भर्खरै :

महामारीमा नागरिक र राज्यको दायित्व

काठमाडौँ उपत्यकामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या लगातार बढिरहेको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार सोमबार काठमाडाँै जिल्लामा १५६७, ललितपुरमा २२३ र भक्तपुरमा १२२ जना नयाँ सङ्क्रमित थपिएका छन् । आगामी दिनमा सङ्क्रमितको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । केन्द्रीय विपद् व्यवस्थापन समिति (सीसीएमसी) ले कोभिड–१९ सङ्क्रमणको अवस्था हेरी उपयुक्त कदम चाल्ने अधिकार जिल्लास्तरीय विपद् व्यवस्थापन समिति (डीसीएमसी) लाई दिएको छ । काठमाडौँ उपत्यकामा केही दिनभित्र तीव्रगतिमा कोभिडको सङ्क्रमण बढिरहेको अवस्थामा तीन जिल्लामा १६ गतेबाट साता दिनको लागि निषेधाज्ञा घोषणा भएको छ ।
सङ्क्रमितको सङ्ख्या बढेसँगै राजधानीमै बिरामी उपचारको लागि आवश्यक पूर्वाधारको अभाव हुन थालेको छ । अस्पतालमा सघन उपचार कक्ष भरिभराउ र भएका भेन्टिलेटर पनि प्रयोग भइरहेको बताइएको छ । कोभिड उपचारमा अग्रणी भूमिका खेल्दै आएको टेकु अस्पतालका चिकित्सकहरूले केही दिनभित्रै अस्पताल परिसरबाटै बिरामीलाई अक्सिजन दिनुपर्ने अवस्था आउन सक्ने बताएका छन् । सङ्क्रमण दर तीव्र रहे पनि सर्वसाधारणले अझै पनि सावधानीका नियम पालनामा इमानदारी देखाइरहेका छैनन् । यस्तो अवस्थामा कोभिड–१९ को क्रमभङ्ग गर्न निषेधाज्ञा उपयुक्त कदम हो । छोटो अवधिको निषेधाज्ञामै सङ्क्रमणको विकराल अवस्थामा नियन्त्रण भए नेपाली जनताको अहोभाग्य हुनेछ । तर, निषेधाज्ञा डढेलो जस्तै फैलिरहेको कोभिड सङ्क्रमणको पूर्ण समाधान भने होइन । सङ्क्रमणको सिलसिला तोड्न निषेधाज्ञाले मद्दत गरे पनि यसको निम्ति निषेधाज्ञा र त्यसको अघि–पछि पनि राज्य र नागरिकले पालना गर्नुपर्ने केही कदम अवश्य छन् ।
सबभन्दा आधारभूत कदम त सर्वसाधारणलाई सरकारले चालेका कदम जनताकै हितमा भएको विश्वास दिलाउन जरुरी छ । जनतालाई सरकारले एकपछि अर्को घोषणामात्र गरिरहेको छैन, बरु वास्तवमै महामारीविरुद्ध लड्न तदारुकताका साथ लागिरहेकोमा आश्वस्त बनाउनुपर्छ ।
नेपालको संविधानमा नागरिकले पनि देश हितमा कर्तव्य पालनाको विषयमा उल्लेख छ । व्यापक नेपाली जनतामात्र होइन, सिङ्गो विश्वलाई नै महामारीमुक्त बनाउने शिलशिलामा पालना गर्नुपर्ने केही नियमका सन्दर्भमा नागरिक पनि इमानदार हुन जरुरी छ । यी नियमको पालना आफ्नो, देश र सिङ्गो विश्वको हितमा भएकोमा नागरिक सजग हुन जरुरी छ ।
सरकारले एकपछि अर्को घोषणा गर्दैमा मात्र आफ्नो कर्तव्य पूरा हुँदैन । कोभिडको अघिल्लो लहर र दोस्रो लहरको क्रममा विभिन्न देशका अनुभवलाई आधार बनाएर महामारी रोकथाम र नियन्त्रणको लागि आवश्यक पूर्वाधारको व्यवस्थापन र विकासमा सरकारले तीव्रता दिन जरुरी छ । डढेलोभन्दा तेज गतिमा फैलिरहेको महामारीलाई पराजित गर्न उसको भन्दा तेज गतिमा राज्य दौडिन आवश्यक हुन्छ । अस्पतालमा शय्या थपदेखि अस्थायी अस्पतालको स्थापना, अघिल्लो लहरमा बनाएका आइसोलेसन केन्द्र र क्वारेन्टिन स्थलको पुनःस्थापनादेखि नयाँ केन्द्रको स्थापना, स्वास्थ्य सामग्रीदेखि स्वास्थ्यकर्मीहरूसम्मको उचित परिचालन, निषेधाज्ञाको कारण दैनिक जीवनमा हातमुख जोड्ने समस्या भएका जनताको लागि उचित बन्दोबस्त आदि विषयमा सरकारले ध्यान दिन जरुरी छ ।
निषेधाज्ञाको घोषणासँगै अघिल्लो पटकको लहरमा जस्तै धेरै मानिसले उपत्यका छोड्न सक्छन् । तिनको उचित व्यवस्थापनको सन्दर्भमा पनि राज्य गम्भीर हुन जरुरी छ । सत्ता झगडालाई एकातिर पन्छाएर यतिबेला जनताको स्वास्थ्यमाथि मडारिरहेको कालो बादल पन्छाउने काममा सबै एकजुट भएर लाग्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *