भर्खरै :

फ्रान्सेली पुँजीवादी क्रान्ति – १०

राजतन्त्रको पुनःस्थापना
तर, सामन्तवादी र पुँजीपति वर्ग मिलेर पुरानो अनुभवबाट सार झिकेर पहिलेको भन्दा स्थिर र बलियो प्रशासन व्यवस्था लागू गरियो । तल्लो वर्गलाई एक हुन नदिन र असन्तोष रोक्ने अनेक उपायहरू रचे । साधारण कारिन्दा र सिपाहीलाई पनि ठुलठुला पद दिएर सरकार र कामप्रति बफादार बनाइयो । यसरी तल्लो वर्गलाई पैसा र पदको लोभले क्रान्तिकारी भावना दबाइयो ।
पुग नपुग २ वर्षसम्म नेपोलियनले ‘पहिलो कन्सुल’ को रूपमा आफ्नो हात बलियो बनाउँदै गए । नयाँ संविधान एक जटिल गणतान्त्रिक संविधान थियो । यसो हेर्दा देशभित्र र बाहिर उनी सामन्तवादविरोधी देखिन्थे । सामन्त र पुँजीपति वर्ग उनलाई नै सम्राट बनाउन चाहन्थे । सामन्त र पुँजीपति वर्गको सल्लाह र मद्दतले उनले नयाँ नयाँ घरेलु र विदेशी नीति लागू गरे । उनले लिएको घरेलु नीतिले पुँजीपति वर्गको मुख्य स्थितिलाई बलियो बनाउँथ्यो । राज्य विद्रोहपछि आफ्नै रेखदेखमा उनले एक नयाँ संविधान घोषणा गरे । संविधानमा व्यावहारिकरूपले प्रतिनिधि सरकारको अङ्गहरूको सबै महत्वपूर्ण कुरालाई हटाएर उनले आफूलाई सबै शक्ति सम्पन्न पहिलो कन्सुल (Consul) घोषणा गरे । उनी जीवनभरको कन्सुल भएको घोषणा गरियो । अर्को अर्थमा उनी राजा हुन खोज्दै थिए ।
२ डिसेम्बर १८०४ मा उनले आफूलाई ‘फ्रान्सेली गणतन्त्रको सम्राट’ को तहमा पु¥याए । माथिल्लो सदनको एक प्रस्तावअनुसार फ्रान्सलाई गणतन्त्र भनिए तापनि वंश उत्तराधिकारीको बन्दोबस्त गरियो । त्यस गणतन्त्रका प्रमुख एक सम्राट थिए । फ्रान्समा फेरि राजतन्त्र स्थापना भयो । तर, त्यो सामन्त थिएन बरु पुँजीवादी राजतन्त्र थियो । त्यो पुँजीपति वर्गको ज्यावल थियो ।
नेपोलियनले धर्मको अधिकारी पोपसँग सम्झौता गरे । सम्झौताअनुसार नेपोलियनले क्रान्तिको समयमा लुटिएको सबै सम्पत्ति चर्च, पोप वा पादरीहरूलाई नै फिर्ता दिए । बेचिएका वा जफत गरिएका सबै जग्गा पादरीहरूलाई नै फिर्ता दिए । पादरीहरूलाई राज्यबाट तलब दिन थालियो । चर्चहरूले अब नेपोलियनलाई ईश्वरको आशीर्वाद मान्न थाले अथवा धर्मले नेपोलियनलाई अवतार मान्न थाल्यो । यसकारण नेपोलियनले भन्न थाले, “मेरो इच्छालाई सेना र पादरीमार्फत म जे पनि गर्नसक्छु ।” यसको अर्थ थियो–सामन्ती धर्मले पुँजीवादी नास्तिकलाई स्वीकार गर्नु । पुँजीपति वर्गको प्रतिनिधि स्वयम् विष्णु अवतार बन्यो । यस्तै नास्तिक पुँजीवादीले सामन्ती धर्म र ईश्वरलाई आत्मसात ग¥यो । यसरी पुँजीपति वर्गले आफ्नो थुकलाई फेरि चाट्यो ।
विदेश भागेका सामन्त र खान्दानीहरूलाई आममाफी दिइयो र फ्रान्स फर्कने अनुमति दिइयो । तिनीहरूको जफत भएको सबै सम्पत्ति फिर्ता दिइयो । तिनीहरूलाई केही रेखदेख गर्ने अधिकार पनि दिइयो । बाँकी रहेका जाकोविनहरूलाई क्रुरतापूर्वक दमन गरियो । तिनीहरूलाई गिरफ्तार गरियो वा फ्रान्सबाट भगाइयो ।
नेपोलियनको शासनको केही दिनभित्र पुँजीपति वर्गको स्वार्थको निम्ति उद्योगको विकास गर्न सबै सम्भव उपायहरू लागू गरियो । ‘राष्ट्रिय उद्योग विकास समिति’ स्थापना गरियो । त्यसमा नेपोलियनका आफै र उनका अफिसर जर्नेलहरू मुख्य हिस्सेदारहरू थिए । राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना गरियो । बेलायतसँग सङ्घर्ष गर्न फ्रान्सेली उद्योगको विकासको ठुलो महत्व थियो ।
१८०४ मा निजामती ऐन (Civil Code) बन्यो । निजामती ऐन एक क्रमबद्ध ऐनको सङ्ग्रह थियो । यसको मुख्य उद्देश्य पुँजीपति वर्गलाई सम्पत्ति राख्न र उपयोग गर्न दिने आश्वासन दिनु थियो । दफा ५४४ मा घोषणा गरिएको थियो, “स्वामित्व अधिकार सम्पत्ति राख्ने अधिकारको सबभन्दा बन्देज गर्न नसकिने अधिकार हो ।”
नेपोलियन ऐनले नयाँ शिक्षा नियम लागू ग¥यो । त्यसअनुसार सबै शिक्षक र प्राध्यापकहरूले नेपोलियन र उनको व्यवस्थालाई भक्तिपूर्वक स्वीकार गर्नुपर्दथ्यो । सबै नियम र आदेशहरूलाई राम्रोसँग पालना गर्नु र गराउनु पर्दथ्यो ।
सैनिक विज्ञान र प्राविधिक ज्ञानको विकासमा ध्यान दिन थालियो र त्यसमा थुप्रै पैसा खर्च गर्न थालियो । प्रशासकका सबै अधिकारहरू देश र जनताभन्दा नेपोलियनप्रति बफादार हुनुपर्ने भयो । देशको शिक्षा, स्वास्थ्य र ऐन–कानुन सबै युद्धको उद्देश्यले तयार गरिएको थियो । विदेशमा हमला गर्न र युद्धको निम्ति केन्द्रीयताको ठुलो आवश्यकता थियो । नेपोलियनले त्यस्तै गरिरहेका थिए ।
पुँजीवादी देशहरूमा सङ्कटकालको घोषणाको त्यही अर्थ हुन्छ । त्यसले देशमा पुँजीवादको चरम विकास गर्न सघाउ पु¥याउँछ । यसको निम्ति मजदुर आन्दोलन दबाउनु पर्ने हुन्छ र विदेशमा हमला गर्ने भित्र–भित्र युद्धको तयारी गरिरहेको हुन्छ ।
नेपोलियनको संविधानसभाले श्रमविरोधी ऐन बनायो । मजदुर सङ्गठनहरूलाई गैरकानुनी घोषणा ग¥यो र हड्तालीहरूलाई ठुलो सजाय गर्ने ऐन बनायो । नेपोलियनले पुँजीपति वर्गलाई उठाउने सबै सम्भव उपायहरू गरे । क्रान्ति र मजदुर वर्गलाई निर्ममतापूर्वक दबाइयो । यो पुँजीवादको विकास र पुँजीवादी हुकुमको एक ज्वलन्त उदाहरण थियो ।
नेपोलियनको आक्रामक युद्ध
नेपोलियन अब बेलायतमाथि आक्रमण गर्न खोज्दै थिए । बेलायतमाथि आक्रमण गर्न बेलायती जलमार्ग (ब्रिटिश च्यानल) लाई कब्जा गर्नु आवश्यक थियो । बेलायतले फ्रान्सको विरोधमा एक संयुक्त मोर्चा बनायो । त्यसमा जर्मनी, अष्ट्रिया र रुस थिए । युरोपमा फेरि युद्ध चर्किदै गयो । फ्रान्सेली सेना बेलायत, अष्ट्रिया र रुसी सेनासँग भिड्दै थियो । बेलायती सरकार फ्रान्ससँग मिलेर मित्रराष्ट्रहरूलाई ठुलो राशी सहयोग दिन्थ्यो र फ्रान्सको जासुसीमा धेरै रकम खर्च गर्दै थियो ।
सन् १८०५ मा शरद्मा ब्रिटिश च्यानल (जल संयोजक) मा बेलायतीमाथि ठुलो धावा बोल्न नेपोलियनले बैलोङ्ग (Boulonge) को सबै समुद्री किनारमा २३०० जहाजी सेना राखे र त्यस दिशातिर हावा आउनासाथै धावा बोल्न तयार पारिएको थियो । एक एक जनाले पानीभित्र चलाउन सक्ने डुङ्गाहरू बनाउन सम्राटलाई सल्लाह दिन थालियो । यसरी बेलायतमाथि ठुलो खतरा भइरहेको थियो ।
भूमध्यसागरबाट बेलायती जलसेनालाई निकालियो । अब फ्रान्सेली जल सेनाध्यक्ष बेलायती जलमार्ग अथवा फ्रान्सको उत्तर–पश्चिमतिर आफ्नो जलसेनालाई मद्दत गर्न भूमध्यसागरबाट एटलान्टिक सागरमा पुग्यो । फ्रान्सेली जल सेनाध्यक्ष एडमिरल प्येर द विले–ट्युव थियो । एक ठुलो फ्रान्सेली जहाजी बेडा लगियो । सो जहाज जिब्राल्टरबाट स्पेनको उत्तरी समुद्र किनारमाझ पुग्यो । ट्रोफोलगर चुये (Cope Trofolger) मा बेलायती जहाज बेडासँग २१ अक्टोबर १८०५ मा भेट भयो । बेलायतको त्यो जहाजी बेडा एडमिलर नेल्सन (Admiral Nelsan) ले नेतृत्व गरेको थियो । भयङ्कर युद्ध भयो । लार्ड नेल्सन लडाइँमा ४० चोटि घाइते भयो र उसले एक हात एक आँखा गुमायो । लाफाल्गरमा भएको लडाइँमा फ्रान्स ध्वस्त भएर हा¥यो । नेल्सन मारिए । बेलायतले फ्रान्स, नेडरल्यान्ड र स्पेनको उपनिवेशमा धावा बोल्न थाल्यो । तर, नेपोलियनले बेलायती जलमार्गको किनारमा रहेको सेनालाई आश्चर्यजनक ढङ्गले अष्ट्रियातिर सारे । नेपोलियन सयौँ माइल टाढा बसेर यस युद्धको निम्ति योजना सञ्चालन गर्दै थिए । यसलाई नेपोलियनको सैनिक सफलता भनिन्छ ।
सन् १८०५ को डिसेम्बरमा नेपोलियनको सेनाले अष्ट्रियालाई र रुसी सेनासँग मोराभिया (Moravia)को अष्टेरलिटी सालकाभ (Austerlity Salkav) मा निर्णायक लडाइँ लड्यो । जेनेरल रुसी जार अलेक्जेन्डर पहिलो आफै मैदानमा गए र हारे । अष्ट्रियाली सेनालाई हराएर फ्रान्सेली सेनाले रुसीहरूलाई रफजेमको पोखरीबाट भाग्न बाध्य पा¥यो । त्यो ठाउँ फ्रान्सेली सेनाको तारोभित्र पर्दथ्यो । पोखरीमा हिउँ पग्ल्यो र धेरै रुसी सैनिकहरू पानीमा डुबेर मरे ।
सन् १८०६ मा अष्ट्रियालाई कुल्चेर नेपोलियनले पवित्र रोमन साम्राज्यलाई ध्वस्त पारे । अष्ट्रिया धेरै रोमन राज्यहरूको एक ठुलो सङ्गठन थियो । त्यसैलाई ‘पवित्र रोमन साम्राज्य’ भनिन्थ्यो । नेपोलियनले पवित्र रोमन साम्राज्यको सम्राट पदवीलाई खतम गरे । अब रोमन सम्राटलाई अष्ट्रियाको साम्राज्यको राजामा पु¥याइयो ।
सन् १८०६ मा नेपोलियन पर्सियासँग लडे । पर्सियाली सेनाले आत्समर्पण ग¥यो । माज्डेबर्ग (Magdeburge) मा २६ हजार सेनाको बलियो किल्ला र थुप्रै तोप, हतियार र खाद्यान्नसहित आत्मसमर्पण ग¥यो । मार्शलेल (Marslel) किल्लामा स–साना मोर्टार बन्दुक लिएर पुगेको मात्रै के थिए, हान्ने आदेश दियो । तर, त्यसबेला नगरलाई ध्वस्त पार्न सकिँदैनथ्यो । पर्सियाली कमान्डरले किल्लाको ढोका खोल्ने आदेश दियो । लडाइँको १९ दिनभित्र फ्रान्सेली सेना बर्लिनमा भित्रियो । सेना उस्र्टार भन्ने ठाउँमा पनि नराम्रोसँग हा¥यो । नेपोलियन जहाँ पुग्थे त्यहाँ उनी आफ्नै ढङ्गले सुधारहरू लागू गर्थे । उनी फ्रान्सकै ढङ्गको ऐन–कानुन लागू गर्न खोज्दथे । यसकारण पर्सियाका सामन्तहरू पनि उनको अगाडि झुके । शासकहरू पनि सुधार गर्न राजी भए । सन् १८०७ मा पर्सियाका राजाले भूदास व्यवस्था उन्मुलनको राजाज्ञा निकाले । तर, ऋण र क्षतिपूर्ति नदिएसम्म किसानहरू बेठबेगारी गई नै रहुनुपर्दथ्यो । एक जोडा घोडा बग्गी र गाडा भएका र धन सम्पत्ति भएकाहरूलाई मात्रै मुआब्जा र ऋण दिने अनुमति दिइयो । भूदास प्रथा उन्मूलन भए पनि पर्सिया र अरू जर्मन राज्यहरूका धेरैजसो भूदासहरू दसौँ वर्षसम्म भूदास रहे । पर्सिया कब्जा गरेपछि नेपोलियन रुसतिर बढे । फ्राउलायन्डमा रुसीहरू हारे ।
अनेक भयङ्कर लडाइँहरू लडेपछि नेपोलियनले १८०७ मा मात्रै रुस र पर्सियासँग शान्ति सम्झौता गरे । त्यसबेला रुसका राजा जार अलेक्जेन्डर पहिलो थिए । उनी आफै पोल्यान्डमा टिल्सिटको नजिकै नेपान नदीमा नेपोलियनसँग भेटेको थिए । त्यही उनले फ्रान्स र रुसको सन्धिमा हस्ताक्षर गरेका थिए । त्यसलाई टिल्सिटको सन्धि (Treaty of Telsit) भनिन्छ । रुसी जार अलेक्जेन्डरले फ्रान्सले जितेका सबै भागलाई मान्यता दिए र फ्रान्ससँग एक सन्धि गरे । पर्सियाले निश्चित हर्जाना र केही जग्गा छोड्नु प¥यो । पर्सिया अब रुसी सरकारको मध्यस्थतामा एक स्वतन्त्र राज्य भयो । पर्सियाले ४० हजारभन्दा बढी सेना राख्न नपाउने भयो ।
नेपोलियन साम्राज्यको पतन सुरु
अब फ्रान्स पिरेनिजदेखि डेनमार्कसम्म पुग्यो । इटाली पुग्यो । इटालीमाथि पुरै फ्रान्सको हुकुम चल्यो । उत्तरी इटालीमा नेपोलियनले आफ्नै मान्छेलाई राजा बनाए । दक्षिणी इटालीमा आफ्ना समर्थकहरूलाई सत्तामा ल्याए । रोमको राजगद्दीमा नेपोलियनको छोरालाई राखियो । स्पेनको राजा जोसेफ बोनापार्ट रह्यो । स्वीजरल्यान्डलाई कठपुतली राज्य बनाइयो । डेनमार्क र नर्वेलाई फ्रान्सको समर्थक बनाइयो । पर्सिया र अष्ट्रियालाई मित्र बनाइयो । यसरी युरोपमा बेलायतमात्र चोखो स्वाधीन देश बन्यो । नेपोलियन बेलायतलाई व्यापारी जाति भनेर हेला गर्थे । यसैलाई खाने उनको मनसुवा बाँकी रह्यो । नेपोलियन अब युरोपमा आफ्नो राजवंश चलाउने विचारमा लागे । आफ्नो स्वास्नी जोसेम्मिन ब्युट्टार्नेटिबाट कुनै सन्तान थिएनन् । यसकारण उनले हेप्सवर्गका ठुलो सामन्तकी छोरी मेरी लुईसँग विवाह गरे । उनीबाट एउटा छोरा पायो । उनलाई रोमको राजा घोषणा गरियो ।
लडाइँको खर्चले जनता गरिब हुँदै गए । सन् १८१० देखि १८११ मा फ्रान्सेली उद्योगमा ठुलठुला सङ्कटहरू देखिए । बेरोजगारी बढ्यो र मजदुर आन्दोलन हुन थाल्यो । बन्दै नहुने लडाइँहरूको धेरै करहरूले गर्दा पुँजीपति वर्गको लागि पनि ठुलो बोझ भयो । सेनामा मानिसहरू मरिरहन्थे । यसले कामदार र किसानहरूमा ठुलो असन्तोष बढ्यो । युरोपका संरक्षित राज्यहरूमा पनि नयाँ सेनाको भर्ना लिइन्थ्यो । नेपोलियनको सेनाको एक ठुलो भाग फ्रान्सेली भाषासम्म पनि नजान्ने विभिन्न जातिहरूबाट लिइएको हुन्थ्यो । तिनीहरूले बाध्य भएर लड्नु पर्दथ्यो । स्पेनीयाली जनताले गुरिल्ला युद्ध गरेरै फ्रान्सलाई फसाए । पुर्तगालले बेलायतको मद्दतले ‘हमला गर्ने र भाग्ने’ लडाइँको नीति लियो । बेलायती सेनाको नेतृत्व सर आर्यर बेलेजनीले गरेका थिए । नियमित युद्ध लड्ने फ्रान्सलाई यो दिक्कलाग्दो लडाइँको तरिका थियो । पर्सियामा बेरफ फान स्टीनको नयाँ नेतृत्व बढ्दै थियो ।
फ्रान्सेली पुँजीवादी प्रभुत्वको विरोधमा
फ्रान्सले बेलायतलाई आर्थिक नाकाबन्दी गर्न खोज्यो । नेपोलियन बेलायतको व्यापारलाई बढाउन नदिन उसको बाटोघाटोलाई घेर्न चाहन्थे । आफ्नो प्रभुत्वमा रहेका देशहरूलाई पनि बेलायतको सामान बहिष्कार गर्न लगाइयो । रुसले देख्यो कि नेपोलियनले मित्रता होइन, प्रभुत्व चाहे । यसकारण रुसले बेलायती सामान बहिष्कार गर्न मानेन । फ्रान्सले जितेका देशहरूमा फ्रान्सेली पुँजीपति वर्गको विरोधमा जनआन्दोलनहरू हुन थाले । स्पेन र रुस नेपोलियनको प्रभावमा थियो । तर, फ्रान्सको विरोधमा सशस्त्र सङ्घर्ष हुन थाल्यो ।
१५ औँ र १६ औँ शताब्दीमा स्पेन एक शक्तिशाली राज्य थियो । १९ औँ शताब्दीमा बेलायत र फ्रान्सको पछि लाग्नुप¥यो । त्यहाँको शासन निरङ्कुश राजतन्त्र थियो र विभिन्न दरबारी गुटहरूले काम गर्थे । जनतालाई शोषण गर्ने झन्झन् धनी हुँदै आएका पादरीहरूको प्रभाव बढ्दै गयो । जनताको विरोध पनि बढ्दै गयो । सरकार जनतालाई दमन गथ्र्यो । तर, स्पेनीयाली जनता विदेशी आक्रमणको विरोधमा देशलाई बचाउन वीरतापूर्वक लड्दै थिए ।
सन् १८०८ मा स्पेनमा नेपोलियनको सेना पुग्यो । जनताले स–साना दलहरू मिलाए । अनियमित ढङ्गले गुरिल्ला युद्ध गर्न थाले । विदेशी आक्रमणको विरोधमा जनताले गुरिल्ला युद्ध छोडे । नेपोलियन आफै एक लाख ८० हजार सेना लिएर लडाइँको नेतृत्व गर्न पुगे । बन्दुक र राइफलले गोली बर्साउँथ्यो । आइमाई र केटाकेटीहरू पनि आ–आफ्नो लोग्ने, बाबु, आमा र भाइहरू सँगसँगै लड्थे । तर, किसान विद्रोहको डरले जमिनदार वर्गले फ्रान्सेली आक्रमणहरूलाई समर्थन गथ्र्यो ।
विदेशी आक्रमणविरोधी स्पेनीयाली जनताको रक्षात्मक युद्ध क्रान्तिमा विकास भयो । सन् १८१२ मा क्रान्तिकारीहरूले विधानसभा बोलाए । त्यसलाई स्पेनमा कार्टेस (Cartes) भनिन्छ । विधानसभाले राजाको अधिकार विधानसभासँग गाँसेर एक संविधान बनायो । स्पेनमा भएको क्रान्तिका खबर स्पेनको उपनिवेशहरूमा पनि फैलियो । यसले मध्य र दक्षिण अमेरिकाको उपनिवेशका जनतालाई विद्रोह गर्न मद्दत ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *