भर्खरै :

कोलम्बियामा आम हड्ताल जारी डुक सरकारद्वारा भीषण दमन

कोलम्बियामा भइरहेको मानव अधिकार हननको विरोधमा भइरहेको विरोध प्रदर्शन तथा आमहड्ताल आइतबार १२ औँ दिनमा पनि जारी रह्यो । त्यहाँको सरकारी फौज र सरकारसमर्थित हतियारधारीहरूद्वारा भइरहेको गैरकानुनी हत्याहरूको अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाहरू र त्यस देशको सरकारी महान्यायाधिवक्ताको प्रतिवेदनले उदाङ्गो पारेपछि त्यहाँ दक्षिणपन्थी राष्ट्रपति तन डुकको सरकारविरूद्ध जनप्रदर्शन चर्केको हो । जनप्रदर्शनमाथि डुक सरकारले भीषण दमनचक्र चलाइरहेको छ । सरकारको दमनमा ३७ जनाको ज्यान गइसकेको छ भने ३५९ बेपत्ता भइसकेका छन् ।
चिलीका दक्षिणपन्थी राष्ट्रपति सेवास्टियन पिनेराले झैँ उनका मित्र डुकले पनि जनतामाथि दमन गरेर नै देशको राजनीतिक र सामाजिक असन्तुष्टिलाई दबाउने प्रवृत्ति देखाइरहेका छन् । विरोध प्रदर्शनमा मानव अधिकारवादी, सामाजिक कार्यकर्ता, राजनीतिक दलका कार्यकर्ताहरू एक भई प्रदर्शन जारी राखेका छन् ।
उनीहरूले बोगोटाको मध्तगस्थित जर्नालिस्ट पार्क र बोलिभार स्क्वायरमा विरोध प्रदर्शन जारी राखेका छन् । प्रदर्शनकारीहरूले प्रहरी दमन र निहत्था नागरिकमाथि हिंसा अन्त गर्न माग गरिरहेका छन् । प्रदर्शनकारीहरूले दमनको क्रममा ज्यान गुमाएकाहरूको स्मृतिमा कालो पहिरन लगाएर विरोध जारी राखेका छन् ।
कोलम्बियाका मानव अधिकारवादी संस्थाहरूका अनुसार अप्रिल २८ का दिन विरोध प्रदर्शन सुरू भएदेखि ५४८ जना बेपत्ता भएकोमा १८९ जना अस्पताल तथा प्रहरी हिरासतमा भेटिएका छन् भने ३५९ जना अझै हराइरहेका छन् । दुर्गम जङ्गलमा प्रहरीहरूले खाल्डो खनेर लासहरू गाडिरहेको टाढाबाट खिचिएका भिडियोहरू सामाजिक सञ्जालमा छाइरहेका छन् ।
कोलम्बियामा त्यहाँको सशस्त्र विद्रोहरत वामपन्थी पार्टी फार्क शान्ति प्रक्रियामा आएर हतियार त्याग गरेपछि दक्षिणपन्थी हतियारधारीहरूको आतङ्क, हत्या र हिंसा बढ्दै गएको छ । शान्ति प्रक्रियापछिको चार वर्षमा ५ सय जनाभन्दा बढी पूर्व फार्क लडाकु तथा सामाजिक कार्यकर्ताहरूको हत्या भइसकेको छ । वर्तमान दक्षिणपन्थी राष्ट्रपति तन डुकको सरकारले जनताको सुरक्षाभन्दा दक्षिणपन्थीहरूको हिंसालाई बढावा दिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *