भर्खरै :

कोभिड महामारीमा दिग्भ्रमित सरकार

आइसोलेसन अनुभव, २०७८
कोभिड परीक्षणको नतिजा पोजिटिभ आएपछि यो पङ्क्तिकार पनि होम आइसोलेसनमा बस्यो । कुनै स्पष्ट लक्षण देखिएन (धेरैजसोलाई यस्तै हुनसक्छ) । कन्ट्याक्ट ट्रेसिङ गर्न सक्रियता देखाएकोमा भक्तपुर नगरपालिकालाई धन्यवाद छ !
पीसीआर परीक्षण गरेको आठौँ दिनसम्म पनि यो लेखकले आफ्नो स्वास्थ्यमा असामान्य अनुभव गरेन । अरू कोही सद्दे मानिसलाई रोग नसरोस् भन्ने कुरामा हरेक सङ्क्रमितले ख्याल गर्नैपर्छ । साथीहरूका शुभकामना, सल्लाह, घरपरिवारको हेरविचार, नियमित भोजन, व्यायाम, डाक्टरको सिफारिसअनुसारका औषधी सेवन आदि कारण पनि रोग प्रतिरोधी क्षमता बढेको हुनुपर्छ । सबैप्रति कृतकृत्य छ यो लेखक ।
सोमबार २७ वैशाख २०७८ सम्मको तथ्याङ्कअनुसार देशभर कम्तीमा ९३ हजार कोभिडका ‘सक्रिय सङ्क्रमित’ छन्, अधिकांश ‘होम आइसोलेसन’ मा । मनमा जिज्ञासा आउँछ – घरमै बसी रोगविरुद्ध लडिरहेकाले कस्ता समस्या व्यहोरिरहेका होलान् ? उचित खानपान भइरहेको छ कि छैन ? प्रत्येक रोगीले प्रशस्त तातोपानी खाइरहेका छन् या छैनन् ? बिरामीलाई उचित सल्लाह दिने मान्छे छन् कि छैनन् ? सरकार रोग प्रतिरोधी क्षमता बढाउन सघाउने कार्यतिर किन लागिरहेको छैन ? सान्त्वना दिने भरपर्दा मानिस भएमात्र रोगविरुद्ध लड्ने क्षमता वृद्धि हुन्छ । कोरोना भाइरसविरुद्ध लड्ने प्रभावकारी औषधी आजसम्म पत्ता लागेको छैन । यस्ता रोगीको निम्ति आत्मबल नै ठूलो औषधी हो । रोगी वा उनको परिवारको आत्मबल बढाउन काउन्सिलिङ गर्ने चिकित्सक वा मनोविज्ञ किन नखटाउने ?
‘लोकलाज’ वा अर्थाभावको कारण परीक्षण नगराई बस्ने जनता कति छन् कति । हजारौँ गुपचुप बसेका छन् वा आफू सङ्क्रमित भएको तिनलाई पत्तै छैन । लक्षण नदेखिएका कोरोना सङ्क्रमित वा सामान्य रुघाखोकी हो भन्ने ठान्नेले सङ्क्रण फैलाइरहेका छन् ।
ज्वरो आउने, खोकी लाग्ने, जिउ दुख्ने, जिभ्रोले स्वाद थाहा नपाउने, सास फेर्न अप्ठेरो हुनेजस्ता लक्षण देखिएमा कोभिड सङ्क्रमण भएको हुने रहेछ । नेपाली भाषा नबुझ्ने अन्य मातृभाषी सबै नेपालीजनमा यो सन्देश पुग्यो कि पुगेन ? कोरोना भाइरस सङ्क्रमणबारे मोबाइल फोनबाट दिइरहेको सन्देश नबुझ्नेको लागि के छ व्यवस्था ? स्थानीय तह यसैमा चुकिरहेका हुन् कि ? (यो पङ्क्तिकारको घर छेउछाउसम्म नेपालभाषामा कोभिड रोगबारे जानकारी दिन माइकिङ गरिरहेको सुनिन्छ) ।
‘एकान्तवास’ मा बस्दैगर्दा कैयौँ मानिस आईसीयू वा भेन्टिलेटरको खोजीमा भौँतारिरहेका अत्यासलाग्दा खबर आइरहे । सञ्चारमाध्यमले भनिरहेका छन् – अस्पतालको बेड नपाएर घरमै मर्नेको सङ्ख्या थपिँदै छ । अस्पतालहरूले अक्सिजन अभावकै कारण अब बिरामी भर्ना गर्न नसकिने विज्ञप्ति नै जारी गरेका छन् । अक्सिजनको अभावमा मृत्युवरण गर्ने क्रम तत्काल रोकिएलाजस्तो छैन ।
यस्तो विपत्तिमा सरकार आत्मरक्षाको गढमा लुकामारी खेलिरह्यो । ऊ लाचार छाया बनेर उभिएको छ – लगभग एउटा बुँख्याचाजस्तै । सरकार ‘पुतलीको छायायुद्ध’ मा अलमलिरहेकोे छ । नेमकिपाका अध्यक्ष रोहितले सही भन्नुभएको छ – “शासक पार्टीहरू दक्षिण छिमेकीका पुतली भएका छन् ।” वैदेशिक हस्तक्षेप निम्त्याउने पहिलेका प्रवृत्तिले निरन्तरता पाएको छ । महामारीमा ध्यान केन्द्रित गर्नुपर्ने सत्तासीन र प्रतिपक्षी दलको नीति र नियत जनविरोधी भएको कुरा फेरि एकपटक उजागर भएको छ । कामकुरो एकातिर कुम्लो बोकी थिमितिर भन्या यही त हो !
‘हेमलिन’ का मुसा !
हाम्रो घर छेउछाउतिरबाट आउने चराचुरुङ्गीको ‘सङ्गीत’ ले पनि ‘आइसोलेसन’ मा बसेका हामी (एकाघरका) सङ्क्रमितलाई एकखालको मनोरञ्जन दिइरहेको हुन्छ । शनिबार (२५ वैशाख २०७८) अपराह्नतिर पात सिउने फिस्टे चरा (कमन टेलर बर्ड) को आवाज सुनियो । कोभिड पोजिटिभ भएर एउटै कोठामा बस्ने मेरो भाइलाई तस्बिर खिच्ने रहर लागेछ (दुवैको रुचिको विषय पनि हो) । भाइले एउटा जुक्ति निकाल्यो । युट्युवे फिस्टे चरीको आवाज बजायो, प्राकृतिक चरा युट्युवे चरीको आवाजतिर आकर्षित भयो । प्राकृतिक चरा घर वरपर आई चिरबिर गर्न थाल्यो । सटासट तस्बिर खिचियो । फिस्टे चरी धेरै समय वरपर चिरबिर गरिरह्यो । मनमा केही प्रश्न उठे, के चरालाई यसरी झुक्याउनु ठिक हो ? नेपाली राजनीति र ती चराको नियति उस्तै भएन र ? (रेकर्ड गरिएका यस्ता आवाज पटकपटक बजाई चराचुरुङ्गी बोलाउनु प्रकृति प्रतिकूल हो । यस्तो अभ्यासलाई प्रश्रय दिनु ठिक मान्दैनन्, प्राणीशास्त्रीहरू ।) नेपाली जनता प्रतिक्रियावादी राजनीति देखेर रणभुल्लमा परेका छन् ।

सानो छँदा पाठ्यपुस्तकमा एउटा दन्त्यकथा पढ्न पाइन्थ्यो – पाइड पाइपर अफ हेमलिन । १९ औँ शताब्दीका साहित्यकार रबर्ट ब्रोनिङले यही शीर्षकमा कविता पनि लेखेका छन् । कथाको सुरुआतको अंश यस्तो छ – एक समय जर्मनीको हेमलिन नगरमा मुसाले अति दुःख दिन थाल्यो । कुकुर र बिरालालाई पनि मार्न सक्ने बडेमाका मुसा थिए । हेमलिन नगर प्रमुखले मुसा नियन्त्रण गर्नेलाई पुरस्कार दिने घोषणा गरे । ती नगर प्रमुखलाई पाइड पाइपर नामका एक व्यक्तिले बासुरी बजाएर मुसा नियन्त्रण गर्न सकिन्छ भने । नभन्दै बासुरीको धुनमा लठ्ठिएर हुलका हुल मुसाहरू पाइड पाइपरको पछाडि लागे । पाइड पाइपरले सबै मुसा समुद्रमा लगेर डुबाइदिए । हो, नेपाली जनता तिनै मुसाको नियति भोग्न लागिरहेका त छैनन् ?
‘बादशाहको नयाँ लुगा’ कथामा जस्तै कुनै ‘बालक’ ले कामलगाउ सरकारका प्रम ओली वा अब बन्ने प्रमलाई भनिदेओस् यो महामारीको दोस्रो लहरले लाखौँ नेपालीलाई पूर्णतः गाँजिसक्यो । जताततै मृत्युको सन्नाटा छाउन थालिसकेको छ । एम्बुलेन्सको साइरन त्रास बजेजस्तो हुनथालेको छ । डरलाग्छ फेरि को सिकिस्त भो ? कसैको इहलिला पो समाप्त हुँदै छ कि ¤ कोभिडबाट मरेकाका आफन्तले अन्तिम बिदाई गर्न पनि पाइरहेका छैनन् । सरकारप्रतिको भरोसा भएको भए नागरिकमा यतिविधि सन्त्रास फैलिने थिएन कि ! विडम्बना, सरकारको ध्यान महामारी नियन्त्रण गर्ने काममा केन्द्रित भएन, सत्ताधारी र सत्ताउन्मुख पार्टीहरू सत्ता लुछाचुँडीखेलमा केन्द्रित छन् !
जनताको लापरबाही ?
जनताले लापरबाही गरेको आरोप लगाएर सोमबार वैशाख २७ गते संसद्को विश्वासको मत गुमाए प्रम ओलीले । तर, प्रमकै आह्वानमा देशभर हजारौँको भिड जम्मा गरी पार्टी सभाहरू भए, सत्ताधारी पार्टीको अर्को खेमा पनि त्यसरी नै भिडभाड गर्न लाग्यो । भिड जम्मा गर्ने प्रतिस्पर्धा गरियो । विज्ञहरूको चेतावनी र स्वास्थ्य मन्त्रालयको ‘आदेश’ को अवज्ञा गर्दै प्रम ओलीकै उपस्थितिमा धरहरा उद्घाटनको क्रममा भिड जम्मा गर्ने काम भयो, बालुवाटारबाटै ‘रामसीता’ को रथयात्रा गरियो ।

कोभिड–१९ को महामारी दिनप्रतिदिन झन् बढी आतङ्कित पार्दै देशव्यापी हुँदै छ भने प्रम केपी ओली अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेपालमा महामारी नियन्त्रण भइरहेको छ भनिरहेका छन् । बिरामी अस्पतालको बेड नपाएर भौँतारिरहेका खबर आइरहेका छन् (रिपोर्ट नभएका केस कति होलान् !), अक्सिजनको अभावमा बिरामीको मर्ने क्रम जारी छ, भेन्टिलेटर र आईसीयू नपाएर बिरामीको आफन्त आँसु बगाइरहेका छन् । ‘भेन्टिलेटर पाउन अर्को बिरामीको मृत्यु पर्खनुपर्ने’ कस्तो लाजमर्दो, अमानवीय र पीडादायी स्थिति ! सरकारी अस्पतालमा पर्याप्त बेड छैन, सामान्य मानिसको लाखौँ रुपियाँ तिरेर हेलिकप्टर चढ्ने हैसियत छैन । मानिस पीसीआर टेस्ट गर्न घामपानी नभनी घन्टौँ लाम बसिरहेका देखिन्छन् । कोभिड परीक्षणको निम्ति स्वाब दिँदा तुरुक्क निस्किने आँसुले खै स्वास्थ्यमन्त्रीलाई पोलेको ? सरकार कहाँ छ ! रोम जलिरहँदा नेपाली निरोहरू पनि अडबाङ्गी धुनमा बासुरी बजाइरहेका छन् !
भ्याक्सिनको व्यापार !
कोभिड–१९ विरुद्ध लड्ने क्षमता बढाउने प्रभावकारी उपाय भ्याक्सिन हो । संसार भ्याक्सिनको प्रतिक्षामा थियो लामो समय । भ्याक्सिनको आविष्कारको निम्ति विश्वभरका वैज्ञानिकहरू रातदिन कस्सिरहेका थिए । कोभिडको दोस्रो लहर झन् खतरनाक हुने प्रक्षेपण नगरिएको पनि होइन तर सरकारका जिम्मेवार मन्त्रीले समयमै खोप ल्याउन पहल गरेनन् । भारतको सिरम इन्स्टिच्युटले आगलागी भएको बहानामा नेपाललाई खोप दिन नसक्ने भन्ने सूचना दिँदा नेपालमा कोभिडको कारण हुने मृत्युदर शून्य थियो, दैनिक एकसय हाराहारीमा सङ्क्रमण दर रहेको थियो । त्यतिन्जेल स्वास्थ्यमन्त्रालय सुस्ताएर बस्यो । यो महामारीको दोस्रो लहर आँधीजस्तो फैलिन थालेपछिमात्र स्वास्थ्यमन्त्री अत्तालिन थाले तर ढिलो भइसक्यो । दुईपटक भ्याक्सिन लगाएका व्यक्तिमा सङ्क्रमण भइहालेमा पनि सिकिस्त हुने सम्भावना ज्यादै न्यून हुन्छ । तर, सरकार कत्ति पनि जिम्मेवार भएन । नत्र धेरैको ज्यान जोगिन्थ्यो ।
महामारी नियन्त्रणको निम्ति अफ्रिकासम्म पुगिरहेको चीनसँग पनि यथोचित कुराकानी वा वार्ता गर्न सकिँदैन ? कठै मेरो सरकार ! सीमा जोडिएको एउटा सानो देशको निम्ति पुग्दो खोप चीनले दिन सक्थ्यो । भारतबाट ल्याउनुपर्ने २० लाख मात्रा खोपमध्ये १० लाख अझै आएकै छैन, पैसा फिर्ता लिन भनिएको रहेछ । संयुक्त राष्ट्रसङ्घले विश्व स्वास्थ्य सङ्गठनमार्फत गरिब देशलाई निःशुल्क दिने कोभ्याक्सको केही मात्रा आइपुग्यो, बाँकी ल्याउने तदारुकता छैन । कूटनीतिमा पनि असफल देखियो । भारतले नेपाललाई पुग्दो खोप दिन सक्दैन भन्ने कुरा जिम्मेवारहरूले बुझ्न नसकेपछि नेपालीले पुर्पुरोमा हात राख्नुपरेको छ । नेपालीलाई महामारीको जन्जालमा अलमल्याउने षड्यन्त्र त भइरहेको छैन !कमिसनको कुरा नमिलेकोले कोभिडको खोप आइनपुगेको समाचार सुनिएको छ । यसमा प्रम ओली र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीबीच एक खालको आरोपप्रत्यारोप भइरहेको छ । स्वास्थ्यमन्त्रीले कोभिशिल्डको नेपालको अधिकृत बिक्रेता मानिएको हुकाम डिस्ट्रिब्युटर्स प्रम नजिकको कम्पनी भनी आरोप लगाइरहेका छन् । ‘हुकाम’ को कमिसनकै खेलमा खोप नआएको हो भने त्यस्तो कम्पनीलाई राज्यविरुद्धको अपराध कानुन लगाएर कारबाही गर्नुपर्ने माग उठेको छ । तर, ‘हुकाम’ ले मन्त्रीको आरोपलाई खण्डन गरेको छ । यथार्थ के हो जनताबीच प्रस्ट पार्नु पर्छ । आफ्नो अक्षमता लुकाउन यस्ता कुरा बाहिर आएका हुन् भने त्यस्ता मन्त्रीले जनअदालतमा उभिनैपर्छ । प्रम ओलीले स्वास्थ्य मन्त्रालयमार्फत नभई परराष्ट्र मन्त्रालयमार्फत भ्याक्सिन ल्याउने भनेका छन् । सल्लाह गर्दागर्दै माझीका सात गाउँ डुब्ने परिस्थिति आएको छ । जनताले ‘ओम्नीकाण्ड’ भुलेका छैनन् । केपी ओली सरकारकै पूर्व सञ्चारमन्त्रीको कमिसन टेपकाण्ड नागरिकको स्मरणमा ताजै छ । नेवारीमा एउटा भनाइ छ ‘लज्या फुकं तज्यपिसं न्ह्यागु यासां त्यो’ अर्थात् नकच्चरोलाई लाज हुन्न । त्यसैले सरकारले जनविश्वास गुमाएको हो । तर, दुःखको कुरा सत्तातुर पार्टीका नेताहरू झन् खराब चोर होलान् भनेर जनता सशङ्कित भएका छन् ।
बर्टोल्ट बे्रख्तको नाटक ‘लाइफ अफ ग्यालिलियो’ मा उठाइएको प्रश्नजस्तो नायक जन्माउन नसकेर देश दयनीय भएको हो वा नायकको खाँचो भएको ठानेर देश दयनीय भएको हो ? यो प्रश्न अनुत्तरित नै छ, भलै यो देशमा भ्रष्ट राष्ट्रनायक बन्ने दौड अकण्टक चलिरहेकै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *