भर्खरै :

निषेधाज्ञालाई खुकुलो लकडाउनको अर्थमा नबुझौँ

विज्ञहरूले कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरको चेतावनी दिँदादिँदै पनि त्यसलाई सरकार र सर्वसाधारण दुवै पक्षबाट बेवास्ता हुँदा आज हामी महामारीको गम्भीर स्थितिमा पुगेका छौँ । कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक ८ हजारको दरले बढिरहेको छ । गम्भीर बिरामी भई अस्पताल भर्ना हुने, आईसीयू र भेन्टिलेटरमा राखी उपचार गर्नुपर्ने सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढिरहेको छ । सङ्क्रमणको यस तीव्र लहरलाई रोक्न सरकारले सङ्क्रमणको अवस्था र अनुमानअनुसार विभिन्न जिल्ला, नगर र गाउँपालिकास्तरमा निषेधाज्ञा लगाएको छ । यसरी लगाइएको निषेधाज्ञालाई कतिपयले खुकुलो लकडाउनको अर्थमा बुझिरहेका छन् र लापरबाही देखाइरहेका छन् । अहिले लगाइएको निषेधाज्ञा कुनै राजनीतिक निषेधाज्ञा होइन, त्यसैले प्रहरी प्रशासनले पनि जनतालाई दमन गर्ने सोचाइ राखेको देखिँदैन । गत वर्षको लकडाउनको क्रममा आवतजावत, खेत खलिहान र एकान्तमा बसी काम गरिरहेकाहरूलाई समेत रोक्ने अनावश्यक र अव्यावहारिक कदम चाल्दा प्रहरीहरू आलोचना र विरोधको पात्र बनेका थिए । यतिखेर प्रहरीले कडाइ गरेको छैन, हामी पनि मनपरी घुमफिर गरौँ भनी लापरबाही देखाउनु मूर्खता हुनेछ । नेपालमा पनि कोरोना भाइरसका उत्परिवर्तित प्रकारहरू देखा परेकाले जनस्वास्थ्यमा निकै जोखिम बढेको र सङ्क्रमितको मृत्युदर बढिरहेको विज्ञहरूले बताएका छन् । नेपालमा युरोपसहित विश्वका ५० भन्दा बढी देशमा फैलिएको यूके भेरिअन्ट र भारतमा पहिलोपटक पहिचान भएको डबल म्युटेन्ट भेरिअन्ट पहिचान भएका छन् । तीव्रगतिमा भाइरस उत्परिवर्तन हुँदै जाँदा एक पटक सङ्क्रमित भइसकेपछि वा कोभिड–१९ विरुद्धको खोपबाट बन्ने प्रतिरोध क्षमतालाई तिनले छल्न सक्ने जोखिम भएको भाइरसविद्हरू बताउँछन् । नयाँ स्वरूपका भाइरसहरू छिटो फैलिनेमात्र नभई बढी सङ्क्रामक समेत भएको अध्ययनहरूले देखाएका छन् । निषेधाज्ञालाई खुकुलो लकडाउनको अर्थमा बुझेर लापरबाही गर्नुको अर्थ आफू र आफन्तलाई सङ्क्रमणको जोखिममा पु¥याउनु हो । त्यसैले निषेधाज्ञाको पूर्णतः पालना गरौँ । जरूरी नै परी घरबाहिर निस्कन परेमा स्वास्थ्य सुरक्षाका अधिकतम मापदण्डहरूको पालना गरौँ । महामारीबाट आफू जोगिऔंँ र अरूलाई पनि जोगाऔंँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *