भर्खरै :

पीडित जनताको मुक्तिदाता नारांदेवी !

  • आश्विन ९, २०८३
  • न्हुछेरत्न वुद्धाचार्य
  • साहित्य
पीडित जनताको मुक्तिदाता नारांदेवी !

असिना घाम पानी नभनी
अगाडि बच्चा बोकी
पछाडि भारी बोकेर
दुःख कष्ट भोगेर
परिश्रम गरिरहेका
सङ्घर्षशील पीडित नारी !

लाखौँ लाख सर्वहाराहरू
मरी मरी बाँचिरहेको बस्तीमा
मुक्तिको लागि पाखापर्वत चढेर
बुलन्द आवाज लिएर अगाडि बढिरहेको
स्वाभिमानी, चेतनशील, जनसेविका !

हँसिया, सियो, मुङ्ग्रोको पसिना
हजारौँ श्रमको मोती दाना
भक्षकहरूले असत्य गरी चुसिराखेको
आफ्नो रगत पसिना फिर्ता लिन
विद्रोह गरिरहेका नारांदेवी ।

तर,
यो वर्तमानमा
विरोधको आवाज
गुञ्जिरहेको बस्तीमा
घाउ घाउबाट निस्केको स्वरले
विस्फोटनका मागहरू उठिरहेका छन्
यो अभावै अभावले
घेरिएको प्रत्येक बस्तीमा

अनि,
यो डगमगाएको धरातलमा
मुटुभरि आगो
ओठभरि ज्वाला बोकेर
अघि बढिरहेको
नारी जागरणबाट
उठेको साहसले

मुक्तको आवाजले
उन्मुक्त भएर
निस्केको शक्तिले
यो सदिँयौदेखि
अँध्यारो पथमा
उज्यालो पारेर
भोलिको उदाउँदो
सूर्यको प्रतिक्षामा छन्
यो आकाश । यो धर्ती ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *