भर्खरै :

तनहुँ–चितवन जोड्ने पक्की पुल पुनः भत्कियो, एकको निधन: दुई बेपत्ता

  • बैशाख १४, २०७८
  • – आर.के. श्रेष्ठ
  • समाचार

भरतपुर, १३ वैशाख । तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने पक्की पुल निर्माणको क्रममा पुनः भत्किएर वैशाख १२ गते एक मजदुरको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । त्रिशुली नदीमा खसेर मृत्यु हुने र बेपत्ता हुने तीनै जना भारतीय नागरिक रहेको बुझ्नमा आएको छ ।
पहिलो पटक २०७७ चैत ३१ गते मङ्गलबार बिहान चार बजेर अठाइस मिनेटमा उक्त निर्माणाधीन पुल भाँचिएर भत्किएको थियो । पछि इन्जिनियर र विज्ञहरूले जाँचबुझ गरेर काम सुरु गर्न भनेपछि कामदारले काम गर्न थालेका थिए । तर, बन्दै गरेको पुलमा पुनः काम सुरु गर्न थाल्न नपाउँदै बिच्छाएका स्टिल र फलामका छडहरू नदीमा झर्यो । भत्किएका छडसँगै नदीमा खसेका मजदुरहरू केही बाँच्न सफल भए भने एक जनाको मृत्यु र दुईजना अझै बेपत्ता छन् । प्रत्यक्षदर्शीका अनुसार सातआठ जना मजदुर नदीमा खसेका थिए ।
२०७१ सालमा निर्माण सुरु भएको पक्की पुल तीन वर्षमा सम्पन्न हुने योजना थियो । ठेकेदार, सडक डिभिजन कार्यालय र इन्जिनियरलगायतको कमजोरीले पुल निर्माण समयमा सम्पन्न नहुनु, बन्दै गरेको पुल भत्कनु र अन्तमा पुलबाट खसेर मजदुरको मृत्युसम्म हुन पुगेको छ । यो घटनाले राज्यको काम कारबाहीप्रति नै प्रश्न उठेको छ । एउटा निर्माण कम्पनीले काम ठेक्का हात पार्दै गर्दा तलसम्म आइपुग्दा ठेकेदारमाथि पेटी ठेकेदारसम्म आइपुग्छ । चार पाँच तहको ठेकेदारले नाफा खाँदा र मन्त्री हुँदै नेता, कार्यकर्ता र सरकारी कर्मचारी सबैको मुख टाल्दै आउने बाँकी रकमले काम हुँदा बन्ने संरचना कमजोर त्यसै नै हुने नै भयो । त्यसैमाथि काममा हुने ढिलासुस्तिले समयमा निर्माण सम्पन्न हुन सक्दैन । यसकै परिणाम आज मानिसले ज्यान गुमाउनु परेको छ ।
पुल निर्माण स्थलमा ठेकेदारका मान्छेहरू आएर उल्टै हप्काउने र थर्काउने जस्ता अभद्र व्यवहार भएको देख्न सकिन्थ्यो । भारतीय ठेकेदार कम्पनीका मान्छेहरू आएर मजदुरहरूलाई उल्टै हप्काउँदा तिनीहरूमा मानवीय भावना पटक्कै नभएको जो कोहीलाई लाग्दथ्यो । नेपाली ठेकेदारमार्फत काम गर्दै आएका मजदुर झलक कार्की सुनाउनु हुन्छ, “भत्किएको पुलको संरचना हेर्दा अझै पनि जोखिम छ । भाँचिएर झरेको पुलको भाग खम्बाको भरमा अडिएको छ । ठुलो हावाहुरी आएमा कतिबेला झर्न सक्छ भन्न सकिन्न । धन्न काम नभएको समयमा पुल भाँचिएर खस्यो । नत्र आफू कामदारहरू परेको भए पहिलो पटकको पुल भाँचिदामै पर्नसक्थ्यो । “वैशाख १२ गते इन्जिनियरहरूले जाँचबुझ गरेर काम पुनः सुरु गर्न हुन्छ भनेपछि देबघाट साइडबाट छडहरू बुन्दै र स्टिल फलामहरू बुन्दै आएको थियो । एक्कासि रड, फलामका स्टिलहरूसँगै काम गर्ने मान्छेहरू नदीमा खसे । एक जना हस्पिटलमा पुगेर मृत्युु भएको र केही मान्छेहरू वचन सफल भयो भने दुई जना बेपत्ता भएको प्रत्यक्षदर्शी मजदुर कार्कीले सुनाउनुभयो ।
दुई सय मिटर लम्बाइ र साढे आठ फिट चौडाइमा बन्दै गरेको पक्की पुल निर्माण गर्न इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभी निर्माण कम्पनीले जिम्मा पाएको थियो । उक्त पक्कि पुलको बजेट २१ करोड २८ लाख रहेको छ ।
स्थानीय बासिन्दाहरू इन्जिनियर, ठेकेदार शासक दलका नेताहरूकै कमजोरीका कारण बन्दै गरेको पक्की पुल भत्केको र मान्छेले ज्यान गुमाउन पुगेको भन्दै आक्रोशित बनेका छन् । कामप्रति लापरबाही गर्ने इन्जिनियर र ठेकेदारहरूलाई कारबाहीका साथै क्षतिपूर्ति भरण गर्न पनि नागरिकहरूको माग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *