भर्खरै :

भन्नेमात्र हो कि गर्ने पनि !

हरेक सरकारले आफ्नो देश या मातृभूमि जोगाउनुपर्छ । कुनै देशबाट हुनसक्ने आक्रमण, दमन, दबाब, थिचोमिचो, हस्तक्षेप र अतिक्रमणको विरोध गर्नुपर्छ । देशको स्वाधीनता र सार्वभौमसत्ता जोगाउन सरकार सधैँ सचेत, सतर्क र गम्भीर हुनुपर्छ । बेलाबखत हुने असमान सन्धि, सम्झौता र हस्ताक्षरबारे सरकार चनाखो हुनुपर्छ । कुनै देशले नेपाली भूमि मिचेको छ भने त्यो फिर्ता लिनुपर्छ । अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत बाँध तथा तटबन्ध बनाइएको छ भने त्यो भत्काउन पहल गर्नुपर्छ ।
प्रधानमन्त्री केपी ओलीले म कुनै हालतमा “भोक, रोग र शोकले नेपाली जनतालाई मर्न दिन्न, कुनै हालतमा भ्रष्टाचार गर्न दिन्न” त भने । तर, यही बेला देश रोइरहेको छ, जनता थला परिरहेका छन् । भोक, रोग र शोकले देश र जनता डुबिरहेका छन् । भ्रष्टाचार र ढिलासुस्तीमा सुधार भएको देखिँदैन । अस्पताल अस्पतालमा अक्सिजन, बेड र औषधिको अभाव भएर कोरोना सङ्क्रमित छटपटिरहेका छन्, अस्पतालमा कार्यरत चिकित्सक र नर्सहरू बिरामीका लागि आवश्यक सेवा सुविधा नभएर चिन्तित छन् । केन्द्रीय सरकारले ध्यान नदिएको स्वास्थ्यकर्मीहरूको गुनासो छ ।
कोरोना सङ्क्रमित बिरामीले सास फेर्न अक्सिजन पाइरहेका छैनन् । सरकार दलीय स्वार्थमा केन्द्रित देखिन्छ । सरकार फाल्ने र टिकाउने दाउपेच चलिरहेको छ । मुख्यमन्त्रीहरू बिहान राजीनामा दिन्छन् र साँझपख फेरि मुख्यमन्त्री बन्छन् । कहिले सरकारलाई अल्पमत बनाउन सांसदहरू दल त्याग गर्छन् त कहिले राजीनामा दिन्छन् । यस कार्यमा सत्तारुढ दलमात्र होइन अन्य ठुला दलहरू पनि लागेका छन् । झन्डै दुई महिनादेखि कहिले सङ्घीय सरकार ढाल्न त कहिले प्रदेश सरकार ढाल्न ती दलका नेताहरू लागिरहेको यथार्थ हो । यसबारे केन्द्रीय सरकार र सत्तारुढ दलको ध्यान खोइ ?
प्रम ओलीले भन्नुपथ्र्याे र लागू गर्नुपथ्र्याे, देशमा कुनै शोषण हुनेछैन, पक्षपात, अन्याय हुनेछैन, समानता र न्यायको निम्ति सरकार हरपल लागिरहनेछ । समाजवादउन्मुख देश बनाउन सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्छ । कुनै पनि अपराधीहरू सजायभागी हुनुपर्छ । आपराधिक क्रियाकलाप रोक्ने अभियान चलाउनुपर्छ । यसतर्फ सरकारको ध्यान पुगेको छैन । प्रम ओलीले विचार व्यक्त गर्नेमात्र होइन, आश्वासन बाँड्नेमात्र होइन गरेर देखाउनुपर्छ । शोषणरहित समाज स्थापना गर्ने उद्देश्य त पञ्चायती व्यवस्थाको पनि थियो । तर, त्यो व्यवहारमा कहिल्यै लागू भएन । प्रम ओलीका मीठामीठा आश्वासन पनि भनाइमा मात्र सीमित रह्यो । भनाइ र गराइमा फरक भयो भने भन्नुको के अर्थ रह्यो र !

Leave a Reply

Your email address will not be published. Required fields are marked *