकारहरू, विद्यालय सञ्चालकहरू, शिक्षक र अभिभावकहरू सङ्क्रमण रोक्नका लागि निश्चित अवधि विद्यालय बन्द गर्न तयार देखिएका छैनन् ।
नेपालमा हप्तादिनदेखि हरेक दिन १५ सत्र्न्दा माथि सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा १७ सय ३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको मङ्गलबार जनाइएको छ । पछिल्लो २४ घण्टामा ११ जनाको कोभिडकै कारण मृत्यु भएको प्रतिवेदन छ । ८ हजार ५५ जनाको पीसीआर तथा ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः १६६७ र ६९ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा २ लाख ८७ हजार ५६७ जनामा सङ्क्रमित पुगेका छन् भने कोभिडकै कारण ३१ सय २ जनाको मृत्यु भइसकेको छ । हाल ५ हजार ६५९ जना आइसोलेसनमा रहेका छन् । यसरी तथ्याङ्कमा आएकै सङ्ख्या जतिमात्र सङ्क्रमित होलान् भनी अनुमान गर्नु यथार्थमाथि आँखा चिम्लनुमात्र हो । वास्तविक सङ्क्रमित योभन्दा धेरै बढी हुनसक्छ । भाइरसको सङ्क्रमण बढेर दीर्घरोगी र रूग्ण स्वास्थ्य अवस्था भएकाहरू सङ्क्रमित भएपछि जटिल अवस्थाका बिरामी र मृत्युदर बढ्नेमा कुनै शङ्का छैन । समयमै सङ्क्रमणको कडी तोड्ने कदम नचालेर के नेपालमा पनि भारतकै अवस्था निम्त्याउने हो ? यसरी स्वास्थ्य सङ्कटको स्थितितिर बढेमा नेपालले त्यसको ठुलो मूल्य चुकाउनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *