देश जोगाउन र बनाउन युवा तयार हुनुपर्ने
- जेष्ठ ३, २०८३
नेपाल अहिले कोभिड–१९ महामारीको चपेटामा छ । मङ्गलबार कोभिडको कारण चौबीस घण्टामा निधन हुनेको सङ्ख्या हालसम्मकै सर्वाधिक २२५ थियो भने सङ्क्रमण दर लगातार बढिरहेको छ । सङ्क्रमण दर बढेसँगै हामीसँग भएको स्वास्थ्य प्रणालीले धान्न छोडिसकेको छ । कोभिडका बिरामीको लागि आधारभूत आवश्यकता अक्सिजनको समेत अभाव भइरहेको छ । काठमाडौँ उपत्यकाभित्रका अस्पतालहरूलाई समेत शय्या अभाव भएपछि परिसर र बरन्डामा बिरामीलाई राखेर उपचार गर्नुपर्ने बाध्य आइलागेको धेरै दिन बितिसकेको छ । अझै पनि अक्सिजनको अभावकै कारण बिरामीको निधन भइरहेको छ । नेपाल एक्लैको प्रयासले मात्र यस्तो भयावह अवस्था पार लाग्ने सम्भावना व्यवहारतः छैन । अब नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदाय र मित्र देशहरूलाई सहायताको लागि हारगुहार गर्नुको विकल्प छैन । नेपालको स्वास्थ्य प्रणालीले मात्र अबको स्वास्थ्य सङ्कटलाई धानेन ।
देश यस्तो सङ्कटको भुमरीमा पर्दा विभिन्न देशमा रहेका नेपालका राजदूतहरूले आफू बसेको देशको सरकारसँग सम्भव सहायताको लागि पहल गर्नुपर्ने हो । यतिबेला नेपाललाई प्राप्त हुने सानो सहायताको अर्थ नेपाली जनताको जीवन जोगाउनु हुनसक्छ । विडम्बना ! ‘अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च छवि बनाएको’ दाबी गर्ने ओली सरकारले आफ्नो ‘उचाइ’ बाट केही लाभ उठाउन सकेको देखिएन । भारत आफै महामारीको चपेटामा परेको बेला उसबाट यतिबेला नेपालले सहायताको आशा गर्नु ठीक होइन । भारत आफै अन्तर्राष्ट्रिय समुदाय र मित्र देशहरूसमक्ष हार गुहार गरिरहेको छ । त्यसो त महामारीको कारण संसारका सबै देशको अर्थतन्त्र प्रभावित छ । तथापि, महामारीबाट कम प्रभावित वा प्रभाव न्यून भइसकेका मित्र देशहरूसँग सहायताको लागि कूटनीतिक पहल गर्न जरुरी छ । यसको लागि विदेशमा रहेका राजदूतावासहरू गतिशील हुन जरुरी छ ।
छिमेकी देश चीनले मङ्गलबार पहिलो खेपको सहायता स्वास्थ्य सामग्री पठाएको छ । चीनले नेपाललाई ३५ सयवटा अक्सिजन सिलिन्डर, भेन्टिलेटर र अक्सिजन कन्सन्ट्रेटर सहायतास्वरुप प्रदान गर्ने घोषणा गरिसकेको छ । सहायता सामग्रीको पहिलो खेपमा ४ सय वटा अक्सिजन सिलिन्डर काठमाडौँ आइपुगेको छ । यसले अक्सिजन सिलिन्डरको मागलाई केही राहत हुने अपेक्षा गर्न सकिन्छ । तर, भारतबाट तरल अक्सिजन नेपाल ल्याउन अझै असहजता छ । त्यसको निम्ति सरकारले तदारुकताका साथ काम गर्न जरुरी छ ।
प्रधानमन्त्री ओलीले मङ्गलबार बेलायतको ‘द गार्जियन’ पत्रिकामा लेख लेखेर बेलायत सरकारसमक्ष सहायताको लागि आग्रह गरे । आफै भर्खरैमात्र महामारीको लहरबाट उठेको बेलायतबाट नेपालको यो विपद्मा केही न केही सहायता प्राप्त हुने अपेक्षा गर्न सकिन्छ । त्यस्तै नेपालका केही बुद्धिजीवीहरूले अमेरिकाबाट खोप सहायताको लागि ट्वीटरमा हस्ताक्षर सङ्कलन गरेर नेपालस्थित अमेरिकी राजदूतलाई बुझाएको छ । तर, नेपालको कूटनीतिक इतिहासमा सबभन्दा पुराना मित्रहरू बेलायत र संरा अमेरिकाले अहिलेसम्म कुनै पनि सहायताको सङ्केत गरेका छैनन् । पश्चिमा देशहरू नेपालजस्ता गरिब तथा विकासशील देशलाई आपतको बेलामा आफ्नो स्वार्थ पूरा गराउन मोलमोलाई पनि गर्नसक्छन् । नेपालको आजको विषमता कसैको लागि आफ्नो कुत्सित लक्ष्य पूरा गर्ने मौका नबनोस् । यदि त्यसो प्रयोजनका साथ कुनै पनि देशले कथित सहायताको हात बढाए, त्यसलाई नेपालले मित्र मान्न हुँदैन ।
को मित्र हो र होइन भन्ने कुराको निर्धारण सङ्कटको बेलामा हुने गर्छ । नेपालले यतिबेला भोगिरहेको सङ्कटको बेलामा नेपाली जनताप्रति बिना कुनै स्वार्थ सहायता, ऐक्यबद्धता र सहकार्य गर्न अघि सर्ने देश नै हाम्रा मित्र हुनेछन् ।
Leave a Reply