भर्खरै :

रूपन्देहीमा निषेधाज्ञाको पहिलो दिन

  • बैशाख १७, २०७८
  • –सुन्दर वासी
  • समाचार

बुटवल, १६ वैशाख । निषेधाज्ञाको पहिलो दिन बिहीबार बिहानदेखि बुटवललगायत रूपन्देहीका सडकहरू सुनसान देखिएका छन् । पसलहरू सबै बन्द छन् ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले वैशाख १६ गते बिहान ६ बजेदेखि ३० गतेसम्म निषेधाज्ञा गर्ने बुधबार आदेश जारी गरेअनुसार अत्यावश्यकबाहेकका सबै सेवा सञ्चालनमा रोक लगाइएको हो ।
अत्यावश्यकअन्तर्गत खाद्य सामग्रीको पसल खुला हुनेछ । सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्था र अरू अत्यावश्यक सेवा दिने कार्यालय सञ्चालन हुनेछ । सरकारी कर्मचारी, बैङ्क तथा वित्तीय संस्था र अरू अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले परिचयपत्र देखाएर आवतजावत गर्नसक्नेछन् ।
विवाह व्रतबन्धको हकमा भने स्वास्थ्य मापदण्ड पालना गर्ने गरी प्रशासन कार्यालयको अनुमति लिएर १५ जनासम्म सहभागी हुन पाइने आदेशमा उल्लेख छ ।
ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन चल्न पाउनेछन् ।
त्यस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफुल, दुग्धजन्य पदार्थ, बैङ्क, वित्तीय संस्था दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापनलगायतका ढुवानीका साधन सञ्चालनमा कुनै रोक हुनेछैन ।
सरकारी कार्यालयका गाडी सम्बन्धित विभागबाट अनुमति लिएर सञ्चालन हुन पाइनेछ भने विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका गाडी चलाउने पास सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारीले दिने व्यवस्था मिलाइएको छ ।
सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार जिल्ला प्रशासन कार्यालय रूपन्देहीले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, भेला गर्न रोक लगाइएको छ । जारी आदेशमा सपिङ मल, सिनेमा हल, सैलुन आदि सञ्चालनमा रोक लगाइएको छ ।
निषेधाज्ञा दैनिक ज्याला मजदुरी गर्ने, अटो रिक्सा चलाउने, सडक किनार पसल गर्नेहरूलाई हातमुख जोड्नै चिन्ता परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *