भर्खरै :

टाउकाको मूल्य तोक्ने दलसँगै साठगाँठ !

प्रधानमन्त्री केपी ओलीले सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व रहेका राजनीतिक दललाई संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न तीन दिनभित्र सरकार गठनको लागि दाबी पेस गर्न आह्वान गर्नुभएको हो । राष्ट्रपति भण्डारीको उक्त आह्वानअनुसार विशेषगरी नेका, जसपाका उपेन्द्र पक्ष र माओवादी केन्द्र गृहकार्यमा जुटेका छन् । तर पनि उनीहरूको चेहरा तेज देखिँदैन ।
संयुक्त सरकार गठन गर्न नेका, माओवादी केन्द्र र जसपा (उपेन्द्र पक्ष) लागे पनि त्यो सहज देखिँदैन । सरकार गठनमा लागेका तीन दल मिले पनि बहुमत पुग्दैन । अहिलेको स्थिति हेर्दा सरकार गठन गर्न एकातिर ती दलसँग बहुमत छैन भने अर्कोतिर सरकार नै बनाए पनि नेका, माओवादी केन्द्र र जसपाको राजनीतिक दृष्टिकोण एकअर्कासँग मिल्दैन । फरक फरक दृष्टिकोण, विचार र सिद्धान्त मान्ने दल मिलेर देशलाई कसरी दिशा निर्देश गर्न सकिन्छ ? नेका र माओवादी केन्द्र त एक अर्काबीच नितान्त नमिल्ने या विरोधी दल हुन् । ‘जनयुद्ध’ ताका नेकाका शेरबहादुर देउवाले माओवादीका नेताहरूको टाउकोको मूल्य तोक्नुभएको थियो । आफ्नै नेताहरूको टाउकाको मूल्य तोक्ने देउवासँग माओवादी केन्द्रका नेताहरू अहिले गठबन्धनमा जुटेका छन् या घाँटी जोडेका छन् ।
नेका, माओवादी केन्द्र र जसपा (उपेन्द्र पक्ष) मिले पनि संयुक्त सरकार गठन गर्न बहुमत नपुगेको हुँदा सरकार गठनमा लागेका ती नेताहरू धर्मसङ्कटमा परेका छन् । कसैले पनि बहुमत प्राप्त गर्न नसकेमा घुम्दै फिर्दै सबभन्दा ठुलो दलको हैसियतले एमालेका अध्यक्ष केपी ओली नै प्रधानमन्त्री बन्न सक्ने अर्को सम्भावना छ । संविधानबमोजिम कसैले पनि बहुमत प्राप्त गर्न सकेन भने या प्रम नियुक्ति हुन सकेन भने प्रमको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन हुने व्यवस्था छ । देशमा अस्थिरता, भागबन्डा, सांसद किनबेच र पार्टी फुट्ने र फुटाउने सम्भावना देखेरै नेमकिपाले प्रतिनिधिसभाको निर्वाचनमा जोड दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *