भर्खरै :

के भारतमा कोभिड–१९ सङ्क्रमण फैलाउन चुनावी सभा जिम्मेवार छन् ?

भारतमा मानवीय वियोगान्त चर्किरहेको पृष्ठभूमिमा सञ्चारमाध्यममा एउटा तातातो बहस चलिरहेको छ । सन् २०२१ को अप्रिलको मध्ययता भारतको थिलथिलो स्वास्थ्य प्रणालीले ठेग्न नसक्ने गरी कोभिड–१९ को सुनामी निम्त्याउन राजनीतिक सभा–जुलुसको भूमिका थियो वा थिएन ?
यसको उत्तर प्रस्ट छ । मास्क नलगाएका र आपसी दुरी कायम नगरी बसेका ठुलो सङ्ख्यामा मानिस एकै ठाउँमा भेला हुँदा जुनसुकै कारण भए पनि त्यसले कोभिड–१९ भाइरसको सङ्क्रमण फैलिन्छ ।
बितेका केही सातामा राज्य सभाको चुनाव भएका सबै पाँच राज्यहरूमा आयोजित राजनीतिक सभाहरूमा ठुलो सङ्ख्यामा मानिसहरू भेला भएका थिए । पत्रपत्रिका र टीभीका समाचारले ती चुनावी सभाहरूमा मास्क लगाउने र आपसी दुरी कायम गर्ने जस्ता सावधानीका उपायको पालनामा पूर्णतः उपेक्षा भएको प्रस्ट हुन्छ । त्यसकारण भाइरसको तीव्र सङ्क्रमणमा ती सभा–जुलुसहरूको ठुलो भूमिका रहेको कुरा स्पष्ट छ । त्यस्ता सभालगत्तै कोभिड–१९ को सङ्क्रमण अचाक्ली बढ्नुले पनि सङ्क्रमण फैलिनुमा तिनको भूमिका रहेको देखाएको छ ।
राजनीतिक सभा जुलुसले कोभिड सङ्क्रमण फैलाइरहेको कथनको परीक्षण गर्न मैले सबभन्दा बढी कोभिड–१९ सङ्क्रमण फैलिरहेका २५ वटा भारतका राज्यहरूको दैनिक सङ्क्रमणको अवस्थाबारे तथ्याङ्क सङ्कलन गरेँ । ती सबै राज्यको आँकडालाई मिलाउँदा भारतमा दैनिक फैलिरहेको कोभिड–१९ सङ्क्रमणको ९९ प्रतिशतभन्दा बढीको प्रतिनिधित्व गर्छ । मैले ती पच्चीस राज्यलाई दुई समूहमा विभाजन गरेँ । पहिलो समूहलाई मैले ‘चुनाव भएका राज्य’ नामकरण गरेँ । यसमा पाँच राज्यहरू छन्–आसाम, केराला, पाडुचेरी, तामिलनाडु र पश्चिम बङ्गाल । ती राज्यहरूमा मार्चको अन्तिमतिर चुनाव भएको थियो । दोस्रो समूहलाई मैले ‘चुनाव नभएका राज्य’ भनी नामकरण गरेको छु ।

चित्र नं १ मा मैले सन् २०२१ को जनवरी १ देखि अप्रिल २९ सम्म दुवै समूहका राज्यहरूमा दैनिक कोभिड–१९ सङ्क्रमणको औसत सङ्ख्यालाई बिन्दु रेखामा प्रस्तुत गरेको छु । बिन्दु रेखाको उतरचढावले दैनिक कोभिड–१९ सङ्क्रमणको औसत सङ्ख्याको वृद्धिदरबारे सदृश्य सूचना दिइरहेको छ । जब रेखा ओरालो लाग्छ, त्यसको अर्थ त्यत्तिबेला दैनिक सङ्क्रमण दर घटिरहेको छ । जब रेखा उकालो लाग्छ, त्यसको अर्थ दैनिक सङ्क्रमण दर बढिरहेको हुन्छ । जति ठाडो रेखा उकालो लाग्छ, त्यत्ति नै तीव्रगतिमा दैनिक सङ्क्रमणको दर बढिरहेको हुन्छ ।
पहिलो चित्रबाट हामीले यो वर्षको सुरुमा दुवै समूहका राज्यमा दैनिक कोभिड–१९ को औसत वृद्धि ओरालो लागिरहेको देखिन्छ । जनवरी र फेब्रुअरी महिनामा कोभिड–१९ को दैनिक सङ्क्रमणको औसत सङ्क्रमणको बिन्दु रेखा दुवै समूहका राज्यको हकमा ओरालो लागेको देखिन्छ । त्यही कारणले नरेन्द्र मोदी सरकार र उनका समर्थकहरूलाई भारतमा महामारी समाप्त भइसकेको र भारतमा सामूहिक प्रतिरोध क्षमता (हर्ड इम्युनिटी) विकास भएको भ्रम परेको थियो ।
फेब्रुअरीको मध्यबाट हामीले दुवै समूहका राज्यमा कोभिड–१९ सङ्क्रमण उकालो लागेको देख्न थाल्यौँ ।
फेब्रुअरी १० मा चुनाव नभएका राज्यहरूको समूहमा कोभिड–१९ सङ्क्रमणका दैनिक औसत रेखा उल्टिएर उकालो लागेको देख्यौँ । त्यही बेलाबाट चुनाव नभएका राज्यहरूमा भने कोभिड–१९ सङ्क्रमणको दैनिक औसत लगातार बढ्दै गएको देखियो । यो उल्टो विकासको मुख्य कारण धेरै सम्भव भारतीय जनताबीच भाइरसको नयाँ प्रजाति फैलिएकोले हुनसक्छ । त्यस्तै महाराष्ट्र, कर्णाटक र गुजरात आदि राज्यहरूमा मानिसहरूले मास्क लगाउने र आपसी दुरी कायम गर्ने जस्ता सावधानीका उपायलाई बेवास्ता गर्नु थियो ।
फेब्रुअरी १० देखि मार्च १५ को बीचमा जे भयो, त्यो भने निकै रोचक खालको थियो । एक महिनाभन्दा लामो समयावधिमा कोभिड–१९ को दैनिक सङ्क्रमणको औसत चुनाव नभएका राज्यहरूमा बढिरहेको थियो भने चुनाव भएका राज्यमा क्रमशः घटिरहेको थियो । तर, मार्च १५ बाट भने चुनाव भएका राज्यहरूको समूहमा कोभिड–१९ को औसत सङ्क्रमण दर तीव्रगतिमा उकालो लाग्यो ।
चुनाव भएका राज्यहरूमा सङ्क्रमण दर उकालो लागेपछि त्यसले तुरुन्त चुनाव नभएका राज्यहरूको दरलाई उछिन्यो । तालिका एकको पहिलो दुई वटा पङ्क्तिमा दुवै समूहका राज्यहरूमा कोभिड–१९ सङ्क्रमणको दैनिक औसतलाई चार वटा समयखण्ड–मार्च १ देखि अप्रिल २९ सम्म, मार्च १५ देखि अप्रिल २९ सम्म, अप्रिल १ देखि अप्रिल २९ सम्म र अप्रिल १५ देखि अप्रिल २९ सम्ममा विभाजन गरी प्रस्तुत गरिएको छ । तालिका एक हेर्दा हामीले मार्चको सुरुदेखि नै दुवै समूहका राज्यहरूमा वृद्धि दरमा भेद देख्न सक्छौँ । चुनाव नभएका राज्यहरूमा पनि सङ्क्रमण दर क्रमशः घट्दै गएको देखिन्छ–६.०९ बाट ५.८७ देखि ५.३५ अनि ३.०१ सम्म । तर अप्रिल १५ मा ७.९९ प्रतिशतमा ओरालो लाग्नुअघि चुनाव भएका राज्यहरूमा सङ्क्रमण लगातार बढिरह्यो–६.१३ देखि ८.०६ हुँदै ९.२६ सम्म । वृद्धि दरमा आएको अन्तरले औसत सङ्क्रमणको अवस्थामा पनि भिन्नता ल्यायो । अप्रिल महिनाको मध्यसम्ममा चुनाव भएका राज्यहरूमा दैनिक औसत सङ्क्रमणले चुनाव नभएका राज्यहरूको दैनिक औसत सङ्क्रमणलाई उछिन्यो । (हेर्नोस्, तालिका १) धन्न अहिले चुनाव भएका राज्यहरूमा पनि वृद्धि दर ओरालो लागिरहेको छ ।
चुनाव भएका र नभएका राज्यहरूमा चुनावी प्रक्रियाको समयमा कोभिड–१९ महामारीमा आएको भिन्नताले आंशिकरूपमै भए पनि चुनावी सभाले भारतका धेरै राज्यहरूमा कोभिड फैलाउन मद्दत गरेको देखाएको छ ।

भारतको निर्वाचन आयोगले मार्च महिनाको सुरुमा आसाम, केराला, पाडुचेरी, तामिलनाडु र पश्चिम बङ्गालमा राज्य सभा चुनावको घोषणासँगै चुनावी प्रक्रिया थालनी गरेको थियो । (मार्च २ मा पश्चिम बङ्गाल र आसाम तथा मार्च १२ मा केराला, तामिलनाडु र पाडुचेरीमा चुनावका घोषणा गरिएको थियो ।)
मार्चको मध्यसम्ममा ती सबै राज्यमा चुनावी अभियानले गति लिइसकेको थियो । दैनिकजसो ती राज्यहरूमा ठुलठुला चुनावी सभाहरू भए । ती सभाहरूमा न मास्कको प्रयोग गरियो न आपसी दुरीको मान्यता नै । त्यसले जनसङ्ख्याको व्यापक हिस्सामा भाइरसको सङ्क्रमण तीव्रगतिमा फैलिन मलिलो माटो तयार गरिदियो । ती राज्यहरूमा कोभिड–१९ सङ्क्रमण सङ्ख्या उल्टिएर उकालो लाग्यो । मार्चको सुरुबाट बिन्दु रेखा ओरालोबाट उकालो उक्लिन थाल्यो । चुनावी सभाहरू जारी रहे । दैनिक सङ्क्रमण दर पनि बढ्दै गयो । यसरी सङ्क्रमणको दर बढ्दा स्वास्थ्य सेवा प्रणालीले धान्न सकेन ।
चुनाव भएका पाँच राज्यहरूमा पनि भिन्नता छन् । तालिका एकको सबभन्दा तल्लो पङ्क्तिबाट हामीले त्यो देख्न सक्छौँ । सबभन्दा खराब अवस्था आसाममा थियो । त्यहाँ सङ्क्रमण दर १० प्रतिशतबाट १५.५ प्रतिशत पुगेर पछि १३.४ प्रतिशतमा झरेको थियो । आसामपछि पश्चिम बङ्गाल र केरालाको अवस्था खराब थियो । पाडुचेरी र तामिलनाडु दुवै राज्यले भने अन्य तीन राज्यहरूको तुलनामा बढी गतिमा सङ्क्रमण रोकथाम ग¥यो । तीमध्ये सबभन्दा गतिलो प्रस्तुति तामिलनाडुको रह्यो । त्यहाँको वृद्धि दर ७ प्रतिशतसम्म उकालो लाग्यो ।
सकारात्मक समाचारको चाँदी घेराको भनेको चुनाव भएका सबै राज्यहरूमा पनि दैनिक सङ्क्रमितको सङ्ख्याको वृद्धि दर घटिरहेको छ । (तालिका १ को अन्तिम पङ्क्तिमा यो देखिन्छ) चुनाव भएका पाँचै राज्यहरूमा चुनावी गतिविधि क्रमशः घट्दै जानु र ढिलै भए पनि राजनीतिक र प्रशासनका नेताहरूले महामारीमा जनसभा र जुलुस गर्न नहुने वास्तविकता बोध गरेपछि सङ्क्रमण दर घटेको हुनुपर्छ । तर, पछिल्लो अवस्थाले पनि भारतमा कोभिड–१९ को सङ्क्रमण बढ्न र भारतीय जनतामा यति विशाल वियोग निम्त्याउन चुनावी गतिविधिले भूमिका खेलेको ठहरिन्छ ।
यदि हाम्रा राजनीतिक प्रशासनिक नेताहरूसँग जनताप्रति अंशमात्र पनि चासो हुँदो हो त चुनावी सभा र जुलुसहरूमा जनस्वास्थ्यका सावधानीका उपायको कडाइका साथ पालना गरिने थियो । तब यो कृत्रिम वियोगको ठुलो हिस्सालाई पन्छाउन सकिने थियो ।

(लेखक मस्साचुसेट विश्वविद्यालयको अर्थशास्त्र विभागका सह प्राध्यापक हुनुहुन्छ ।)
स्रोतः द वायर
नेपाली अनुवादः सुशिला 

Leave a Reply

Your email address will not be published. Required fields are marked *