भर्खरै :

भारतमा जीवन र मृत्यु – २

(सन् १९४६ मा प्रकाशित पुस्तक ‘टमिगनबाट प्रजातन्त्र’  (Democracy with a Tommygun) दोस्रो विश्वयुद्धको उत्कर्षतिर दक्षिणपूर्वी एसियाका देशहरूको भ्रमण गरेका अस्टे«लियाली पत्रकार विल्फ्रेड बर्चेटको रिपोर्ताज हो । पुस्तकमा जापानी आक्रमणले आक्रान्त चीन र अङ्ग्रेजहरूले छोड्दै गरेको भारतमा आफूले देखेभोगेका विवरण बर्चेटले उतारेका छन् । पुस्तक पढ्दै जाँदा आजको चीन र भारत निर्माणको पृष्ठभूमि उजागर हुन्छ । चिनियाँ नेतृत्व जनताप्रति कति संवेदनशील थियो र भारतीय नेतृत्व कसरी जनताभन्दा पनि मानवीय सङ्कटमा मोटाउने दलाल र नाफाखोर पुँजीपति एवम् साहुमहाजनहरूको सेवामा तल्लिन थियो भन्ने कुरा पुस्तकले खुलस्त पार्छ । किसान समस्या र कोरोना महामारीले रन्थनिएको वर्तमान भारतको कहालीलाग्दो दृश्यले पुस्तकको निम्न अंश सान्दर्भिक देखिएको हुनाले यहाँ प्रस्तुत गरिएको छ । सं.)
साहुमहाजनको कालोबजारी
अनिकाल पर्दा १९४३ मा बङ्गाल प्रान्तको जनसङ्ख्या ६ करोड ३० लाख थियो । त्यसमध्ये ५५ प्रतिशत मुसलमान थिए भने बाँकी हिन्दु थिए । त्यसमा प्रति वर्ष १० लाख जनसङ्ख्या थपिँदै थियो । सामान्य समयमा बङ्गालले आफ्नै लागि पनि अपुग धान उत्पादन गथ्र्यो । भारतको सबैभन्दा बढी धान उत्पादन गर्ने बङ्गालले अरब, सिलोन (श्रीलङ्का) र पर्सिया (इरान) मा उच्च कोटीको धान निर्यात गरेको थियो । तर, उसले बर्माबाट २० लाख टन निम्नकोटीको धान आयात गरेको थियो । अन्य प्रान्तहरूमा जस्तै बङ्गालीहरूले भात खान्छन् । अन्तजस्तो उनीहरूले गहुँ, कोदो वा मकै खान मान्दैनन् ।
सन् १९४२ पछि बर्माबाट धान आयात रोकियो र बङ्गालमा धानको अभाव अनिवार्य हुने देखियो । त्यसपछि अनिकाल हुने कारणहरू थपिँदै गए । बङ्गालमा बर्माबाट लाखौँको सङ्ख्यामा भारतीय शरणार्थी ओइरिए । भारतका विभिन्न स्थानबाट भात खाने लाखौँ सैनिक थपिए । उनीहरूलाई बङ्गाल र बर्माका मोर्चाहरूमा तैनाथ गरिन्थ्यो अथवा प्रान्तका तालिम केन्द्रहरूमा राखिन्थ्यो । यसरी झन्डै ५ लाख सैनिकका खाने मुखहरू थपिए ।
ब्रह्मपुत्र र गंगा नदी समुद्रमा मिसिने (डेल्टा) क्षेत्र हुँदै जापानीहरूले घुसपैठ गर्ने सम्भावना नामेट पार्न हजारौँ नाउ वा जहाजहरू एकै ठाउँ जम्मा गरेर नष्ट गरियो वा हटाइयो । यो सायद उचित सैन्य कदम थियो तर यसले गर्दा जलमार्ग हुँदै गाउँगाउँमा गरिने धानको वितरण असम्भव हुनपुग्यो । सैन्य कदमलाई गाउँगाउँबीचको व्यापार व्यवस्थापन गर्ने गरी प्रशासनिक उपाय सँगसँगै लगिएन ।
