भर्खरै :

कोरोना महामारीको कारण गर्भवती समस्यामा

टीकापुर, २१ वैशाख । कोरोना भाइरस सङ्क्रमणको दोस्रो भेरियन्टको सङ्क्रमण तीव्ररूपमा फैलिएपछि गर्भवती तथा सुत्केरी बढी तनाबमा देखिएका छन् । कोरोना सङ्क्रमण भइहालेमा घरमै आइसोलेसनमा बस्नेदेखि अस्पतालमा भर्ना हुने अवस्थाका अन्य व्यक्तिलाई भन्दा गर्भवती तथा सुत्केरीका लागि बढी जोखिम हुने हुँदा उनीहरू बढी नै चिन्तित बनेका हुन् ।
टीकापुरकी रमिला चौधरीको यही वैशाख २८ गतेको सुत्केरी हुने मिति अस्पतालले दिएको छ । टीकापुर अस्पतालमा नियमित गर्भ परीक्षण गरिरहेकी रमिला सुत्केरी हुने मिति नजिकिँदै गर्दा निकै चिन्तामा हुनुहुन्छ । जागिरे रमिलालाई कार्यालयले कोरोना सङ्क्रमण बढेपछि बिदा मिलाइदिएको छ तर उहाँलाई अस्पतालसम्म कसरी जाने भन्ने चिन्ताले सताएको छ ।
“आठ महिनामा भिडियो एक्सरे गर्दा डाक्टरले बच्चा उल्टो छ भन्नुभएको थियो । अस्पतालमा कोरोना सङ्क्रमणका धेरै बिरामी छन् । मलाई अस्पताल गए सङ्क्रमित भइन्छ कि भन्ने डर छ । घरमा सुरक्षित छु, सामान्य हिसाबले बच्चा जन्मिए त हुन्थ्यो तर शल्यक्रिया गर्नुपर्ने हो कि भन्ने डर लागिरहेको छ”, रमिला भन्नुहुन्छ । उहाँ सुत्केरी हुने भन्दा पनि कोरोना सङ्क्रमण भइन्छ कि भन्ने चिन्ता लागेको बताउनुहुन्छ ।
टीकापुरकै रूपनी शर्माको पनि सुत्केरी मिति नजिकिएको छ । दोस्रो बच्चा पाउने मिति आइसक्दा रूपनी पनि कसरी अस्पताल जाने भन्ने चिन्तामा रहेको बताउनुहुन्छ । पहिलो बच्चा शल्यक्रिया गरी निकालिएको हो । शल्यक्रिया गर्दा एक साता बढी अस्पताल बस्नु परेको थियो, यस पटक के हुने हो भन्ने डर लागिरहेको छ । उहाँले भन्नुभयो, “पहिलो बच्चा पनि सानो छ । कोरोना भन्ने कस्तो रोग आयो । आफ्नै मान्छे पनि नजीक आउन डराउनु पर्ने, अस्पताल जान पनि डर लाग्ने ।”
कैलालीको जोशीपुरकी सन्ध्या विक पहिलोपटक गर्भवती हुनुभएको छ । सन्ध्याका श्रीमान् स्वास्थ्यकर्मी हुनुहुन्छ । श्रीमान् दिनभरि कार्यालयमा काम गर्नुहुन्छ, सन्ध्यालाई तनाव बढेको छ । गाउँमा ज्वरो आएका बिरामी बढेका छन् । म आठ महिनाकी गर्भवती छु । श्रीमान् बिरामीको उपचार गर्ने काम गर्नुहुन्छ । सन्ध्याले भन्नुभयो, “कुन दिन हामी पनि सङ्क्रमित हुन्छौँ भन्ने डरले सताएको छ ।”
टीकापुर अस्पतालमा उपचारमा आउने तीन जना गर्भवतीलाई कोरोनाका लक्षण देखिएको छ । एक जना गर्भवती सङ्क्रमित भएर अस्पतालमै उपचार भइरहेको छ । गर्भ परीक्षण सेवा नियमित राखेको टीकापुर अस्पतालले यस साताबाट दुई साताका लागि बन्द गर्ने तयारी गरेको छ । समुदायमा सङ्क्रमण फैलिएको छ । यस्तो बेला सुत्केरी र गर्भवती बढी सुरक्षित हुन आवश्यक छ । सिनियर स्टाफ नर्स कल्पना खड्काले भन्नुभयो, “सेवा नियमित भए पनि गर्भवतीहरू डरले अस्पताल आउन सक्नुभएको छैन । हामीले पनि दुई हप्ता गर्भ परीक्षण सेवा नगर्ने सल्लाह गरेका छौँ । सङ्क्रमण फैलिनबाट जोगिन यो आवश्यक छ ।”
अस्पतालले समस्यामा रहेका गर्भवती तथा सुत्केरीलाई टेलिफोनबाट परामर्श दिन थालेको छ । टीकापुर अस्पतालमा सातामा दुई दिन गर्भ परीक्षण सेवा दिइन्छ । सातामा ७० जनासम्म गर्भवती सेवा लिन आउने गरेको स्टाफ नर्स खड्काले बताउनुभयो । कुनै दिन त ३५ जनासम्म गर्भवती आउँथे, यो त जोखिम भयो भनेर हामीले फोनमै समस्या भए सोध्न भनेका छौँ । उहाँ भन्नुहुन्छ, “यस्तो बेला खानपिनमा ध्यान दिने, घरमै रमाउने, तनाबबाट मुक्त भएर बस्नुपर्छ ।”
अस्पतालका स्त्री रोग विशेषज्ञ गौरी रिजाल अन्य नागरिकभन्दा गर्भवती तथा सुत्केरीको रोगसँग लड्ने क्षमता कमजोर हुने भएकाले सतर्कता अपनाउन आवश्यक रहेको बताउनुहुन्छ । सङ्क्रमणको जोखिम पनि बढी हुन्छ, यस्तो बेला बालबालिका र आमालाई जोगाउन सचेतना अपनाउनु नै विकल्प हो । डा. रिजालले भन्नुभयो, “सुत्केरी सेवा नियमित छ । सुत्केरी सेवा दिँदा स्वास्थ्यका मापदण्ड पूरा पालना गरिएका छन् । व्यथा लागेमा अस्पताल आउनुहोला । घरमै सुत्केरी हुनु सुरक्षित होइन ।” रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *