भर्खरै :

प्रधानमन्त्रीलाई प्रश्नः मूर्ति कि मास्क ?

गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई ध्यानमा राखी २५ जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला हुन नपाउने निर्णय ग¥यो । बढ्दो सङ्क्रमणसँगै जनताको स्वास्थ्यप्रति जिम्मेवारी वहन गर्दै सरकारले त्यस्तो निर्णय गर्न आवश्यक थियो । तर, आफूले गरेको निर्णयको पालना सरकार स्वयम्ले पनि गर्नुपर्छ । विडम्बना ¤ मन्त्रिपरिषद्ले २५ जनाभन्दा बढी भेला नहुन गरेको आह्वान भुइँमा खस्न नपाउँदै मङ्गलबार बालुवाटारमा तामझामका साथ प्रधानमन्त्रीलगायत सरकारका पदाधिकारीको उपस्थितिमा ‘राम लक्ष्मणको शोभा यात्रा’ गरियो ।
निःसन्देह धर्म व्यक्तिको निजी आस्थाको विषय हो । नेपालको संविधानले हाम्रो देशलाई धर्म निरपेक्ष राज्य घोषणा गरेको छ । त्यसको अर्थ राज्य र सरकारको कुनै धर्म हुँदैन । राज्य र सरकारका पदाधिकारीहरू कम्तीमा पदमा बहाल रहुञ्जेल धार्मिक गतिविधिबाट निरपेक्ष रहनुपर्छ । विडम्बना ¤ यतिबेला सरकारका पदाधिकारीहरू भने कोभिड–१९ को बढ्दो महामारीबीच धार्मिक गतिविधि गरिरहेका छन् । यसले सर्वसाधारणमा धर्मले महामारी रोक्ने भ्रम फैलिने सम्भावना रहन्छ ।
आ–आफ्नो धार्मिक आस्थाले मानिसलाई सङ्कटको बेलामा सान्त्वनासम्म दिन सक्ला । तर, धर्म वा मूर्तिपूजाले कुनै पनि महामारी रोक्न सक्दैन । बरु, धार्मिक गतिविधिबाट कोभिडको सङ्क्रमण अझ बिस्तार भइरहेको छ । भारतको हरिद्वारमा लागेको कुम्भ मेलाले त्यहाँ महामारीलाई अझ भयावह अवस्थामा पु¥याएको छ । धार्मिक गतिविधिले भन्दा विज्ञानमा आधारित सावधानीका उपायले मानिसलाई कोभिडबाट बचाउन सक्छ । कोभिडको सङ्क्रमण दिनानुदिन बढिरहे पनि मानिसले अझै पनि मुखमा मास्क लगाउने, आपसी दुरी कायम गर्ने, भीडभाड नगर्ने र साबुन पानीले हात धुनेजस्ता आधारभूत र अपरिहार्य नियम पालना गरिरहेका छैनन् । भारतमा महामारी उत्कर्षमा पुगेसँगै अक्सिजनजस्ता आधारभूत स्वास्थ्य सामग्रीको अभाव भइरहेको छ । बुधबार दिल्लीभरिमा जम्मा तीनमात्र भेन्टिलेटरसहितको शय्या बचेको तथ्याङ्क सार्वजनिक भयो । नेपालमा त्यस्तो अवस्था आउन नदिन सक्रियता देखाउनुको साटो प्रधानमन्त्रीले ‘राम यात्रा’मा समय दिइरहनु खेदजनक कुरा हो ।
प्रधानमन्त्री ओलीले यसअघि पनि कोभिड रोकथामको सन्दर्भमा केही अपुष्ट कुरा गरेका थिए । उनले कोभिडको प्रतिरोध गर्न सुझाएका अधिकांश उपाय वैज्ञानिक ढङ्गले पुष्टि भएका छैनन् । उनको भनाइ न कुनै वैज्ञानिक अनुसन्धानमा आधारित छन् न उनले बोलिसकेपछि त्यसबारे सरकारी निकायले वैज्ञानिक अनुसन्धान गर्ने जाँगर नै देखाए । प्रधानमन्त्रीले बेला मौकामा बोल्ने त्यस्ता कुरा वास्तवमै प्रभावकारी हुन् भने सरकारी निकायले वैज्ञानिक अनुसन्धान गरी पुष्टि किन गर्न सक्दैन ? यदि त्यसो होइन भने किन त्यस्ता कुरा बारम्बार दोहो¥याइन्छ ?
प्रधानमन्त्रीले सङ्कटको बेलामा विज्ञानको भरपर्नुको सट्टा अलौकिक शक्ति पुजनलाई बढावा दिनु ठीक होइन । सार्वजनिक पद धारण गरेका पदाधिकारीलाई त्यसो गर्ने छुट छैन । यतिबेला जनताको आवश्यकता रामको मूर्ति होइन, मास्क, अस्पतालको शय्या, भेन्टिलेटर, स्यानिटाइजर, खोप र भारतसँगको सीमा बन्दी हो । जनतालाई अत्यावश्यक ती सामानको मनग्य उत्पादन र आपूर्ति सुनिश्चित गर्नुको सट्टा राज्य स्वयम् मानिसहरूको भीड जम्मा गर्ने काम गर्छ भने त्यो सरकारको बदमासी र जनताप्रतिको धोखा हो ।
कसले के बोल्छ, महत्वपूर्ण होइन । कसले के गर्छ, महत्वपूर्ण कुरा हो । प्रधानमन्त्रीका भाषण नेपाली जनताले धेरै सुने, सङ्कटको बेलामा उनको सरकारले कसरी काम गर्छ, त्यो महत्वपूर्ण कुरा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *