भर्खरै :

मोदी, तिमीले प्रधानमन्त्री बन्ने नैतिक अधिकार गुमाइसक्यौ

हामीलाई एउटा सरकार चाहिएको छ । हामीकहाँ कुनै सरकार छैन । हामीलाई श्वास फेर्न गाह्रो भइरहेको छ । हामी मर्दैछौँ । हाम्रो हातैमा सहायता राखिदिँदा पनि के गर्ने हो भन्ने थाहा पाउन हामीसँग कुनै प्रणाली छैन ।
के गर्न सकिन्छ ? अहिले, यति नै खेर ?
हामी सन् २०२४ सम्म कुर्न सक्दैनौँ । म जस्तो मानिसले कहिल्यै पनि चिताएको थिएन कि यस्ता दिन पनि आउने छन् जुन दिन हामीले प्रधानमन्त्रीसमक्ष केही माग्नुपर्ने अवस्था आउनेछ । व्यक्तिगतरूपमा त मलाई त्यसो गर्नुभन्दा जेल जान ठीक लाग्छ । तर, आज जब हामी घरमै, सडकमै, अस्पतालको कार पार्किङमै, ठुला सहरमै, साना नगरमै, गाउँ र जङ्गल अनि खेतमै मरिरहेका छौँ भने म एक जना सर्वसाधारण नागरिकको हैसियतमा आफ्नो आत्मसम्मान भुलेरै पनि मेरा करोडौँ करोड जनताको पछि लागेर भन्दै छु– (प्रधानमन्त्री) महोदय ¤ बिन्ती छ राजीनामा देऊ । कम्तीमा अहिलेको लागि राजीनामा देऊ । म माग गर्छु, राजीनामा गर ।
यो सङ्कट तिम्रो कारण निम्तिएको हो । यसको समाधान तिमीबाट हुन सक्दैन । तिमीले यसलाई खराबमात्र बनाउन सक्छौ । यो भाइरस भय र घृणा अनि अज्ञानताको समयमा अझ फस्टाउँछ । जब तिमीले अरूको आवाज दबाउन खोज्छौ, यो भाइरस अझ बढी फैलिन्छ । यो भाइरस त्यत्तिबेला अझ बढी फैलिन्छ जब तिमीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा वास्तविकता पु¥याउन रोक लगाउँछौ । यो भाइरस अझ रौसिन्छ जब हामीसँग यस्ता प्रधानमन्त्री हुन्छन् जो आफ्नो कार्यकालभरि एउटा पनि पत्रकार सम्मेलन गरेर उठेका प्रश्नहरूको सामना गर्न सक्दैनन् । अहिलेको अत्यासलाग्दो समयमा समेत ।
हामीमध्ये लाखौँ मानिस मर्नेछौँ अनाहकमा यदि तिमीले पदत्याग नगरे । त्यसकारण, निस्किहाल । झोला उठाऊ । तिम्रो आत्मसम्मान अक्षुण रहँदै । तिमी बाँकी जीवन ध्यान तपस्या गर्दै एकान्तमा बिताउनु । तिमी आफैले त्यस्तो जीवन प्रिय हुने भनेका थियौ । यदि यसरी नै मानिसहरू मर्दै गरे तिमीले त्यस्तो जीवन प्राप्त गर्न सक्दैनौ ।
तिम्रो पार्टीमा तिम्रो ठाउँ लिनसक्ने अरू धेरै भइसके । यस्तो सङ्कटको बेला आफ्नो राजनीतिक विपक्षीलाई पनि साथमा लिएर जानुपर्छ भन्नेहरू धेरै छन् । त्यो मान्छे जो सुकै हुनसक्छ । राष्ट्रिय स्वयम्सेवक सङ्घले अनुमोदन गरेको तिम्रो पार्टीको जो कोहीले पनि सरकार र सङ्कट व्यवस्थापन समितिको नेतृत्व गर्न सक्छन् ।
केही राज्यका मुख्यमन्त्रीहरूलाई पनि त्यो समितिमा निर्वाचित गरौँ । ताकि सबै दलले आफ्नो प्रतिनिधित्व भएको अनुभव गरोस् । राष्ट्रिय पार्टीको हैसियतमा काङ्ग्रेस पार्टीलाई पनि समितिमा सामेल गरौँ । अनि वैज्ञानिक, जनस्वास्थ्यविज्ञ, चिकित्सक र अनुभवी कर्मचारीहरूबाट पनि प्रतिनिधित्व होस् । तिमीले यस्तो प्रक्रियाबारे नबुझ्न सक्छौँ । यसलाई नै प्रजातन्त्र भनिन्छ । तिमीले प्रतिपक्ष मुक्त प्रजातन्त्र बनाउन सक्दैनौ । त्यो त तानाशाही हो । अहिलेको भाइरसले तानाशाहीलाई प्रेम गर्छ ।
यदि तिमीले पदबाट राजीनामा नदिए, यो महामारी एउटा अन्तर्राष्ट्रिय समस्या, संसारकै लागि चुनौती भइसकेको अवस्थामा तिम्रो अक्षमताले अन्य देशलाई हाम्रो आन्तरिक मामिलामा चलखेल गर्ने वैधानिक अधिकार दिन सक्छ । यसले हामीले निकै मिहिनेत गरेर प्राप्त गरेको सार्वभौमिकतामा सम्झौता गर्नुपर्ने अवस्थामा पुग्न सक्छ । हामी फेरि पनि उपनिवेश बन्न सक्छौँ । यो गम्भीर सम्भावना हो । यसलाई बेवास्ता नगरौँ ।
त्यसकारण कृपया जाऊ । तिमीले गर्न सक्ने उत्तरदायी कदम यही हो । तिमीले हाम्रो प्रधानमन्त्री बन्ने नैतिक अधिकार गुमाइसकेका छौ ।
स्रोतः स्क्रोल डटआई एन

Leave a Reply

Your email address will not be published. Required fields are marked *