भर्खरै :

अमेरिकामा बन्यो १२ वर्ष उमेरसम्मको लागि कोभिडको खोप

संरा अमेरिकी सरकारी नियमक निकायले पिफाइजर र बायोएनटेक्सको कोभिड–१९ खोप १२ वर्षसम्मका बालबालिकाको लागि प्रयोग गर्न सोमबार अनुमति दिएको छ । यसले त्यहाँको खोप कार्यक्रमलाई अझ फराकिलो बनाउन बाटो खुलेको छ ।
यसअघि सो खोप १६ वर्षसम्मका व्यक्तिलाई मात्र आकस्मिक प्रयोगको लागि अनुमति प्राप्त थिए । खोप उत्पादकहरूले गत सातामात्र १२ वर्षसम्मका बालबालिकालाई पनि खोप लगाउन औपचारिक प्रक्रिया थालनी गरेको बताए ।
संरा अमेरिकी खाद्य तथा औषधि विभागले १२ देखि १५ वर्षसम्मका बालबालिका र किशोरकिशोरीलाई पनि खोप दिन सोसम्बन्धी नियमावलीमा परिवर्तन गर्न खोजिरहेको बताएको छ ।
संरा अमेरिकामा १२ वर्षसम्मका लगाउने मिल्ने भनी अनुमति पाएको कोभिड–१९ को यो नै पहिलो खोप बनेको छ । सरकारको यस्तो निर्णयले बालबालिकाहरू सुरक्षितरूपमा विद्यालय जाने वातावरण तयार गर्न मद्दत पुग्ने बताइएको छ । यसअघि संरा अमेरिकी राष्ट्रपति जो बाइडेनले किशोरकिशोरीहरूको लागि पनि तत्काल खोप उपलब्ध गराउने वाचा गरेका थिए ।
“आजको निर्णयले कोभिड–१९ बाट युवा पुस्तालाई पनि जोगाउन मद्दत गर्नेछ । त्यसले अवस्थालाई सामान्य बनाउन सहजता थप्ने छ र महामारी अन्त्यको दिशामा संसार अघि बढ्नेछ”, सङ्घीय औषधि प्राधिकरणका कार्यकारी आयुक्त डा.जनेट उडककले भने, “कोभिड–१९ को खोप आपतकालीन अवस्थामा प्रयोगको लागि सबैथरी अधिकार प्राप्त भएपछि अभिभावकहरू पनि अब चैनको निद्रा सुत्न सक्ने भए ।”
कोभिड–१९ बाट सङ्क्रमित अधिकांश बालबालिकामा हल्का लक्षण देखिने वा लक्षण नै देखिएको छैन । तथापि, केटाकेटी पनि गम्भीर बिरामी हुनसक्ने जोखिमबाट पूर्णतः भने मुक्त होइनन् । बालबालिकाहरूले आफू गम्भीर बिरामी हुने सम्भावना न्यून भए पनि उनीहरूले अरूलाई भाइरस सङ्क्रमण गर्ने सम्भावना भने रहन्छ नै । यो उमेरका बालबालिका र किशोरकिशोरीहरूमा खेलकुदलगायतका गतिविधिबाट सङ्क्रमण हुने गरेको पाइएको छ ।
खोप लगाउन नमान्ने सम्भावना
महामारी अन्त्यको लागि खोपको अत्यन्त महत्वपूर्ण भूमिका छ । तर, केही स्वास्थ्य अधिकारीहरू भने वयस्कहरूको खोप अभियानमा जसरी धेरैले खोप लगाउन अनकनाएका थिए, त्यो क्रम बालबालिकाको सन्दर्भमा अझ बढ्न सक्ने बताइएको छ ।
अभिभावकहरूले आफ्ना छोराछोरीलाई खोप लगाउनुअघि त्यसका जोखिम र फाइदाको लेखाजोखा गर्नेछन् । बालबालिकाको विकासमा खोपले पार्ने दीर्घकालीन प्रभाव र कोभिड–१९ ले स–साना केटाकेटीलाई कतिको प्रभाव पार्छ भन्ने विषयमा अभिभावकले विचार गरेर मात्र खोप लगाउने नलगाउने निधो हुने स्वास्थ्य अधिकारीहरू भन्छन् ।
खोप कम्पनीहरूले गत मार्च महिनामा १२ देखि १५ वर्ष उमेरका केटाकेटीको लागि प्रभावकारिता जाँच्न र कति प्रतिरोधी तत्व उत्पादन गर्छ भनी हेर्न क्लिनिकल परीक्षण गरिएको बताएको छ ।
परीक्षणमा १२ देखि १५ वर्ष उमेरका २ हजार २६० जना बालबालिकाहरू सहभागी बनेका थिए । नक्कली खोप लगाएकामध्ये अठार जना बालबालिकालाई कोभिड–१९ सङ्क्रमण भएको तर वास्तविक खोप लगाएका कसैमा पनि सङ्क्रमण नदेखिएको कम्पनीले बतायो । फलतः कोभिडको प्रतिरोधमा खोप शतप्रतिशत प्रभावकारी भएको पुष्टि भएको छ ।
पीफाइजर र बायोएनटेकले सङ्घीय औषधि प्राधिकरणलाई अप्रिलको सुरुमा कम उमेरका किशोरकिशोरीलाई पनि खोप लगाउन मिल्ने गरी नियम संशोधन गर्न आग्रह गरेको थियो ।
संरा अमेरिकामा गएको आइतबारसम्ममा झण्डै ४६ प्रतिशत मानिसहरूले कम्तीमा पहिलो खेपको खोप लगाइसकेको संरा अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ ।
तर, अप्रिल महिनाको मध्यमा सात दिनसम्म दैनिक औसत खोप लगाउनेहरूको सङ्ख्या ३३ लाखभन्दा बढी पुगेपछि अहिले उल्लेख्यरूपमा खोप लगाउनेको सङ्ख्या घटेको छ । मे ४ सम्म आइपुग्दा खोप लगाउनेको सङ्ख्या एक तिहाईभन्दा बढीले घटेर दैनिक औसत २१ लाखमा झरेको रोग नियन्त्रण तथा रोकथाम केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
संरा अमेरिकामा १६ देखि १७ वर्ष उमेरको लागि प्रयोग गर्ने अनुमति प्राप्त खोप पीफाइजरमात्र हो । यो उमेरका झण्डै २० लाख युवाहरूले खोपको कम्तीमा एक मात्रा लगाइसकेका छन् । अप्रिलको सुरुमा मात्र त्यो उमेर समूहको लागि न्यून जोखिमका व्यक्तिहरूलाई खोप लगाउन खुला गरिएको थियो ।
१२ देखि १८ वर्ष उमेर समूहमा खोप लगाएपछि संरा अमेरिकाका विद्यालयमा मास्क लगाउने वा सामाजिक दुरीका नियम खुकुलो गर्न बाटो खुला हुनेछ ।
पीफाइजरले सेप्टेम्बर महिनासम्ममा २ देखि ११ वर्ष उमेरका बालबालिकाको लागि सुरक्षित र प्रभावकारी खोपको विकास गर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *