भर्खरै :

सरकार बदल्दैमा खासै परिवर्तन नहुने

जो आगोसँग खेल्छ, त्यो आगोमै मर्छ, जो पानीसित खेल्छ त्यो पानीमै मर्छ भनेजस्तै सत्ताको निम्ति मात्रै राजनीति गर्ने दल सत्ता राजनीतिमै भुलेर असफल या पतन हुन्छ । गएको निर्वाचनमा एमाले र माओवादी केन्द्र सरकारको नेतृत्व गर्नेकै लागि मिलेको थियो । सिद्धान्त र विचारको थाती राखेर सत्तामोहको निम्ति मिलेर बनेको नेकपा अन्ततः फेरि एमाले र माओवादी केन्द्र बने । सत्तामोहकै कारण एमाले र माओवादी केन्द्र नेकपा बन्यो र त्यही नेकपा सत्ता राजनीतिकै कारण एमाले र माओवादी केन्द्र बने । केपी ओली नेतृत्वको विकल्प अर्को सरकार खोज्नु के सत्ता स्वार्थ होइन ? माधव नेपाल र दाहालले के प्रम ओली हटाएर अर्कै नेतालाई सत्तामा ल्याउने राजनीति गरिरहेका होइनन् ?
एमाले र माओवादी केन्द्र अलग हुनुभन्दा अघि या नेकपाको नेतृत्वमा सरकार रहेको बेला ओली र दाहालमा सत्ताको मात चढेको थियो । झन्डै संसारकै शक्तिशाली सरकार बनेको उद्घोष गरिएको थियो । देशको मुहार फेर्ने विश्वास दिलाइएको थियो । नेकपा कुनै हालतमा नटुक्रिने बताइएको थियो । तर, सरकारको नेतृत्व गरेको तीन वर्ष पुग्दा नपुग्दै सरकार परिवर्तनको प्रसङ्ग उठ्यो र सत्तासीन दल अलग अलग भयो । यतिबेला माधवकुमार नेपाल, पुष्पकमल दाहालमात्र होइन एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको अनुहार पनि निन्याउरो देखिन्छ । चढेको मात एकाएक झ¥यो र शासकहरू नुन खाएको कुखुराझैँ भए ।
सत्तासीन राजनीतिक दलका नेताहरूको उद्देश्य नै सरकारको नेतृत्व गर्नु थियो । सत्तामा रहेर सेवा सुविधा लिनु थियो । छिनछिनमा सरकारको नेतृत्व परिवर्तन हुनुको कारण पनि सत्तामोह नै हुन्थ्यो । झन्डै दुईतिहाइ मत प्राप्त यो सरकार एउटै दलको नेतृत्वमा ५ वर्ष सम्म सरकार कायम हुने विश्वास थियो । तर, ओलीको सरकार ढाल्ने गृहकार्य नेका र माओवादी केन्द्रले गरिरहेका छन् । ती दलका नेताहरूले अविश्वास प्रस्ताव राखेर बहुमत जुटाउने प्रयास गरिरहेका छन् । सङ्ख्या नपुगी अविश्वास प्रस्ताव दर्ता नगर्ने नेकाको सोच हो । आफ्नो सरकार हटाउन विपक्षी दलले अविश्वासको प्रस्ताव ल्याउन तयारी गरिरहेको सरकारी पक्षको दाबी छ । तर, प्रमुख राजनीतिक दलहरूबीच जारी सत्ता समीकरणको जोड घटाउको टुङ्गो लागेको छैन या निष्कर्षमा पुगेको छैन । सत्तामोहको राजनीतिमा ठुला दलहरू फसे देशमा अस्थिरता निम्तिनेछ, विकासमा बाधा पुग्नेछ । सत्ता समीकरणले सरकार बदले पनि खासै कुनै परिवर्तन हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *