भर्खरै :

धर्म अफिम नै हो ?

महामानवको भनाइ बुझ्न पनि धेरै रगत बगिसकेको हुनुपर्दो रहेछ । बुझी बुझी पनि नबुझेको स्वाङ गर्ने मनुष्यको कारणबाट अझै लाखौँ मानिसको ज्यान अनाहकमा गुमिरहेको छ । विज्ञानले अहिलेजस्तो चमत्कार नगरेको समयमै कार्ल माक्र्सले भनेका थिए ‘धर्म अफिम हो ।” जुन कुरा समय – समयमा भएका घटनाक्रमले पुष्टि गर्दै गर्दा पछिल्लो घटना कोरोना महामारीले कार्ल माक्र्सको उक्त भनाइलाई झनै छर्लङ्गै पारेको छ ।
माक्र्सको यो भनाइलाई भारतको हरिद्वारस्थित गंगा नदीमा भइरहेको कुम्भ मेलाजस्ता धार्मिक मेलासँग जोड्न सकिन्छ । सामान्य मानिस धार्मिक अन्धविश्वासमा सजिलै जकडिन्छ । यसलाई मलजल दिने काम मोदीजस्ता धर्मका ठेकेदारका भजन मण्डलीहरूले गर्छन् । गंगामा स्नान गर्दा कोरोनालाई बगाउँछ, कोरोनाले छुँदैन भन्दै अन्धविश्वासलाई बढावा दिइरहँदा कोरोना फैलिएर सन्त महात्मालगायत हजारौँ मानिसको मृत्यु भइसकेको छ ।
हिन्दू धर्मशास्त्रका अनुसार कुम्भ स्नान उत्सव भोलेनाथको सम्मानमा मनाइन्छ तर अब ती धर्मान्धहरू १२ वर्षको सट्टा ११ वर्षमा कुम्भ स्नान मेला मनाउँछन् र आफूलाई नै महादेवको अवतार ठान्छन् । मोदीका चेलाहरूले १२ वर्षे कुम्भ स्नान मेलालाई भगवान भोलेनाथको ठाउँमा ‘हरहर मोदी, घर घर मोदी’ भन्दै पाखण्डी नेतालाई देवत्वकरण गर्दा यस्तो भाँडभैलो हुन गएको हो । वास्तवमा कुम्भ मेला हरेक १२ वर्षमा लाग्छ । तर, यसपालि ११ वर्षमै कुम्भ मेला आयोजना गरिएको छ । लुकेको कुरा के हो भने अर्को वर्ष अर्थात् सन् २०२२ मा हरिद्वार अवस्थित प्रान्त उत्तराखण्डमा चुनाव हुँदै छ । उक्त चुनावलाई मध्यनजरमा राखेर हिन्दु मतदातालाई प्रभाव पार्न यस्तो नाटक रचिएको रहेछ । सत्ता जोगाउनको निम्ति कुन हदसम्म जाने रहेछ यो घटनाबाट पुष्टि हुन्छ । निहित राजनैतिक स्वार्थ पूर्तिको लागि एघारौँ वर्षमा कुम्भ मेला आयोजित गर्ने सहमतिले गर्दा जे भए पनि वैदिक परम्परा चकनाचुर भएको छ । न्यायाधीश, बुद्धिजीवीमात्र होइन सत्ताको आडमा सन्त महात्माहरूलाई समेत खरिद गर्ने भइसकेका छन् । सत्ताको लागि यी तथाकथित धर्तीका देवताले हिन्दू धर्मका देवताहरूलाई पनि विज्ञापनको साधन बनाइसके ।
उत्तराखण्डका अघिल्लो मुख्यमन्त्रीले मेलामा आउनेले कोरोना टेस्ट गर्नुपर्ने नियम बनाउँदा आफ्नो पद गुमाउनु परेको थियो । धर्मान्धलाई धर्मको अफिम कतिसम्म चढ्ने रहेछ भने नियमले हिन्दूवादीहरू रिसाउँदा चुनावमा असर पर्ने भनेर मोदीले मुख्यमन्त्रीलाई नै हटाएर नयाँ मुख्यमन्त्री नियुक्ति गरे । नयाँ मुख्यमन्त्रीले नुनको सोझो गर्दै गंगामा स्नान गर्दा भक्तजनहरूलाई कोरोना नलाग्ने भन्दै मेलामा लाखौँ मान्छेलाई छोडिदिए । जसको मूल्य हजारौँ जनताले आफ्नो ज्यान गुमाएर चुकाउनुप¥यो ।
धर्मभिरुको लहैलहैमा लागेर जनता मन्दिर मस्जिदका लागि लडे । कसैलाई ‘जय सिया राम’को नारामा अल्झाइराखेका छन् भने कोही कोही ‘अल्लाह हो अकवर’ भन्दै चिच्याइरहेका छन् । जनता कहिल्यै अस्पताल, शिक्षाजस्ता आधारभूत आवश्यकताको लागि लडाइँ लडेनन् । एम्बुलेन्सको सट्टा रथ यात्राको माग गरे । यदि जनता अस्पताल वा विश्वविद्यालयको लागि लडाइँ लडेका भए आजको दृश्य निश्चितरूपमा फरक हुन्थ्यो । मन्दिर बनाउँछौँ भनेर चुनाव जितेपछि मन्दिरमै जोड दिइन्छ, अस्पतालमा होइन । त्यसैले चुनावलाई धार्मिक प्रचारको माध्यम बनाएर कसैलाई जिताएपछि जनताले भोग्नुपर्ने परिणाम यही हो । यस्तो परिस्थिति आउनुको कारण विज्ञानलाई नटेर्ने अन्धविश्वासको परिणाम हो भन्न हिच्किचाउनु पर्दैन ।
हरेक घटनालाई प्रचारबाजी गर्दै आफ्नो छबि निर्माण गर्न लालायित हुने मोदीले खोप कार्यक्रमलाई पनि ‘खोप उत्सव’ नाम दिएर प्रचारबाजी गरे । तर, उतिनै खेर कतिले खोप नपाएर कोरोना सङ्क्रमित भए भने कति जना अक्सिजन नपाएर परमधाम हुनुप¥यो । विश्वकै ठुलो ८० अर्बको स्टेडियम बनाएँ भनेर नाक फुलाउनेले करोडमा बन्ने अक्सिजन प्लान्ट नभएर हजारौँ मान्छे मरिरहँदा फुलेको नाक काटियो कि काटिएन ? मोदीको गृहराज्य गुजरातको सुरत सहरका मसानहरूमा एउटै चित्तामा ५ वटा शव राखेर जलाउनुपर्ने अवस्था आएको छ । अधिक शव जलाउनुपर्दा भट्टीको चिम्नी तातेर पग्लिएको छ । सामान्य दिनमा भन्दा ५ गुणा बढी शवहरू आउँदा दाउरा नपाउनेजस्ता समस्या यत्रतत्र छ तर गुजरातको छोरा पश्चिम बङ्गालमा चुनाव लड्दै छन् । एकातिर सर्वसाधारणलाई मास्क नलगाएको कारणले जरिवानास्वरूप १० हजारसम्म तिराइरहेको छ भने अर्कोतिर पश्चिम बङ्गालमा पैसा खर्च गरेर ल्याएका लाखौँको भीडलाई मोदी ‘जय सिया राम’ को नारा रटाउँदै छन् । मोदी भारतका प्रधानमन्त्री होइनन्, उनी भाजपाका चुनाव प्रचारमन्त्रीजस्ता भएका छन् । अहिले बङ्गालमा कोरोना फैलिने दर गुणात्मकरूपमा बढिरहेको छ । यही कारणले हजारौँ मानिसले ज्यान गुमाउनुपर्दा मोदीलगायत यस्ता नेताहरूलाई ज्यान मुद्दा लगाउनुपर्छ कि पर्दैन ?
हिन्दू हृदय सम्राटको शासनमा हिन्दू अनुयायीहरूको हत्या भएको छ । जनहितका कामबारे सोच्ने उनको विचारधारा होइन । उनको उद्देश्य पुँजीपतिहरूको ऋण मिनाहा गर्ने र मेहनतले कमाएको पैसामाथि जङ्गली कर लगाएर जनतालाई निर्ममतापूर्वक लुट्नु हो । उनको प्राथमिकता सेन्ट्रल भिस्टा, बुलेट ट्रेन र सालिक बनाउनेजस्ता देखावटी परियोजनाहरू हुन् । करोडौँ जनता भोकभोकै छन् तर उनलाई कुनै चिन्ता छैन किनकि तिनलाई थाहा छ कसरी विपत्तिलाई ‘लुट्ने अवसर’मा बदल्ने । प्रचारकै लागि देखावटी आयोजना गर्ने तर आफ्नै जनताको बारेमा नसोच्ने दम्भ र आत्ममुग्ध मनुष्यलाई प्रधानमन्त्री बनाएपछि अब विलाप गरेर के अर्थ रह्यो ?
भारतमा अनेक धर्म, अनेक भाषा, अनेक जाति र अनेक संस्कृतिका अस्तित्व छन् । धार्मिक सांस्कृतिक एकता नै वास्तविक आवश्यकता हो । उन्नत समाजले धार्मिक र सांस्कृतिक सद्भाव र सहिष्णुता खोज्छ, यसमा सबै पक्षको ध्यान जानुपर्छ ।
नेपालमा पनि नेपाली मोदीहरूको नौटङ्की सुरु भइसकेको छ । गेरु गम्छा ओढेर चितवनको ठोरी यात्रा र पशुपतिमा सुनको जलहरीले सजाउनु पाखण्डीमात्र होइन कम्युनिस्ट दर्शन र सिद्धान्तकै मलामी जानु पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *