जर्मनीको गोइटिनेजन
चीनको कम्युनिस्ट पार्टीले यो वर्ष आफ्नो शतवार्षिकी मनाउँदै छ । यही अवसरमा इतिहासकार र विज्ञहरूको ध्यान नयाँ चीन बनाउन संसारका विभिन्न देशमा चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक र प्रारम्भिक चरणका अगुवाहरूले बिताएका समय र गरेका कामको खोजीमा गएको छ ।
सन् १९१९ देखि हजारौँ युवा चिनियाँहरू पश्चिम युरोप र एसियाका विभिन्न भागमा रोजगारीसँगै अध्ययनको लागि पुगेका थिए । उनीहरूमध्ये केही युवाहरू माक्र्सवादबाट प्रभावित थिए । तिनै युवाहरूले आफू गएका देशमा चिनियाँ कम्युनिस्ट पार्टीका सुरुका एकाइहरू गठन गरेका थिए । समयान्तरमा उनीहरू नै चीनलाई मुक्त पार्ने नेताहरू बनेका थिए ।
फ्रान्सको मोन्टाग्रिसः चिनियाँ कम्युनिस्ट पार्टीको भु्रण
फ्रान्सको मोन्टाग्रिस सहरको डर्जी बगानमा स्थापित एउटा स्मारकमा एक दर्जन चिनियाँ विद्यार्थीहरूको एउटा श्यामश्वेत सामूहिक तस्वीर प्रदर्शित छ । ती चिनियाँ युवाहरू ‘काम–अध्ययन अभियान’ अन्तर्गत फ्रान्स पुगेका थिए । सो अभियानअन्तर्गत हजारौं प्रगतिशील चिनियाँ युवाहरू फ्रान्स पुगेका थिए । उनीहरूले पेरिस, लिओन र मोन्टाग्रिस सहरका कारखानामा काम गरेर आफ्नो पढाइ खर्च जुटाउने गर्थे ।
पेरिसबाट एक सय किलोमिटर दक्षिणमा एउटा सानो सहर छ–मोन्टाग्रिस । कुनै बेला तेङ स्याओपिङ त्यो सहरमा काम गर्नुहुन्थ्यो । समयान्तरमा तेङ चीनको नेता र चीनमा सुधार र खुलापनको प्रमुख योजनाकार बन्नुभयो ।
सन् १९२० को जुलाई ६ देखि १० सम्म तस्वीरमा समावेश युवा चिनियाँहरूले त्यो बगैँचामा भेटेर चीन र संसारमा रूपान्तरण गर्ने तरिकाबारे छलफल गरेका थिए । त्यहीं चीनमा कम्युनिस्ट पार्टी स्थापनाको विचार आएको थियो ।
“ती विद्यार्थीहरूमध्ये चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक नेता र माओ त्सेतुङका मित्र काए हेसेनको विशेष महत्वपूर्ण हुनुहुन्थ्यो”, इतिहासका निवृत्त प्राध्यापक जिन लुई रिज्जोले भन्नुभयो ।
“त्यहाँको छलफलमा उठेका विचार चीनमा रहेका काएका मित्रलाई सम्प्रेषण गरियो । त्यो मित्र भनेको अरू कोही नभएर माओ हुनुहुन्थ्यो”, रिज्जोले भन्नुभयो ।
“काए र माओबीच चिट्ठीको आदानप्रदान भयो । दुवै जनाले एकअर्कालाई कम्युनिस्ट सिद्धान्तमा सहमति भएको बताउनुभयो । … मोन्टाग्रिसको छलफलमा उठेको विचारले नै चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको भ्रुणको काम ग¥यो”, उहाँले थप्नुभयो ।
डर्जी बागबाट सयौँ मिटर पर झन्डै तीन सय वर्ष पुरानो एउटा घर छ । सन् १९२० को दशकमा यो घरमा केही चिनियाँ युवाहरू भाडामा बस्थे । अहिले त्यो भवन सङ्ग्रहालयमा परिणत गरिएको छ ।

फ्रान्सको मोन्टाग्रिस
सङ्ग्रहालयको पहिलो तलामा राखिएको तङ स्याओपिङको परिचयबारे चर्चा गर्दै त्यहाँको पथप्रदर्शकले सन् १९२० मा तङ कसरी फ्रान्समा आइपुग्नुभयो भन्ने कुराको व्याख्या गर्नुभयो । त्यत्तिबेला तङ भर्खर १६ वर्षको हुनुहुन्थ्यो ।
तङ मोन्टाग्रिसमा बस्नुभयो र सन् १९२२ को फेब्रुअरीमा हचिनसन रबर कारखानामा श्रमिकको रूपमा काम गर्नुभयो । तङको जीवनमा त्यो समय महत्वपूर्ण समय थियो ।
त्यहाँ भएको छलफल र बैठकले तङलाई माक्र्सवादतिर आकर्षित ग¥यो । त्यही क्रममा संसार र चीनबारे उहाँले राम्रो अध्ययन गर्नुभयो । त्यहींबाट उहाँ साम्यवादी सिद्धान्तप्रति दृढ विश्वास राख्ने व्यक्ति बन्नुभयो ।
गोइटिनजेन, जर्मनीः चिनियाँ सेनाका भविष्यका मार्सलको डेरा
जर्मनीको पुरानो सहर गोइटिनजेनको पुस्तकालयमा झन्डै एक सय वर्षअघि त्यहाँ बसेका चिनियाँ विद्यार्थीहरूको जीवनबारे दस्तावेजहरूको शृङ्खलाबद्ध सङ्कलन छ ।
ती चिनियाँ विद्यार्थीहरूमध्ये एक जना हुनुहुन्थ्यो–चु तेह । उहाँ जनवादी गणतन्त्र चीनका संस्थापक नेताहरूमध्ये एक हुनुहुन्थ्यो । उहाँ जनमुक्ति सेनाका दस जना उच्च मार्सलमध्ये पहिलो वरियताका मार्सल हुनुहुन्थ्यो ।
निकै पुरानो पुस्तकालयको एउटा दर्ता कार्डमा चु तेहको हस्ताक्षर छ । उहाँले आफूलाई सिचुवान प्रान्तका चिनियाँ भएको उल्लेख गर्नुभएको छ । उहाँ प्लान्कस्ट्रास ३ मा बस्नुहुन्थ्यो र ‘दर्शनशास्त्र विभागअन्तर्गत समाजशास्त्र’ पढ्नुहुन्थ्यो ।
चु तेहको जन्म सन् १८८६ मा भएको थियो । उहाँले चीनको युनान सैनिक प्रतिष्ठानबाट स्नातक पूरा गर्नुभयो । उहाँ सन् १९११ मा भएको छिङ वंश हटाउने क्रान्तिमा सामेल हुनुभयो । युरोप जानुअघि उहाँ त्यत्तिबेला चीनमा मौलाएका युद्ध सरदारहरूविरुद्धको लडाइँमा पनि सामेल हुनुभयो ।
“उहाँ युवक त हुनुहुन्थेन । उहाँले धेरै वर्ष सेनामा बिताइसक्नुभएको थियो । उहाँ पश्चिमको औद्योगिक देशमा गएर आफ्नो दृष्टिकोण फराकिलो बनाउन चाहनुहुन्थ्यो”, गोइटिनजेनको नगर अभिलेखालयका इतिहासकार रोफ कोस्टेडले भन्नुभयो ।
त्यहाँको प्रहरीको अभिलेखालयमा चु तेहको डेरामा बसेको दर्ता पत्र भेटिएको छ । त्यो कार्डमा टाँसिएको फोटो चु तेह ३६ वर्षको हुँदाको थियो । उहाँले सुट लगाउनुभएको थियो ।
गोइटिनजेन सर्नुअघि उहाँ बर्लिनको विलमेनडोर्फमा बस्नुहुने कुरा कार्डमा लेखिएको थियो ।
ऐतिहासिक दस्तावेजअनुसार पछि गएर चिनियाँ कम्युनिस्ट पार्टीको मुख्य नेता बन्नुभएका चाओ एनलाई सन् १९२२ मा विलमेनडोर्फमा चु तेहसँग बस्नुहुन्थ्यो । युद्धले क्षतविक्षत बनाएको गरिबीले आक्रान्त र साम्राज्यवादीहरूले दुःख दिएको चीनका समस्याको एउटै समाधान कम्युनिस्ट पार्टी हुने निचोडका साथ चाओ पनि पार्टीमा आबद्ध हुनुभएको थियो ।
गोइटिनजेनको पूर्वतिर प्लान्कस्ट्रास बजार छ । त्यहाँ एउटा दुईतले रातो इँटाको घर छ । चु तेह जर्मनीमा बस्दा त्यही घरमा बस्नुभएको बताइन्छ । त्यो घर अहिले पनि चिनियाँ पर्यटकहरूको आकर्षणको केन्द्र हो ।
“चुले त्यही समयमा सैनिक रणनीतिक विचार र सञ्चार तरिकाबारे महत्वपूर्ण ज्ञान हासिल गर्नुभएको थियो”, चु तेहका मित्र र कमरेडका साथै ऐतिहासिक दस्तावेजहरूलाई उद्धृत गर्दै बर्लिनको फ्रि युनिभर्सिटीअन्तर्गत कन्फुसियस प्रतिष्ठानका पूर्वप्रबन्ध निर्देशक दगमर यु–डेम्बस्कीले भन्नुभयो ।
“चु जर्मनी कम्युनिस्ट पार्टीको चिनियाँ भाषा समूहमा सामेल हुनुभयो । उहाँ मेहनेती विद्यार्थी हुनुुहुन्थ्यो । उहाँ माक्र्सवादी सिद्धान्त र स्वाधीनताको अन्तर्राष्ट्रिय राजनीतिक सङ्घर्षका समस्याबारे साप्ताहिक छलफलमा नियमितरूपमा भाग लिनुहुन्थ्यो”, उहाँले भन्नुभयो ।
“चु साम्राज्यवादविरोधी प्रदर्शन र बैठकहरूमा सक्रिय सहभागी बन्नुहुन्थ्यो”, उहाँले थप्नुभयो ।
चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानका इतिहासकार त्वान्मु मेईको बुझाइमा “काम–अध्ययन अभियानका ती प्रतिनिधिहरूले भविष्यमा चीनमा क्रान्ति, विकास र सुधार गर्न युगान्तकारी भूमिका खेल्नुभयो ।”
“युरोपमा काम–अध्ययनको अनुभवले उहाँहरूलाई दूरदृष्टि, व्यापकता र खुला हृदय दियो । यी तीन असामान्य गुणले नै उहाँहरूलाई क्रान्ति, पार्टी र देशकै नेता बनायो”, उहाँले भन्नुभयो ।
टोकियो, जापान : चीनलाई जोगाउने चिनियाँ कम्युनिस्टहरूको सपनाको साक्षी
युरोपबाट हजारौँ माइल पर एक जना चिनियाँ युवक जापानमा पढ्न जानुभएको थियो । उहाँको नाम थियो, ली ताचाओ । सन् १९१३ को जाडोयाममा उहाँ टोकियो पुग्नुभएको थियो । सन् १९१४ को सेप्टेम्बरमा उहाँले वसेडा विश्वविद्यालयमा राजनीतिक अर्थशास्त्रको अध्ययन थाल्नुभएको थियो ।

जापनको बसेडा विश्वविद्यालय
वसेडा विश्वविद्यालयका वरिष्ठ प्राध्यापक हिकोतारो एन्डोले लेख्नुभएको एउटा पुस्तकमा ली ताचाओको शैक्षिक प्रमाणपत्रमात्र होइन, बरु उहाँले अध्ययन गर्नुभएका एघार विषय र ती विषयका प्राध्यापकहरूको नाम पनि समावेश गरिएको छ । “उहाँसँगै पढेका जापानी विद्यार्थीको तुलनामा लीको पढाइ राम्रो देखिन्छ”, एन्डोले भन्नुभयो ।
सन् १९१५ को जनवरीमा ली वसेडा विश्वविद्यालयमा पहिलो वर्षमा अध्ययनरत छँदा तत्कालीन जापानी प्रधानमन्त्री शिगेनोबु ओकुमा र उनको मन्त्रीमण्डलले चीनविरुद्ध ‘एक्काइस बुँदे माग’ गोप्यरूपमा प्रस्ताव गरेको थियो । जापानमा रहेका चिनियाँ विद्यार्थीहरूले सो प्रस्तावको कडा प्रतिरोध गरे । ली त्यो विद्यार्थी आन्दोलनमा सामेल हुनुभयो ।
‘एक्काइस बुँदे माग’का पक्षपाती प्राध्यापक कजुतामी उकिता र अन्य केही जापानी प्राध्यापकहरूको कक्षा उहाँले बहिष्कार गर्नुभयो । उहाँले उकिता र अन्य प्राध्यापकहरूको विरोधमा लेख लेख्नुभयो ।
सन् १९१६ को वसन्तमा लीले युवा पत्रिकामा एउटा लेख लेख्नुभयो । उहाँले त्यो लेखमा चिनियाँ जनताबीच बलियो चीन निर्माणप्रति आशाको किरण देखाउनुभयो । पछि ली चिनियाँ कम्युनिस्ट पार्टीमा प्रमुख संस्थापक हुनुभयो ।
सन् १९१६ को अप्रिलमा लीसहित जापानमा अध्ययनरत सयौँ चिनियाँ विद्यार्थीहरूले जापानी विश्वविद्यालयहरूमा पढाइ त्यागेर चीन फर्किनुभयो ।
सन् १९२७ मा लीले आफ्नो सम्पूर्ण युवा दिनहरू माक्र्सवादको विकासमा समर्पण गर्नुभयो ।
सिन्ह्वाबाट अनुदित
नेपाली अनुवाद : सुशिला
Leave a Reply