भर्खरै :

एक गैर–कम्युनिस्ट षड्यन्त्रभित्रका एक कम्युनिस्ट

 (सन् १९६७ मा एक अमेरिकी विश्वविद्यालयको निम्ति लेखिएको यो अध्ययनपत्र संसारका प्रथम कम्युनिस्ट क्रान्तिकारी मानिने बाबेफको विषयमा लेखिएको सरस र सारपूर्ण रचना हो । बाबेफसम्बन्धी सैद्धान्तिक बुझाइमा लेखकसँग मतभेद हुँदाहुँदै पनि फ्रान्सेली क्रान्ति र एक क्रान्तिकारीका उतारचढावबारे थाहा पाउन पठनयोग्य हुनाले अध्ययनपत्रको अनौपचारिक अनुवाद गरिएको छ । अर्थात्, यसका सन्दर्भ सामग्रीहरू यहाँ उल्लेख गरिने छैन तर थप ऐतिहासिक सन्दर्भसहित टिप्पणीहरूलाई यथास्थान राखिनेछ । अक्टोबर क्रान्तिसँग दाँजेर हेर्दा यहाँ वर्णित फ्रान्सेली क्रान्तिका घटनाक्रमले जीवन्त र मूल्यवान अर्थ राख्नेछन् ।– अनुवादक)

अध्याय ३ : षड्यन्त्रभित्रको शक्ति
अधिवेशनपन्थीहरूको भूमिका
बाबेफको ‘उल्ट्याई’ मात्र रणनीतिक चाल थियो भने उनी एक गैर–कम्युनिस्ट षड्यन्त्रभित्रका एक कम्युनिस्ट थिए । यस अवधारणाको पक्षमा एकजना फ्रान्सेली इतिहासकारले बाबेफको नेतृत्वमाथि प्रश्न नगरी षड्यन्त्रका बहुसङ्ख्यक सहभागीहरू कम्युनिस्ट थिएनन् भनी देखाउने जमर्को गरेका छन् । उनले लेखे, ‘त्यो षड्यन्त्र समकालीनहरूका लागि, कम्युनिस्ट चाल कम आतङ्ककारीहरूले पुनः सत्ता प्राप्त गर्ने अन्तिम प्रयास ज्यादा थियो ।’ इतिहासकारले धेरैजसो त बदला लिनेहरू रहेको महसुस गरे । जस्तो, रोबर्ट लिन्देत । उनलाई ९ थर्मिडोरका कारबाहीहरूमा दोषी ठह¥याइएको थियो तर उनी निर्वाचित पाँच सय (नयाँ तल्लो सदन) को कुर्सीबाट उनलाई हटाइएन । इतिहासकारले जनसुरक्षा समिति विफल भएको निक्र्योल अरूले निकालेको बताए किनभने तिनले सामाजिक–आर्थिक समस्याको मूल जड निजी स्वामित्वमाथि वास्तवमै आक्रमण गरेका थिएनन् ।
माथि बताइएका इतिहासकारले बाबेफका बहुसङ्ख्यक पक्षधरहरू पूर्व अधिवेशनपन्थी र आतङ्ककारीहरू थिए भनी चित्त बुझाए । उनले बाबेफको पत्रिका ‘जनसन्देश’ का ग्राहकहरूको सूची र पूर्व सरकारको पत्रिकाका ग्राहकहरूको सूची तुलना गरे । उनले ती दुवैका ग्राहकहरू झन्डै उति नै रहेको पाए र उनीहरू एउटै वर्गका थिए । जस्तो, बैङ्कपति, कर्मचारीहरू, न्यायाधीश, डाक्टर र सैन्य कमान्डरहरू । यसकै आधारमा इतिहासकारले ‘जनसन्देश’ का ग्राहकहरू नै थर्मिडोर अवधिका घटनाक्रमले व्यथित बनेको र उनीहरूले बाबेफका गतिविधिहरूमा बदलाको मौका देखेको निष्कर्ष निकाले । यस समूहमा थुनामुक्त भएका पूर्व अधिवेशनपन्थीहरू र रोबेस्पीयर सरकारसँग जोडिएका धेरै व्यक्तिहरू आबद्ध थिए । झन्डै कोही पनि पश्चिम र युद्ध क्षेत्रहरूमा गएनन् जति बेला ती भेगमा श्वेत आतङ्कको बिगबिगी बढ्दै थियो । इतिहासकार के कुरामा ढुक्क थिए भने थर्मिडोरमाथिको आक्रमण, पहिलेकै स्थितिको गौरवगान र बदलाको प्रतिबद्धताले उनीहरू मख्ख थिए । इतिहासकारले लेखे, ‘उनीहरूलाई कम्युनिस्ट सिद्धान्तमा रुचि थिएन भन्नेमा दुईमत छैन, धेरैजना भूमिपति र सफल बुर्जुआ थिए । आफ्नो धनसम्पत्ति बाँड्ने उनीहरूको मनसाय थिएन ।’ उनको निष्कर्ष थियो, बाबेफ कम्युनिस्ट हुँदाहुँदै पनि उनको पक्ष लिइएको थियो, कम्युनिस्ट भएरै त्यसो गरिएको थिएन ।
माथिका इतिहासकारको निष्कर्षमा धेरै गल्तीहरू छन् । षड्यन्त्रका सदस्यहरूलाई ‘जनसन्देश’ का ग्राहकहरूको सूचीबाट ठम्याउन सम्भव छैन । बाबेफको पत्रिका धेरै ठुलो सङ्ख्यामा छापिन्थ्यो र कामदारहरूका बस्तीहरू सित्तैमा वितरण गरिन्थ्यो । यी बस्तीहरूमा असङ्ख्य पोस्टर, पर्चा र यस्तै सामग्रीहरू पनि वितरण हुन्थ्यो किनभने बाबेफले तिनको मद्दत चाहेका थिए । ग्राहकहरूको सूचीले बाबेफले प्रभावित गर्न चाहेको जनसमूहमाझ उनको प्रचारप्रसार कति प्रभावकारी थियो भन्ने वास्तविक स्थितिको झलक दिन्न । यी ग्राहकहरूको निश्चय नै आम्दानीको स्रोतको रूपमा महत्व छ । तर, यत्तिले नै उनीहरूलाई नियन्त्रणकारी शक्ति दिन्न । उनीहरू विभिन्न प्रान्तहरूमा छरिएका थिए जब कि षड्यन्त्र पेरिसमा भएको थियो । साथै, उपरोक्त इतिहासकारले भनेजस्तो बाबेफको पत्रिका पढ्नेहरूलाई षड्यन्त्रको बारेमा थाहा थियो र उनीहरू त्यसका पक्षधर थिए भनी मान्नुको तुक छैन । यसलाई प्रमाण मान्न सकिन्न । बरु, उनको अध्ययनले के देखाउँछ भने त्यतिबेला बाबेफका गतिविधिहरूमा रुचि राख्ने पूर्व अधिवेशनपन्थी र कर्मचारीहरूको एउटा हिस्सा थियो भन्ने देखाउँछ । यो समूह कति प्रभावशाली थियो भन्ने विषयमा थोरैमात्र प्रमाणहरू भेटिन्छन् । तर, यसले समानहरूलाई अरूसँग सहकार्य गर्नका लागि दबाब दिनसक्ने सामथ्र्य राख्थ्यो । बोनारोट्टीले आफ्नो पुस्तकमा दिएको स्थानको विश्लेषण गर्दा यो सहकार्य वा गठबन्धन षड्यन्त्रको ज्वलन्त पाटो थियो ।
बाबेफको भूमिका
गुप्त डाइरेक्टरीमा बाबेफको स्थानको अझ स्पष्ट जानकारी ‘समानहरूको घोषणापत्र’ को प्रकाशन गर्न त्यसले रोकेको तथ्यले दिन्छ । त्यसका लेखक सिल्भाँ माघेशलले लेखेका थिए । तर, बाबेफ त्यसमा निहित षड्यन्त्रका सिद्धान्तहरूमा सहमत थिए । बोनारोट्टीले त्यसको प्रकाशन गर्न अस्वीकार गर्नुमा केही भनाइहरूसँग धेरैको विमति थियो भनी व्याख्या गरे । जस्तो, ‘साँचो समानता हामीबीच कायम हुने सर्तमा, कलाकौशलका सबै क्षेत्रहरू नष्ट हुनुपर्छ भने होऊन् ।’ (सिल्भाँ माघेशल क्रान्तिको आरम्भदेखि नै अतिवादी बौद्धिक थिए । उनी गुप्त डाइरेक्टरीका सुरुदेखिका सदस्य थिए । उनी एक असफल कवि, प्रतिबद्ध नास्तिक र बाबेफका नजिकका मित्र थिए ।) बोनोरोटीको तर्क अपुग देखिन्छ किनभने केही वाक्यांशहरू सजिलै हटाउन वा फेर्न सकिन्थ्यो । कलाकौशलको भविष्यसँगको यो चासो पनि बोनारोट्टीको पुस्तकका अन्य भागहरूको लयसँग मेल खान्न । ती स्थानमा उनले रुसोको यो भनाइमा सहमति जनाएका छन्, ‘यसअघि कलाकौशल र विज्ञानहरूको विलक्षण स्थितिसँग नैतिकता र स्वतन्त्रता यति नङमासु भएको पाइएको थिएन ।’
‘घोषणापत्र’ को सट्टा गुप्त डाइरेक्टरीले ‘सत्य उजागर गर्न कार्यकारी डाइरेक्टरीको सिफारिसमा जननेता बाबेफको सिद्धान्तको विश्लेषण’ प्रकाशित ग¥यो । यी दुई दस्तावेजको तुलनाले धेरै महत्वपूर्ण भेदहरू देखाउँछ । ‘घोषणापत्र’ मा १७९३ को संविधान एक ठाउँमा मात्र यसरी उल्लेख भएको छ, ‘साँचो स्वतन्त्रतातिरको एउटा महान् पाइला । यसअघि यति नजिक पुगिएको थिएन । तर, अझै पनि यसले लक्ष्य हासिल गरेन र साझा कल्याण छोएन ।’ ‘बाबेफको सिद्धान्तको विश्लेषण’ को झन्डै आधा भाग १७९३ को संविधानको प्रशंसा गर्न, तेस्रो वर्षको संविधानको निन्दा गर्न र एउटा आह्वान गर्नमा खर्च भएको छ । आह्वान यस्तो छ, ‘प्रत्येक नागरिक १७९३ को संविधान ब्युँताउन र त्यसमा निहित जनताको इच्छा र सुखको प्रतिरक्षा गर्न विवश छन् ।’ ‘घोषणापत्र’ मा तीव्र उद्घोष थियो ‘साझा सम्पत्ति वा साझा स्वामित्व भएको समाज । जमिनमा निजी स्वामित्व चाहिँदैन । जमिन कसैको हुँदैन ।’ ‘बाबेफको सिद्धान्तको विश्लेषण’ ले सम्पत्तिको अधिकारको उल्लेख गरेन र त्यसले धनीहरूको हलुका विरोध गरेरै चित्त बुझायो । ‘जनसन्देश’ मा व्यक्त बाबेफको निजी विचारसँग ‘घोषणापत्र’ नजिक थियो । तर, ‘बाबेफको सिद्धान्तको विश्लेषण’ लाई औपचारिक अनुमोदन गरियो । के भएको थियो भन्ने विषयमा थोरैमात्र थाहा लागेको छ । तैपनि, यसबाट बाबेफले नीति निर्माणमा आफ्नो कुरा थोपर्दैनथे भन्ने कुरा देखिन्छ ।

अध्याय ४ ः इतिहासमा बाबेफ
बोनारोट्टीका बाबेफ
षड्यन्त्रकारी समूह एकैनासको समूह थिएन र बाबेफ त्यसका प्रेरणा हुनैपर्ने थिएन भन्ने पुष्टि हुन्छ । षड्यन्त्रले आफ्नो लक्ष्य प्राप्त गर्न सकेन । तर, यसको अर्थ सानो षड्यन्त्रका सदस्य हुनुमा बाहेक बाबेफको अर्को महत्व थिएन भन्ने होइन ।
रोबेस्पीयरप्रतिको रहलपहल भावुकताबाट फाइदा लिन खोजेका बाबेफको विडम्बना के छ भने उनले १७९३ को संविधान फिर्ता ल्याउने प्रयासमा सहिद भएर ख्याति कमाए । बाबेफले कम्युनिस्ट सिद्धान्तमा सैद्धान्तिक योगदान गरेनन् । (बाबेफको साम्यवादमा मौलिकता भेटेका लेखकहरू पाइँदैनन् ।) तर, उनलाई तहगत ढाँचामा आधारित क्रान्तिकारी अल्पसङ्ख्यकहरूको सङ्गठन शैलीको सुरुआत गरेकोमा प्रायः उनलाई श्रेय दिइन्छ । यस्तो सङ्गठनमा कार्यकर्ताले आफूभन्दा ठीक माथि र तलका कार्यकर्तामात्र चिन्थ्यो । जनसमूहलाई पुनः शिक्षित गर्न र उनीहरूलाई नयाँ समाजको निम्ति तयार पार्न क्रान्तिकारी अधिनायकत्व पहिल्याएको श्रेय पनि बाबेफलाई दिइन्छ । यो शैलीलाई अगस्ट ब्लाँकीजस्ता १९ औँ शताब्दीका क्रान्तिकारीहरूले पछ्याए । ब्लाँकीका निम्ति बाबेफ बहादुरी र वीरताका प्रतीक थिए । उनीहरूले बाबेफको व्यक्तित्व र विचारहरूबाट कति र एक सहिदको रूपमा उनलाई उपयोग गर्ने मनसायबाट कति बाबेफको तारिफ गरे भन्ने कुरामा प्रश्न गर्न मिल्ला । बाबेफले रोबेस्पीयरलाई यसरी नै उपयोग गर्न खोजेका थिए । बाबेफ नायक थिए । तर, बोनारोट्टीको पुस्तक बाइबल थियो र बोनारोट्टी प्रेरित दूत थिए । ‘वास्तविक’ बाबेफको प्रभाव लगभग हरायो भन्दा हुन्छ । साङ्गठनिक ढाँचाको कुरा गर्दा त्यो पहिलेको क्रान्तिकारी अनुभवको जगमा बनेको थियो र त्यसलाई बाबेफ एक्लैको योगदान मान्न आवश्यक छैन । बरु, त्यो एउटा सामूहिक योगदान थियो । त्यसलाई पनि बोनारोट्टीले प्रचारमा ल्याएका थिए ।
बोनारोट्टी एउटा वाहन थिए । त्यसमा बाबेफका अमिट प्रभावहरू प्रसार भए । बोनारोट्टी महत्वपूर्ण चुम्बकीय व्यक्तित्व थिए । उनी भव्य प्रभाव उत्पन्न गर्न सक्थे । उनी नरम, प्रीतिकर, सुशिक्षित र सुसंस्कृत थिए । उनी पूर्णतः समर्पित थिए र आफूलाई बेदाग योद्धा ठान्थे । उनको पूरै आत्मबल रुसो, रोबेस्पीयर र प्रथम गणतन्त्रप्रतिको साँघुरो र सुदृढ आस्थाले बनेको थियो । १८३० को जुलाई क्रान्तिपछि उनी पेरिस फर्के र १८३७ मा उनको मृत्यु नहुञ्जेल उनी क्रान्तिकारी आन्दोलनका जीवित नायक थिए । समानहरूको षड्यन्त्रले क्रान्तिकारी विचारधारामा आश्चर्यजनक प्रभाव पा¥यो । यस सफलताको एउटा कारण सम्भवतः बोनारोट्टीको व्यक्तित्व र सही समयमा प्रकाशनहरू बाहिरिनाले प्राप्त भएको थियो । यसले १७९३ छेक झन्डै हात लागेको र फेरि पनि राजनीतिक षड्यन्त्रबाट हासिल गर्न सकिने सुन्दर संसारप्रतिको जुर्मुराउँदो आशा जगाएको थियो । पुनरुत्थानकालीन, ओर्लियनकालको फ्रान्सेली जीवन र बोनारोट्टीले चित्रण गरेको समानहरूको इस्पाती गणतन्त्रबीच चकित पार्ने भिन्नता पाइन्छ । यसले गर्दा आफ्नो समाजबाट पाखा परेका वा निराशा महसुस गर्नेहरूका आँखामा सो गणतन्त्र युटोपिया वा कल्पनालोकजस्तो देखापर्छ । फ्रान्सले औद्योगिक क्रान्तिका प्रभावहरू छोइने गरी महसुस गर्न थालेको थियो । रुढीवादी मध्यम वर्गको शासनसँग यी प्रभावहरूको घाँटी जोडिएपछि औद्योगिक मजदुरहरूको ठूलो जनसमूह समाजवादी विचारहरूतिर आकर्षित भयो । १८३४ मा गणतन्त्रवादी समाजहरूलाई अवैध घोषित गरियो र उनीहरू भूमिगत भए । १८३५ मा कानुनले प्रेसमाथि कडा प्रतिबन्ध लगायो । यसले बोनारोट्टीजस्ता गोप्य षड्यन्त्रका हिमायतीहरूलाई सबल तुल्यायो । यी सबै गतिविधिका केन्द्र बोनारोट्टी थिए र खास प्रभाव उनकै थियो ।
बाबेफ उपयोगी भए किनभने उनी उचित परिस्थितिमा राम्ररी मरे । उनी बोनारोट्टीका निम्ति प्रचार सामग्री बने । बाबेफ मरिसकेको हुनाले बोनारोट्टीले उनको विचारका खालि ती पक्षहरू रोजे जुन बोनारोट्टीले चित्रण गर्न चाहेको तस्बिरमा ठ्याम्मै मिल्थ्यो । रोबेस्पीयरको चित्रमा मेल नखाने कुराहरू हटाइए । यो कुरा बाबेफले लेखेका शृङ्खलाबद्ध अध्यादेशहरूलाई बोनारोट्टीले जसरी प्रस्तुत गरे त्यसमा देख्न सकिन्छ । ती अध्यादेश बाबेफले कम्युनिस्ट राज्यको प्रस्तावित संविधानमा राख्नका निम्ति लेखेका थिए । आफ्नो ‘स्पष्टीकरण खण्ड’ मा बोनारोट्टीले ती अध्यादेशहरूका संलग्न गरे तर बाबेफको सैद्धान्तिक राज्यका निम्न महत्वपूर्ण अंशलाई बोनारोट्टीले हटाए ः
धारा १ ः गणतन्त्रमा भलाइको महान् राष्ट्रिय समुदाय १ स्थापना गरिनेछ ।
धारा ३ ः जन्मसिद्ध वा इच्छापत्र अनुसार दिइने उत्तराधिकारीको अधिकार निर्मूल गरिन्छ । व्यक्ति मालिक रहेका सम्पूर्ण धनसम्पत्ति उनीहरूको मृत्युपछि राष्ट्रिय समुदायको जिम्मामा ल्याइन्छ ।
धारा १० ः गणतन्त्रले असल नागरिकहरूलाई यस सुधारको सफलतामा योगदान गर्ने उद्देश्यले समुदायको निम्ति आफ्नो धनसम्पत्तिको स्वेच्छिक परित्याग गर्न आमन्त्रण गर्छ ।
यी अंश हटाउनुले बोनारोट्टी बाबेफको सिद्धान्तको विपक्षमा थिए भन्ने देखाउँदैन बरु षड्यन्त्रका अन्य पक्षभन्दा तिनको प्राथमिकता कम भएको उनको बुझाइ झल्काउँछ । बाबेफ सधैँ सिर्जना गर्नुपर्ने समाजमा जोड दिन्थे र १७९३ को संविधानलाई त्यसको उपयोगी प्रस्थानबिन्दु मान्थे किनभने त्यो वास्तविकता थियो । जनताको त्यसमा समर्थन पनि थियो । बोनारोट्टीको जोड भने १७९३ मा फर्किनुमा थियो । भविष्यसम्बन्धी उनका योजनाहरू अलि अस्पष्ट र धमिला थिए । उनका योजनाहरू १७९३ मा फर्किनुभन्दा कम महत्वका थिए ।
बाबेफको महत्व
तैपनि, बाबेफको शहादतलाई उनको सफलता मान्नुपर्छ । उनले आफूलाई यही भूमिकामा देख्न चाहेका थिए । अदालती बहस पर्खँदै गर्दा उनले आफ्ना षड्यन्त्रकारी मित्र फेलिक्स लेपलितियरलाई लेखेका थिए, ‘ग्राकस बाबेफ कहिल्यै आफ्नो वा आफ्नो परिवारको लागि महत्वाकाङ्क्षी बनेन । बरु, उसले सदा जनताको हकहित बढाउन चाह्यो । उसका सन्तानहरू समाजलाई सधैँ चाहिने क्षेत्रहरूमा असल र जिम्मेवार शिल्पी बनेमा नै ऊ धन्य हुनेछ ।’ भेन्दोमको उच्च अदालतसामु आफ्नो बचाउमा उनले अभिव्यक्त गरेको विचारको सार नै के थियो भने उनी क्रान्तिका वास्तविक सिद्धान्तहरूका रक्षक थिए ।
“हामीलाई प्राणदण्ड दिइन्छ भने, मृत्युले मेरो ढोका ढक्ढक्याउँछ भने, मेरो अन्तिम घडी यसबेला भाग्यको पुस्तकमा अडिएको छ भने, मैले लामो समयदेखि यस क्षणको प्रतीक्षा गरिरहेको थिएँ । क्रान्तिको पहिलो वर्षदेखि जनताप्रतिको मेरो मायाको झन्डै सदैव शिकार, जहिल्यै क्रान्तिकारीहरूको भागमा पर्ने कैदखानासँग अभ्यस्त, यातना र भयानक मृत्युसँग परिचित, हो, मलाई यस घटनाले चकित पार्दैन ¤ केहीले पनि मलाई भयभित पार्दैन ¤ जनताको मायाका कारण सताइएकाहरूको लहरमा नाम लेखाउन पाउनु राम्रै हो ¤ म ढुक्क छु, मेरो नाम त्यहाँ हुनेछ ¤ त्यसैले ग्राकस बाबेफ सदाचारका निम्ति दण्डित हुँदा निकै खुसी छ ¤¤¤”
मृत्युदण्ड पाउनुभन्दा ठीक अगाडि उनले आफ्नी जहानलाई पत्र लेखे, “यो अशिष्ट त हो, तैपनि यस्तो मृत्यु सबैभन्दा गौरवपूर्ण हुन्छ ।”
बाबेफ रोबेस्पीयरपन्थी सहिद भएर मर्नु विडम्बना हो । तर, बोनारोट्टी र रोबेस्पीयरपन्थीसँगको आफ्नो साठगाँठबाट उनी एक कम्युनिस्ट सहीदको रूपमा अजम्बरी हुनु झन् ठूलो विडम्बना हो । बाबेफले बोनारोट्टी र रोबेस्पीयरपन्थीहरूलाई उपयोग गर्ने कोसिस गरे । तर, मृत्युपछि उनलाई तिनीहरूले आफ्ना ती विचारहरूको सहिदको रूपमा उपयोग गरे जसमा उनको विश्वास थिएन । तर, समयसँगै उनी र धेरै रोबेस्पीयरपन्थी सहिदहरूलाई नयाँ अझ जुझारु समाजवादका नायकहरूको रूपमा हेरियो । जुन विचारहरू रोबेस्पीयरभन्दा पनि बाबेफनिकट थिए । आखिरीमा बाबेफ विजयी भए किनभने उनी साँच्चै साम्यवादका निम्ति सहिद भए ।
अनुवाद ः राजीव

Leave a Reply

Your email address will not be published. Required fields are marked *