चारैतिर पहाडले घेरिएको उर्वर खेतीयोग्य स्वनिगः (काठमाडौँ उपत्यका) मा परापूर्वकालदेखि नै मानव बस्ती रहिआएको हामी इतिहासमा पढ्न पाउँछौँ । मनग्गे उब्जनी हुने मलिलो माटोका कारण भएको कृषिको विकासले मानव सभ्यताका विभिन्न कालखण्डमा स्वनिगः समृद्ध रहँदै आएको हो । त्यो उर्वर र मलिलो माटोको इतिहास बुझ्न भने मानव उत्पत्तिभन्दा पनि निकै पुरानो समयमा फर्किनुपर्ने हुन्छ । निकै समय अगाडि आजको स्वनिगः भएको स्थानमा एक विशाल ताल रहेको र त्यही तालको पिँधमा समयक्रमसँगै थुप्रिएका बालुवा, माटो नै ताल सुकेपछि उर्वर फाँटमा परिणत भएको तथ्य हामीमध्ये धेरैले सुनेका/पढेका छौँ । आजको स्वनिगः कुनै बेला विशाल र आकर्षक ताल रहेको कुरा हाम्रा धार्मिक मिथकहरूमा पनि पाइन्छ र यहाँ भएका भौगर्भिक अध्ययनहरूले पनि यही कुराको वैज्ञानिक पुष्टि गर्दछ । स्वीस् भूगर्भविद् तथा नेपालविद् टोनी हागनले सन् १९६९ मा आफ्नो ‘नेपालको भौगर्भिक सर्वेक्षण प्रतिवेदन’ मा पनि यो कुराको उल्लेख गरेका छन् । तिब्बती बोधिसत्व मञ्जुश्रीले आफ्नो तरबारले चोभारको गल्छी काटी पानीलाई निकास दिएर ताल सुकाएको र यसरी बनेको उपत्यकामा मानव बस्ती बसेको मिथक छ ।
मिथकका कुरालाई यही छोडेर भौगर्भिक कोणबाट स्वनिगःलाई नियालौँ । स्वनिगःको त्यो तालको उद्गम कहिले भयो, कसरी भयो, कति समयसम्म तालको रूपमा रह्यो र कहिले पानी सुकी बस्ती बस्न लायक भयो भनेर थोरै छलफल गरौँ।
स्वनिगःको उत्पत्ति
स्वनिगः र तालको आविर्भावबारे कुरा गर्नु अगाडि हाम्रो हिमालय शृङ्खलाको उत्पत्तिबारे बुझ्नु आवश्यक छ । आजको विश्वमा हामी महादेशहरू जस्तो देख्छौँ ती पहिले त्यस्ता थिएनन् । सबै महादेशहरू पहिले प्यान्जिया भनिने एउटै विशाल महादेशका रूपमा थियो जुन आजभन्दा १० करोड वर्ष अगाडि साना टुक्राहरूमा विभक्त भएर गयो । पृथ्वीको सबैभन्दा बाहिरी सतह (क्रष्ट) टेक्टोनिक प्लेट भनिने यस्ता एक दर्जनभन्दा धेरै साना–ठूला टुक्राहरूमा विभक्त छ । यी प्लेटहरू चलायमान भएर एक–अर्कासँग ठोक्किने, एक–अर्काबाट छुट्टिएर जाने, वा एक भित्र अर्को पस्ने क्रम निरन्तर भइरहेको हुन्छ । विश्वमानचित्रको परिवर्तनको यो प्रक्रियालाई प्लेट टेक्टोनिक्स भनिन्छ । तिनीहरूको यो चालको प्रमुख कारक भने पृथ्वीभित्र रहेको अपार ताप र शक्ति नै हो । एक–अर्कासँग जुधिरहेका प्लेटहरूमध्ये इन्डिएन प्लेट र युरेसियन प्लेटको कुरा गरौँ । इन्डियन प्लेट भूमध्य–रेखाको छेउछाउबाट निरन्तर उत्तर सर्दै आजभन्दा करिब ४ देखि ६ करोड वर्ष पहिले युरेसियन प्लेटसँग ठोकिन आएको मानिन्छ । युरेसियन प्लेट तुलनात्मकरूपले ठुलो हुनाले इन्डिएन प्लेटको दबाब थामेर स्थिर रह्यो । उत्तरतिरको महादेश स्थिर रहेपछि त्योसँग ठोकिँदै गरेको इन्डियन प्लेटको दबाबले यी दुई प्लेटबीचको टेथिस सागरमुनिको भू–भागलाई बिस्तारै उचाल्न सुरु ग¥यो । उदाहरणका लागि, मानौँ हामीले बिहान सिरकलाई नपट्याई भित्तातिर ठेल्यौँ भने सिरकका केही भाग उठ्छन् र पहाडी शृङ्खलाजस्ता देखिन्छन् । उसैगरी टेथिस सागरमुनि रहेका भूभागहरू क्रमशः उत्थान हुँदै, अग्ला बन्दै आजको हिमालय शृङ्खला बन्यो । निरन्तरको दबाबले यी अग्ला पहाडी शृङ्खला बन्ने क्रममा उत्थान हुँदै गरेका चट्टानमा विरूपन भई चिरा/भ्रंशहरू पर्न थाल्यो । यी भ्रंशहरू पुरै हिमालय शृङ्खलाभरि पूर्व–पश्चिम फैलिएर रहेका छन् ।
हागनका अनुसार उत्तर सर्दै गएको इन्डिएन प्लेटको निरन्तरको दबाबले आजभन्दा लगभग १५ देखि २० लाख वर्ष अगाडि स्वनिगः र त्यसको दक्षिणतिरको भू–भाग यिनै भ्रंशहरू हुँदै उत्थान हुन थाल्यो । यसरी दक्षिणतिरको भाग उँचो हुँदै जाँदा त्यहाँ बग्ने प्राक् बाग्मती नदीको गति सुस्त हुँदै, निकास बिस्तारै थुनिँदै पानी जम्मा हुन थाल्यो । जापानी भूगर्भविद् हारुताका साकाईले सन् २००१ मा गरेको अध्ययनअनुसार त्यो बेला बिस्तारै पानी जम्मा हुँदै बन्न थालेको भू–भागमा प्राक् बाग्मतीले उत्तरतिरका अग्ला भू–भागबाट बालुवा–माटो–गेगर ल्याएर थुपार्दथ्यो (तस्वीर १) ।

तस्वीर १. स्वनिगःमा तालको उत्पत्तिको क्रम (साकाई २००२)
इन्डियन प्लेट र युरेसियन प्लेटको निरन्तरको टक्करले हिमालय शृङ्खलामा थप भ्रंशहरू पर्ने र भू–भागको उत्थान हुने क्रम जारी नै रह्यो । आजभन्दा लगभग १० लाख वर्ष अगाडि स्वनिगःको दक्षिणतिरको भू–भाग हरेक साल केही सेन्टिमिटरका दरले तीव्रगतिमा उत्थान हुँदा महाभारत लेकको उत्पत्ति भएको भूगर्भविद्हरूको मान्यता छ । ठाउँ–ठाउँमा जम्मा हुँदै, सुस्त गतिले दक्षिण बग्दै गरेको प्राक् बाग्मती नदी महाभारत लेकको तीव्र उत्थानले गर्दा सम्भवतः हालको बुङ्गमतीको दक्षिणतिर पुरै थुनिएर स्वनिगः क्रमशः तालमा परिणत हुन थाल्यो (तस्वीर २) ।

तस्वीर २. दक्षिणमा महाभारत लेकको तीव्र उत्थान पछि बुङ्गमतीबाट दक्षिणतिर पानी थुनिएर ताल बनेको काल्पनिक तस्वीर (दीक्षित २०१०)
यो तालमा चारैतिरका अग्ला डाँडाहरूबाट बगेर आएको थिग्रो पिँधमा थुप्रिन थाल्यो । दक्षिणी भू–भाग अग्लो बन्ने क्रम निरन्तर हुँदै गर्दा बिस्तारै ताल गहिरिँदै उत्तर सर्न थालेको (तस्वीर ३)

तस्वीर ३. महाभारत लेक अझ अग्लिँदै जाँदा ताल उत्तर सरेको र पानीले चोभारतिर (दक्षिण–पश्चिम) निकास खोज्न थालेको काल्पनिक तस्वीर (दीक्षित २०१०)
भौगर्भिक प्रमाणहरूले देखाउँछ । एवम्रीतले यो उपत्यका विशाल तालमा परिणत भयो । समयक्रममा तालमा पानीको सतह विभिन्न कारणले घटबढ हुने क्रम पनि जारी नै रह्यो । स्वनिगःको भौगर्भिक अध्ययनको क्रममा भेटिएका हात्तीलगायत विभिन्न जलचर–थलचर र वनस्पतिका जीवाशेषहरूले (हागन १९६९, साकाई २००२) सो ताल र वरपरका क्षेत्र विभिन्न वन्यजन्तु र वनस्पतिको वासस्थान रहेको पुष्टि हुन्छ ।
यसरी झन्डै १० लाख वर्ष पहिले क्रमशः बनेको यो ताल कहिले के कारणले सुक्यो त ? यसबारे चर्चा गरौँ । पानी थुनिएर ताल बने पनि पानीले तल्लो भेगतिर बग्न बाहिर जाने निकास खोज्छ । स्वनिगःको दक्षिण–पश्चिम तिरको चोभार क्षेत्र चुनढुङ्गाले बनेको छ । चुनढुङ्गा कडा र बलियो भए पनि पानीको संसर्गमा आएपछि बिस्तारै पानीमा घुल्दै जान्छ । स्वनिगःको तालको पानीले निकास खोज्ने क्रममा बिस्तारै र निरन्तर यही चुनढुङ्गालाई क्रमशः घोल्दै–पगाल्दै, गहिरो गल्छी बनाउँदै बाहिर बग्ने बाटो बनायो र तालमा पानीको सतह घट्न थाल्यो । झण्डै ३० हजार वर्ष पहिलेबाट सुस्तगतिमा र विभिन्न चरणहरूमा तालको पानी घट्न सुरु भएको भूगर्भविद्हरू मान्दछन् । आजभन्दा करिब १ लाख १५ हजार वर्ष पहिलेबाट सुरु भएको ‘अन्तिम हिमयुग’ को कालखण्डमा हिमालय क्षेत्रमा तापक्रम र पानीको बहावमा आएको व्यापक कमीले पनि यो ताल सुक्नलाई मद्दत गरेको मान्न सकिन्छ ।
तालको पानी सुक्ने क्रममा पानीमुनि रहेका उँचा भू–भागहरू जस्तै गोकर्ण, ठुलो गौचरनहरू पहिले देखा पर्न थाले । यसरी क्रमैसँग विभिन्न चरण गरी अरू भू–भागहरू पनि पानीमाथि देखिन थालेको (तस्वीर ४)

तस्वीर ४. वातावरणीय प्रभाव र पानीको निकासले सुक्ने क्रममा रहेको स्वनिगः तालको काल्पनिक तस्वीर (दीक्षित २०१०)
भौगर्भिक अध्ययनले देखाउँछ । ताल बिस्तारै सुक्दै, सिमसार र पछि दलदल बन्दै लगभग १०–११ हजार वर्ष पहिले यहाँबाट पानी पूर्णरूपमा सुकेको साकाई (२००२) उल्लेख गर्छन् । यसै समयतिर स्वनिगःमा मानव जातीको बसोबास हुन थालेको मान्न सकिन्छ । भक्तपुरको नङ्खेल र ताथलीमा उत्तरपाषाण युगको ढुङ्गे हतियारहरू फेलापर्नुले झन्डै १०–१२ हजार वर्ष पहिले नै स्वनिगःमा मानव जातिको अस्तित्व रहेको पुष्टि हुन्छ भनी पुरातत्वविद् पुरुषोत्तमलोचन श्रेष्ठ (२०१६) ले उल्लेख गरेका छन् ।
स्वनिगः तालबाट पानी सुकेर सिर्जित धापिलो–मलिलो जमीनमा वरिपरिको उँचो भागबाट बगेर आउने खोला–नालाहरू मिलेर बनेको नदीको सञ्जाल पहिले तालको पानी निस्केकै बाटो–चोभारको गल्छी भएर स्वनिगःबाट बाहिरिन थाल्यो जुन आज पनि हामी बाग्मती नदी सञ्जालका रूपमा पाउँछौँ ।
स्वनिगःको भौगर्भिक बनोट
भौगर्भिक हिसाबले हेर्दा स्वनिगः चट्टानी पहाडहरूले चारैतिरबाट घेरिएको र राम्ररी थिचिनसकेको र थिलथिलो तालजन्य र नदीजन्य थिग्रोले भरिएको समथर उपत्यका हो (तस्वीर ५)।

तस्वीर ५. चारैतिर पहाडले घेरिएको हालको स्वनिगःको उत्तरी भाग । तस्वीरमा दक्षिणका बुङ्गमती, ठेचो, चापागाउँलगायतका बस्तीहरू देखाइएको छैन ।
स्वनिगःको भूगर्भ र यसमा थुप्रिएका थिग्रोका बारे धेरै देशी–विदेशी भूगर्भविद्हरूले विस्तृत अध्ययन गरेका छन् (हागन १९६९, मोरिबायासी र मारुओ १९८०, योसिदा र इगारासी १९८४, डङ्गोल १९८५, श्रेष्ठ १९९८, साकाई २००१, पिया २००४, धिताल २०१५) । भौगर्भिक हलचलले उत्पत्ति भएको उपत्यका भएका कारण तालको पिँध समथर थिएन जसले गर्दा अहिले थिग्रोले ढाके पनि स्वनिगः मा नदी र तालजन्य थिग्रोको मोटाइ स्थानपिच्छे फरक–फरक छ । स्वनिगःमा थुप्रिएको थिग्रोको मोटाइ नाप्ने क्रममा ‘यसको पिँध समथर छैन’ भनेर सन् १९८० मा जापानी शोधकर्ताहरू शिगेओ मोरिबायासी र युजी मारूओले एक अध्ययनमार्फत पुष्टि गरेका थिए (तस्वीर ६) ।

तस्वीर ६. मोरिबायासी र मारुओ (१९८०) को अध्ययनले देखाएको स्वनिगः तालको असमान पिँध । यसमाथि कालान्तरमा नदीजन्य र तालजन्य थिग्रोहरू थिग्रिएर हालको स्वनिगः बनेको हो ।
सन् २००१मा साकाईको टोलीले गरेको अध्ययनअनुसार स्वनिगःको मध्तग (भृकुटीमण्डप) तिर थिग्रोको मोटाइ ५०० मिटरभन्दा बढी रहेको छ अर्थात् जमिनको सतहबाट ५०० मिटरभन्दा तल, ताल बन्नुअगाडिको चट्टान भेटिएको थियो । भृकुटीमण्डपबाट लगभग ३ किलोमिटर उत्तर–पूर्वमा रहेको पशुपतिनाथ मन्दिर क्षेत्रमा भने सो चट्टान सतहमै देखा पर्छ । गोकर्ण, बल्खु, कीर्तिपुर आदि स्थानहरूमा पनि यसरी सतहमै चट्टान भेटिन्छ । यसले पनि स्वनिगः उपत्यकाको पिँधको सतहको असमानतालाई दर्शाउँछ । असमान भू–बनोट हुनाले ठाउँपिच्छे तहगतरूपमा निकै फरक भए पनि स्वनिगःमा जम्मा भएको थिग्रोलाई मोटामोटी ४ भागमा छुट्याउन सकिन्छ (साकाई २००२, बिजुक्छेँ २०१८)– १) सबैभन्दा तलको तह– प्राक् बाग्मतीले बगाएर थुपारेको ठुला आकारका नदीजन्य थिग्रो, २) त्यसको माथि तालजन्य मझौला आकारका (बालुवा–माटो) थिग्रो, ३) तालले नै थुपारेको कालीमाटीको कम मोटाइको तह र ४) सबैभन्दा माथि बाग्मती नदीको सञ्जालले थुपारेको बालुवा र पाँगो माटो बढी भएको नदीजन्य थिग्रो ।
स्वनिगःमा जलस्रोतको स्थिति
स्वनिगःमा पानीको प्रमुख स्रोत बाग्मती नदी सञ्जालको सतहको पानी र भूमिगत जल हो । बाग्मती नदीको पानीको स्रोत भने हिउँ पग्लेर आउने नभई स्वनिगः वरिपरिका अग्ला भू–भागमा परेको पानी सतहमा बगेर र जमिनभित्र सोसिएर बिस्तारै तल्लो भेगतिर बग्ने मूलको पानी नै हो । पूर्वबाट हनुमन्ते, उत्तर–पूर्वबाट मनहरा, उत्तरबाट धोबीखोला र विष्णुमती, पश्चिमबाट बल्खु, दक्षिणबाट नख्खु र कर्मनाशाजस्ता शाखा खोला–नाला मिसिएर बग्ने बाग्मती नदीलाई स्वनिगःको जीवनरेखा नै मान्न सकिन्छ । पहिलेको तालको मलिलो थिग्रो र पछि यही बाग्मतीले थुपारेको मलिलो माटोले उर्वर बनाएको स्वनिगःको कृषियोग्य जमीन, सजिलो भू–बनोट र मनग्गे जलस्रोतले गर्दा यहाँ निकै पहिलेदेखि कृषि र व्यापारमा आधारित मानव बस्ती बसेको हो ।
स्वनिगःको वरिपरिका उँचो भाग र काठ क्षेत्रमा परेको वर्षाको पानीले नै यहाँको सतह र भूमिगत जल भण्डारलाई पूर्ति गर्छ । यहाँको भूमिगत जललाई दुई किसिमले बाँड्न सकिन्छ – सतहको नजिकैको भूमिगत जल र गहिराइको भूमिगत जल । स्वनिगःमा हरेक वर्षामा परेको पानीले सतह नजिकैको भूमिगत जलभण्डारलाई परिपूर्ति गर्छ जसले गर्दा सुख्खा याममा सुके पनि वर्षा लाग्नेबित्तिकै हाम्रा इनार, कुवा र ट्युबवेलहरूमा पानी देखा पर्न थाल्छ । स्वनिगःमुनि पाइने कालीमाटीको तहले वर्षाको पानीलाई सबैभन्दा तलको तहसम्म सोसिएर जान दिँदैन । गहिराइको भूमिगत जलभण्डारको परिपूर्ति हुन भने वरिपरिको उँचो भाग–काठ क्षेत्रमा परेको पानी जमिनमा सोसिएर स्वनिगःको पिँधमा रहेको ठुला आकारका थिग्रोको तहमा पुग्नुपर्छ । यी क्षेत्रहरूमा पाइने बालुवा–गिट्टी र माटोमा सोसिएर वर्षाको पानी सुस्तरी तलको तहसम्म पुगेर गहिराइको भूमिगत जलभण्डारलाई परिपूर्ति गर्छ । हाल ठुला होटल, अपार्टमेण्ट हाउसिङ र व्यापारिक प्रतिष्ठानहरूले बेहिसाबसँग गहिराइको भूमिगत जलभण्डारको दोहन गरिरहेका छन् । त्यसमाथि भूमिगत जलभण्डार पूर्ति हुने स्वनिगःको जमिन साथसाथै वरिपरिका काँठ क्षेत्रमा बस्ती विकास भई पानी सोसिएर जाने क्रममा निकै कमी आएको छ । माटोबाट जमीनमा सोसिएर जानुपर्ने पानी ढलान, पीच र निर्माण गरिएको जमिनबाट सतह हुँदै सीधै खोलामा जान्छ । यसले वर्षामा खोला–नालामा एक्कासी बाढी आउने र भूमिगत जलभण्डार परिपूर्ति नहुने समस्या ल्याउँछ । उसैगरी काँठ क्षेत्रमा हुने गरेको अनियन्त्रित बालुवा उत्खनन्ले गहिराइको भूमिगत जलभण्डार पूर्ति हुने बाटो नै रोकिँदै गएको छ । गहिराइको भूमिगत जलभण्डारको दोहन हुँदै जाने तर त्यसको आवश्यक परिपूर्ति नहुने कारणले गर्दा स्वनिगःमा जमिन भासिने जस्ता भौगर्भिक समस्याहरू पनि देखा पर्दै जान्छ । यसबारे हामी सचेत हुनु जरूरी छ ।
सन्दर्भ सामग्रीः
Bijukchhen, S, and N Takai. 2018. “Construction of 3–D Velocity Structure Model of the Kathmandu Basin, Nepal, Based on Geological Information and Earthquake Ground Motion Records.” Graduate School of Engineering. Hokkaido University.
Dhital, Megh Raj. 2015. Geology of the Nepal Himalaya – Regional Perspective of the Classic Collided Orogen. Edited by Roland Oberhansli, Maarten J de Wit, and Francois M Roure. SwitzerlandM Springer International Publishing.
Dixit, Kunda. 2010. æThe lake that was once Kathmandu=’’ Nepali Times (514)=http://archive. nepalitimes.com /news.php<id=17327 #.YGUHv2TIt0t
Dongol, G M S. 1985. “Geology of the Kathmandu Fluviatile Lacustrine Sediments in the Light of New Vertebrate Fossil Occurrences.” Journal of Nepal Geological Society 31 (1 & 2)M 43–57.
Hagen, T. 1969. “Report on the Geological Survey of Nepal.Vol 1M Preliminary Reconnaissance” Denkschiiften Der Schweizerischen Naturforschenden Gesellschaft Band LXXXV: 185.
Moribayashi, S, and Y Maruo. 1980.“Basement Topography of the Kathmandu Valley, Nepal– An Application of Gravitational Method of the Survey of a Tectonic Basin in the Himalayas.” Journal of Japan Society of Engineering Geology 21 (2)M : 30 – 37.
Piya, B K, and C J van Westen. 2004. “Generation of a Geological Database for the Liquefaction Hazard Assessment in Kathmandu Valley.” The NetherlandsM International Institute for Geo–Information and Earth Observation (ITC).
Shresha, P L. 2016. Bhaktapur– The Historical City– A World Heritage Site. Tewa–Nagarik Aawaz for Peace. Kathmandu
Sakai, H, R Fujii, and Y Kuwahara. 2002.“Changes in the Depositional System of the Paleo–Kathmandu Lake Caused by Uplift of the Nepal Lesser Himalayas.” Journal of Asian Earth Sciences 20 (3) M 267–76. https://doi.org/httpM //dx.doi.org/10.1016/S1367–9120 (01)00046–3.
Shrestha, O M, A Koirala, S L Karmacharya, U B Pradhananga, P Pradhan, and R Karmacharya, 1998. “Engineering and Environmental Geological Map of the Kathmandu Valley.” KathmanduM Department of Mines and Geology.
Yoshida, M, and Y Igarashi.1984. “Neogene to Quaternary Lacustrine Sediments in the Kathmandu Valley, Nepal.” Journal of Nepal Geological Society 4 (Special Issue) M 73–100.
(लेखक ‘काठमाडौँ उपत्यकाको भूमिगत संरचना र थिग्रोको भूकम्पकीय प्रतिक्रिया’ विषयमा विद्यावारिधी हुनुहुन्छ ।)
भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रमको प्रकाशोन्मुख सन्दर्भ पुस्तिकाको लागि लेखिएको आलेख ।
Leave a Reply