अन्तिम प्रहार भने पालैपालो आइपरेका प्राकृतिक प्रकोपहरू थिए । १९४२ को अन्त्यतिर पूर्वी बङ्गालमा भयानक समुद्री आँधी आयो । त्यसले १५ हजार मान्छेको ज्यान लियो र १० लाख चौपाया एवम् १५ लाख टन धानको क्षति भयो । १९४३ को सुरुतिर आएको मिदनापुर आँधीबेहरीले चरम क्षति थपिदियो । ‘चुस्त’ साहुमहाजनहरूले सौभाग्य देखे र जहाँबाट सक्यो त्यहीँबाट बिस्तारै अन्न किन्न थाले ।
मुद्रास्फीति (सामानको मूल्य बढ्दै गयो र पैसा सस्तो हुँदै गयो) र भण्डारण झन्झन् बढ्यो । त्यसैले नाफाको निम्ति व्यापारीहरूले सामान लुकाउन थाले । कलकत्ताको प्रान्तीय सरकार वा दिल्लीको केन्द्र सरकारले त्यसलाई रोक्न सिन्को भाँँचेन । बङ्गालका गभर्नर सर जोन हर्बर्ट सिकिस्त थिए, त्यसकारण उनले समस्यामा धेरै चासो दिएनन् । अन्नको मण्डी (बजार) बाट चामल अलप हुन थाल्यो । बनियाँहरूले दिने लोभलाग्दो मूल्यमा पहिले गाउँलेहरूले जथाभावी धान चामल बेच्न थाले । उनीहरूले त्यसलाई बजारमा बेचेर मनग्गै आम्दानी गरे । पछि उनीहरू त्यसलाई आफ्नै आवश्यकताका लागि जम्मा गर्न थाले । जुलाईदेखि अक्टोबरसम्म तीन महिनामा चामलको भाउ दोब्बर– तेब्बर हुँदै पहिलेभन्दा सयौँ गुणा बढ्यो । पछि, सरकारले त्यसलाई झारेर पहिलेभन्दा १० गुणा कम बनायो र चामल सरकारी माध्यमबाट मात्र किन्न सकिने भयो ।
सबैभन्दा पीँधमा गाउँका भूमिहीन जनता थिए । त्यसमा कामी, सार्की, सिकर्मी, कृषि मजदुर, काँसको काम गर्ने र अन्य शिल्पकार पर्थे । उनीहरू गाउँको सानो जगेडा अन्नमा निर्भर थिए । धेरैजसो जगेडा अन्न अगाडि नै बनियाँ (व्यापारी) सँग सहर गइसकेको थियो । ससाना गाउँका हजारौँ बासिन्दाहरूले दुईचार गाँसका लागि आफ्ना घरका सरसामान बेच्न थाले, महिलाले कौडीको भाउमा चाँदीका गहना बेच्न थाले । अन्तमा, भएभरको धनसम्पत्ति सकियो र खोक्रो पेटबाहेक केही बचेन । त्यसपछि खाना र खाना किन्ने काम खोज्न उनीहरू सहरको यात्रामा निस्किए ।
सबैभन्दा माथिल्लो आसनमा धनी साहुमहाजन र व्यापारीहरू थिए । उनीहरूले हजारौँ बोरा धानचामल जम्मा गरेका थिए । त्यसलाई उनीहरू एकआपसमा किनबेच गर्थे मानौँ, उनीहरूले मानव जीवनभन्दा जुवाजस्तै भाउ तलमाथि गर्ने सट्टाबजारमा कित्ता आदानप्रदान गर्दै थिए । साहुमहाजन र भूमिहीन शिल्पकारहरूबीच साना किसान, निम्न ज्यालामा काम गर्ने सुकिलामुकिला कामदार, निम्न तहका सरकारी कर्मचारी र सङ्घर्ष गरिरहेका पेशेवरहरू पर्थे । यस्ता पेशेवरहरूले अचानक काम पाउँथे र हप्तामा दुईतीन दिनलाई आधापेट खान पुग्ने कमाइ गर्थे ।
कलकत्ताका साहुमहाजनका हातमा धानको ठूलो भण्डार भएको सबैलाई थाहा थियो । तर, बङ्गाल सरकारसँग त्यसलाई खोस्ने वा मूल्य तोक्ने पनि तागत नभएको देखिन्थ्यो । हिन्दु र मुसलमान दुवैको तानातानबीच प्रान्तीय सरकार स्थिति सम्हाल्न भुत्ते (शक्तिहीन) देखियो । उता भाइसरोयले बङ्गालको विषयमा केन्द्रले हस्तक्षेप गर्न नसक्ने भन्दै दुनियाँ हँसाइरहेका थिए ।
सङ्कटको राजनीति
सन् १९४३ को मार्चमा अनिकाल सुरु हुँदै गर्दा फजलल हक र डा. श्यामप्रसाद मुकर्जीको संयुक्त मन्त्रालयले राजीनामा दियो । नयाँ मन्त्रालयको नेतृत्व मुस्लिम लीगका सर नाजिमुद्दीन र खाद्यमन्त्री सुहरावाद्दीले लिए । फजलल हक र डा. मुकर्जी सुरुदेखि नै नयाँ सरकारप्रति रुष्ट थिए । डा. मुकर्जी कट्टर राष्ट्रवादी र काङ्ग्रेसविरोधी हिन्दु महासभाका नेता थिए । हजारौँ जनता गल्लीहरूमा मरिरहेको बेला विपक्षी दलहरू स्थिति सम्हाल्न केही गर्नुभन्दा आपसमा दोष थोपर्नमा व्यस्त थिए । हकले भने, “तिमी मुस्लिम लीगको हातमा बागडोर गएपछि हेरहेर कस्तो भाँडभैलो भयो ?” नाजिमुद्दीनले जवाफ दिए, “तिमीहरूले विगतमा मच्चाएको बबन्डरलाई केही महिनामा सच्याउन असम्भव छ ।” अन्नको व्यापारमा निहीत मुस्लिम लीगको स्वार्थबारे छानबिन गर्न मुकर्जीले माग गरे ।
प्रेस र संसद्मा राजनीतिक दलहरूले आफूलाई चोख्याउन र विपक्षीमाथि ‘पाप’ थोपर्न खोजे । मृत्युको सङ्ख्या झन्झन् बढिरहेको थियो । आफ्नो मूढताको कहालीलाग्दो असर नदेखेका दिल्लीका केही अङ्ग्रेज अधिकारीहरू भने भारतीय राजनेताहरूले आफ्नो देशलाई भड्खालोमा हालेको दृश्य हेर्दै भित्रभित्र मख्ख थिए । उनीहरूको व्यङ्ग्य थियो, “यस्ता मान्छेलाई कसरी स्वतन्त्रता दिन सकिन्छ ?”
मुस्लिम लीगको मन्त्रीमण्डलले सीधै केन्द्र सरकारसँग अपिल गर्न सक्थ्यो वा ‘अकालको अवस्था’ घोषणा गर्न सक्थ्यो । त्यसो गरेमा उसको छवि मैलिने थियो र बङ्गालमा जिन्हाको मुस्लिम लीगको पहिलो मन्त्रीमण्डलले यस्तो जोखिम मोल्न सक्दैनथ्यो । मालसामान लुकाउनेहरूका विरुद्ध सरकारले केही गर्न नसकेपछि हिन्दुहरूले बङ्गालको सबैभन्दा ठूलो अन्न व्यापारी इस्पहानी बन्धुहरू हुन् र तिनीहरू मुस्लिम लीगका बलिया हिमायती हुन् भनी कुरा उछाले । इस्पहानी बन्धुहरूसँग खाद्यमन्त्रीको आर्थिक साँठगाँठ रहेको हिन्दुहरूको आरोप थियो । सरकारको निम्ति अन्नको प्रमुख खरिदकर्ताको रूपमा इस्पहानी बन्धुहरूलाई नियुक्त गरिएपछि परिस्थिति पेचिलो बन्यो ।

पत्रकारहरूमाथि निगरानीपूर्ण सेन्सर लागु गरिएको थियो । स्थानीय अखबारहरूमा छापिएका समाचार समेत बाहिर पठाउन मनाही गरिएको थियो । भाइसरोयकी पत्नी लेडी लिनलिथगोले अनिकालपीडितहरूको लागि राहतको चौतर्फी अपिल गरेपछि हामी यथार्थसँग मिल्दोजुल्दो समाचार बाहिर पठाउन अलिक सक्षम भयौँ । उनको अपिल उद्धृत गरेर हामीले बङ्गालमा सङ्कट आइलागेको सूचना पठाउन सक्यौँ । अन्ततः हामीले ‘भोकमरी’ वा ‘अनिकाल’ जस्ता शब्द प्रयोग गर्न सक्यौँ । तुरुन्तै सेन्सरले ‘त्रासदीपूर्ण कथा’ मानेका समाचार देशबाहिर जान सके । ‘बङ्गाल अकाल’ ले बेलायती र अमेरिकी पत्रिकाहरूमा पहिलो पृष्ठ पायो । बेलायतको तल्लो सदनमा प्रश्नहरू उठे । त्यसले गर्दा केन्द्र सरकार मैदानमा उत्रिन बाध्य भयो ।
निजी समाजसेवी सङ्गठनहरूले भेटेको चीजबीजले कलकत्तामा भोकालाई खाना खुवाउन थालेका थिए । भारतीय सेना र अमेरिकी रेडक्रसले प्याक गरिएको दुध दिए । अनेक इसाई सङ्घसंस्था, बेलायती मित्रहरूको एम्बुलेन्स युनिट, हिन्दु र मुसलमान राहत संस्थाहरूले सार्वजनिक बगैँचा र भवनहरूमा खाना वितरण गर्न थाले । सुरुमा सरकारले यस प्रकारका गतिविधिले ‘बिरामी दरिद्रहरू’ लाई राजधानीमा तान्नेछ भनी गुनासो ग¥यो । तर, अन्त्यमा उसले आफैले केही गर्ने निधो ग¥यो ।
मुख्य कुरा प्रान्तमा थप अन्न ल्याउनु थियो, जनताको मनोबल बढाउनु थियो र बङ्गालमा उपलब्ध जगेडा खुला गर्नु थियो । पञ्जाबमा ठूलो जगेडा अन्नको भण्डार थियो तर ‘प्रशस्त मूल्य नतिर्ने’ हुनाले केही खेप अन्न पठाएपछि अरू पठाउन उनीहरूलाई मनाउन सकिएन । केन्द्र सरकारले अनिवार्य सम्मेलन डाक्यो र पञ्जाबी किसानहरूले प्रस्तावित मूल्य अस्वीकार गरेका रहेनछन् भन्ने थाहा पायो । बरु राहतको लागि पठाइने चामल बेचेर बङ्गाल सरकार र केही व्यापारीहरूले पाउने नाफा धेरै हुनुपर्ने मागमा उनीहरूको विमति रहेछ । अन्नको पहिलो खेपमा झन्डै ५ लाख भारु कमिसन मागेको कुरा बाहिर आयो ।

कलकत्ताका गल्ली आसपास परित्यक्त भई बसेका मान्छेहरूलाई सहरको बाहिर पर्ने उद्धार शिविरहरूमा लगियो । त्यहाँ उनीहरूलाई खानपान र औषधिमुलोको व्यवस्था गरियो । सेनाले गाउँमा पर्याप्त खाद्यान्न पु¥याएपछि उनीहरूलाई गाउँ फर्काइन्थ्यो । अन्यथा, उनीहरूलाई शिविरमै हेरविचार गरिन्थ्यो । सेनाका साधन नपुग्ने ठाउँमा किसानका लडिया र नाउ (डुङ्गा) हरूको प्रयोग गरिन्थ्यो । बिस्तारै प्रान्तका कुनाकाप्चासम्म अन्नको प्रबन्ध भयो ।
सेनाले जिम्मेवारी सम्हालेको केही हप्तासम्म पनि मृतक सङ्ख्या घटेको थिएन । हिउँद आउँदै थियो र सामान्य स्थितिमा मानिसहरूले हिउँद लागेपछि चल्ने स्वासप्रस्वासका समस्या झेल्न सक्थे । तर, कुपोषणले ग्रस्त मानिसहरू अकालले कमजोर बनेका थिए र उनीहरूले हिउँद झेल्न सक्दैनथे ।

पन्जाबबाट थप अन्न झिकाउन केही हप्ता अझै लाग्यो । कलकत्तामा अन्न आउन थालेपछि समेत तिनलाई गायब पारियो । दिल्लीका खाद्यान्न मन्त्रालयमा रेल र पानीजहाजमा राखेर कलकत्ता ढुवानी भइरहेको अन्नबारे गजबका तालिका हेर्न सकिन्थ्यो । तर, कलकत्ता गएर रित्ता अन्न मण्डीहरू हेर्न सकिन्थ्यो । एकचोटि गाडीमा लादेपछि तिनको अत्तोपत्तो हुँदैनथ्यो । गायब हुने ती सबै अन्न साहु र व्यापारीहरूको हातमा पुग्ने निश्चित थियो । कलकत्ताका टे«ड युनियनहरू र कम्युनिस्ट पार्टीले निरीक्षण समितिहरू बनाए र तिनले चामलका ठूला भण्डारहरू खोजी निकाले । तर, अनिकालभरि अन्न थुपार्ने साहुहरूमाथि कुनै कारबाही भएन ।
अनिकालभरि कलकत्तामा रासनको मात्रा तोकिएन । धनीमानीहरूले जुनसुकै ठूला रेस्टुरा र होटलहरूमा गएर भात–तरकारीलगायत बीस परिकारको मेनुबाट ६ वा ७ छाक खाना खान्थे । थकित र कल्पनाहीन भाइसरोयलाई भारतीयहरूसँग कुनै मतलब थिएन । उनी आफ्नो ५५ लाख डलरको दरबारबाट बाहिर चियाउँथे तर आफैले स्थितिको निरीक्षण गर्न वा बङ्गालको स्थिति हेर्न आवश्यक ठान्दैनथे । उनी खालि आफूपछि आउने भाइसरोय कुर्दै समय कटाइरहेका थिए । भारतको आफ्नो निराशाजनक कार्यकालमा उनी अर्को एउटा नमीठो सम्झना किन थप्ने भनी मनमनै भन्थे ।
सेना परिचालन
नयाँ भाइसरोय लर्ड वाभेल नयाँ दिल्ली आए र तुरुन्तै कलकत्ता पुगे । अन्तिम घडीमा जोडतोडले सहर सफा गर्ने काम चलिरहेको थियो । गरिबगुरुवाहरूलाई हटाइयो र मृतकहरूका बचेखुचेका लास जम्मा गरी नदीको किनारमा जलाइयो । तर, वाभेललाई कर्मचारीहरूको काम गर्ने तरिका थाहा थियो । उनले मध्यरातमा सहरको भ्रमण गरे र अनौपचारिक घुमघाममा निस्केर आफैले गल्लीहरूको जाँचबुझ गरे । केही घण्टामै वास्तविक स्थितिको आकलन हुने पर्याप्त दृश्य देखे । बङ्गाल सरकारसँग उनको तीतोपीरो भयो । उनी सबैभन्दा दुर्गति झेलेको गाउँले जिल्ला कोन्ताई पुगे र तत्काल लागु गर्ने योजनासहित फर्के ।
उनी भर्खरै मात्र फिल्ड मार्सलको पोशाक खोलेर प्रशासनमा पसेका थिए । त्यसैले उनी समस्यालाई सैनिक आँखाले हेर्थे । समाधानको लागि उनले सेनाको मद्दत लिए । सेनाले गाउँगाउँमा चामल बाँड्ने समाचार फैलियो । यो खबर कालाबजारीहरूका लागि बज्रमुक्कासरी थियो । पन्जाबबाट ढुवानी गरिएका अन्नको गति बढाइयो । ट्रकहरूको पहिलो लस्करमा अङ्ग्रेज र भारतीय सैनिकहरू थिए । उनीहरूले विधिपूर्वक अन्नलाई वितरण केन्द्रहरूमा पठाए । अस्ट्रेलियाबाट गहुँ बोकेका जहाजहरू आउँदै थिए । यसले पनि अन्न थुपार्ने साहुहरूको पारो तात्यो । उनीहरूलाई आफूले थुपारेको अन्नको चिन्ता थियो । अन्नको मूल्य एकाएक घट्ने डरले उनीहरूले मन लगाएर थुपारेको अन्न बजारमा ल्याउन थाले । यसले गर्दा कलकत्ताको स्थिति सुध्रियो । वाभेल राजधानी आएको केही हप्ताभित्रै बजारमा चामलको मात्रा सामान्य बन्यो ।
तीन महिनासम्म दैनिक २ हजार टन चामल आपूर्ति गर्न पर्याप्त सैन्य यातायातको प्रबन्ध गरियो । भारतीय सेनाले आफ्नो काम यति राम्ररी पहिले कहिल्यै गरेको थिएन । यसबाट उसको खुब तारिफ पनि भयो । सैनिक जीवनमा नपर्ने यस्तो भारी बोक्ने काम गर्दै अङ्ग्रेज र भारतीय सिपाहीहरू रमाए । भारतीय गाउँहरू छिचोल्दै गर्दा उनीहरूले मृत्युको साटो जीवन ल्याइरहेका थिए । त्यति नै खेर सैनिक पोशाक दमन र दरिद्रताको साटो मानवीयता र दयाको प्रतीक बनिरहेको थियो ।
शिविरहरूमा खुला मन भएका सैनिकहरूले बिनाआदेश सरसहयोग गरिरहेका थिए । धेरै ठाउँमा छिमेकका भोका मान्छेहरूलाई खुवाउन उनीहरूले स्वेच्छाले आधा पेट खाइरहेका थिए । अङ्ग्रेज सैनिकहरूले प्रायः भारतीय सहकर्मीहरूसँग खाना बाँडचुँड गर्थे । यसले गर्दा भारतीय सैनिकहरू भोकाहरूलाई आफ्नो पूरै खाना दिन सक्थे । अफिसरहरूले कहिलेकाहीँ क्वाटर–मास्टरको आपूर्तिमा भाँजो हालेरै अन्न बाँँड्थे ।
अन्न वितरणका यी तीन महिनामा अङ्ग्रेज सैनिक र जनताबीच सद्भाव उत्पन्न भयो । यस्तो भावना अङ्ग्रेजहरूले भारत कब्जा गरेपछि पहिलोचोटि पैदा भएको थियो ।
कलकत्ताका गल्ली आसपास परित्यक्त भई बसेका मान्छेहरूलाई सहरको बाहिर पर्ने उद्धार शिविरहरूमा लगियो । त्यहाँ उनीहरूलाई खानपान र औषधिमुलोको व्यवस्था गरियो । सेनाले गाउँमा पर्याप्त खाद्यान्न पु¥याएपछि उनीहरूलाई गाउँ फर्काइन्थ्यो । अन्यथा, उनीहरूलाई शिविरमै हेरविचार गरिन्थ्यो । सेनाका साधन नपुग्ने ठाउँमा किसानका लडिया र नाउ (डुङ्गा) हरूको प्रयोग गरिन्थ्यो । बिस्तारै प्रान्तका कुनाकाप्चासम्म अन्नको प्रबन्ध भयो ।
सेनाले जिम्मेवारी सम्हालेको केही हप्तासम्म पनि मृतक सङ्ख्या घटेको थिएन । हिउँद आउँदै थियो र सामान्य स्थितिमा मानिसहरूले हिउँद लागेपछि चल्ने स्वासप्रस्वासका समस्या झेल्न सक्थे । तर, कुपोषणले ग्रस्त मानिसहरू अकालले कमजोर बनेका थिए र उनीहरूले हिउँद झेल्न सक्दैनथे ।
६ करोड ३० लाख जनसङ्ख्या रहेको बङ्गालका अस्पतालहरूमा ८ हजार ४ सय शय्या थिए भन्ने कुरा थाहा भयो । ३० लाख जनसङ्ख्या भएको कलकत्तामा खाली अकालपीडितका लागि ६ वटा साना अस्पताल थिए । फेरि पनि मेडिकल सहयोग र शय्याको प्रबन्धसहित सेना अघि स¥यो । सैन्य डाक्टरहरूले बङ्गाल सरकार र निजी सहयोगबाट प्राप्त भएका प्रत्येक भवनहरूमा सेवा दिए । शय्याको कमी भएकाले मृत्युको मुखमा पुगेका बिरामीलाई मात्र अस्पतालमा राखिन्थ्यो ।
सालको अन्त्यतिर सेनाले १ करोडभन्दा बढी मान्छेबीच खाना, लत्ताकपडा र औषधीको रूपमा राहत वितरण गरिसकेको थियो । यसले मान्छेहरूको चिन्ता र आत्तुरीको झल्को दिन्छ । सन् १९४४ को जनवरीसम्ममा परिवारैपिच्छे निश्चित खाद्यवस्तु अर्थात् रासन तोकियो । हिउँदमा भित्र्याइने चामल बजारमा आउन थाल्यो र खाद्य अभाव पूरै नहटे पनि कम्तीमा सामान्य स्थितिमा झ¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *