भर्खरै :

बङ्गुर पाले पनि नफेरिएको भवि आलेको गेटअप

कुनै बेला रुद्रपुरको भवि आलेलाई नचिन्ने बिरलै थिए । लामो कपाल, कालो मुसले हात–पाखुरा, खुट्टाका पाँसुलामा खोपिएका ट्याटु र कानमा मुन्द्री लगाएर हिँडेपछि डनजस्तै देखिन्थे उनी । र, लडाकु होला भनेर बुझ्थे झट्ट हेर्नेले ।
हुन त उनमा त्यो लडाकु स्वभाव थियो वा थिएन खोइ कुन्नी ! तर, झट्ट देख्नेले त्यो स्वभावमा बुझ्थे उनलाई कुनैबेला । कुनै समय बुटवल यातायात समितिको थकालीचौक, गरगरे, हरैया र फायरलाइनको प्रतिक्षालयमा दैनिक पटके उठाउन बस्ने गर्थे भवि आले । सुरुको समयमा जनआस्था पृथ्वी क्लवले पटके शुल्क उठाएर क्लवलाई आर्थिकरूपमा सबल बनाउने हेतुमा भविले महत्वपूर्ण योगदान गरे । कुनै बेला झपटे भविको नामले चिनिएका उनले कृषिमा प्रवेश गरेपछि समय एकै नासको हँुदैन भन्ने कुरा व्यवहारमा उतारेर देखाइदिए  ।
एस.एल.सीसम्म उत्तीर्ण गरेका भविले कृषि गरी बङ्गुरको सोत्तर सफा गर्छन् भन्ने कुरा उनको पुरानै पहिरन देखेर कसैले सजिलै पत्याउँदैनन् । अझै पनि उनमा पुरानै चालढाल र गेटअप छ । सायद त्यो उनको सोख हो । ४० वर्षको उमेरमा हिँड्दै गरेका आलेले अहिले आफ्नै घर कञ्चन ४, थकालीचौकमा विगत ८ वर्षदेखि व्यवसायिक बङ्गुरपालन गर्दै आएका छन् । दैनिक तीन पटक बङ्गुरको गोवर सफा गर्छन् । अहिले भविको दिनचर्या फरक छ । उनलाई छिमेकले बाहेक बङ्गुरपालक किसान भनेर चिन्नै हम्मेहम्मे छ । उनी कहीँकतै जानुप¥यो भने पुरानै गेटअपमा देखिन्छन् । फर्ममा काम गर्दा बाहेकको खाली समयमा सफा र टिपटप भएर बस्छन ।
सुरुमा छिमेकी लक्ष्मी दर्जीसँग २४ हजारमा किनेर माउ बङ्गुर पाल्न सुरु गरे आलेले । अहिले १७ वटा माउ बङ्गुर, एउटा डांगे बङ्गुर,४ वटा तयारी पाठी र करिब ८० भन्दा बढी स–साना बच्चाहरूको मालिकको रूपमा तिनै बङ्गुरहरूको कारिन्दा बनेका छन् । गरे के हँुदैन र भन्ने भनाइ उनमा ठ्याक्कै लागू भएको छ । काम गरेकै कारण, मेहनत गरेकै कारण लाखौँ खर्च गरेर पैसा कमाउन विदेश गएकाले जति त घरमै बङ्गुरपालन गरी कमाएका रहेछन् भविले । बिहानै उठेर बङ्गुरको स्याहारसुसार गर्दागर्दै करिब १० बज्दो रहेछ उनलाई ।
बङ्गुरको बच्चा लिन जाँदा मैले जुन गेटअपमा उनलाई पहिले देखेको थिएँ त्यही सोचेरै उनको घर पुगेको थिएँ । तर, उनलाई देख्नासाथ दङ्ग परेँ । उनीसँग कुरा गर्दै उनको बङ्गुर फर्म र फर्ममा भएका बङ्गुर र बच्चाहरू नियाल्दै गर्दा भविको दिनचर्या र जीवनशैली निकै फरक पाएँ । उनको फर्ममा करिब ३० देखि ४० लाख रूपैयाँ बराबरको पुँजी रहेछ । हरेक ३ महिनामा करिब ६० देखि ७० वटा बच्चा बेचेर ४ लाखभन्दा बढी कमाउँदा रहेछन् उनले । त्यो ४ लाखमा दानापानी, मेहनत र आफ्नो ज्यालासमेत कटाएर हरेक ३ महिनामा १ देखि डेढ लाखसम्म बचाउने भविलाई विदेश जान नपरेकोमा गर्व पनि रहेछ ।
‘युवाहरूले स्वदेशमै मेहनत गर्न सके जीवन निर्वाह गर्न गा¥हो रहेनछ’, भविले आफ्नो अनुभव खुशीसाथ सुनाए । ‘सायद यो काम पहिल्यैदेखि सुरु गरेको भए ममा अझ परिपक्वता र जिम्मेवारीपन थपिँदै जाने थियो । जीवनको नयाँ अध्यायमा थप ईँट्टा थप्न सकिने थियो । जिवन कसैका लागि बोझ भए त जिउँदो लासजस्तै भइने रहेछ । केही गरेर अरुले वाह भनेको जिन्दगी पो उत्साहपूर्ण हुँदो रहेछ”, बङ्गुरको खोर सफा गर्दै उनले भने । भविले भनेझैँ चोर्न, ठग्न र अल्छी गर्न पो घिनाउने र लजाउने । काम गर्न केको घिन केको लाज ¤ गर्वका साथ मेहनत गरेर त्यही मेहनतले हरेक पाइलामा सुन र जीवननै सुगन्धित हुनेरहेछ भन्ने भविले बुझे । आज उनका हरेक पाइला सुगन्धित छन्, सुन फलाएका छन् ।
बङ्गुर पालेरै वर्षमा ५ देखि ७ लाखसम्म कमाउँदै आएका भविलाई स्थानीय सरकारले दिँदै आएको अनुदानको भागमा २७ हजार परेको रहेछ । उनले अनुदान लिन त चोहका थिएनन् रे तर छिमेकीहरूले ‘गाउँँपालिकाले अनुदान दिँदै छ तैलेनी फर्म भर’ भनेको भएर फर्म भरेंका रहेछन् । गाउँपालिकाले दिएको त्यो अनुदानले बङ्गुरपालनप्रति अझ उत्साहित बनाएको रहेछ भविलाई । आफ्नो व्यवसाय प्रवद्र्धन गर्न, अझ मेहनत गर्न प्रोत्साहित गरेकै कारण साँघुरो फर्मलाई फराकिलो बनाएका छन् अनि माउहरूको सङ्ख्या पनि बढाएका छन् । माउको सङ्ख्या बढाएपछि आम्दानी बढ्न थालेको छ भविको ।
माउ बढेपछि बच्चाहरूको सङ्ख्या पनि बढ्दै गयो र बजारमा भएको मागबमोजिम बच्चाहरूको पनि पूर्ति गर्दै गए । उनी बङ्गुर व्यवसायी सङ्घ, रूपन्देहीको सदस्य पनि हुन् । वडा पालिकामा फर्म दर्ता गरेर व्यवसाय गरेकाले नै प्रदेशस्तरीय अनुदानहरूमा सहभागी हुन पाएका रहेनछन् । अनुदानको ध्यानभन्दा पनि फर्मभित्रै मेहनत गरेर, बङ्गुहरूको स्याहारसुसार गरेरै कमाइ गर्ने ध्याउन्नमा व्यस्त उनले आफूलाई सिकारु कृषककै रूपमा मान्दै आएका छन् ।
सुरुआतमा खरको छानोमा काठले बारेर बनाएको खोरमा बङ्गुरपालन गरेका भविको फर्ममा अहिले जस्ताको छानो र क्रङ्क्रिटको ढलान सहितको खोर छ । फर्ममा लेण्ड्रोस र ड्युरोकस जातका लोभलाग्दा बङ्गुरहरू छन् । उनी आफ्नो पेशाप्रति निकै सन्तुष्ट छन् । आफूले चाहेको खान–लाउन दुई चार पैसा कमाएका छन् । उनीसँगै आमा, श्रीमती, एक छोरा, भाइ, भाइबुहारी र भतिज पनि बस्छन् । परिवारलाई खुसी र सुखी राखेका भविले साउदीमा कमाउन गएका भाइलाई समेत आफूसँगै फर्ममै काम गरेमा राम्रो हुने सल्लाह दिन्छन् । उनको फर्ममा उत्पादन भएको बङ्गुरका बच्चाहरू प्राय स्थानीय बजारमै बिक्री हुन्छ भने गाउँमा खपत नभए बुटवल, पोखरा, दाङ, पाल्पालगायत जिल्लाहरूमा समेत खपत हुने भएकोले बजारको कुनै समस्या नभएको उनले बताउँछन् ।
गाउँका युवाहरू जो विदेश गइसकेका छैनन्, ती युवाहरूले पनि आत्मनिर्भरका लागि कृषि तथा व्यवसायिक गतिविधिमा लागे अवस्य पनि छिटै नेपाल समृद्ध बन्न सक्छ । देशको समृद्धि युवाहरूको काँधमा अडिएको हुन्छ । यसरी स्वदेशमा केही गर्न चाहने युवाहरूका लागि स्थानीय तथा प्रदेश र सङ्घ सरकारले आत्मनिर्भरताका विशेष अनुदान र आकर्षक योजना ल्याउन सके विदेशिएका युवाहरू पनि स्वदेश फर्किने छन् । अनि समृद्ध मुलुक निर्माणको नयाँ किरणहरू छरिने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *