भर्खरै :

लेनिनको व्यक्तित्व

  • बैशाख ९, २०७८
  • हरिबहादुर श्रेष्ठ
  • विचार

लेनिन एक साधारण व्यक्तिजस्तै ठिक्कै जीउको हुनुहुन्थ्यो । उहाँ सोझो र प्रस्ट भाषामा बोल्नुहुन्नथ्यो । खराब कुराको खोट देखाउन उहाँ डराउनुहुन्थ्यो । उहाँ जनतासँग हेलमेल गर्नुहुन्थ्यो । उहाँ आफ्नो सिद्धान्तमा द¥हो हुनुहुन्थ्यो । उहाँलाई रुसको परिस्थितिबारे स–साना कुरासमेत थाहा थियो । उहाँलाई शत्रु र मित्रको राम्रो ज्ञान थियो । रुसको भूमि समस्याबारे उहाँलाई गहिरो जानकारी थियो । उहाँ घटनाबाट पछि आउने परिणामको विषयमा पनि सोच्नुहुन्थ्यो । सिद्धान्त नभएको बहुमत र जाली नेताहरूको विरोधमा उहाँले पार्टीभित्र छिनोफानो हुने गरी सङ्घर्ष गर्नुभयो ।
आपतको बेलामा पनि उहाँ अलमलिनु र हतारिहुन्नथ्यो । त्यस्तो बेलामा उहाँ साहसबाट काम लिनुहुुन्थ्यो । जनताको क्रान्तिकारी भावना र शक्तिमा उहाँ ठुलो विश्वास राख्नुहुन्थ्यो । आफूभन्दा पुराना, तर खोटपूर्ण नीति लिएका, सिद्धान्तबाट तल झरेका नेताहरूलाई चर्काे आलोचना गर्न डराउनुहुन्नथ्यो । सिद्धान्तलाई नछोडी उहाँ जस्तोसुकै सङ्घर्ष गर्न तयार हुनुहुन्थ्यो । उहाँ सिद्धान्तलाई छोडेर शोषक वर्गसँग सम्झौता गर्नुहुन्नथ्यो ।
उहाँ रुसको मात्र होइन संसारका सबै मजदुर वर्गका नेता र गुरु हुनुहुन्थ्यो । उहाँले सुरु गर्नुभएको समाजवादको सङ्घर्षलाई स्टालिनले सम्हाल्नुभयो र सङ्घर्षलाई अगाडि बढाउँदै लैजानुभयो । पेट्रोग्राडका मजदुरहरूको अनुरोधमा पेट्रोग्राड सहरको नाम लेनिनग्राड राखियो ।
लेनिनबाट हामीलाई शिक्षा
लेनिनको शिक्षालाई लेनिनवाद भनिन्छ । स्टालिनले लेनिनवादलाई अगाडि बढाउनुभयो । यसकारण लेनिन र स्टालिनको शिक्षालाई लेनिनवाद भनिन्छ । लेनिन र स्टालिनले माक्र्सवादको अध्ययन गर्नुभयो र आफ्नो देशको परिस्थितिअनुसार सङ्घर्षमा लागू गर्नुभयो । मजदुर, किसान र सिपाहीहरूको माझमा सङ्गठन हुनुपर्छ । माक्र्सवादजस्तो क्रान्तिकारी सिद्धान्त बोकेको कम्युनिस्ट पार्टीले तिनीहरूलाई एकगठ गर्नुपर्छ । कम्युनिस्ट पार्टीकै रेखदेखमा सबै मिलेर सशस्त्र सङ्घर्ष गर्नुपर्छ, पुँजीपति वर्गको हुकुमलाई ध्वस्त पार्नुपर्छ र राज्य सत्तालाई सर्वहारा वर्गले कब्जा गर्नुपर्छ भनेर हामीलाई लेनिवादले सिकाउँछ । त्यसो गर्न लेनिन र स्टालिनले आफ्ना साथीहरू (बोल्शेविकहरू) लाई क्रान्ति र समाजवादको विषयमा तालिम दिनुभयो । माक्र्सवादबारे राम्रो ज्ञान दिलाउनुभयो । अनि, आफ्ना साथीहरूलाई मजदुर, किसान र सिपाहीहरूको माझमा राजनैतिक ज्ञान दिन सङ्गठन गर्न पठाउनुभयो । वोल्शेविकहरू कारखाना, गाउँ, ब्यारेक (छाउनी), अड्डा र स्कूल, कलेज र अनेक सङ्गठनहरूमा गएर काम गर्न थाले । वोल्शेविक कार्यकर्ताहरू आफ्नो घरवार त्यागेर जनताको सङ्गठनमा लागेका थिए र आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर मजदुर–किसान, सिपाही र जनताको दुःख–सुखसँग आफूलाई गाँसीदिन्थे । तिनीहरूले जनताको दैनिक जीवनको आर्थिक सङ्घर्ष सँगसँगै राजनैतिक सङ्घर्षलाई पनि अगाडि बढाउँथे, राजनैतिक सङ्घर्ष र आन्दोलन सँगसँगै हातहतियार बनाउने, त्यसलाई जम्मा गर्ने र सशस्त्र भिडन्तहरू पनि गर्थे । स–साना हड्ताल, सङ्घर्ष र आन्दोलनहरूबाट थुप्रै अनुभव हासिल गरे । धेरै धेरै कार्यकर्ताहरू अनुभवी क्रान्तिकारी बने । अनि पार्टीको निर्णयअनुसार पुँजीपति वर्गको हुकुममाथि हान्न र कब्जा गर्न सफल भए ।
सामन्तवाद र पुँजीवाद एउटै ढ्याकका खुकुरी र त्रिसुल हुन् । लेनिन सामन्तवाद र पुँजीवाद दुवैलाई आलोचना र विरोध गर्नुहुन्थ्यो । ‘मुख्य दुश्मन’ राजा जार हो भनेर पुँजीपति वर्ग र विदेशी पुँजीसँग मितेरी लाउनुहुन्नथ्यो । न त पुँजीपति वर्ग र विदेशी पुँजीलाई ‘मुख्य दुश्मन’ सम्झेर जार र सामन्तहरूसँग मितेरी लाउनुहुन्थ्यो ।
लेनिन साम्राज्यवादलाई सा¥है विरोध गर्नुहुन्थ्यो । त्यसको विरोधमा लड्न अरु देशका सर्वहारा वर्गसँग एक हुनुभयो । साम्राज्यवादको विरोधमा सङ्घर्ष नगर्ने र साम्राज्यवादी नीतिको समर्थन गर्ने समाजवादीहरूलाई उहाँले ‘समाजवादी–साम्राज्यवादीहरू’ वा ‘सामाजिक–साम्राज्यवादीहरू’ भन्नुभयो । साम्राज्यवादको विरोधमा लड्ने र अरू देशका सर्वहारा वर्गको सङ्घर्षलाई समर्थन गर्ने कुरामा उहाँ कहिले पनि ‘विदेशी कुरा’ र ‘बतासे कुरा’ भनेर पन्छाउने र भाग्ने गर्नुहुन्नथ्यो । उहाँ एक देशको सर्वहारा वर्गले अर्काे देशको सर्वहारा वर्गलाई समर्थन गर्ने कुरामा बल दिनुहुुन्थ्यो । त्यसलाई सर्वहारा अन्तर्राष्ट्रवाद भनिन्छ । लेनिनवाद पुँजीवादको अन्तिम अवस्था, साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद हो । यसकारण लेनिनवाद साम्राज्यवाद र सर्वहारा क्रान्तिको विज्ञान हो ।
तर लेनिन र स्टालिनको मृत्युपछि रुसी कम्युनिस्ट पार्टीका नेताहरूले लेनिन र स्टालिनको शिक्षाको उल्टो काम गर्न थाले । खु्रश्चेभ र ब्रेझनेभजस्ता ती रुसी नेताहरूले लेनिनवादको झन्डा बोकेको देखाए, मुखले समाजवादको फलाको गरे, तर काम भने पुँजीपति वर्ग र साम्राज्यवादीहरूले जस्तै गरे । यसकारण, ती रुसी नेताहरूलाई सामाजिक–साम्राज्यवादीहरू भनिए ।
त्यसकारण, नेपाली युवाहरूले पनि लेनिन र स्टालिनका शिक्षालाई राम्रोसँग अध्ययन गर्नुपर्छ र त्यसलाई व्यवहारमा लागु गर्नुपर्दछ ।
सन् १९९० तिर गोर्भाचोभ र एल्सिन भन्ने रुसी कम्युनिस्ट पार्टीका नेताहरूले रुसको कम्युनिस्ट पार्टीलाई नै विघटन गरे, समाजवादलाई नै त्यागे, सोभियत सङ्घलाई नै विघटन गरे । तिनीहरू कम्युनिस्ट आन्दोलनभित्र घुसेका पुँजीपति वर्ग र साम्राज्यवादीहरूका दलाल र विश्वासघाती हुन् । आज रुस र पूर्व सोभियत सङ्घका गणतन्त्रहरूमा पुँजीवादको पुनः स्थापना भयो ।
तिनीहरूले सोभियत सङ्घ र सोभियत जनतालाई मात्रै धोखा दिएन रुस पूर्वी युरोपेली ‘समाजवादी’ देशहरूलाई समेत साम्राज्यवादीहरूको पोल्टामा पारेर र ती देशहरूमा पनि पुँजीवादको पुनः स्थापना गर्न काम गरे । यसकारण १०–१२ वर्षदेखि रुस र पूर्वी युरोपेली देशमा कामदार जनताले सा¥है दुःख पाउन थाले । कालाबजारी, शोषक र पुँजीवादी आपराधिक गुटहरूले रातारात करोडौँ र अरबौँ रुवल कमाउँदै छन् भने मजदुर र किसानहरू महँगी, बेकारी, घट्दो ज्याला र थोरै पेन्सन निवृत्तिभरणबाट पीडित छन् । त्यसैले रुसी कामदार जनता र क्रान्तिकारीहरू नयाँ अक्टोबर क्रान्ति गर्न सङ्घर्ष गर्दै छन् र सोभियत सङ्घ र समाजवाद पुनः स्थापना गर्न चाहन्छन् । वर्तमान राष्ट्रपति पुटिन खु्रश्चेभ, ब्रेझनेभ, गोर्भाचोभ र एल्सिनजस्तै विश्वासघाती हुन् । एक दिन रुसमा फेरि नयाँ अक्टोबर क्रान्ति हुने विश्वासका साथ त्यहाँका कामदार जनता सङ्घर्षमा लाग्दै छन्, फेरि लेनिन र स्टालिनका रचनाहरूको गम्भीर अध्ययन गर्दै छन् ।
(हरिबहादुर श्रेष्ठद्वारा लिखित लेनिनको जीवनीको अंश – सम्पादक)
स्रोत: लर्काे, बुलेटिन ५ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *