भर्खरै :

शिक्षा क्षेत्रका अग्रज लक्ष्मण राजवंशीको सम्झना

तालिमसँगैको पहिलो चिनाजानी
२०४२/४३ सालतिर भर्खर–भर्खर शिक्षण पेशामा लाग्दैगर्दा शिक्षकहरूको लागि तालिमको आयोजना हँुदै छ भने खबर पाइयो । त्यो तालिम त्यतिबेलाको औँलामा गन्न सकिने थोरै प्रतिष्ठित निजी विद्यालयमध्ये एउटा बालाजुस्थित सिद्धार्थ वनस्थली स्कूलको आयोजनामा उपत्यकाबाहिर बुटवलमा सम्पन्न हुँदै थियो । पङ्क्तिकारलगायत अरू दुईजना साथीहरू अङ्ग्रेजी भाषाको आधारभूत तालिम लिन बुटवल पुगेका थियौँ । त्यही तालिमले लक्ष्मण राजवंशीसँग परिचित हुने अवसर जुरेको सम्झना ताजा छ । तालिम आयोजक समूहमा प्रमुख व्यक्तिहरू राजवंशी सरलगायत उहाँका समकक्षी साथीहरूसँगै ठूलो कोठामा करिब १५÷१६ जनालाई सँगै सुत्ने व्यवस्था मिलाइएको थियो । उहाँहरूसँगको गफ र जिस्काइले रात कटेको पत्तै हुन्थेन । तालिमको औपचारिक कक्षामा बाहेक उहाँहरू नेपालभाषामै कुराकानी गर्नुहुन्थ्यो । त्यसले तालिम आयोजकको समूहमा नेवारहरूको बाहुल्यता भएको र उहाँ पनि नेवारीमै कुरा गर्न रुचाउनुहुन्थ्यो भन्ने प्रस्ट भयो ।
एक जना गतिशील कम्युनिस्ट कार्यकर्ता
काठमाडौँको मुटु इन्द्रचोक वटुटोलको नेवार समुदायमा बुबा बुद्धिबहादुर र आमा पूर्णकुमारी राजवंशीको सन्तानको रूपमा वि.सं १९९२ मा जन्मी हुर्कनुभएका लक्ष्मण राजवंशीमा युवावस्थादेखि नै नेतृत्व गर्ने क्षमता भएको मानिन्छ । स्कुलको कक्षाकोठामा बसेर पढ्न त्यति नरुचाउने लक्ष्मण राजवंशीले नेपालको विद्यालय शिक्षालाई नयाँ स्वरूप दिन सफल भएको कथा भने शिक्षा क्षेत्रमा लाग्ने जोसुकैका लागि निकै रोचक विषय हो । सर्वसाधारणले विद्यालयको शिक्षा नपाउने राणाकालीन समयमा उहाँका बुबाले दरबारमा काम गर्ने कर्मचारी भएको नाताले विद्यालय शिक्षा पाउने अवसर पाउनुभयो । कक्षा दश पढ्दा–पढ्दै २००९ सालतिर सरकारी कर्मचारीको तलब बढाउन माग गर्दै काठमाडौँमा भएको जुलुसमा सहभागिता जनाउँदा उहाँ गिरफ्तारीमा पर्नुभयो । आपराधिक कार्यमा सामेल भएको आरोपमा उहाँलाई जेल चलान गरियो । कक्षा दशको परीक्षा जेलभित्रैबाट दिने प्रथम नेपाली समेत हुनुहुन्छ–राजवंशी सर । तर, न्यायाधीशको ‘कृपा’ ले ३ महिनामै जेलबाट मुक्त हुनुभयो । एकातिर नेतृत्व गर्ने क्षमता र राजनैतिक गतिविधिमा लागिसकेकाले राजवंशी सरको उच्च शिक्षामा धेरै उतारचढाव आए । त्यतिबेला दरबार कलेजको नामले चिनिएको हालको ताहाचल कलेजबाट उहाँ प्रमाणपत्र (आईए) तह पास गर्न सफल हुनुभयो । यतिबेलासम्म कम्युनिस्ट विचारधाराबाट प्रभावित भइसक्नुभएका राजवंशी सर त्रिचन्द्र कलेजमा स्नातक पढ्दापढ्दै नेपाल कम्युनिस्ट पार्टीसँग आबद्ध विद्यार्थी सङ्गठनको अध्यक्षको पदमा निर्वाचित हुनुभयो । आफू स्नातक तह अध्ययन गरेको दरबार कलेजमा स्नातकोत्तर तह (एमए) कक्षा सञ्चालन गराउन अभियान चलाउन फेरि उहाँ त्रिचन्द्रबाट दरबार स्कूलमा भर्ना हुनुभयो । कम्युनिस्ट पार्टीमा लागेको आरोपमा उहाँ दरबार कलेजबाट निष्काशनमा पर्नुभयो । त्यसपश्चात् उहाँ शङ्करदेव क्याम्पसमा भर्ना भई त्यहीँबाट आफ्नो स्नातक तह उत्तीर्ण गर्नुभयो । आफ्नो स्नातकोत्तर तहको लागि त्रिभुवन विश्वविद्यालयमा भर्ना हुनुभयो जहाँबाट उहाँले पछि राजनीतिशास्त्रमा एमएसम्मको अध्ययन गर्नुभयो । विश्वविद्यालयमा पनि उहाँ कम्युनिस्ट पार्र्टीमा लागेको आरोपमा कालोसूचीमा पर्नुभयो । आखिरमा २०१५ सालको आमनिर्वाचनको सङ्घारमा उहाँ नेपालका अग्रणी कम्युनिस्ट नेता एवम् नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको सानिध्यमा पुग्नुभयो र चुनाव प्रचार एवम् सङ्गठनको लागि पाल्पामा खट्नुभयो । पार्टी कार्यकर्ताका रूपमा पाल्पामा कार्यरत रहेकै अवस्थामा सायद घर–परिवारले कम्युनिस्ट क्रियाकलापबाट विमुख गराउन उहाँलाई विवाह गराइदिए । विवाहपश्चात् उहाँको सक्रिय राजनीतिक जीवनले विश्राम लियो र जीवनले नयाँ मोड लियो ।
आनन्दकुटीदेखि वनस्थलीको यात्रा
वैवाहिक बन्धनमा बाँधिएपछि साँच्चिकै राजवंशी सरको राजनीतिक गतिविधि धिमा हुँदै करिब–करिब निष्क्रिय हुन पुग्यो । पङ्क्तिकारले पाएको सूचनाअनुसार उहाँको वटुटोलकै बासिन्दा पञ्चायतका एक नेता नयनबहादुर स्वाँरले उहाँलाई आनन्दकुटी विद्यापीठमा काम गराउन भूमिका खेलेका थिए । यसरी राजवंशी सर शिक्षा र शिक्षणको नयाँकर्ममा प्रवेश गर्नुभयो । आनन्दकुटी विद्यापीठमा २०२० सालदेखि २०३० सालसम्म करिब १० वर्षको अवधि शिक्षक र प्रधानाध्यापक भई कार्यरत हुनुभयो । तर, उहाँ मेहनती शिक्षकमात्र हुनुहुन्थेन, एकजना कुशल सङ्गठनकर्ता समेत हुनुहुन्थ्यो । प्रगतिशील र कम्युनिस्ट सिद्धान्तबाट प्रेरित राजवंशी सर स्कूलमा पढ्ने विद्यार्थीलाई विभिन्न राजनैतिक उद्देश्य सहितका क्रियाकलापमा संलग्न गराउन र परिचालन गर्न एकदम कुशल हुनुहुन्थ्यो । उहाँको यही राजनीतिप्रेरित अभियानको कारणले बौद्ध विद्वानहरूको पहलमा स्थापित विद्यालय (आनन्दकुटी) मा बुद्ध आचरण र नीतिबाट दायाँबायाँ पर्दा कहिलेकाहीँ विद्यालयका संस्थापकहरूसँग उहाँको खटपटसमेत परेको थियो । यही कारणले आखिरमा उहाँले विद्यालय छोड्नुपर्ने अवस्था आयो । २००७ सालमा राणा शासनको अन्त्यपछि स्वतःस्फूर्तरूपमा समाजका अग्रजहरूको पहलमा विद्यालय खोल्ने अभियानसँगै काठमाडौँमा तीनवटा उच्चस्तरका प्रतिष्ठित विद्यालय खुलेका थिए । फर्पिङमा त्रिभुवन आदर्श, स्वयम्भूमा आनन्दकुटी विद्यापीठ र बालाजुमा वनस्थली विद्याश्रम । राजवंशी सर आनन्दकुटीको प्रधानाध्यापक हुँदै एसएलसीको परीक्षामा त्यहाँका विद्यार्थी बोर्ड फस्ट हुने गर्थे ।
आनन्दकुटी स्कूलको यात्रामा पूर्णविराम लागे पनि उहाँको शैक्षिक यात्रामा भने शिथिलता आएन । काठमाडौँको बालाजुमा त्यसबेला वनस्थली विद्यापीठबाहेक सिद्धार्थ इङ्गलिस बोर्डिङ्ग स्कूल नामको अर्को विद्यालय पनि थियो । ती दुवै विद्यालय तत्कालीन प्रतिष्ठित व्यक्तिहरूले स्थापना गरेका भए पनि उहाँहरूको देहावसानपछि राम्रो व्यवस्थापन र कुशल नेतृत्वको अभावमा जर्जर बन्दै थिए । आनन्दकुटीको जिम्मेवारीबाट फुर्सद पाउनुभएका राजवंशी सरलाई अर्को नयाँ चुनौती सामना गर्ने अवसर आयो । ऐतिहासिक स्कूल भएर पनि विघटनको सङ्घारमा पुगेका वनस्थली विद्यापीठ र सिद्धार्थ इङ्गलिस बोर्डिङ्ग स्कूललाई एकआपसमा गाभेर ‘सिद्धार्थ वनस्थली’ नामक नयाँ विद्यालय स्थापना गरी राजवंशी सरले हाँकेर अगाडि लैजानुभयो । मुिस्कलले ७२ जना विद्यार्थी, ३० हजारको ऋण र शिक्षकहरूको तीन महिनाको तलब दायित्व बोकेको स्कूललाई केही वर्षमै ५२०० भन्दा बढी विद्यार्थीसहितको ठुलो स्कूलमा परिणत गरी अन्तत्वगत्वा यस विद्यालयलाई पनि एक प्रतिष्ठित विद्यालय बनाउन उहाँ सफल हुनुभयो । एसएलसी परीक्षाको पहिलो दश स्थान सिद्धार्थ वनस्थलीका विद्यार्थीहरूले नै ओगट्न थाले ।
कम्युनिस्ट नरहेको घोषणा
सिद्धार्थ वनस्थली हाँक्दाहाँक्दै राजवंशी सरले कुनैबेला आफू निर्मल लामा नेतृत्वको चौथो महाधिवेशन (मसाल) सँग नजिक भएको र पछि केही मुद्दामा उहाँसँग विवाद भएपश्चात् उप्रान्त कम्युनिस्ट नरहेको कुरा बताउनुभएको प्रसङ्ग पङ्क्तिकारको स्मरणमा ताजै छ । सायद यो ४४÷४५ सालको कुरा हुनुपर्छ । निर्मल लामाका नजिकका तत्कालीन कार्यकर्ता नारायणकाजी श्रेष्ठ (हाल माओवादीका नेता) पनि सिद्धार्थ वनस्थलीमै शिक्षक थिए । पछि पङ्क्तिकारको नारायणकाजी श्रेष्ठसँग ४५ सालमा कुमारीपाटीको एउटा गल्लीमा ‘गर्जन साप्ताहिक’ को सम्पादकको रूपमा भेट भएको थियो । सायद राजवंशी सरको निर्मल लामासँगको मनमुटावपछि नारायणकाजी श्रेष्ठले पनि सिद्धार्थ वनस्थली छोडेको हुनुपर्छ । राजवंशी सर भन्नुहुन्थ्यो, “राजनैतिकरूपमा म कुनै पार्टीमा आबद्ध नभए पनि सबै पार्टीका नेताहरूका छोराछोरी र अरू आर्थिकरूपले कमजोर वर्गका केटाकेटीलाई विभिन्न छात्रवृत्ति दिएर आफ्नो कर्तव्य पूरा गर्न म चुकेको छैन ।”
शैक्षिक माफिया र ३ घण्टे परीक्षाको कुरा
सिद्धार्थ वनस्थली स्कूलले शैक्षिक जगतमा रजगज गरिरहेकै बेला काठमाडौँ ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कूलले एसएलसी परीक्षाको ‘सर्वोत्कृष्ट दस’ (टपटेनको लिस्ट) मा आफ्ना विद्यार्थीलाई पु¥याउन थालिसकेको थियो । त्यो प्रवृत्ति प्रत्येक वर्ष उकालो लाग्दै थियो । यो कुरालाई लिएर राजवंशी सरको विश्लेषण यस्तो थियो– “कालो धन सेतो बनाउन सलबलाएकाहरू शिक्षा क्षेत्रमा प्रवेश गरेका छन् । यसले शिक्षा क्षेत्रमा ठूलो विकृति निम्त्याउनेछ ।” नभन्दै उहाँको भविष्यवाणी सही भयो । यो २०५१ ÷५२ साल तिरको कुरा हो । उहाँको सङ्केत एसएलसीको परीक्षा बोर्डलाई प्रलोभनमा पारी अमुक विद्यालयका विद्यार्थीहरूको नाम टपटेनमा निकाल्ने र यसकै आधारमा शैक्षिक व्यापार गर्ने अभ्यास र प्रवृत्तितिर थियो । यो विकृति बिस्तारै मौलाउँदै उच्च माविको परीक्षा बोर्डसम्म पुग्यो र नभन्दै एमालेकै सरकारको पालामा अर्थात् २०६० सालतिर एसएलसीको ‘टपटेन’ को व्यवस्था नै खारेज गर्नुपर्ने अवस्था आयो ।
शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने कुरा गर्दा राजवंशी सर ३ घण्टे परीक्षाको व्यवस्थाबाट सिकाइको मूल्याङ्कन गर्न नसकिने जिकिर गर्नुहुन्थ्यो । कुनै विद्यार्थीको दश वर्ष मिहिनेतको सिकाइ उपलब्धि ३ घण्टाको परीक्षाले निर्धारण गर्नु नै गलत भएको उहाँको ठम्याइ थियो । उहाँले इङ्गित गर्नुभएको निरन्तर मूल्याङ्कन (CAS) र अक्षराङ्कन पद्धति (Grading) हाल प्रचलनमा आइसकेको छ ।
सामाजिक कार्य र कृति लेखन
विद्यालय सञ्चालन र व्यवस्थापनमा मात्र राजवंशी सर सीमित हुनुभएन । शिक्षक तालिम, लायन्स क्लबमा आबद्ध भई विभिन्न सामाजिक कार्यहरूमा संलग्नता, विभिन्न शैक्षिक तथा शान्ति र भातृत्वसम्बन्धी अन्तर्राष्ट्रिय सभा समेलनमा सहभागी, युनेस्कोसँगको सहकार्य, नेपाल सरकारको शिक्षा मन्त्रायलको सल्लाहकार, अखिल नेपाल नेवार मञ्चका संरक्षकसमेत रहनुभएका राजवंशी सर नेवाः राष्ट्रिय पार्टीको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधि भई २०७० सालको संविधानसभाको सदस्य हुनुभएको थियो । त्यसैगरी, २०७२ आश्विन २७ गते सभामुख सुवास नेवाङ र उपसभामुख ओन्सरी घर्तीको राजीनामापश्चात् सबभन्दा जेठो सांसदको हैसियतले सभामुख भई संविधानसभा सञ्चालन गर्नुभएको थियो ।
शैक्षिक मुद्दामा समर्पित, साहित्यका अनुरागी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाहरूको चासो र जानकारीका साथै उहाँले लेखन कार्यलाई पनि निरन्तरता दिइरहनुभयो । अङ्ग्रेजी, नेपाली र नेपालभाषा गरेर करिब २७÷२८ थान कृति उहाँले हामीलाई छोडेर जानुभएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरूमा उहाँको चासो र उहाँमा देशप्रतिको माया र भावना जीवनको उत्तराद्र्धसम्म रह्यो भन्ने एउटा प्रमाण २०७२ सालमा हिन्दीमा लेख्नुभएको उहाँको कविता पनि हो । २०७२ सालमा भारतले नेपालमाथि गरेको अमानवीय नाकाबन्दीविरुद्ध नेपाल मजदुर किसान पार्टीको आयोजनामा लैनचौरस्थित भारतीय राजदूतावासअघि विभिन्न विरोध सभाहरू भएका थिए । त्यसमध्येको एक दिन कविता वाचनको कार्यक्रम थियो । त्यस कार्यक्रममा उहाँले हिन्दी भाषामै ‘नाकाबन्दी’ शीर्षकको कविता बुलन्द आवाजमा वाचन गर्नुभयो । उहाँको गर्जन कार्यक्रमस्थलबाट केही पर अवस्थित भारतीय दूतावासका राजदूत हुँदै दिल्लीसम्म पक्कै पुगेको हुनुपर्छ । सो कविताको पहिलो पङ्क्ति नै सशक्त थिए–
एक दोर्जी काफी है
देशको गुलाम बनानेके लिए
एक बुँद जहर काफी है
जिन्दा जवानको मार्नेके लिए । ……..
(कविताको पूर्णपाठ इन्सेटमा पढ्नु होला)
राजवंशी सर आज हामीसामु रहनुभएन । तर, उहाँले शिक्षा क्षेत्रमा गर्नुभएको कार्य र योगदान, उहाँको प्रगतिशील र देशभक्ति भावना भावी पुस्ताको लागि नयाँ ऊर्जा, प्रेरणा र सधैँ स्मरणीय हुनेछन् । एक जुझारु शिक्षकलाई श्रद्धासुमन !
नाकाबन्दी
लक्ष्मण राजवंशी

एक दोर्जी काफी है
देशको गुलाम बनानेके लिए
एक बुँद जहर काफी है
जिन्दा जवानको मार्नेके लिए ।
स्वाधीन राष्ट्र बना दिया
तुम्हारी अपनी विरासत
खेला गया २० साल लम्बी
क्रिकेट शृङ्खला श्रीलङ्कामे ।
आखिर म्याच ड्र हुवा
ना, ऐसा हो ही नहिँ सकती
यह तो लन्च ब्रेक है
हार जीत होना तो बाँकी है ।
शृङ्खला तब खतम होगी
जब रेफ्री टोप उतारके बाहर जाते
कभि भूलना मत महान् कवि
रविन्द्र नाथ टैगोर की वह ।
सोनार बङ्गाल टुट गया कविका
गीताञ्जली खाकमे मिल गई
विखर गया बङ्गला साहित्य
भण्डार गंगाकी सुनामी निगल गई ।
फर्जी राष्ट्र बनादिया फिजीको
कबतक बचेगा भुटान अकेला
जिन्दा है हम दुखी मन
नवचासका तुम्हारी बेटीका सुहाग ।
बोलो अब क्या चाहिए
चुरे भावर पर्वत या
कोसी, भेरी और कर्णाली ?
व चाहे क्या है हमारी ।
सुस्ता, कालापानी
गण्डकी और महाकाली
कालापानी कबका होचुका तुम्हारी
ना बाबा ! ना !
मत मागो मोरङ, झापा, सुनसरी
कैलाली कञ्चनपुर
मधेस और प्रदेश पहाड भि
भाला, लाठी नाका भि तुम्हारी ।
गरिब मधेसी दूममु सहर
साथ रहेगी मरते दमतक
हिमालकी खिड्की एक तो बचा है
ठण्डी हावासे पेट भर्नेके लिए ।
जलन तुम्हारी उनसेँ
दुश्मनी हमसेँ क्युँ मोला
क्या बिगाडा हमने तुम्हारा
खोटा कागजका टुकडा ।
लिखा लिया १९५० की सन्धि
चितामे पडा हुवा लासकी अँगुठा छाप
बिलायती कम्पनी कि अपुताली
गोजीमे लपेटा सुगौली सन्धि भि ।
देखता आया हुँ तुम्हारी नौटङ्की
शदियोँ से चुप भला रहा
राजतन्त्रके काँटोँको उखाड फेका
बनाया जनताके मर्जी से ।
सङ्घीय, गणतन्त्र संविधान
मुक्त किया राज्यको
धर्मकी जन्जीरोँ से
तुम्हारी शिर दर्दका वजह ।
क्या यही संविधान ?
इसकी इलाज और दवाई
नाकाबन्दी नहि हो सकती
तुम्हारे मुखसे निकला ।
हमारी दिलमे गढी हुई लवज
ताजा हे आज भी ब्रम्ह वाक्य ऋषी मन
युग–युगसे बँधी रोटी और बेटीका रिस्ता
हमारी कभि टुटेगी नहीँ।
वाह ¤ क्या बात कही,
तारिफ जितने भि करेँ कम हि होगी
एक और अमर वाणी ऋषीमनका
दामाद तुम्हारा बेटी हमारा ।
रोटी तुमने छिन लिया
तुम्हारा दुलाराजा दम तोड गया
बेटी तुम्हारी दुलहन हमारी
मिट गई सुहाग टुट गया मङ्गलसुत्र ।
वंशज नागरिकता कि दाबी
तुम्हारी वेवारिस बन गया
अब कहो, हमसे बाँकी क्या बचा
तुमको देनेके लिए ।
एक दोर्जी काफी है
स्वाधिन राष्ट्र हडपनेके लिए
एक बुँद जहर काफी है
जिन्दा जवानको मिटाने के लिए !!
(भारतले नेपालमाथि थोपरेको नाकाबन्दीको विरोधमा काठमाडौँ लैनचौरमा आयोजित कविता वाचन कार्यक्रममा राजवंशीले वाचन गर्नुभएको हिन्दी भाषाको कविता)

One response to “शिक्षा क्षेत्रका अग्रज लक्ष्मण राजवंशीको सम्झना”

  1. himalaya says:

    नेपालको शिक्षा विभेदकारी हुनुमा लक्ष्मण राजवंशी, गीता राणा, बाबुराम पोख्रेल, उमेश श्रेष्ठहरुको ठूलो हात छ । शिक्षा राज्यमातहत हुनुपर्नेमा यी शैक्षिक माफियाहरुको हातमा गएको थियो । पछि देशैभर बोर्डिगको फेसन चल्यो । आज अमेरिका जस्तो पूँजीवादी देशहरुमा सरकारी स्कूलको शिक्षा राम्रो छ र जनता सरकारी स्कूलमा छोराछोरी पढाउन मरिहत्य गर्छन त्यहाँ निजी विद्यालयमा होइन । तर नेपाल जस्तो गरीब मुलुकको शिक्षा र स्वास्थ्य राज्यको पकडबाट फुत्काएर शैक्षिक र स्वास्थ्य माफियाहरुको हातमा पुर्याइयो । आज शिक्षा र स्वास्थ्य राज्यको हातबाट उम्किदाको परिणति त कोभिडका नाममा राज्य दायित्वबाट पन्छेर शासकहरु भूँडी कन्याउँदै बसेका छन् जनता सडकको पेटीमा छट्पटाउँदै मरिरहेका छन् । निजी अस्पताल खोलेका मेडिकल माफियाहरुले महँगो शुल्क असूल्ने गरी अस्पतालको बजार भाउ तोकेका छन् । आधारभूत स्वास्थ्य आम सर्वसाधारणको पहुँचमा छैन । शिक्षाको अवस्था पनि त्यो भन्दा फरक छैन । राज्यको स्रोत र साधनमा बुर्कुसी मारेका, भ्रष्ट, दुईनम्बरी, तस्कर माफियाका छोराछोरी यिनै राजवंशी, राणा, पोखरेल र श्रेष्ठहरुले खोलेका महँगा बोर्डिंग स्कूलमा पढछन गरीबका छोराछोरी सामान्य आधारभूत सुविधा समेत नभएका सरकारी स्कूलमा । अनि सरकारी स्कूलमा पढाउने मास्टरहरु सरकारी सुविधामा तर मारिरहेका छन्, तर पढाइको गुणस्तर छैन । यता बोर्डिगमा पढाउने मास्टरहरु मालिको शोषणबाट प्रताडित छन् ।
    दुर्भाग्य नेपालको शिक्षा स्वास्थ्य राज्य मातहत ल्याउने गरी नीति बनाउने ठाउँमा जनताको छोराछोरीको प्रतिनिधित्व कहिल्यै हुन सकेन, त्यो ठाउँमा पनि यिनै शैक्षिक र स्वास्थ्य माफियाहरु पुगे । पछिल्लो संविधानसभामा त पार्टीहरुले सभासद सांसद पद नै बजारमा राखे । अनि त्यो पद खरिद गरेर नीति निर्माण गर्ने थलोमा गीता राणा, बाबुराम पोखे्रल, उमेश श्रेष्ठ र यिनै शंकर राजवंशीहरु पुगेको कुरुप दृश्य देखियो । जुन घटना जनताले अझै बिर्सन सकेका छैनन् । यसरी नीति निर्माण गर्ने ठाउँमै मोटो रकम दिएर शैक्षिक र स्वास्थ्य माफियाहरु पुगेपछि जनताका छोराछोरीको पक्षमा शैक्षिक नीति कसरी बन्नु । यिनै शैक्षिक माफियाहरुको पक्षमा शिक्षा नीति बन्ने नै भयो । शिक्षा जस्तो आधारभूत सेवा व्यापारको वस्तु हुने नै भयो । त्यसैले शंकर राजवंशी, गीता राणा, बाबुराम पोख्रेल र उमेश श्रेष्ठजस्ता शिक्षाका व्यापारी हरुको गुणगान गाउनुको अर्थ छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *