भर्खरै :

लेनिनका जीवनका पानाहरू – १३ /२ फेब्रुअरी १९२१

  • बैशाख ११, २०७८
  • लिदिया अलेक्सान्द्रोभ्ना फोतिएभा
  • साहित्य

त्यस बखत पार्टी र सोभियत सरकारको सामुन्ने युद्धको स्थितिबाट शान्तिकालीन आर्थिक निर्माणका अनेक ठुला समस्याहरू थिए । त्यो सोभियत राज्यको अचाक्ली कठिन समय थियो – राष्ट्रिय अर्थव्यवस्थाको बर्बादी, बन्द कारखानाहरू, भोकमरी तथा हरेक चीजको (अन्न, खानेपानी, जीवनका अत्यावश्यक चीजको) अभाव, युद्धकालीन कम्युनिज्मको नीतिले किसानहरूमा बढिरहेको असन्तोष, अनेक गाउँहरूमा समृद्ध किसान साथै प्रतिक्रियावादीहरूद्वारा गरिने उपद्रो, सबै सञ्चार साधनहरूको तहसनहसको स्थितिमा सैन्य विघटनको समस्या र तनावपूर्ण अन्तर्राष्ट्रिय स्थिति । यसको अतिरिक्त पार्टीभित्र ट्रोत्स्की पक्षधर तथा पार्टी–विरोधी अन्य दलहरूले पार्टीमाथि ट्रेड–युनियनसम्बन्धी बहस थोपरेर आधारभूत समस्याहरूसँग लड्ने पार्टीको शक्ति क्षीण बनाइदिएका थिए । लेनिनले यी सबै परस्पर–सम्बद्ध, तर कहिलेकाहीँ परस्परविरोधी लाग्ने खालका समस्या तथा आवश्यकताहरूको उल्झनमा पनि सही बाटो पहिल्याउन र त्यस बाटोमा पार्टी र सोभियत सरकारको दृढता र विश्वासपूर्वक नेतृत्व गर्नुभयो ।
लेनिनले १९२१ का प्रारम्भिक महिनाहरू नयाँ आर्थिक नीति(१)मा भएका सङ्क्रमणलाई हटाउने, कमिन्टर्नको तेस्रो अधिवेशनको तयारी गर्ने, दसौँ पार्टी अधिवेशनका प्रस्तावहरूको मस्यौदा तयार गर्ने, सोभियतहरूको आठौँ अधिवेशनद्वारा डिसेम्बर १९२० मा स्वीकृत गोएलरो योजना(२)को कार्यान्वयन सम्बन्धमा चिन्तन–मनन गर्नेजस्ता काममा बिताउनुभयो । यो योजना समाजवादी विचारको आधारमा राष्ट्रिय अर्थव्यवस्थाको बहाली र विकासको दृष्टिले एक अति महत्वपूर्ण योजना थियो । यस सँगसँगै, लेनिनले उक्त दिनका आवश्यकताहरूबाट उत्पन्न भएका अनेक व्यावहारिक तथा तात्कालिक समस्यालाई पनि हल गर्नुपथ्र्यो । दस्तावेज तथा सेक्रेटरीहरूको टिपोटबाट प्रस्ट हुन्छ, लेनिनले २ फेबु्रअरी १९२१ को दिन यसरी बिताउनुभयो –
उहाँले चार सभाहरूको अध्यक्षता गर्नुभयो । आर्थिक आयोगको बैठक ११ बजेदेखि २ बजेसम्म चल्यो र केन्द्रीय समितिको पोलिटब्युरोको बैठक २ बजेदेखि ४ बजेसम्म ।
जब लेनिनले पोलिटब्युरो बैठकको अध्यक्षता गरिरहनुभएको थियो, त्यस समय उहाँलाई पेत्रोग्रादको गुर्बेर्निया समितिका सेक्रेटरीले पठाएको एउटा सन्देश प्राप्त भयो । त्यसमा पेत्रोग्रादको समस्याग्रस्त स्थिति तथा मजदुरहरूलाई रासनपानी नभएको र दाउराको पनि अभाव भएको कारणले पुतिलोभ, बाल्टिक तथा अन्य कारखानाहरू बन्द भएको सूचना दिइएको थियो । लेनिनले जवाफमा निम्नलिखित तार पठाउनुभयो –
“हिजो श्रम तथा प्रतिरक्षा परिषद्ले १ करोड ८५ लाख पूड (३) को कोइला विदेशबाट खरिद गर्ने फैसला ग¥यो । भोजनको स्थिति सुध्रिनेछ, किनकि आज काकेशियाबाट खाद्यान्न पु¥याउन थप दुईओटा रेलगाडी दिने फैसला भएको छ ।”
लेनिनले ६ देखि ७ बजेसम्म शिक्षा जनकमिसारको पुनर्सङ्गठनसँग सम्बन्धित रुसी कम्युनिस्ट पार्टी (बोल्शेभिक) को केन्द्रीय समितिद्वारा नियुक्त आयोगको बैठकको अध्यक्षता गर्नुभयो । बैठकको क्रममा उहाँलाई आफ्नो सेक्रेटरीको एउटा नोट प्राप्त भयो, जसमा लेखिएको थियो –
“के तपाईँले आज सोकोलोभ (साइबेरियाको क्रान्तिकारी समितिको एकजना सदस्य) लाई भेट्ने समय दिन सक्नुहुन्छ ? उहाँको भनाइअनुसार काम अत्यावश्यक र छिटो हल गर्नुपर्नेछ । उहाँले दिनमा धेरैचोटि फोन गर्नुहुन्छ र हजुरसँग भेट्ने समय चाहनुहुन्छ ।”
लेनिनले त्यही नोटको पछाडि जवाफ लेख्नुभयो, “धेरै राम्रो । मसँग भेट्न आज क्रजिजानोभ्स्की(४) आउँदै छन् । एक घण्टाको लागि । त्यसपछि साकोलोभ । उहाँको फोन नं. लिनुहोला ।”
त्यस दिन राति लेनिनले फेरि शिक्षा जनकमिसारको पुनर्सङ्गठनसँग सम्बन्धित आयोगको अध्यक्षता गर्नुभयो । त्यसदिन लेनिनले अरु निम्नलिखित कार्य पनि गर्नुभयो –
१) माक्र्स–एङ्गेल्स सस्ंथानका सञ्चालकलाई पत्र लेख्नुभयो, जोसँग उहाँले माक्र्स र एङ्गेल्सका पत्रहरूको एउटा जर्मन संस्करण पठाउनुभयो र उनीसँग निवेदन गर्नुभयो । उहाँद्वारा (लेनिनद्वारा) रेखाङ्कित गरिएका हिस्साहरूको सन्दर्भ सूची के के हुन्, ती पत्र कहाँ छापिएका थिए र के शीदेमान एन्ड कम्पनीसँग माक्र्स र एङ्गेल्सका पत्रहरूको पूरा खण्ड (भोल्युम) खरिद गर्न (फोटोकपी भए पनि) सारै प्रकाशित भइसकेका सामग्रीहरू साराका सारा मस्कोमा सङ्ग्रह गर्न सम्भव छ ? सोध्नुभयो ।
२) अर्को पत्र जनकमिसार परिषद्का प्रबन्धक गोर्बुनोभलाई लेख्नुभयो । त्यसमा भनिएको थियो, हाम्रो अमेरिकास्थित प्रतिनिधि मार्टेन्सले हाम्रा मिल र कारखानाहरूमा प्राविधिकरूपले सघाउने वातावरण बनाउनुपर्छ ।
३) लघु जनकमिसार परिषद्को उपाध्यक्षलाई पनि उहाँले पत्र लेख्नुभयो । त्यसमा उहाँले जनकमिसार परिषद्का कमिसारहरूद्वारा दिइएको रिपोर्टको बारेमा, जसमा लेनिनले धेरै महत्वपूर्ण प्रस्तावहरूलाई पालन गर्न परिषद्को ध्यानाकर्षण गराउनुभएको थियो । विशेषरूपले कार्यालयका कर्मचारीहरूको बढ्दो सङ्ख्या तथा सरकारी संस्थानहरूमा अरु धेरै कर्मचारीहरूको भर्तीमाथि रोक लगाउने फैसला गर्दै मस्कोमा बस्नयोग्य घरहरूको बाँडफाँडमाथि नियन्त्रणतर्फ ध्यानाकर्षण गराउनुभएको थियो ।
लेनिनले केही पत्र पढ्नुभयो । टेलीग्राफ पढ्नुभयो । तिनको टिपोट लेख्नुभयो –
क) पत्र अमेरिकी पत्रकार, लुईजा ब्रयान्ट (रीड) का थिए, उनले एउटा पत्रमा भेटघाटको लागि आग्रह गरेकी थिइन् र अर्कोमा लेनिनका लागि केही किताबहरू पठाएको सूचना दिएकी थिइन् ।
ख) तार रोस्तोभ–आँन–दोनबाट प्राप्त भएको थियो, जसद्वारा घोडासवार सेनाका चिफ अफ स्टाफले १६ आँै डिभिजन बरफिलो तुफानमा फसेको सूचना दिएका थिए ।
ग) उहाँले खानी मजदुरहरूको भर्तीको बारेमा श्रम तथा प्रतिरक्षा परिषद्द्वारा पास गरिएको एउटा प्रस्तावका सम्बन्धमा सिरोमोलोतोभेका एउटा नोट पढेर जवाफमा लेख्नुभयो, “दस–पन्ध्र पङ्क्तिमा सटीक र स्पष्ट ढङ्गले केन्द्रीय समितिको नाममा लेख्नुहोस् ।”
घ) उहाँले सिमोरोलोतोभको उरालमा गरिएको नियुक्तिको दस्तावेजमा हस्ताक्षर गर्नुभयो, जसमार्फत उहाँलाई उरालका उद्योगहरूको निरीक्षण र त्यसको उत्पादन बढाउनको लागि तुरुन्त निर्णय लिने अधिकार दिइएको थियो ।
ङ) लेनिनले नि.अ.सेमाश्कोद्वारा प्राप्त भएको एउटा पत्र पढ्नुभयो, जसमा मजदुरहरूलाई क्रिमिया ल्याउने अस्पतालको रेलगाडीको बाटोमा कुनै बाधा हुन नदिने व्यवस्था मिलाउन निवेदन गरिएको थियो ।
शिक्षा जन कमिसारियतको पुनर्गठनको लागि नियुक्त केन्द्रीय समितिको आयोगको बैठकहरूमा मि.नि. पोक्रोभ्स्कीको हिस्सेदारीको सम्बन्धमा लेनिन र उहाँकी सेक्रेटरीबीच नोटहरूको आदान–प्रदान भयो । सेक्रेटरीले नोट लेखेर उहाँ भ्लादीमिरोभसँग कतिखेर भेट्ने समय दिन सक्नुहुन्छ भनी सोधिन् । जवाफमा लेनिनले लख्नुभयो, “भ्लादीमिरोभलाई आफ्नो टेलिफोन नम्बर दिन भन्नुस्, मलाई आशा छ म राती ९ वा १० बजेपछि खाली हुनेछु ।”
उहाँले बाली खराब भएका कारण पीडित किसानहरूलाई सहायता दिने विषयमा कम्युनिस्ट पार्टी (बोल्शेभिक) को पोलिटब्युरोको प्रस्तावको मस्यौदामा केही संशोधन गर्नुभयो ।
उहाँले साइबेरियामा भूधारण र खाद्य नीतिको पुनर्सङ्गठनको सम्बन्धमा साइबेरियाली क्रान्तिकारी समितिका सदस्य ब.न. सोकोलोभको रिपोर्ट र प्रस्तावको मस्यौदा पढ्नुभयो । उहाँले साइबेरियाको स्थितिको बारेमा ओस्काबाट प्राप्त एउटा टेलीग्राफ पनि पढ्नुभयो र केही टिपोट गर्नुभयोे ।
उहाँले श्रम तथा प्रतिरक्षा परिषद्को प्रशासनिक बैठकको कार्य विवरणमा केही संशोधन गरेपछि त्यसमा हस्ताक्षर गर्नुभयो । यस कार्य विवरणमा इन्धनका समस्याहरू (त्यसको खनाइ, लदाइ र ढुवानी), मोटर यातायातको लागि विशेषज्ञ र पानीजहाजहरूको निर्माण तथा त्यसको मर्मतको कामको लागि मजदुर भर्तीको सवाल, अखिल रुसी राष्ट्रिय अर्थव्यवस्था परिषद्को भू–गणितीय विभागको लागि लालसेनाबाट भू–अभियन्ता नियुक्त गर्ने मामिला आदिको सम्बन्धमा ५९ वटा मुद्दा र १५ वटा प्रस्ताव समावेश थिए ।
लेनिनले वित्तीय प्रश्नहरूका सम्बन्धमा भएको लघु जनकमिसार परिषद्को बैठक कार्य–विवरणका १२ मध्ये ६ वटा मुद्दालाई स्वीकृत गरेर तिनीहरूमाथि हस्ताक्षर गर्नुभयो ।
उहाँले आर्थिक आयोगको बैठकको कार्य–विवरणलाई पनि स्वीकृति दिनुभयो र त्यसमा हस्ताक्षर गर्नुभयो ।
लेनिनले पलायनवादको विरुद्धमा सङ्घर्ष गर्न गरिने कामहरूको सम्बन्धमा जनकमिसार परिषद् र अखिल रुसी केन्द्रीय कार्यकारिणी समितिको प्रस्ताव, ‘पोल्यान्डका युद्धबन्दीहरू’ र १९२१ को पूर्वाद्धको लागि स्वशासित भोत्स्क इलाकाको क्रान्तिकारी समितिलाई १५० करोड रुबल दिने सम्बन्धमा जनकमिसार परिषद्को फैसलामा हस्ताक्षर गर्नुभयो ।
उहाँले जिन्सीको रूपमा लाभांश भुक्तान गर्नेबारेमा एउटा अस्थायी कानुन अनुमोदन गर्नुभयो ।
२ फेबु्रअरी १९२१ म भ्लादीमिर इल्यीचले जुन–जुन बैठकहरूका अध्यक्षता गर्नुभयो, त्यसमा विचाराधीन सामग्रीलाई छोडेर कम्तीमा पनि ४० वटा दस्तावेज लेख्नुभयो र पढ्नुभयो । तिनीहरूमाथि टिप्पणी लेख्नुभयो वा हस्ताक्षर गर्नुभयो ।
त्यसैदिन लेनिनले राजकीय योजना आयोगका अध्यक्ष ग.म.क्राजिजानोभ्स्की वित्तका उप–जनकमिसार भ्लादीमिरोभ, साइबेरियाली क्रान्तिकारी समितिका सदस्य व.न. साकोलोभ तथा रुजिच्का नामक एकजना चेक साथीलाई भेटघाटको समय दिनुभयो ।
लेनिनको लागि यो एउटा साधारण दैनिकी थियो ।
टिप्पणीहरू :
१) नयाँ आर्थिक नीति – गृहयुद्धको समाप्तिपछि सोभियत सत्ताले अपनाएको आर्थिक नीति पुँजीवादीबाट समाजवादमा सङ्क्रमणको अवधिको लागि निर्धारित गरिएको थियो । अर्थव्यवस्थाका प्रमुख शाखाहरू (उद्योग, परिवहन, वित्त, विदेश व्यापारको ठेकेदारी, राष्ट्रियकृत भूमि) लाई राज्यको हातमा कायम राख्दै, नयाँ आर्थिक नीतिले सर्वहारा राज्यको नियन्त्रणमा पुँजीवाद तथा उन्मुक्त व्यापारलाई विकसित हुने छुट दिएको थियो । यस नीतिको उद्देश्य पुँजीवादी हिस्साहरूमा नियन्त्रण हासिल गर्न समाजवादको निर्माण गर्नु थियो । गृह–युद्धका वर्षहरूमा अपनाइएको ‘युद्धकालीन कम्युनिज्म’ को तुलनामा यसलाई ‘नयाँ’ भनिन्छ । ‘युद्धकालीन कम्युनिज्म’ नीतिमा सोभियत सत्ताले ठुला उद्योगहरूलाई मात्र नभएर मझौला तथा साना उद्योगहरूलाई पनि आफ्नो नियन्त्रणमा लियो । अन्नको व्यापारको राजकीय ठेक्का सुरु ग¥यो । निजी व्यापारमा प्रतिबन्ध लगाइदियो र जिन्सीको हुकुमी वसुलीको स्थापना ग¥यो । त्यसमा किसानहरूको उब्जनीको सारा बचत राज्यलाई दिनुपर्ने व्यवस्था थियो र अनिवार्य देशव्यापी श्रम–सेवा चालू थियो । त्यो अस्थायी किसिमको नीति थियो, जसको आवश्यकता युद्ध तथा राष्ट्रिय प्रतिरक्षा परिषद्का समस्याहरूको कारणले खड्किएको थियो ।
२) गोएलरो योजना – सोभियत रुसको विद्युतीकरण योजना देशको राष्ट्रिय अर्थव्यवस्थाको विकासको पहिलो दीर्घकालीन योजना थियो, जसलाई लेनिनको आदेशमा रुसी राजकीय विद्युतीकरण आयोगले १९२० मा तयार गरेको थियो ।
३) पूड – पुरानो रुसी तौल–मापक, जुन १६.३ किलोग्रामको बराबर हुन्छ ।
४) ग.म. क्रजिजानोभ्स्की (१८७२–१९५९) – क्रान्तिकारी आन्दोलनका सबैभन्दा पुराना कार्यकर्तामध्येका एक थिए । उनी ऊर्जा विशेषज्ञ र १८९३ देखि कम्युनिस्ट पार्टीका सदस्य थिए । उनी १९२१ मा योजना आयोगका अध्यक्ष बने ।
प्रस्तुति : आरम्भ

Leave a Reply

Your email address will not be published. Required fields are marked *