भर्खरै :

समानहरूको षड्यन्त्र र आदर्श समाज

 (ग्राकस बाबेफ फ्रान्सेली क्रान्तिकारी थिए । उनी मोरेली र माब्लीजस्ता काल्पनिक समाजवादीहरूबाट प्रभावित थिए । फ्रान्सेली क्रान्तिताका उनी पत्रकारिता गर्थे । फ्रान्सेली क्रान्ति एक पुँजीवादी क्रान्ति थियो । फ्रान्समा पुँजीवादको जरा गाड्नु नै त्यस क्रान्तिको युगीन दायित्व थियो । क्रान्तिअघि फ्रान्समा हुर्केको प्रबोधन युगको आदर्श भने क्रान्तिको उद्देश्त्न्दा कता हो कता उच्च थियो । त्यस क्रान्तिले मानव जातिका उदात्त आदर्शहरूलाई लागू गर्न नसकेकोले बाबेफले ‘जनसन्देश’ पत्रिकामार्फत जनताबीच आफ्ना समानतावादी विचारहरू प्रचार गरिरहेका थिए । सन् १७९६ मा डाइरेक्टरी वा सरकारलाई अपदस्त गर्ने ‘समानहरूको षड्यन्त्र’ ९ऋयलकउष्चबअथ या तजभ भ्त्रगबकि० को पोल खुलेपछि उनीलगायत धेरै क्रान्तिकारीहरू समातिए । १७६० मा फ्रान्सको एक सैनिक परिवारमा जन्मेका उनलाई १७९७ मा गिलोटिन भन्ने टाउको काट्ने यन्त्रबाट उनलाई ज्यान सजाय दिइयो । षड्यन्त्र विफल भएको ३० वर्ष कटेपछि उनका मित्र र सङ्गठनका होनहार नेता फिलिप बोनारोट्टीले सन् १८२८ मा आफ्नो सङ्गठनको अवधारणाबारे एउटा विधान बाहिर ल्याए । यहाँ बाबेफ र उनको सङ्गठनले कल्पना गरेको समाजको सोही विधान उल्था गरिएको छ । गहिरिएर हेर्ने हो भने यस विधानमा दिइएका प्रावधानहरू पूर्ववर्ती काल्पनिक समाजवादीहरूको भन्दा अझ बढी व्यवहारिक र सुधारिएका छन् ।– अनुवादक)
प्रस्तावित आर्थिक अध्यादेशका अंशहरू
धारा १
गणतन्त्रमा महान् राष्ट्रिय समुदाय स्थापना गरिनेछ ।
धारा २
राष्ट्रिय समुदायले निम्न धनसम्पत्तिहरू हात लिनेछ ः
राष्ट्रिय सम्पत्ति घोषणा भएका तर दोस्रो वर्षको ९ थर्मिदोरसम्म नबेचिएका सम्पदाहरू ।
दोस्रो वर्षको भेन्तोजको ८ औँदेखि १३ औँ तारिखसम्ममा जारी भएका अध्यादेशहरूले गरिबहरूलाई दिएको क्रान्तिका शत्रुहरूको धनसम्पत्ति ।
गणतन्त्रका कारण अदालतले दोषी ठह¥याएको हुनाले बेवारिसे बनेको धनसम्पत्ति ।
सार्वजनिक संस्थानहरूले हाल ओगटेका भवनहरू ।
१७९३ जून १० को कानुन आउनुअघि कम्युनहरूले उपभोग गरेका सरसाधनहरू ।
धर्मशालामा फेरिएका घरहरू र सार्वजनिक संरचनाहरू ।
फ्रान्सेली घोषणापत्र लागू गर्ने क्रममा गरिब नागरिकहरूले ओगटेका घरहरू ।
गणतन्त्र त्यागेका व्यक्तिहरूका धनमाल ।
सरकारी सेवा गर्दै गर्दा धनी भएका कर्मचारीहरूले हडपेको धनसम्पत्ति ।
मालिकहरूले बेसहारा छोडेका बालीनालीहरू ।
धारा ३
जन्मसिद्ध वा इच्छापत्रअनुसार दिइने उत्तराधिकारीको अधिकार निर्मूल गरिन्छ । व्यक्ति मालिक रहेका सम्पूर्ण धनसम्पत्ति उनीहरूको मृत्युपछि राष्ट्रिय समुदायको हातमा ल्याइन्छ ।
धारा ४
आज कानुनले सेनामा भर्ती नलिने बाबुहरूका छोराछोरीलाई ‘वर्तमान मालिक’ मानिनेछ ।
धारा ५
पुरुष वा महिला जे भए पनि मातृभूमिको निम्ति आफ्नो सबथोक त्याग्ने र आफ्नो व्यक्तित्व र आफूले सक्दो काम समर्पित गर्ने प्रत्येक फ्रान्सेली महान् राष्ट्रिय समुदायको सदस्य हो ।
धारा ६
६० वर्ष नाघेका अग्रज र अपाङ्गहरू गरिब छन् भने उनीहरूले स्वतः राष्ट्रिय समुदायको सदस्य बन्ने अधिकार राख्छन् ।
धारा ७
राष्ट्रिय समुदायका सदस्यहरू कलिला छन् भने उनीहरूलाई राष्ट्रिय शिक्षालयहरूमा हुर्काइन्छ ।
धारा ८
राष्ट्रिय समुदायका मालसामानहरू सम्पूर्ण योग्य र तन्दुरुस्त सदस्यहरूले साझारूपमा उपयोग गर्छन् ।
धारा ९
महान् राष्ट्रिय समुदायले आफ्ना सम्पूर्ण सदस्यहरूलाई उपयुक्त समानता र इमानमा राख्छ । उनीहरूलाई आवश्यक सबै सरसुविधा दिइन्छ ।
धारा १०
गणतन्त्रले असल नागरिकहरूलाई यो सुधारको सफलतामा योगदान गर्ने उद्देश्यले समुदायको निम्ति आफ्नो धनसम्पत्तिको स्वेच्छिक परित्याग गर्न आमन्त्रण गर्छ ।
धारा ११
व्यक्तिमाथि भनिएको समुदायको सदस्य होइन भने ऊ कदापि निजामती वा सैन्य कर्मचारी बन्न सक्दैन ।
धारा १२
महान् राष्ट्रिय समुदायलाई उसका सदस्यहरूले चुनेका स्थानीय प्रशासकहरूले सञ्चालन गर्छन् । उनीहरूले उच्च प्रशासनको निर्देशन र ऐन–कानुनबमोजिम यसो गर्छन् ।
साझा श्रमबारे
धारा १
राष्ट्रिय समुदायको प्रत्येक सदस्यले खेतीपाती र आफूले सक्ने उपयोगी (पेशा वा) कलाकौशलमा श्रम गर्नुपर्छ ।
धारा २
६० वर्ष नाघेका अग्रज र अपाङ्गहरू यसमा अपवाद रहन्छन् ।
धारा ३
आफ्नो धनसम्पत्तिको स्वेच्छिक परित्याग गरेर राष्ट्रिय समुदायको सदस्य बन्ने नागरिकहरू ४० वर्ष पुगिसकेका छन् र उनीहरूले वर्तमान अध्यादेश जारी हुनुभन्दा पहिले कुनै शारीरिक काम गरेका छैनन् भने उनीहरूलाई कुनै कष्टदायी श्रम गर्न बाध्य गरिन्न ।
धारा ४
प्रत्येक कम्युनमा नागरिकहरूलाई वर्गअनुसार बाँडिन्छ । यहाँ उपयोगी कलाकौशलअनुसार विभिन्न वर्गहरू छन् । प्रत्येक वर्ग एउटै पेशा वा कालिगढी गर्ने मानिसहरूले बनेको हुन्छ ।
धारा ५
प्रत्येक वर्गमा अधिकारीहरू हुन्छन् । तिनलाई चुन्ने मान्छेले नै तिनको न्वारन गर्छन् । यी प्रशासकहरूले काम गर्न निर्देशन दिन्छन्, समान वितरणको प्रत्याभूति गर्छन्, नगर प्रशासनका आदेशहरू पालन गर्छन् तथा उत्साह र सक्रियताको उदाहरण प्रस्तुत गर्छन् ।
धारा ६
मौसम हेरिकन कानुनले नै राष्ट्रिय समुदायका सदस्यहरूको निम्ति कामको अवधि तोक्छ ।
धारा ७
प्रत्येक नगर प्रशासनमा अग्रजहरूको आयोग हुन्छ । त्यसमा प्रत्येक मजदुर वर्गका प्रतिनिधिहरू हुन्छन् । सो आयोगले वितरण एवम् कामलाई सरल तुल्याउने र सुधार्ने विषयसँग सम्बन्धित सम्पूर्ण प्रशासनिक फाँटलाई सल्लाह दिन्छ ।
धारा ८
राष्ट्रिय समुदायका श्रमहरूमा उच्च प्रशासनले मानिसहरूका पीडा घटाउन आवश्यक मेसिन र प्रक्रियाहरूको उपयोग गर्नेछ ।
धारा ९
नगर प्रशासनले निरन्तर प्रत्येक वर्गका कामदारहरूको अवस्था र उनीहरूले गर्ने कामहरूमा ध्यान दिइरहेको हुन्छ । उसले उच्च प्रशासनलाई यसबारे नियमित जानकारी गराउँछ ।
धारा १०
एउटा कम्युनबाट अर्को कम्युनमा कामदारहरूको आउजाउलाई समुदायको आवश्यकता र क्षमताको जानकारीका आधारमा उच्च प्रशासनले आदेश दिन्छ ।
धारा ११
उच्च प्रशासनले नागरिक भावना नभएका, काममा मन नलगाउने, समय खेर फाल्ने र अनुशासनहीन महिला पुरुष दुवैलाई श्रम शिविरमा काम गर्न बाध्य बनाउँछ किनभने यस्ता प्रवृत्तिले समाजमा हानिकारक उदाहरण प्रस्तुत गर्छन् । यस्ता मानिसहरूको धनसम्पत्ति राष्ट्रिय समुदायको बनाइन्छ ।
धारा १२
प्रत्येक वर्गका अधिकारीहरूले संरक्षण गरिनुपर्ने राष्ट्रिय समुदायका भन्डार घरका सामग्रीहरू, धर्तीका फलहरू र कलाकौशलका उत्पादनहरूको रेखदेख गर्छन् ।
धारा १३
यी वस्तुहरूको विवरण उच्च प्रशासनसामु नियमितरूपमा पठाइन्छ ।
धारा १४
कृषि वर्गसँग सम्बन्धित अधिकारीहरूले भोजन, लुगाफाटो, यातायात र मानव श्रमलाई हलुका बनाउने पशुपक्षीहरूको प्रजनन र सुधारमा पहरेदारी गर्छन् ।
साझा मालसामानको वितरण र प्रयोगबारे
धारा १
राष्ट्रिय समुदायका सदस्यहरूले प्रशासनले वितरण गर्ने निश्चित मालसामानमात्र ऐनअनुसार उपभोग गर्छन् सक्छन् ।
धारा २
उपरान्त, राष्ट्रिय समुदायले आफ्ना प्रत्येक सदस्यहरूलाई निम्न सुविधाको प्रत्याभूति गर्छ ः
स्वस्थ, आरामदायी र सुविधासम्पन्न आवास । रोजगारी र विश्राम । राष्ट्रिय संस्कृतिअनुसारको लाइनिन वा ऊनीका लुगाहरू । लुगा धुने घर, प्रकाश र ताप । रोटी, माछामासु, चरा, अण्डा, घिउतेल, वाइन र विभिन्न भेगमा प्रचलित पेय पदार्थहरूको रूपमा पर्याप्त भोजन । सजिलै प्राप्त गर्न सकिने तरकारी, फलफुल, मरमसला र अन्य साधन । स्वास्थ्य सेवाहरू ।
धारा ३
प्रत्येक कम्युनमा निर्धारित समयमा साझा भोजनको प्रबन्ध हुनेछ । भोजनको बेला सबै हाजिर हुनुपर्नेछ ।
धारा ४
कर्मचारी र सैनिकहरूको तलब दर राष्ट्रिय समुदायका सदस्यहरूको जत्तिकै हुनेछ ।
धारा ५
तलब लिने वा पैसा राख्ने राष्ट्रिय समुदायको कुनै पनि सदस्य दण्डित हुनेछ ।
धारा ६
राष्ट्रिय समुदायका सदस्यहरूले आफू बसेको जिल्लामा दिइने साझा रासनमात्र लिन पाउनेछन् । प्रशासनले ढुवानी अनुमति दिएका मालसामान अपवाद रहनेछन् ।
धारा ७
वर्तमान अध्यादेश जारी गर्दा नागरिकहरू जुन आवासमा बस्थे, त्यो तिनैको हुनेछ । पछिका केटाकेटीहरू भने आफू जन्मेको कम्युनका राष्ट्रिय शिक्षालयहरूमा हुर्किनेछन् ।
धारा ८
प्रत्येक समुदायमा राष्ट्रिय समुदायका सदस्यहरूका घरघरमा कृषि र कलाका उत्पादनहरू वितरण गर्ने जिम्मा लिएका अधिकारीहरू हुन्छन् ।
धारा ९
यो वितरणका नियमहरू कानुनले तय गर्छ ।
राष्ट्रिय समुदायको प्रशासनबारे
धारा १
राष्ट्रिय समुदाय राज्यको उच्च प्रशासनको वैध निर्देशनअन्तर्गत हुन्छ ।
धारा २
प्रशासनको हकमा गणतन्त्र इलाकाहरूमा विभाजित हुन्छ ।
धारा ३
एउटा इलाकामा परस्पर जोडिएका विभागहरू हुन्छन् । तिनको सेवा झन्डै उस्तै हुन्छ ।
धारा ४
प्रत्येक इलाकामा विभागीय प्रशासनहरूअन्तर्गत एउटा माध्यमिक प्रशासन हुन्छ ।
धारा ५
विभागीय र माध्यमिक प्रशासनबीच तथा यी दुवै र उच्च प्रशासनबीच टेलिग्राफ लाइनमार्फत द्रुत पत्राचार हुन्छ ।
धारा ६
कानुनअनुसार उच्च प्रशासनले प्रत्येक इलाकामा रहेका समुदायका सदस्यहरूबीच वितरणको प्रकृति र मात्रा तोक्छ ।
धारा ७
यो निर्धारणअनुसार विभागीय प्रशासनले सम्बन्धित जिल्लाहरूको नोक्सानी वा अतिरिक्त उत्पादनबारे माध्यमिक प्रशासनलाई जनाउ दिन्छ ।
धारा ८
सम्भव भएसम्म, माध्यमिक प्रशासनहरूले एउटा विभागको अभावलाई अर्कोको अतिरिक्त उत्पादनले सट्टाभर्ना गरिदिन्छन् । तिनले भन्डारण र आवश्यक ढुवानीको आदेश दिन्छन् । त्यस्तै तिनले आफ्ना आवश्यकता र अतिरिक्त उत्पादनको विवरण उच्च प्रशासनलाई बुझाउँछन् ।
धारा ९
उच्च प्रशासनले इलाकाका आवश्यकताहरू पूरा गर्छ । एउटा इलाकामा अभाव भएको सामानलाई त्यस्तै वस्तुको छेलोखेलो भएको इलाकाबाट वा विदेशी व्यापारबाट पूर्ति गर्छ ।
धारा १०
सबैभन्दा ठुलो कुरा, प्रत्येक वर्ष उच्च प्रशासनले सम्पूर्ण समुदायको उब्जनीको दस भागको एक भाग कटौती गरेर सैन्य भन्डारमा जम्मा गर्छ ।
धारा ११
त्यसले गर्दा गणतन्त्रको अतिरिक्त उत्पादन अनिकालको निम्ति सावधानीपूर्वक सुरक्षित रहन्छ ।
व्यापारबारे
धारा १
विदेशीहरूसँग निजी व्यापार गर्न मनाही छ । कसैले विदेशी सामानको व्यापार गरेको छ भने राष्ट्रिय समुदायको फाइदाको निम्ति त्यसलाई खोसिन्छ । कानुन मिच्नेहरूलाई सजाय हुन्छ ।
धारा २
गणतन्त्रले आफूकहाँ अभाव भएका मालसामानको खाँचो आफ्नो कृषि र उद्योगमा जम्मा भएको अतिरिक्त उत्पादनलाई विदेशीहरूको मालसामानसँग साटेर परिपूर्ति गर्छ ।
धारा ३
यसको निम्ति जल वा थल सीमा क्षेत्रमा मण्डीहरू स्थापना गरिन्छ ।
धारा ४
उच्च प्रशासनले आफ्ना दूतहरूमार्फत विदेशीहरूसँग व्यापार गर्छ । उसले मण्डीमा आदानप्रदान हुने मालताल प्राप्त गर्न अतिरिक्त उत्पादन जम्मा गर्छ । त्यही उसले विदेशीहरूबाट सम्झौता मुताबिकका मालसामान प्राप्त गर्छ ।
धारा ५
व्यापारिक मण्डीहरूमा बस्ने उच्च प्रशासनका दूतहरू प्रायः फेरिइरहन्छन् । बेइमान दूतहरूलाई कठोर दण्ड दिइन्छ ।
यातायातबारे
धारा १
प्रत्येक कम्युनमा सामुदायिक सामग्रीहरू एक कम्युनबाट अर्कोमा पठाउने जिम्मा लिएका प्रशासकहरू हुन्छन् ।
धारा २
प्रत्येक कम्युनलाई स्थल र जल यात्रा गर्न पर्याप्त यातायातका साधन उपलब्ध गराइन्छ ।
धारा ३
एउटा कम्युनबाट अर्को कम्युनमा ढुवानी गरिने मालसमानहरूको सुरक्षा गर्न र गाडी चलाउन राष्ट्रिय समुदायका सदस्यहरूलाई अह्राइन्छ ।
धारा ४
बर्सेनि माध्यमिक प्रशासनले निश्चित सङ्ख्यामा युवायुवतीलाई मातहतका सम्पूर्ण विभागहरूबाट हुने सबैभन्दा टाढाको ढुवानीका लागि खटाउँछ ।
धारा ५
जुनसुकै पैठारीको चाँजोपाँजो मिलाउन खटाइएका नागरिकहरूलाई पछि आफ्नै कम्युनमा रहन दिइन्छ ।
धारा ६
उच्च प्रशासनले अभाव भएका इलाकाहरूमा सबैभन्दा छोटो मार्गबाट वस्तुहरू आपूर्ति गर्छ । एउटा कम्युनदेखि अर्को कम्युनसम्म हुने यस्तो पैठारीमा पहरेदारीको जिम्मा निम्न प्रशासनले लिन्छ ।
योगदानबारे
धारा १
राष्ट्रिय समुदायमा सहभागी नहुने व्यक्तिहरूले मात्र कर तिर्छन् ।
धारा २
उनीहरूले माथि बताइएका योगदानहरू गर्छन् ।
धारा ३
यस्ता योगदानहरू मालसामानको रूपमा दिइन्छ र राष्ट्रिय समुदायको भन्डार घरहरूमा राखिन्छ ।
धारा ४
यस वर्ष तिर्नुपर्ने करको रकम पोहोरको भन्दा दोब्बर हुन्छ ।
धारा ५
कुल करलाई विभागले बाँड्छ र करदाताहरूमाथि प्रगतिशील ढङ्गले कर लगाउँछ ।
धारा ६
खड्को परेको बेला समुदायमा असंलग्न व्यक्तिहरूले कहिलेकाहीँ भविष्यमा गर्नुपर्ने योगदान पहिल्यै राष्ट्रिय समुदायको भन्डार घरमा जम्मा गर्नुपर्ने हुनसक्छ । यस्तो योगदान उनीहरूको बालीनाली वा उद्योगधन्दाबाट निस्केको अतिरिक्त उपजबाट हुन्छ ।
ऋणबारे
धारा १
सम्पूर्ण फ्रान्सेली जनताको राष्ट्रिय ऋण मिनाहा गरिन्छ ।
धारा २
गणतन्त्रले विदेशीलाई दिनुपर्ने पेन्सनको रकम तिर्नेछ । उसले व्यक्तिपिच्छे आजीवन सुविधाहरू र पेन्सनको दर तोक्छ ।
धारा ३
समुदायको सदस्य बन्ने जुनसुकै फ्रान्सेलीले कुनै अर्को फ्रान्सेलीसँग ऋण लिएको छ भने त्यो मिनाहा हुन्छ ।
धारा ४
समुदायका सदस्यहरूले विदेशीहरूबाट लिएको ऋणको जमानी गणतन्त्र बस्छ ।
धारा ५
यस मामिलामा जालसाजी गर्ने व्यक्तिलाई सदाका निम्ति दास बनाई दण्डित गरिन्छ ।
मुद्राबारे
धारा १
गणतन्त्रले मुद्रा छाप्न छोड्नेछ ।
धारा २
राष्ट्रिय समुदायको हात लागेको टक्सारी सामान वा मुद्रालाई विदेशीहरूबाट आफूलाई चाहिने मालसामान खरिद गर्न उपयोग गरिनेछ ।
धारा ३
समुदायमा असंलग्न कुनै पनि व्यक्तिले समुदायको सदस्यलाई मुद्रा दिएमा उसलाई कडा दण्ड दिइनेछ ।
धारा ४
गणतन्त्रमा फेरि कहिल्यै सुन वा चाँदी ल्याइनेछैन ।
टिप्पणीहरू
१. यहाँ कम्युनहरूको समुच्चयलाई कम्युनिटी वा समुदाय भनिएको हो । इतिहासमा साम्यवाद वा कम्युनिज्म शब्द बाबेफकै शिष्यहरूलाई जनाउन पहिलोचोटि प्रयोग भएको थियो । उनी केही व्यक्तिको अधिनायकत्व वा हुकुम कायम गरेर सम्पत्तिमाथिको निजी स्वामित्व उन्मूलन गर्न चाहन्थे । यस अर्थमा उनलाई अराजकतावादी र प्रथम साम्यवादी पनि भनिन्छ । तर, अराजकतावाद र साम्यवादका व्यवस्थित सिद्धान्तहरू पछि मात्र अस्तित्वमा आएका हुन् । समाजवादी क्रान्तिमा उत्पीडित वर्गको भूमिका पहिल्याउन नसक्नु बाबेफको सीमा मानिन्छ । तत्कालीन फ्रान्सेली सरकार वा ‘डाइरेक्टरीमाथि तुरुन्तै छलाङ मारेर साम्यवाद स्थापना गर्न खोज्नु बाबेफको उताउलोपन थियो भनी एँगेल्सले आफ्नो प्रसिद्ध रचना ड्यूहरिङ मतखण्डनमा औँल्याउनुभएको छ ।
२. फ्रान्सेली क्रान्तिपछि पुरानो क्यालेन्डर हटाएर क्रान्तिकारी क्यालेन्डर प्रचलनमा ल्याइएको थियो । क्रान्तिको क्रममा स्वतन्त्रताको चौथो वर्ष १७९२ को सेप्टेम्बर २१ लाई गणतन्त्रको पहिलो वर्षको प्रथम दिन भनिन्छ । यहाँ सन् १७९४ लाई क्रान्तिको दोस्रो वर्ष भनिएको हो । थर्मिदोर भनेको क्रान्तिको एघारौँ महिना हो भने भेन्तोज क्रान्तिको छैटौँ महिना हो । ९ थर्मिदोर अघि रोबेस्पीयरको सरकार थियो र त्यसले धनीमानीहरूको सम्पत्ति कब्जा गरेर तल्लो वर्गलाई १० वर्षे किस्तामा बेचेको थियो ।
३. क्रान्तिको यस अवधिमा ज्याकोबिनहरू सत्तामा थिए । ज्याकोबिनहरूले बुर्जुआ, किसान र सहरी गरिबहरूको प्रतिनिधित्व गर्थे । युरोपका झन्डै सबै देशहरू फ्रान्सेली क्रान्ति दबाउन एक भएका थिए । त्यसैले ज्याकोबिनहरूले केही कठोर कानुन ल्याएका थिए र उनीहरू घरेलु प्रतिक्रान्तिकारीहरूविरुद्ध दमनमा उत्रेका थिए । केही कानुन गरिबलाई च्याप्ने खालका थिए । यसबाट गरिब जनतासम्बन्धी ज्याकोबिनहरूको अस्पष्ट नीति छताछुल्ल हुन्छ ।
४. क्रान्तिताका धेरै फ्रान्सेली कुलीनहरू देश छोडेर भागेका थिए । आफ्नी रानीसँगै नोकरको भेषमा विदेश भाग्न थालेका सम्राट लुई १६ औँ समेत सीमा क्षेत्रमा समातिएका थिए ।
५. बाबेफ फ्रान्सको मध्ययुगीन प्रशासनिक बनोटबाट सन्तुष्ट थिएनन् । क्रान्तिअघि उनी नापी विभागमा अधिकारी थिए । त्यहाँ छँदै उनले प्रशासनिक सुधारको खाका कोरेका थिए । क्रान्तिपछि फ्रान्सलाई ८३ विभाग वा डिपार्टमेन्टमा बाँडियो । भनिन्छ, यो कदम बाबेफको अध्ययनमा आधारित थियो ।
अनुवादः सुरेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *