भर्खरै :

घरमै मातापिताको सम्मान गरौँ !

आज हामी आमाको मुख हेर्ने ‘मातातीर्थ औँसी’ पर्व मनाउँदै छौँ । यस दिन आफ्नी जननी मातालाई विभिन्न प्रकारले पुज्ने भएकोले उक्त दिनलाई मातातीर्थ औँसी भन्ने गरिन्छ । यसलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ ।
यस दिन विवाहित छोरीहरू माइतीघर गएर आफूलाई जन्म दिने आमाको मुख हेर्न जाने परम्परा छ । विवाहित छोरीहरूले आफ्ना मातापितालाई सँगै राखेर सुस्वास्थ, दीर्घायु र खुसीको कामना गर्दै सगुन दिएर पूजा गर्ने चलन छ । यो आमाप्रति सम्मान गर्ने नेपाली संस्कृति हो ।
हिजोआज यो पर्वमा केही विकृतिहरू बढेको पाइन्छ । कति छोरीहरू आमाबुबालाई पश्चिमी संस्कृतिको नक्कल गरेर यस पर्वमा केक काट्ने, अनेक झकिझकाउ गर्ने र त्यसको फोटो फेसबुकमा लोड गर्ने गर्दछन् । आफूले ल्याएको परिकार, गहना पहिरनको पनि फेसबुकमा देखाउन थालेका छन् । मानौँ, उसले जति कसैले पनि आमाबुबालाई माया गरेका छैनन्, सम्मान गरेका छैनन् । आमाबुबालाई गरेको माया अरूलाई देखाउने होइन । त्यस्तो देखावटी मायाले भावनात्मक माया बढाउँदैन । तिनीहरू आमाबुबा बिरामी हुँदा, अशक्त हुँदा एक गिलास पानी तताएर खुवाउन आउँदैनन्, हेरविचार गर्न आउँदैनन् । अहिले अरूलाई देखाउनमात्र तामझामसहित मुख हेर्न आउँछन् भनी ज्येष्ठ बुढापाकाहरू बताउँछन् । कसैको उक्साहटमा देखासिकी गरेर आमाको मुख हेर्न जानु उचित हो र ? आफ्नो क्षमताअनुसार आमाबुबाको सामान्य पूजा गरेर उहाँहरूको स्वास्थ्य अनुकूल सामान्य भोजन गराउँदा हुँदैन र ? अझ अरू दिन वा समय–समयमा आमाबुबालाई भेट्न गएर उहाँहरूको स्वास्थ्यको बारेमा ध्यान दिनु, हेरविचार गर्नु, सान्त्वना दिनु, आफ्नो हातबाट एक गिलास तातोपानी तताएर खुवाउन सकिँदैन र ? आमाबुबाप्रति यस्तो व्यवहार गर्नु र माया गर्नु सन्तानको कर्तव्य हो, सेवा र धर्म हो ।
आज समाजमा स्वार्थी मानिसहरू बढिरहेका छन् । स्वार्थी मानिसले चाडपर्व र संस्कृतिलाई आफ्ना स्वार्थ पूरा गर्न साधन या माध्यमको रूपमा उपयोग गर्न थालेका छन् । उनीहरू आमाबुबालाई पनि तामझामका साथ सगुन ल्याउन दबाब पार्छन् । समाजले हेर्न र देखाउन, प्रदर्शन गर्ने गरी सगुन ल्याइदिएन भने कोही आमासँग रिसाउँछन् भने कोही बुबासँग रिसाउँछन् । उनीहरू आमाको अवस्था र बुबाको क्षमता हेर्दैनन् । अनि आमाबुबाको ढाड सेकिन्छ । कुनै छोरीले दाइजो दिएन, कुनै जेठीलाई भन्दा कान्छीलाई बढी दाइजो दियो, कुनै कान्छीलाई भन्दा जेठीलाई बढी दाइजो दियो र आफूलाई कम भयो भनेर आमाबुबासँग झगडा गर्न आएको पनि सुनिन्छ । कति छोरीहरू अनपढ आमाबुबालाई घरमा मिठाइ खुवाएर झुक्याइ सहीछाप राख्न लगाएर आमाबुबाको सम्पत्ति हात पारेको पनि हामी सुन्छौँ । कुनै छोरीले दाजुभाइबीच झगडा गराएर, कसैले आमाबुबा र दाजुभाइबीच झगडा गराएर सम्पत्ति झ्वाम पारेको पनि सुन्न पाइन्छ । कोही मेरो आमाबुबालाई तपाईँहरूले पाल्नुपर्दैन, नोटले पाल्छ भनी दाजुभाइसित झगडा गर्छन् । घरखेत सम्पत्ति बेच्न लगाएर पछि आफ्नो नाममा राखेको पनि सुन्न पाइन्छ । यसमा कतिपय स्वार्थी ज्वाइँहरूको पनि हात रहेको हुन्छ ।
कोही बुहारीहरू आफ्ना सासू ससुराहरूलाई यी बुढाबुढीहरू सधैँ कचकच गर्छन्, कहिल्यै शान्तसँग बस्न दिएको होइन, आरामसँग सुत्न दिएको होइन भनेर वृद्धाश्रममा लगेर कोचिदिन्छन् । वृद्धाश्रममा पैसाले पाल्ने हो, मायाले होइन । छोराबुहारी नातिको जतिसुकै माया र हेरविचार छैन भन्नु र वृद्धाश्रममा जतिसुकै माया र हेरविचार छ भन्नु कहिल्यै बराबर हुँदैन । त्यसैले छोराबुहारी र आमाबुबाले पनि यसमा ध्यान दिनुपर्छ ।
आजको व्यवस्था पुँजीवादी व्यवस्था हो । यसले समाजमा चलिरहेको मूल्य र मान्यतालाई सिध्याइदिन्छ, सामाजिक सद्भाव र सम्बन्धलाई खलबल्याइदिन्छ । धनसम्पत्तिको स्वार्थमा बाबुले छोरा भन्दैन, छोराले बाबु भन्दैन । आफ्नो बाबुलाई उद्योग व्यवसाय गर्ने नाममा घरखेत बेच्न बाध्य पारेको हुन्थ्यो । बुहारीले पनि दामी गरगहना, लुगाफाटो लगाउने, कारमा हुइँकिने, सुखी जीवन बिताउने लोभमा कसैको उक्साहटमा छोरी बुहारीले धोती लगाइदिएको, बुबा पछि त्यही जग्गा, घर बेचेको पिरले मरेको, मोजमस्ती गरेर टाट पल्टिएपछि दिवङ्गत बुबाको तस्बिरअगाडि छाती पिटीपिटी भकानिएको र पछुताएको हृदयविदारक दृश्य हामीले हेरेका छौँ ।
हिजोआज दाजुभाइहरू धेरै हुँदा एकै ठाउँमा एकै घरमा बस्न असहज भएकोले भिन्न बस्ने गर्दछन् । यसरी छोराहरू भिन्न बस्दा छोराहरूले बुबा, म तपाईँसँग बस्छु, आमा, म तपाईँसँग बस्छु, म बाचुञ्जेल तपाईँहरूको सेवा गर्छु भन्दैनन् । बरु, बुबा तपाईँ कुन छोरासँग बस्नुहुन्छ ? आमा, तपाईँ कुन छोरासँग बस्नुहुन्छ ? भनी सोध्छन् । कुनै कुनै छोराहरूले त सर्त तेस्र्याउँछन् । मसँग बस्ने हो भने तपाईँहरूको नाममा राखेको सम्पत्ति मेरो नाममा पास गरिदिने हो कि होइन, पास गरिदिएमा पाल्न सक्छु नत्र सक्दिनँ भन्छन् । कुनै छोराहरू बाचुञ्जेल वास्ता गर्दैनन्, बोलचाल हुँदैन । जब बुबाको उमेर ढल्किन्छ, अशक्त हुन्छ, कमजोर हुन्छ, खानेकुरासमेत खान सकिँदैन । त्यसबेला सम्पत्तिको लोभमा समाजको डरले बाध्यताले देखावटीरूपमा हेरविचार गर्ने, मीठोमीठो खानेकुरा ल्याइदिने गरिन्छ । आमाबुबाको नाममा सम्पत्ति छैन भने कसैले पनि वास्ता गर्दैनन् । कसै कसैले बाँचुञ्जेल मात्र होइन, मरेपछि पनि वास्ता गर्दैनन् । कसैले जुठो बारेनन्, कसैले बर्खी बारेनन्, कसैले कपाल खौरेनन्, कस्तो विडम्बना ¤
यसको मतलब समाजमा असल छोराछोरी र छोराबुहारीहरू नभएका होइनन् । बिनालोभ निःस्वार्थरूपले आफ्ना आमाबुबा, सासूससुरालाई सेवा गरेका छन् । आमाबुबाका पनि कमी कमजोरीहरू होलान् । त्यस्तो कमी कमजोरीलाई नातेदार, टोलका दाजुभाइको सल्लाह र सहयोगमा हटाउन सकिन्छ ।
आज तपाईँले आफ्ना आमाबुबालाई राम्रो व्यवहार गर्नुभयो भने छोराछोरीहरूले पनि भोलि त्यसरी नै सिकेर तपाईँलाई राम्रो व्यवहार गर्नेछन् । तपाईँले आमाबुबालाई नराम्रो व्यवहार गर्नुभयो भने तपाईँका छोराछोरीहरूले तपाईँलाई पनि नराम्रै व्यवहार गर्नेछन् । त्यसैले आमाबुबालाई सम्मान गर्नुपर्छ ।
धन सम्पत्ति हुँदैमा आनन्द हुँदैन । यदि त्यसो नहुँदो हो त धनीमानी राजा, महाराजाहरूलाई स्वर्गीय आनन्द हुनुपर्ने हो तर त्यस्तो भएको सुनिँदैन । आफ्नो आमाबुबालाई रुवाएर, दुःख दिएर कमाएको वा प्राप्त गरेको धन सम्पत्तिमा झन् आनन्द हुँदैन भनी बुढापाका भन्ने गर्दछन् । आफ्नो पसिना बगाएर कमाएको, मेहनत गरेर कमाएको, धनसम्पत्तिमा मात्र आनन्द हुन्छ, गौरव हुन्छ । हो, धन सम्पत्ति जीउनलाई चाहिन्छ । त्यो जीउनलाई चाहिने साधनमात्र हो, साध्य होइन । दीनदुःखी अनि समाजको सेवा गरेर इज्जतका साथ सम्मानका साथ बाँच्नुमा नै स्वर्गीय आनन्द हुनेछ । त्यसैले आमाको मुख हेर्ने पर्वमा कसैको बहकाउमा लागेर धेरै झिलीमिली नगरौँ । बुहारीले सासूससुरालाई आफ्नै आमाबुबाजस्तो र सासूससुराले पनि बुहारीलाई आफ्नै छोरीजस्तो सम्झी असल व्यवहार गरौँ । कुनै काम गर्दा, समस्या आउँदा त्यसको समाधान गर्न सबैसँग बसेर छलफल गरौँ ।
आमाबुबाको काख अरूको लाख भनेझैँ हाम्रो जीवनमा उहाँहरूको ठुलो त्याग छ, माया छ, लगानी छ । यस यथार्थलाई हामी सबै छोराछोरीहरूले मनन गर्दै आमाबुबालाई यस पर्वको अवसरमा ‘मातृदेवः भव’ को रूपमा सम्मान गरौँ । आमाबुबालाई छोराछोरी, छोराबुहारी, नातिनातिनाहरूले असल व्यवहार गरेको खण्डमा मात्र हामीले आमाको मुख हेरेको सार्थक हुनेछ ।
गत वर्षको तुलनामा यस वर्ष छिमेकी देश भारत र हाम्रो देश नेपालमा पनि कोभिड–१९ र भेरियन्ट ह्वात्तै बढेकोले संस्कृति, मान सम्मानभन्दा जीउज्यान र स्वास्थ्य नै ठुलो भएको हुनाले सकभर स्थगित गरौँ । घरमै अनलाइनमा वा मातापिताको तस्बिरमा पूजा गरेर सम्मान गरौँ । बरु, पछि परिस्थिति अनुकूल भएपछि जाँदा उपयुक्त होला । गई नै हाल्ने हो भने सावधानी र सुरक्षाको उपाय अपनाएर सामान्य तरिकाले यो पर्व मनाऔँ र रोगबाट बचौँ र बचाऔँ ¤

Leave a Reply

Your email address will not be published. Required fields are marked *