भर्खरै :

भूमिसम्बन्धी समस्या समाधानबारे अभिमुखीकरण

नेपाल सरकारले भूमिसम्बन्धी समस्या समाधान गर्न आयोग गठन गरेको छ । सोही विषयमा भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति भक्तपुरको आयोजनामा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूबीच अभिमुखीकरण कार्यक्रम मङ्गलबार भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जुन वर्गलाई लक्षित गरी आयोग गठन भएको हो, ती वर्गको हितका निम्ति आयोगले काम गर्नुपर्ने बताउनुभयो ।
भूमिसम्बन्धी समस्या समाधान गर्ने नाममा विभिन्न चलखेलहरू हुने गरेको बताउँदै उहाँले आयोगले न्यायोचित ढङ्गले लक्षित वर्गलाई फाइदा पुग्ने ढङ्गले आफ्नो कार्य अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । आयोगले भूमिहीन सुकुमवासीलाई जग्गा वितरण गर्ने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने उद्देश्य सकारात्मक रहेको उहाँले बताउनुभयो ।
सरकारले कमैया मुक्तिको नाममा कमैयाहरूलाई विस्थापित गरेको उदाहरण दिँदै प्रमुख प्रजापतिले मनोहरा तथा खोला किनाराहरूमा अव्यवस्थित तरिकाले बसेकाहरूलाई पनि व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रममा भूमिसम्बन्धी समस्या समाधान आयोगका सदस्य सचिव जगन्नाथ लामिछानेले आयोगको उद्देश्यमाथि प्रस्ट पार्दै लामो समयदेखि भूमिबाट वञ्चित रहँदै आएको उत्पीडित वर्गको पक्षमा काम गर्नका लागि आयोगको गठन भएको बताउनुभयो ।
कार्यक्रममा आयोगका सदस्य उत्तरा नेपालले स्वागत मन्तव्य दिनुभएको थियो भने आयोगका तर्फबाट प्रशिक्षक अन्जन न्यौपानेले आयोगको काम—कारबाहीबारे प्रस्तुतीकरण देखाउनुभएको थियो ।
अभिमुखीकरण कार्यक्रममा भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति भक्तपुरका अध्यक्ष मोहनबीर श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *