भर्खरै :

सलाम छ स्वास्थ्यकर्मीहरूलाई !

सानो छँदा कक्षामा गुरुले तिम्रो जीवनको लक्ष्य के छ भनेर सोध्दा यो लेखकले पनि ‘डाक्टर बन्ने’ जवाफ दिएको थियो । डाक्टरप्रतिको ठूलो सम्मानले पनि बालमस्तिष्कलाई प्रभावित पारेको हुनुपर्छ । शान्त र सुशील व्यवहार, नरम हात ! सेतो कोट लगाएका, काँधमा स्टेथस्कोप भिरेका मानिसप्रतिको सम्मान अचम्मको थियो । पछि विज्ञान विषय पढेर दुईपटक मेडिकल एन्ट्रासमा सहभागी पनि भएँ तर चिकित्सा विज्ञानको उच्चशिक्षाको ढोका कहिल्यै खुलेन । कलेज पढ्दै गर्दा एउटा गम्भीर दुर्घटनामा परी मरणासन्न भएकी आफ्नी माइजूलाई मध्यरातसम्मको शल्यक्रियाबाट ‘जीवनदान’ दिने वीर अस्पतालका चिकित्सकहरूलाई ‘भगवान’ मानेकोे थिएँ । यो पङ्क्तिकार औषधोपचारसँग जोडिएका यस्ता धेरै घटनापरिघटनाको साक्षी र भोक्ता पनि हो । आज विश्व त्यसमा पनि छिमेकी भारत कोभिड–१९ को महामारीबाट आक्रान्त छ । नेपाली जनता महामारीको दोस्रो लहरबाट भयातुर छन् । यस्तो बेलामा मानव जीवनको आस्थाकेन्द्र, आशा र उपचारको एउटै स्रोत बनेका छन् – चिकित्साकर्मीहरू । यो महामारी नियन्त्रणको लडाइँमा अथक सङ्घर्ष गर्ने त्याग र समर्पणका प्रतिमूर्तिहरूमा समर्पित छ यो आलेख ।
स्वास्थ्यकर्मीको समर्पण
चीनको उहानमा कोभिड महामारी फैलिँदा त्यहाँका चिकित्सक तथा स्वास्थ्यकर्मी रातदिन खटेको समाचार सुनेका थियौँ । नयाँ वर्ष मनाउने मनस्थितिमा बसेका चिनियाँ चिकित्साकर्मीहरू अस्पतालमा ओइरिएका बिरामीको सेवा गर्न अस्पतालमै बस्नुप¥यो, नयाँ वर्षमा न तिनले घर जान पाए, न त साथीभाइसँग रमाइलो गर्ने अवसर नै । खासगरी नयाँ पुस्ताका चिकित्साकर्मी तथा स्वयम्सेवकहरूको अभूतपूर्व सेवाभावकै कारण महामारी नियन्त्रण गर्न सम्भव भयो । यसबाट पुराना पुस्ताको ‘यिनीहरू गरिखान्नन्’ भन्ने नयाँ पुस्ताप्रतिको अविश्वासको पर्दा पनि च्यातिएको अनुभव गरियो चीनमा ।
नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डका चिकित्साकर्मीले महामारी नियन्त्रणको निम्ति गरेको अथक प्रयास यतिबेला राष्ट्रिय चर्चाको विषय बनिरहेको छ । भेरी अस्पतालका अधिकांश चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरू कोरोना सङ्क्रमित भएर पनि अहोरात्र बिरामीको उपचारमा खटिरहेका छन् । ती सबै स्वास्थ्यकर्मीको सक्रियता, समर्पण तथा मनोबलको निम्ति सामाजिक सञ्जालमार्फत धेरैले सम्मान गरेका छन् । सर्वत्र सङ्क्रमित चिकित्साकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।
कोभिडको सबैभन्दा ठूलो औषधी नै उच्च मनोबल मानिएको छ । यसको निम्ति चिकित्साकर्मीको मनोबल पनि उत्तिकै उच्च हुनुपर्दछ । सेतो कोट लगाउने धवल मनका चिकित्साकर्मीले सायद आफ्नो ‘हिपोक्र्याटिक ओथ’ को स्मरण गर्दै काम गरिरहेका छन् । ‘तोकिएको काम मेरो ज्ञान, विवेकले जाने बुझेसम्म इमान, धर्म तथा कर्तव्य सम्झी, देश र जनताप्रति बफादार रही भय, पक्षपात वा द्वेष नराखी, लोभ, लालच, मोलाहिजा नगरी अनुशासनमा रही’ सेवा गर्ने प्रण गरेका हुन्छन् प्रत्येक चिकित्साकर्मीले । यो शपथको सम्मान गर्दै प्रत्येक चिकित्साकर्मीले अविचलित कर्तव्यपथमा लागिरहनु नेपालीको गर्वको विषय हो । यो उदाहरणले राष्ट्रिय चरित्र निर्माण गर्ने यात्रा तय गर्नेछ ।
प्रेरणाका स्रोतहरू
अस्पतालको अवस्था नाजुक थियो, बिरामीको सेवा गर्ने कोही थिएन, सफाइको कुनै व्यवस्था थिएन, खाना पनि त्यति राम्रो थिएन, बिरामी सेवा नपाई मरिरहेका थिए । कति घिन नमानी उनले बिरामीलाई नुहाइदिने, तिनको दिसापिसाब सोहर्ने काम गरिन् । राती बिरामी सुतिसकेपछि कसैलाई केही चाहिन्छ कि भनेर हातमा बत्ती लिएर प्रत्येक बिरामीको छेउमा जान्थिन् । उनको उपनाम राखियो – ‘बत्ती बोकेकी केटी’ । उनी थिइन् – फ्लोरेन्स नाइटिङ्गेल । १९ औँ शताब्दीमा बेलायत र रुसबीच भएको युद्धमा घाइतेका उपचारको निम्ति खटिएकी फ्लोरेन्स नाइटिङ्गेलको सम्झना पनि गरिँदै छ यतिखेर ।

डा. कोटनिस

सन् २०१९ को डिसेम्बरमा चीनको उहानमा फैलिएको कोभिड–१९ महामारी नियन्त्रणको निम्ति भारतको सहयोगको निम्ति धन्यवाद दिँदै भारतका लागि चिनियाँ राजदूत सन वेडोंगबाट व्यक्त विचार यहाँ उद्धृत गर्नु उपयुक्त होला – “यो सङ्कटको समयमा भारतीय मित्रहरूको सहयोगबाट हामी अभिभूत भएका छौँ । यसले मलाई चिनियाँ जनताको स्वतन्त्रताको निम्ति कैयौँको ज्यान बचाएर महान् योगदान दिने डा. कोटनिसको सम्झना गराएको छ ।”
यस महामारीबाट थलिएको विश्वले डा. कोटनिसजस्ताको जीवनउत्सर्गको सम्झना गराउनु पनि स्वाभाविकै छ । सन् १९३७ मा जापानी उपनिवेशवादी आक्रमणविरुद्ध लडिरहेका चिनियाँ जनताको युद्धमा साथ दिन गरिएको आह्वानअनुसार भारतबाट खटिएका चिकित्सकको नाम हो डा. कोटनिस । विश्व कोभिड महामारीविरुद्ध युद्ध लडिरहेको बेलामा डा. कोटनिसको सम्झना धेरै सान्दर्भिक छ ।
महामारीको बेला चिकित्सकहरू आफ्नो देशको सीमाभित्र मात्र सीमित भएका छैनन् । चिनियाँ र क्युवाली डाक्टरहरू महामारीग्रस्त विश्वका विभिन्न देशमा सेवा पु¥याइरहेका छन् । यतिखेर हामीले सम्झनुपर्छ – क्युवाली क्रान्तिमा अर्जेन्टिनी डा. चे ग्वेभाराले युद्ध चिकित्सकको रूपमा फिडेल क्यास्ट्रोलाई साथ दिएका थिए । साथै, चिनियाँ मुक्तियुद्धमा क्यानाडाका डा. नर्मन बेथुनले बन्दुकको गडगडाहटबीच घाइतेहरूको उपचार गरेका थिए ।

डा. नर्मन बेथुन

कोभिड स्वास्थ्यकर्मीको पीडा
२०२० को अगस्त २६ मा महोत्तरीका एकजना स्वास्थ्य सहायक (एचए) को मृत्यु कोभिडकै कारण भएको थियो । यो नै नेपालमा कोभिडको कारण स्वास्थ्यकर्मीको मृत्युवरणको पहिलो घटना थियो । विश्वभर सयौँ स्वास्थ्यकर्मीको मृत्यु भयो । यसैक्रममा नेपालमा पनि हजारौँ स्वास्थ्यकर्मी कोभिड पोजिटिभ हुनगए ।
महामारी पीडित रोगीको उपचारमा स्वास्थ्यकर्मीहरू सामान्त्र्न्दा बढी समय खटिरहेका हुन्छन् । एकपटक लगाएको पीपीई फाल्नुपर्ने भएकोले पनि आराम र खानपिन समेत नगरी घण्टौँसम्म खटिनुपरेको छ । बिरामीको दयनीय स्थिति देखेर असह्य भई अस्पतालको बरान्डा तथा लबीमा आई आँसु खसाल्ने स्वास्थ्यकर्मीका कथा पनि सञ्चारमाध्यममा छाइरहेका छन् । भकाभक रोगीको मृत्यु भएको हेरिरहने धैर्य तिनीसँग कति हुनसक्छ र! नचाहँदानचाहँदै बिरामीको भेन्टिलेटर निकाल्न बाध्य हुने स्वास्थ्यकर्मीले आफूलाई थाम्न सक्छ कसरी ! आईसीयू बेड खाली नभएको छटपटीमा कति पीडित हुन्छन् होला तिनीहरू ! सोच्दा पनि भाउन्न हुन्छ । यस्तो अवस्थामा चिकित्सकहरू ‘मोरल इन्जरी’ वा मानसिक पीडामा हुन्छन् । सिपाहीहरूलाई तनावका रोग लागेजस्तै कोभिड–१९ विरुद्धको लडाइँमा खटिएका चिकित्साकर्मीलाई पनि मानसिक रोग हुने सम्भावना छ । अतिकार्य, तनाव र बिरामीसँग कुराकानी पनि गर्न नपाउने अवस्था एउटा असल चिकित्सकको निम्ति सहज हुन सक्दैन ।
विभिन्न देशमा स्वास्थ्यकर्मीले कुटाइ खान परेको घटना पनि सार्वजनिक भएका छन् । गत वर्ष नेपालमा डेरामा बसिआएका स्वास्थ्यकर्मीले घरभेटीबाट अपहेलना भोग्नुपरेको घटना बाहिर आए । सिभिल अस्पतालमा खटिएका स्वास्थ्यकर्मीको निम्ति अनुबन्धित होस्टलका घरभेटीलाई टोलकै अगुवाहरूले होस्टल बन्द गर्न धम्की दिए । स्वाव सङ्कलन गर्न गएका स्वास्थ्यकर्मीले चितवनमा बास पनि पाएनन् ।
यद्यपि, अग्रपङ्क्तिमा खटिएर सङ्क्रमितको सेवा गरिरहेका स्वास्थ्यकर्मीले नेपाल सरकारबाट घोषित जोखिम भत्तासमेत पाएका छैनन् । स्वास्थ्यकर्मीमध्ये धेरैको बिमा पनि भएको छैन । कतिपय अस्पतालमा त नियमित तलबसमेत रोकिएको सुनिन्छ । यस्तो कुरा दोहोरिरहनु राम्रो होइन । चिकित्सकको निम्ति पीपीईलगायत सुरक्षा साधनको बन्दोवस्त हुनु अत्यावश्यक छ । दुर्गम क्षेत्रमा खटिएका चिकित्साकर्मीको ज्यान जोखिममा नपरोस् भन्नेतिर पनि सरकारको ध्यान जान जरुरी छ, समयमै ।
महामारीको चेन ब्रेक
कोभिड–१९ को महामारीको कारण सरकारले काठमाडौँ उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि लागु हुने गरी १५ दिनको निम्ति निषेधाज्ञा जारी गरेपछि उपत्यकाबाट आआफ्नो घर जानेको लर्को लाग्यो । उपत्यकामा रहेका करिब ५० लाख मानिसमध्ये आधाजति विभिन्न कामविशेषले उपत्यकाबाहिरबाट आइबसेका छन् । अघिल्लो वर्ष हठात् लकडाउन गर्दा कैयौँ मानिस अलपत्र परे र हप्तादिन हिँडेर आफ्नो घर पुगेका थिए । तर, कोरोना भाइरसको दोस्रो लहरको हटस्पट बनेको राजधानीबाट गाउँगाउँ हिँडेका ती लाखौँ मानिसले महामारी अझ फैलाइरहेका त छैनन् ? राजधानीबाट निस्किएका यात्रुले स्वास्थ्य मापदण्ड पालन गरेको देखिँदैन । कतिपयले मास्कसमेत लगाएका थिएनन् भने मास्क लगाउनेमध्ये कतिपय उचित ढङ्गबाट मास्क लगाएका थिएनन् । त्यसैले ‘भोक’ को डरले राजधानी छोड्ने मानिसले गाउँमा रोग पु¥याउन सक्छन् । यसतर्फ स्थानीय तहकोे ध्यान जानु आवश्यक छ ।
राजधानी छोड्नेहरू ‘क्वारेन्टिन’ मा बसेका छन् कि छैनन् ? सबैले सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, साबुनपानीले नियमित हात धुने गरिरहेका छन् कि छैनन् ? रोगको लक्षण नदेखिएको मानिसले पनि भाइरस सारिरहेको हुनसक्ने भएकोले लक्षण नदेखिँदैमा आफू कोभिड पोजिटिभ नभएको पुष्टि हुँदैन भन्ने विषयमा आममानिस गम्भीर छन् कि छैनन् ? काठमाडौँ वा भारतबाट फर्केका नागरिकहरूको नमुना परीक्षण गर्नु जरुरी छ ।
हाल जारी निषेधाज्ञाले कोभिड महामारीको ‘चेन ब्रेक’ गर्न निःसन्देह सहयोग गर्ने छ । तर, निषेधाज्ञाले मात्र महामारी रोकिन्न भन्ने कुरा विगतको अनुभवले पनि पुष्टि गरेको छ । सरकार तथा स्थानीय तहहरूको सक्रियतामा कन्ट्याक्ट ट्रेसिङ, पीसीआर परीक्षण, क्वारेन्टिन, आइसोलेसन तथा उपचार सामग्रीको बन्दोवस्त पनि गर्नु अनिवार्य छ । अहिले विगतमा जस्तै व्यवस्थित कन्ट्याक्ट ट्रेसिङ गरिरहेको देखिँदैन । कोभिड पोजिटिभहरू नै निष्फिक्री घुम्ने वातावरण भएकोले नेपालमा विश्वकै सबभन्दा तीव्र गतिमा कोभिड–१९ को दोस्रो लहर फैलिएको हो । पीसीआर परीक्षण गर्न पनि सहज नभएको र महँगो परेकोले आममानिसले परीक्षणप्रति बेवास्ता गरिरहेको देखिन्छ ।
विश्वका विभिन्न देशमा महामारीका विभिन्न लहर निरन्तर चलिरहेको खबर आइरहे तापनि नेपाल सरकारले आवश्यक तयारी नगरी सत्ताको ‘कुकुर झगडा’ मा व्यस्त रहेको विषयमा चारैतिरबाट आलोचना भइरहेको छ । भारतसँगको सीमा नाकाहरू समयमै बन्द गर्ने र त्यताबाट आएका सबैलाई १४ दिन क्वारेन्टिनमा राख्ने प्रबन्ध गरिएको भए आजको स्थिति आउने थिएन । भेन्टिलेटरको निम्ति अस्पतालका ढोका ढक्ढक्याउँदै बिरामीले प्राण त्यागेका समाचारहरू आइरहेका छन् । अब अक्सिजनको अभावको समाचार आउन थालिसक्यो । अविलम्ब थप आईसीयू बेडलगायत आवश्यक उपकरणहरूको शीघ्र व्यवस्था गर्नु जरुरी छ ।
सर्वसाधारण नागरिकले पनि निषेधाज्ञाको पालना र स्वास्थ्य मापदण्ड पूरा गर्नु पर्दछ । अत्यावश्यक सामानको किनमेल गर्दा भिडभाडमा फस्ने, विवाह वा अन्य सामाजिक गतिविधिको नाममा धेरै मानिस जम्मा हुँदा महामारीको चेन ब्रेक गर्न सकिँदैन ।
अन्तमा, नेपाली समाजमा डाक्टरप्रतिको सम्मान आजसम्म पनि उच्च पाइन्छ । केटाकेटीलाई आशीर्वाद दिँदा डाक्टर भएस् भन्ने चलन व्यापक छ । महामारीको बेलामा डाक्टरको महत्व अझै बढ्नु स्वाभाविकै हो । प्रत्येक स्वास्थ्यकर्मीको त्याग र समर्पणबाट हजारौँलाखौँ नेपालीको ज्यान जोगिनेछ भन्ने सबैले आशा गरेका छन् । स्वास्थ्यकर्मीको उत्साह र समर्पण बढिरहोस् ! सङ्क्रमितको पीर, आफन्तजनको रोदनबाट चिकित्साकर्मीहरू कहिल्यै विचलित नहोऊन् ! यहाँहरूलाई सलाम !

Leave a Reply

Your email address will not be published. Required fields are marked *