भर्खरै :

मे दिवस मनाइयो

भक्तपुर, २० वैशाख । १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगर समितिद्वारा अनलाइन प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका सचिव एवम् सङ्घीय प्रतिनिधिसभा सदस्य प्रेम सुवालले भन्नुभयो, “मजदुर आन्दोलनले शोषक वर्गको विरोध गर्छ । संरा अमेरिकाको सिकागो सहरबाट सुरू भएको मे १ को मजदुर आन्दोलन पनि शोषक वर्गको विरोधमा उठेको हो ।”
उहाँले पुँजीपति वर्गको सरकारले मजदुर वर्गमाथि शोषण गर्न कानुन बनाउने र नेपालमा पनि यस्तै स्थिति रहेको उल्लेख गर्दै मजदुर वर्गको मुक्ति समाजवादमा मात्रै हुने स्पष्ट पार्नुभयो ।
उहाँले कम्युनिस्ट दाबी गर्ने प्रम केपी ओलीको आर्थिक सल्लाहकार पुँजीपति वर्ग हुनु र पुष्पकमल दाहालको घरभेटी खराब ठेकेदार हुनु मजदुरमाथिको विश्वासघात भएको प्रस्ट पार्नुभयो ।
सांसद सुवालले चीनको राजनीतिक व्यवस्था, सरकारमा गएका पार्टी एवम् नेताहरू देश र जनताप्रति जिम्मेवार भएकाले कोभिड–१९ महामारी रोकथाम गर्न सफलता मिलेको उल्लेख गर्दै नेपाल र भारतले यो सङ्क्रमण रोक्न चीनबाट सिक्नु जरूरी रहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले प्रधानमन्त्री केपी ओली आफू साखुल्ले बन्न मई दिवसको अवसरमा मजदुरहरूलाई रू. पन्ध्र हजार मासिक पारिश्रमिक दिने घोषणा गरेको तर तत्काल उद्योग–व्यवसायीहरूले दिन नसक्ने भनी प्रतिवाद गर्नु विडम्बनापूर्ण रहेको बताउनुभयो ।
उहाँले सरकारले २०७५ साउन १ गतेबाट लागू हुने गरी श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक रू. १३४५०।– रूपैयाँ तोकेको तलब अहिलेको महँगीमा एउटा परिवार पाल्नुपर्ने मजदुरको निम्ति बालुवामा पानी राखेसरह भएकोेले नेपाल क्रान्तिकारी मजदुर सङ्घको दोस्रो राष्ट्रिय सम्मेलनले मजदुरहरूको न्यूनतम मासिक पारिश्रमिक रू. २५०००।– दिनुपर्ने प्रस्ताव गरिएको बताउनुभयो ।
नेमकिपा, भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूले अन्तर्राष्ट्रिय श्रमिक दिवसबारे प्रकाश पार्दै दरबार क्षेत्रसँगै रहेको जिल्ला सदरमुकाम अन्यत्र सार्ने षड्यन्त्र भइरहेकोले उक्त निर्णयको विरोधमा भक्तपुरका जनताले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा निवेदनपत्र दर्ता गराएको उल्लेख गर्नुभयो ।
उहाँले जनभावनाविपरीत सरकारले जबरजस्ती गरे भक्तपुरका जनताले उक्त निर्णयविरूद्ध सङ्घर्ष गर्न तयार रहनुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी, चाँगुनारायण नगर समितिका उपाध्यक्ष केशवप्रसाद तिमिल्सिनाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा घनश्याम खड्काले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *