भर्खरै :

महामारीसँग लड्दै गरेका भारतीय जनताप्रति ऐक्यबद्धता

भारतीय जनता आज एउटा विषम परिस्थिति सामना गरिरहेका छन् । कोभिड–१९ को दोस्रो लहर भारतलाई समाल्न हम्मेहम्मे भइरहेको छ । बिहीबार भारत सरकारले जारी गरेको तथ्याङ्कअनुसार दैनिक सङ्क्रमणको दर तीन लाख नाघेको छ । सङ्क्रमण दर अचाक्ली बढेसँगै स्वास्थ्य सेवा र स्वास्थ्य सामग्रीको चर्को अभाव भइरहेको छ । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रसारित खबर हेर्दा आज भारतका केही प्रमुख सहरको अवस्था झन्डै सन् २०१९ को डिसेम्बरदेखि २०२० को जनवरीमा चीनको उहान सहरको अवस्थाभन्दा भयावह बनेको सहजै अनुमान गर्न सकिन्छ । कोभिड–१९ को सङ्क्रमण भारतमा अहिले अनियन्त्रित बनेको छ । भारतको सञ्चारमाध्यमले जनाएअनुसार बुधबार राजधानी नयाँ दिल्लीमा भ्यान्टिलेटरसहितको अस्पतालको शय्या जम्मा तीन वटामात्र बाँकी थिए । अरू सबै शय्या भरिभराउ भइसकेका छन् । अस्पतालमा साधारण शय्या पाउन मानिसलाई धौ धौ भइरहेको छ । शय्या नपाउँदा बिरामीहरूको अस्पताल परिसरमा स्टे«चरमै उपचार भइरहेको छ ।
कोभिडका गम्भीर बिरामीलाई श्वासप्रश्वासको समस्या हुने गर्छ । त्यस्ता बिरामीको लागि चिकित्सकीय अक्सिजन नै आधारभूत आवश्यकता हो । तर, बिरामीको सङ्ख्या एकाएक लाखौँ नाघ्दा भारतमा चिकित्सकीय प्रयोगको लागि अक्सिजनकै चर्को अभाव भएको छ । त्यसले गर्दा अस्पतालमा जसोतसो पल्टिने ठाउँ पाएका बिरामीले समेत उचित उपचार पाइरहेका छैनन् । कोभिडका बिरामीको उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीहरू पनि सङ्क्रमित भएका छन् । तर, उनीहरूले उपचारको लागि अस्पतालमा शय्या र अक्सिजनको अभाव झेलिरहेका छन् ।
भारतमा आज कोभिडकै कारण मर्नेको सङ्ख्या दैनिक हजारौँ पुगेको छ । यसरी मर्नेको सङ्ख्या बढेपछि लास व्यवस्थापनमा समस्या भइरहेको छ । लास जलाउन ठाउँ नपाउँदा सडकमै लास जलाउँदै गरेका हृदयविदारक तस्वीरहरू पनि सार्वजनिक भइरहेका छन् । मुम्बईको एउटा कोभिड अस्पतालमा सेवारत चिकित्सक तृप्ति गेलडाले सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा हृदयस्पर्शी भिडियोमा आफूले काम गरिरहेको अस्पतालको अवस्था वर्णन गर्ने क्रममा उनले आँसु थाम्न सकिनन् । उनले आफ्नो चिकित्सकीय सेवा यात्रामा अहिलेजस्तो लाचार कहिल्यै अनुभव नगरेको बताइन् । उनले अस्पतालको सघन उपचार कक्ष भरिभराउ भइसकेको र अब कोभिडका बिरामीलाई घरमै अक्सिजन दिएर उपचार गर्नुपर्ने अवस्था आएको बताइन् । डा. गेलडाले ‘आफूलाई एक वर्षदेखि कोरोना नभएको, आफू सुपर हिरो भएको र आफ्नो रोग प्रतिरोध क्षमता बलियो रहेको भ्रम भए त्यसबाट बाहिर निस्कन’ सबैलाई आग्रह गरिन् । कम उमेरका युवाहरू पनि सघन उपचार कक्षमा रोगसँग लडिरहेको उनले बताइन् ।
बिहीबारबाट भारत संसारकै सबभन्दा बढी सङ्क्रमण दर भएको देश बनेको छ । यसअघि ब्राजिल र संरा अमेरिका पालैपालो सङ्क्रमण दरमा अगाडि थिए । राजधानी दिल्लीलगायत अधिकांश सहरमा यसरी महामारीको भयावह अवस्था सामना गर्दैगर्दा भारतका केन्द्रीय र प्रान्तीय सरकारहरू भने लाचार अवस्थामा छन् । अझ केन्द्रीय सरकारले आवश्यक स्रोत साधन उपलब्ध गराउन अवरोध सिर्जना गरेको भन्दै केही प्रान्तीय सरकारले केन्द्रीय सरकारको आलोचना गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार देशवासीको नाममा सम्बोधन गर्दै महामारीको रापले पिरोलिएका जनतालाई सान्त्वना दिने प्रयास गरे । तर, उनको सम्बोधनमा महामारीको व्यावहारिक नियन्त्रण र रोकथामको कुनै योजना थिएन । उनको एउटै सन्देश थियो–धैर्य गर्नू, नआत्तिनू ! हिन्दू अतिवादी भारतीय जनता पार्टीका नेता मोदीले आफ्नो भाषणमार्फत भाग्य र भगवानप्रति विश्वास गर्न जनतालाई आग्रह गरिरहेका थिए । तर, अस्पतालमा शय्या नपाएर अथवा अक्सिजन अभाव भएपछि अस्पतालबाट बाहिर निकालिएका मरणासन्न बिरामीलाई भगवान होइन, शय्या र अक्सिजनको खाँचो थियो । सङ्क्रमित बिरामीको अग्रपङ्क्तिमा क्रियाशील स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहनको खाँचो थियो । तर, अस्पतालको भद्रगोल अवस्थाले स्वास्थ्यकर्मीहरू हतासिएको प्रस्ट देखिन्छ ।

भारतीय अव्यवस्थित राज्य र समाजलाई यस्तो भयावह अवस्थाको सामना गर्न पक्कै पनि हम्मेहम्मे पर्नेछ । संसारभरका अन्य पुँजीवादी राजनीतिक व्यवस्था भएका देशलाई कोभिड–१९ महामारी नियन्त्रण जसरी फलामको चिउरा चपाउनुजस्तै भएको थियो, भारतको निम्ति पनि त्यस्तै भइरहेको छ । मोदी सरकारले भारत विश्व शक्ति बन्ने दौडमा रहेको जतिसुकै फलाको गरे पनि अहिलेको अवस्थाले भारतको कमजोरी संसारसामु उजागर भएको छ । विश्व शक्ति बन्ने दौडमा भारतले हातहतियारमा गरेको लगानी जनस्वास्थ्य र शिक्षामा गरेको भए आजको जनस्वास्थ्य सङ्कट यति भयानकरूपले आउने थिएन ।

पहिलो लहरको तुलनामा यो पटकको दोस्रो लहर अझ तीव्र र आक्रामकरूपमा आउँदा भारतको जनस्वास्थ्य प्रणालीका सबै कमजोरी उदाङ्गिएको छ । विशेषतः सन् १९९० यता भारतले अवलम्बन गरेको नवउदारवादी आर्थिक नीतिको कारण भारतको स्वास्थ्य सेवामा नाफामुखी निजी क्षेत्रकै हालीमुहाली छ । जनस्वास्थ्यप्रति राज्यको दायित्व त्यहीबेलादेखि क्रमशः साँघुरो बनाउँदै लगिएको थियो । सरकारी लगानी स्वास्थ्य क्षेत्रमा कम छ । त्यसैको परिणाम अहिले भारतीय जनता भोग्न बाध्य भए । विशेषतः गरिब, निम्नमध्यम र मध्यम वर्गीय परिवारको निम्ति महामारीको यो समय निकै कष्टकर बनेको छ ।
सन् २०२० को मध्यतिरबाट नै भारतका विभिन्न सहरमा कोभिडका बिरामीहरूको सङ्ख्या क्रमशः बढ्दै जाँदा केन्द्रीय र प्रान्तीय सरकारले खासै वास्ता नगरेको बरु भारत संसारकै सबभन्दा ठूलो कोभिडप्रतिरोधी खोप उत्पादक भएको आत्मतुष्टिमै रमाउँदा आजको विस्फोटक परिणाम भोग्नुपरेको भन्दै आलोचकहरूले राज्यको आलोचना गरेका छन् । जरा तहमा जनताको लागि काम गर्नेभन्दा प्रचारमुखी ढङ्गले अन्तर्राष्ट्रिय क्षेत्रमा देखाउने हतारोमा काम गर्ने मोदी सरकारको पुरानो बानीको कारण सरकारले खास समस्या समाधानमा ध्यान दिन सकेन । त्यसैको परिणाम अहिलेको अनियन्त्रित अवस्था भएको उनीहरूको भनाइ छ । कोभिडको बढ्दो सङ्क्रमणबीच पनि लाखौँ सङ्ख्यामा मानिस जम्मा हुने धार्मिक मेला, पर्व, जात्रा र क्रिकेट म्याचहरू आयोजनामा रोक लगाउन नसक्दा पनि सङ्क्रमण तीव्र दरमा फैलिएको हो ।
कोभिड–१९ को सङ्क्रमण दर केही कम भएसँगै मानिसहरूले महामारी प्रतिरोधका लागि पालना गर्नुपर्ने सावधानीका उपायको पालनामा बेवास्ता गर्दा अघिल्लो भाइरसको तुलनामा तीव्र गतिमा फैलिने क्षमता भएको भाइरस छोटो समयमै निकै फैलिएको विश्लेषणहरू भारतीय सञ्चारमाध्यमहरूमा प्रकाशित छन् । मानिसले मास्क लगाउने बानी छोडे । साबुन पानीले हात धुने, भीडभाडमा नजाने, आपसमा दुई मिटरको दुरी कायम गर्नेजस्ता नियमको पालना गर्न छोडे । सरकारले पनि ती नियमको पालनामा जोड दिन सकेन । फलतः भारत महामारीको चर्को मारमा परेको छ ।
संसारकै दोस्रो सबभन्दा बढी जनसङ्ख्या भएको देशमा अझै पनि अधिकांश जनता गरिब छन् । करोडौँ जनता अझै पनि झोपडपटी (स्लम एरिया) मा बस्छन् । कम क्षेत्रफलमा धेरै मानिस अस्वस्थ वातावरणमा बस्ने ती जनताबीच अझ सङ्क्रमणको जोखिम बढी हुन्छ । दैनिक ज्यालादारीमा जीवनयापन गरिरहेका ती जनता ‘कोभिडबाट जोगिन’ घरमै बस्ने अवस्था पनि छैन । उनीहरूको निम्ति लकडाउनको अर्थ हातमा भएको रोजगारी गुमाउनु हुनेछ । त्यसले उनीहरूको जीवन अझ कठिन बनाउनेछ । अघिल्लो लहरको सामना गर्न मोदी सरकारले भारतभरि एकैचोटि लकडाउन घोषणा गर्दा सहरी क्षेत्रमा बसिरहेका करोडौँ भारतीय जनता सहरमा बाँच्न नसकिने भएपछि सहर छोडेर गएका थिए । घर फर्किन लाखौँ मानिस रेलवे स्टेसन र बसपार्कमा जम्मा हुँदा सङ्क्रमणको जोखिम अझ बढेको थियो । सवारी साधन नचल्दा मानिसहरू महिनौँ पैदल हिँडेर घर फर्किने क्रममा कैयौँले बाटोमै ज्यान गुमाउनुपरेको थियो । त्यतिबेलाको अनुभवलाई ध्यानमा राखी यो पटक मोदी सरकारले भारतभरि एकैचोटि लकडाउन गर्ने गल्ती दोहो¥याएको छैन । तर, लकडाउनको भयले अझै पनि भारतीय जनतालाई अत्याउन छोडेको छैन । राजधानी दिल्लीमा ६ दिनको लागि लकडाउन घोषणा गर्दा दसाँै लाख भारतीय जनताले दिल्ली छोडेका छन् । यसले सङ्क्रमण अझ देशभर फैलिने जोखिम बढेको छ ।
भारतीय अव्यवस्थित राज्य र समाजलाई यस्तो भयावह अवस्थाको सामना गर्न पक्कै पनि हम्मेहम्मे पर्नेछ । संसारभरका अन्य पुँजीवादी राजनीतिक व्यवस्था भएका देशलाई कोभिड–१९ महामारी नियन्त्रण जसरी फलामको चिउरा चपाउनुजस्तै भएको थियो, भारतको निम्ति पनि त्यस्तै भइरहेको छ । मोदी सरकारले भारत विश्व शक्ति बन्ने दौडमा रहेको जतिसुकै फलाको गरे पनि अहिलेको अवस्थाले भारतको कमजोरी संसारसामु उजागर भएको छ । विश्व शक्ति बन्ने दौडमा भारतले हातहतियारमा गरेको लगानी जनस्वास्थ्य र शिक्षामा गरेको भए आजको जनस्वास्थ्य सङ्कट यति भयानकरूपले आउने थिएन ।
भारतीय शासकहरूका यस्ता कमी–कमजोरी र स्वार्थको शिकार भने भारतीय जनता बनेका छन् । भारतीय जनता आज आँखाले देख्न नसकिने घातक शत्रुको हमला सामना गरिरहेका छन् । अहिले त्यो अदृश्य शत्रु बलियो देखिएको छ । त्यो शत्रुको प्रतिरोध गर्ने सिपाहीहरू हुन्–चिकित्सक र स्वास्थ्यकर्मीहरू । अस्पताल र स्वास्थ्य केन्द्रहरू यो युद्धका चौकी र ब्यारेक हुन् । विडम्बना ¤ भारतको राजनीतिक व्यवस्थाले यो लडाइँमा अग्रपङ्क्तिमा होमिएका सिपाहीहरूलाई आवश्यक हातहतियार नै दिन सकेको छैन ।
जुनसुकै देशमा भाइरसविरुद्धको यो लडाइँ उत्कर्षमा पुगे तापनि अन्ततः मानिसले नै जित्नुपर्छ । मानव समुदायको शत्रु बनेको कोभिड भाइरसले यतिबेला भारतमा भीषण हमला गरिरहेको छ । भारत एक्लैले मात्र यो लडाइँ जित्न नसक्ने अवस्थामा अन्तर्राष्ट्रिय समुदायले पनि सहयोग र ऐक्यबद्धताको हात बढाउनुपर्छ । भारतीय जनताले आज सामना गरिरहेको चुनौतीबाट पार पाउन संसारभरका जनताको ऐक्यबद्धताको खाँचो छ । भारत चाँडै यो चुनौती र सङ्कटबाट बाहिरिन सकोस् भन्ने कामना गर्नु पनि कोभिडविरुद्धको अन्तर्राष्ट्रिय ऐक्यबद्धता हो । भारतले यतिबेला भोग्नुपरेको सङ्कट नेपालले नभोग्ने हो भने नेपाली जनता र सरकारले मिलेर सक्रियता देखाऔँ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *