धर्म, परम्परा र विज्ञान : कर्मकाण्डको भीडमा हराउँदै गरेको चेतना
- जेष्ठ २, २०८३
कस्तो अपत्यारिलो अवस्था आयो भरे घाम अस्ताउँछ, अँध्यारो हुन्छ । भोलि बिहान हुन्छ, उज्यालो हुन्छ, घाम झुल्कन्छ भन्दा पनि ए हो र ? कसले भन्यो ? भन्नेजस्ता प्रतिप्रश्न पो हुनथाले । कसैले भनेको कोही पनि पत्याउन तयारै छैन । यस्तो अपत्यारिलो वातावरण यसअघि कहिल्यै आएजस्तो लाग्दैन । मुलुक एकातिर कोरोनाको नयाँ नयाँ पुस्ताका भाइरसहरूको निर्मम आक्रमणबाट आक्रान्त छ । सरकारको धोती कहाँ खुस्क्यो, कहिले खुस्क्यो पत्ता लगाउन सकेको छैन । अर्कोतिर राजनीतिक कोरोनाका भाइरसहरूबाट प्रायः सबै राजनीतिक पार्टी र नेताहरू सङ्क्रमित छन् । यस्तो बेला जनताको जीवनसँग ठट्टा भइरहेछ । सरकार छ कि छैन सोध्नुपर्छ कोरोनाको सङ्क्रमणबाट अकालमा ज्यान गुमाउनेहरूका परिवारहरूलाई । सामान्य कुरा अक्सिजन चाहिने नागरिकले अक्सिजन पाउँदैन, उपचारको लागि अस्पतालमा शय्या पाउँदैन । कथं पायो भने पनि डाक्टर पाउँदैन, नर्स पाउँदैन । बिरामी छटपटाउने नै भयो । बिरामी लिएर जाने मान्छे झन् छटपटाउँछ । हेर्छ केही गर्न सक्दैन । अनेक कुरा सुन्छ सरकारका राजनीतिक पार्टीहरूका र नेताहरूका । कुरा ठुला गर्छन्, काम साना पनि गर्दैनन् । प्रायः नेताहरू देश र जनताप्रति चिन्तित हुनुपर्नेमा आफैप्रति मात्र चिन्तित भएर पो यो निराशाको अवस्था आएको होइन र ? बाँच्नुको लागि उज्यालो चाहिएन र ? हो, उज्यालाको बीउ खोजौँ ।
को को कता कता थन्किएका छन् ?
शक्ति चाहिँदो रहेछ बाँच्न । अन्यथा मान्छेमात्र होइन प्राणीमात्र पनि बाँच्दैन रहेछ । तर, केही समयदेखि एउटा यस्तो वातावरण बन्यो नेपाली समाजमा पनि शक्तिका निम्ति सत्ता अपरिहार्य हुनुपर्छ भन्ने मनोविज्ञान बन्यो । खासगरी यस्तो मनोविज्ञान माओवादीको नाममा सशस्त्र आन्दोलन वा जनयुद्ध प्रारम्भ भएपछि यो मनोविज्ञानले नेपाली समाजमा पनि जरा गाडेजस्तो लाग्छ । जनयुद्धको नेतृत्व गर्नेहरू पुष्पकमल दाहाल प्रचण्ड, डा.बाबुराम भट्टराई, मोहन वैद्य (किरण), हिसिला यमी, कृष्णबहादुर महरा अग्निप्रसाद सापकोटा, सीपी गजुरेल, रामबहादुर थापा, टोपबहादुर रायमाझीहरूको आजको अवस्था हेर्दा र २०५२ सालदेखि २०६२ सम्मका भाटे कारबाही र भौतिक कारबाही हेर्दा नितान्त फरक परिदृश्यहरू देखापर्छन् । डा. बाबुराम भट्टराई नेतृत्वको जनसरकारले कारोबार गरेका गाउँ–गाउँका घरबार, जग्गा–जमिनका लेनदेन र सुक्री–बिक्रीका कारबाहीहरू वैध नहुँदा लाखौँ–लाख नेपाली जनता आज पनि पीडामा छन् । डा. भट्टराई, प्रचण्ड, महरा, देव गुरूङ, गोपाल किराँती, लोकेन्द्र विष्टमगर, जयपुरी घर्तीहरू के हुन्छ भनी माओवादी जनयुद्धमा होमिएका थिए, के के भए । डा. बाबुराम कता कताबाट घुम्दै अहिले जनता समाजवादी पार्टीमा फर्किए एकाएक ।
नत्र बुढाबुढीको देश बन्ने
हो, केही नभएको होइन । एकथरीको सर्वस्व नै भयो । शाह वंशको झन्डै अढाइसय वर्षदेखिको राजपाठ उखेलियो । कतिपयको शक्ति अपहरण भयो, सामन्तवाद उन्मूलन भयो, शोषणका परम्परागत कैयौँ स्वरूपमा परिवर्तन आए । ४०–५० लाख नेपाली युवाहरू रोजगारीका निमित विदेशमा कष्टसँग जुधिरहेका छन् । यसकारण नेपालीहरूको पारिवारिक परिवेशमा नकारात्मक फेरबदल आइरहेको छ । संयुक्त परिवार बिथोलिएको छ । एकल परिवार पद्धतिले प्रश्रय पाएको छ । कैयाँै पढेलेखेका परिवारका छोराछोरी विदेशिएका छन् । नेपालमा सम्पत्ति छ, सन्तान छैनन् । सम्पत्ति छ तर सुख र सन्तोष छैन । पारिवारिक पुरानो परम्परा टुटिरहेको छ । यो क्षेत्रमा पनि नेपाल विफल भइरहेको छ । सन्तान विदेशिएका आमा–बाबुको हाँसोमा सक्कली हाँसो छैन मात्र छ औपचारिक वा नक्कली हाँसो । भेट्न आउनेहरूको लागि हो हाँसो । हुँदा हुँदा नेपाली समाज नै कृत्रिम समाज त हुँदै छैन भन्ने चिन्ता बढ्दै छ । चिन्ता गर्नुपर्नेले चिन्ता गर्दैन, अर्कोले चिन्ता गर्छ जसको उपचार छैन । यो लेखेको, देख्ने जानेको अघिल्लो पुस्ताले छोरी–बुहारीहरूबाट रिझाउन सकेन जसका कारण छोरी–बुहारी विदेश बस्ने भए । दोस्रो पुस्तालाई नेपालमै बस्ने रिझाउने बुटी पत्ता लगाउनुप¥यो । नत्र नेपाल एकदिन बुढाबुढीको मात्र देश बन्ने छ । युवा शक्तिलाई मुलुकमै अड्याऔँ ।
समाजमा आएको परिवर्तन बुझौँ
हाम्रा राजनीतिक नेताले आफूलाई सत्ताको पर्यायवाची भन्ने ठाने । यता कम्युनिस्ट भन्ने पार्टी नछोड्ने उता लवाइखवाइ, आचरण र व्यवहारमा सामन्तीपन मात्र हो र महासामन्ती पनको अनुसरण गर्ने भए । सर्वसाधारण काम गरी खाने मान्छे र राजनीतिक नेताका दैनिकीमा आनतानको अन्तर पर्न थाल्यो । आम काम गरी खाने मान्छेको ज्याला बढ्यो एकातिर भने अर्कोतिर चिनियाँ दैनिक उपभोग्य सामान सस्तोमा पाइन थाल्यो । आम्दानीका स्रोत पनि नयाँ नयाँ आउन थाल्यो । जाडोमा लगाउने एउटा ज्याकेट उस्तै परे दुई–अढाइ सय रूपैयाँमा पाइन थाल्यो । जुत्ता, चप्पल त्यस्तै सस्तोमा पाइन थाल्यो । मान्छेले पढ्ने–लेख्नेतिर रूचि राख्न थाल्यो । कामका प्रकृतिमा परिवर्तन आउन थाल्यो । गाउँकी साधारण महिलामा पनि युग चेतना आउन थाल्यो । बजार थाहा पाउन लागे । धेरै नानी पाउनु हुन्न भन्ने ज्ञान फैलिन लाग्यो । एक या दुईमात्र केटाकेटी भएपछि मान्छेको जीवनस्तरमा परिवर्तन आउन लाग्यो । यो परिवर्तन आएको कति ठाउँमा नेताले नै बुझ्न छोड्यो वा थाहा पाएन । अब समाजमा आएको परिवर्तनबारे छलफल चलाउनुप¥यो र कति ठाउँमा त सर्वसाधारण मान्छेसँग त्यस क्षेत्रका मान्छेको अन्तक्र्रिया गर्नुप¥यो ताकि समाजमा आएको परिवर्तन बुझोस् नेतृत्वले ।
Leave a Reply