भर्खरै :

उ रनपाओ – चीनको सबैभन्दा वैभवशाली गाउँको अन्तर्कथा

मानव जीवनलाई अहिलेको परिस्थितिसम्म पु¥याउन हाम्रा हजारौँ हजार पुस्ताले दुःख पाए । सम्पूर्ण मानव जातिको हितका लागि कार्लमाक्र्सले प्रत्युत्पादन गरेको समाजवादको सिद्धान्त अहिलेसम्मको संसारको उत्कृष्ट सिद्धान्त हो । यसलाई लागु गर्न संसारमा धेरै छलफल र बहस भइरहेका छन् । तर, यसको प्रयोगमा अधिकाधिक जनताको भलो हुनु महत्वपूर्ण छ ।
चीनले धेरै लामो उतारचढाव भोग्दै माओ, देङ्ग हुँदै सीसम्म आइपुग्दा चिनियाँ जनताको जीवनस्तर निकै माथि पुगेको छ । यसरी महान् विचारकहरूको सूचीमा आज उ रनपाओको नाम पनि अगाडि आउँछ । चिनियाँ लेखक ख्ह चियानमिङ्ग (सन् २००७ मा प्रकाशित) द्वारा लिखित चीनको सबैभन्दा वैभवशाली गाउँको अन्तरकथा डा. झलकप्रसाद शर्मा (सन् २०१८ मा प्रकाशित) ले नेपाली अनुवाद गरेका हुन् । यो चार भागमा विभाजित छ ।
औपचारिकरूपमा विश्वविद्यालय अध्ययन नगरेका उ रनपाओले तीन दशकको अथक मेहनतपछि आफ्नो गाउँको मुहार नै फेरिदिए । सन् १९६१ मा गाउँका करिब ३०० व्यक्तिहरू मिलेर दैनिक १५–१६ घण्टा कडा मेहनतका साथ उ रनपाओले ह्वासी गाउँको नेतृत्व गरेका थिए । सुरुमा त्यो गाउँको क्षेत्रफल ०.९ व.कि.मि. थियो । जनसङ्ख्या ६६७ थियो । त्यतिबेला बा¥ह वटा स–साना बस्ती समुदायहरू, थोत्रा अस्तव्यस्त हालतका घरहरू, माटोका भित्ता, साँघुरा बाटा, यता र उता बाङ्गो र टिङ्गो हुँदै हिँड्नुपर्ने, उचाइ र गहिराइमा कैयौँ मिटरको फरक पर्ने उबडखाबड परेका खेतबारी थिए । सन् ८० को दशकमा उनले त्यो गाउँलाई चीनको समृद्घ गाउँ बनाए । यहाँ खाना, पढाइ तथा स्वास्थ्योपचार निःशुल्क छ । त्यहाँको समृद्घि देखेर वरिपरिका १६ गाउँहरू त्यसमै मिसिए । हाल यसको क्षेत्रफल ३० वर्ग कि.मि. छ । जनसङ्ख्या ३०,००० भन्दा बढी हुन पुगेको छ । गाउँको सबैभन्दा राम्रो पक्ष भनेको विदेश पढ्न गएका शतप्रतिशत विद्यार्थी गाउँ फर्किएर त्यहीँकाम गर्ने गर्दछन् । सन् १९६१ मा औपचारिक स्थापना भएको बेला ह्वासी गाउँ एकाइमा गाउँलेको प्रतिव्यक्ति ऋण १५०० युआन थियो । जहाँ उ रनपाओले आफ्नो नेतृत्व गरी सत्तरीको दशकमा उर्बर जमिनको सिर्जना, असीको दशकमा कारखानाको निर्र्माण अनि नब्बेको दशकमा सहर निर्माणको परिकल्पनामात्र नभई साकार पनि पारे । साकार पारिएको समयसम्मको त्यहाँका मान्छेहरूको ‘छन् आठ’ र ‘छैनन् आठ’ जस्ता अपत्यारिलो कुरा दशकौँ अघिदेखि पाइसकेका छन् । ‘छन् आठ’ भनेको हाइस्कूलसम्मको निःशुल्क शिक्षा, ज्येष्ठ नागरिकको उचित स्याहार, आवास भवन सामूहिक वितरण, औषधोपचारको क्षतिपूर्ति, गाउँमै सुपरमार्केटको सुविधा, टेलिभिजन, थिएटर र पिपुल्स पार्कको सुविधा, सबैखाले परिकारका रेस्टुरेन्टको व्यवस्था र अन्तिममा एउटादेखि दुइटा कार आदि सुविधाहरू हुन् । त्यसैगरी सुन्दाखेरि ‘छैनन् आठ’ सुविधा नभएकोलाई भनेको जस्तो सुनिन्छ । तर ‘छैनन् आठ’ का बुँदाहरू पढ्दा साँच्चिकै अनौठो लाग्नेछ । ती थिए खाद्यान्न घरसम्म पु¥याइने हुनाले अन्न बोक्नुपर्ने छैन । घर–घरमा धाराको पानी नियमित व्यवस्था भएकोले पानी तान्नुपर्ने समस्या छैनन् । प्राकृतिक ग्यासको सुविधा भएकोले दाउरा बाल्नुपर्ने छैन । आधुनिक मापदण्डयुक्त पम्पबाट चलेको पानी भएकोले घर घरमा शुद्धिकरण गर्नुपर्ने छैन । तातो पानीको छुट्टाछुट्टै पाइपको व्यवस्था भएकोले घरघरमा पानी तताउनुपर्ने छैन । घरघरमा टेलिफोनको सुविधा भएकोले दूरसञ्चारको लागि टाढा जानुपर्ने छैन । एयरकन्डिसनको व्यवस्था भएकोले जाडो या गर्मीमा टाउको दुखाउनुपर्ने छैन । छाना भएको लामो मार्गबाट जहाँपनि जान सकिने भएकोले वर्षायाममा भिज्नुपर्ने छैन ।
यसरी आफूले नेतृत्व गरेको गाउँका जनतालाई अनेक सुविधा दिएका उनले न दर्शनशास्त्र पढेका थिए न त कलेज नै धाएका थिए । तैपनि, उसले माक्र्सवादी दर्शन र आधारभूत सिद्घान्तका वास्तविक सारतत्वलाई ग्रहण गर्ने खालको समुदायको रूपमा स्थापित गर्ने नेतृत्व गरे । जहाँउनले गरिबीमात्र हटाएनन् बल्कि खुद प्रतिव्यक्ति आय दसौँ हजार डलरसमेत पु¥याए । उ रनपाओको सफलता उच्च विश्वास र दृढ सङ्कल्पले गर्दा नै हो । अनि उनलाई महान् बनाउने कुरा भनेको उनले आधुनिकीकरणका लागि आफ्नो व्यावहारिक दृष्टिकोण र धैर्यबाट सिर्जना गरेको ह्वासीस्पिरिट मोडेल हो ।
राजनीतिक जीवनमा धेरै उतारचढाव भोगेका उले दुई साध्यमा विशेष ध्यान दिएका थिए । ती थिए ः सबै तहका पार्टी सङ्गगठनहरूसँग सहमति बनाइराख्ने र जनसमुदायसँग सौहार्दता कायम राख्ने हो । उनका अनुसार असल कार्यकर्ता बन्ने माशख्याल गरियो भने आफ्नो बखान गर्नतिर लागिन्छ र आफ्नो कमीकमजोरी देख्न छाडिन्छ । उ रनपाओले झिनामसिना कुरालाई ध्यान नदिई ‘सुधार गर अनि खुलस्त भन’ को नीतिमा निर्भर रहेर काम गरिरहे । ‘आन्तरिक सुधार र बाह्य खुलापनको नीति’ लाई चिनियाँँकम्युनिस्ट पार्टीमा सुधारकहरूले ‘चिनियाँँविशेषतासहितको समाजवादी बजार अर्थव्यवस्था’ को स्थापना गर्ने उद्देश्यबाट १९७८ मा सुरुवात गरेका थिए । यसकै आधारमा काम गर्दै ‘चीनको अब्बल गाउँ’ भन्ने दर्जा र सम्मान उ रनपाओको ह्वासी गाउँमै आयो । उनले आफ्नो गाउँको लागि बनाएको गीत यस्तो थियो ।
ह्वासीको आकाश जो तिमी देख्छौ पार्टीको आकाश हो ।
ह्वासीको धर्ती जो तिमी टेक्छौ समाजवादी धर्ती हो । …
यसरी समाजवादको सिद्घान्तलाई अवलम्बन गर्दै दसनङ्ग्री गरेर जोडेको सारा पुँजी सङ्कलन गरेर परिचालन गरे । अनि, बजार चलाउने प्रयत्नमा पनि बिलम्ब गरेनन् । यही प्रयत्नमा उनले फरक ढङ्गले सोच्दै ‘पैसा सापटी लिने अनि अघाउँजी खाने’ भन्ने धारणा ल्याए । त्यसबेला उनले करोडौँ युआन सापट लिएर नयाँउद्योगहरूका उत्पादनमा लगानी गरेका थिए । जसले गर्दा किसानको छवि फेरिएर सयवटा शीर्षस्थ औद्योगिक प्रतिष्ठानहरूको दर्जामा पुग्ने गरी अक्कासिएको थियो ।
सुरुमा दरिद्रता व्यहोरेका उनको ठूलो इच्छा आफ्नो गाउँलेको कुपोषणले ग्रस्त पहेँलो भएको अनुहार र ख्याउटे शरीरलाई कुपोषणबाट जोगाउने लक्ष्य थियो । त्यसको लागि जति पनि खान पाउने भोजनकक्ष सञ्चालन गरेका थिए । उनले पन्ध्र वर्षमा समाजवादी गाउँमा रूपान्तरण गर्ने लक्ष्यलाई मूर्तरूप दिन फौजी जत्थासँगै रहेर सिपाहीको रूपमा सेवा गरे । परिणामस्वरूप सात वर्षमा लक्ष्य पूरा भयो र कृषिमा विकसित मोडेल, फराकिला पदमार्ग, सेता घरमा हरियो झिँगटीको गाउँ बनाएका थिए । गाउँलेको कडा परिश्रमले गर्दा कसैले त्यस गाउँमा बिहे गरेरसम्म नआउने दुःखद परिस्थिति थियो । चाओ माओमेई नाम गरेकी आइरन गल्र्सले तिनै अस्वीकृत केटासँग विवाह गरेर देखाइदिएकी थिइन् ।
उ रनपाओ पार्टीलाई धेरै सम्मान गर्थे तर ‘बिहान निर्देशन माग्ने र बेलुका गरेका कामको बेलिबिस्तार लगाउने’ अनि ‘निष्ठाको नृत्य’ गर्नेमा पटक्कै विश्वास गर्दैनथे । उनले तीन अतिवाद रुढीवाद, औपचारिकतावाद र नोकरशाहीवादलाई उछित्तो काढ्न ७०÷८० वर्षको उमेरमा समेत पूर्ण अवकाश लिएनन् । ‘पुजीँवादी बेर्नाभन्दा समाजवादी घाँस पाएकै राम्रो’ भन्ने जमानामा उनले एउटा हार्डवेयर कारखाना चलाएका थिए, सामूहिक अर्थव्यवस्था सुदृढ बनाउनका लागि । एउटा हार्डवेयर कम्पनी र एउटा मिलको भरमा उनले साठीको दशकमा दस लाख युआनभन्दा बढी स्थायी र उत्तिकै नगद मौज्दात सञ्चित गरेका थिए । तीनवटा क्रान्तिकारी सफर उनले तय गरे । ती थिए : सत्तरीको दशकमा उर्बर जमिनको सिर्जना, असीको दशकमा कारखानाको निर्र्माण अनि नब्बेको दशकमा सहर निर्माण । १९७० को दशकमा उनले नयाँ समृद्घ समाजवादी गाउँ निर्माण गर्न कैयौँ खाका तयार गरिसकेका थिए । त्यसैकारण खेतीलाई ठेक्का अभिभारा प्रणालीमा लग्ने र गाउँलाई औद्योगिकीकरणको मार्गमा लग्ने निर्णय गरे । उनले गरेका अन्वेषणमध्ये असीको दशकमा कारखानाको निर्र्माण नै कोसेढुङ्गा सावित भयो । कारखाना निर्माण गर्ने क्रममा छङ् सियानमिन भेटिनु पनि राम्रो संयोग थियो । उनी ३९ वर्षमा सिआन च्याओयोङ विश्वविद्यालयबाट आएका थिए । उनको मेजर विषय मेसिन उत्पादन थियो । जहाँउनले आफूलाई आफ्नो गाउँले सम्झेर ३०० युआन मागेका थिए । तर, उ रनपाओले पहिलो वर्ष ३०००, दोस्रो वर्ष ५०,००० भन्दा बढी दिएपछि उनी त्यही गाउँमा बसाइ सरे । तीन वर्षमा एउटा हरियालीमय र वातावरणमैत्री कारखानाको निर्माण पनि गरे । दक्षिण चियाङ्गसुको मोफसलमा यो नै उचाइमा सबैलाई सानदाररूपमा उछिन्ने पहिलो औद्योगिक पार्क हुनपुग्यो । वार्षिक उत्पादन दश करोडभन्दा बढी अर्थात् लक्ष्त्न्दा माथि पुग्यो ।
सन् १९८० को दशकमा चिनियाँँकिसानको लागि ‘दश करोड युआनको गाउँ’ बन्यो । त्यो गाउँ ‘न स्वदेशी न विदेशी’ डिजाइनको थियो । किनकि, विदेशी देखियो भने किन विदेशीजस्तो बनाइस् भन्थे । स्वदेशी देखियो भने जति धनाढ्य भए पनि किसानै रहेछौ भन्थे । उनले तीनवटा – करणमा विशेष ध्यान दिएका थिए । ती थिए ः सुन्दरीकरण, निर्मलीकरण र हरितीकरण । यसले गर्दा परबाट हेर्दा वैकुण्ठको सुखमय नन्दन उद्यानजस्तो देखियो । गाउँको पङ्क्तिबद्घ बहुरङ्गका चिनियाँँ र युरोपेली शैलीका ग्रामीण भिल्लाहरूमा गाउँकै प्रतीकको रूपमा स्थानीयपन देखिन्थ्यो । परम्परागत हिसाबले भन्ने हो भने सहर निर्माण गरेपछि जहिले पनि प्राकृतिक मोफसलको मौलिक भूगोल विनास हुने गर्दथ्यो । तर, यहाँ भने बाह्य वास्तुकला र आन्तरिक सजावट यस्तो थियो, जुन एक सय वर्षमा पनि पुरानो हुने थिएन । योजना गर्ने र ठाउँ छान्ने सवालमा उनीहरूले आधुनिक सहरी भवन र साधारण ग्रामीण प्राकृतिक दृश्यको सामञ्जस्यपूर्ण एकीकरणलाई जोड दिए । सय वर्षमा पनि पुरानो नहुने खालको योजना र गुणस्तरले स्वाभाविकरूपमा ठुलो लाभ दिने गर्दछ । विगतमा किसानहरूले आफूले अलिक हुनेखाने भएको महसुस गर्ने बित्तिकै नयाँ घर बनाउने गर्थे । तिनीहरूले थुप्रै सम्पत्ति सञ्चय त गरे तर यो बारम्बार घर बनाउने प्रवृत्तिले गर्दा कहिल्यै धेरै सम्पत्ति बाँकी रहेन । यस गाउँमा रहेको किसानपार्क गाउँको सांस्कृतिक अवधारणाको प्रतिनिधि थियो । यो त विदेशी होइन है भन्नेमा मुखरित हुन्थ्यो । पार्कभित्र स–साना पुलहरू थिए । स–साना डुङ्गाहरू यता र उता गरिरहेका थिए । चराचुरुङ्गीका चिरबिर आवाज, मन्दमन्द समीर लहराइरहेका नर्कटधारी, सुमधुर सङ्गीतलहरी थिए । सबैभन्दा बढी ध्यानाकर्षण गर्ने भाग ‘चिनियाँँ जनता आरुबारीमा भाइचाराको कसम’, ‘पराले झुपडीमा तीन पटक पुग्दा’ अनि ‘चौबीस सन्तानको प्रतिमान’ भएको ठुलो हल थियो । ह्वासी गाउँभित्र रहेको ह्वासी पार्कमा भने वैदेशिक दृश्यावली थियो । त्यहाँ त अमेरिकी ह्वाइटहाउस, बेलायतको प्राचीन क्यास्टल, पेरिसको आर्क डे ट्रियोम्फदेखि चेक गणतन्त्रका ग्रामीण भिल्लाहरूसम्म थिए । यहाँ गाउँले तथा पर्यटकहरू भारत गएर ब्रेकफास्ट खान सक्छन् र जापान गएर रात बिताउन सक्छन् । यो सर्वदेशीय पार्कमा सबैखाले विदेशी भाषाको सेवा, खानपिनका लागि सबैखाले खाना र पेय थिए । त्यतिमात्र नभई कदर गर्नका लागि सबै प्रकारका संस्कृतिहरू उपलब्ध थिए ।
उ रनपाओको एक प्रसिद्घ कथन थियो, ‘समृद्घि जति जनताले बाँडेर लिने हो अनि कठिनाइ आइपर्दा हाकिमहरूले वहन गर्ने हुन् ।’ यो साँच्चिकै त्यस गाउँमा देख्न सकिन्थ्यो । ज्येष्ठ नागरिकका लागि भीआईपी भिल्ला निर्माण गरिएको थियो । जहाँ विश्वमा कल्पना गर्न नसकिने सुविधा थियो । यहाँ इन्डोर स्विमिङ पुलहरू थिए । त्यतिमात्र नभएर वृद्घवृद्घाका लागि छुट्टै सम्मान थियो । जुन घरमा नब्बे वर्षभन्दा माथिका वृद्घवृद्घा हुन्छन्, उनका नातेदारले हरेक वर्ष १०,००० युआन पुरस्कार गर्दछन् । बाबुआमाप्रति बफादार र कर्तव्यपरायण हुन सिकाउनैपर्ने उनको विचार थियो । १०० वर्ष बाँच्नुले शारीरिक र मानसिक स्वास्थ्यको कुरामात्र नभई नयाँ पुस्ताहरू आफ्ना अग्रज ज्येष्ठ नागरिकप्रति सन्ततिजन्य आदर गर्न पनि अब्बल रहेको देखाउँछ । सबैलाई सुविधा दिएर पनि उनी आफू सधैँ त्यहीँ पुरानो घरमै बसे । त्यो उनको आडम्बर नभई आफूले बसालेको तीनथोक नगर्ने नियमभित्र पथ्र्यो । ती नियम थिए : सबभन्दा बढी तलब नलिने, गाउँको भव्यतम घरमा नबस्ने र बोनस नलिने । उनले जीवनभरि यो नियम पालना गरेरै देखाइदिए । यसको बारे उनी भन्थे, तपाईँको घर सुनैसुनले भरिए पनि खाने तीन छाक नै हो । जति ऐय्यासीको घर भए पनि सुत्नलाई चाहिने एक ओछ्यान नै हो । यसबाहेक उनी पार्टी सदस्यहरूलाई पार्टीको भावना, जनहितको अभिलाषा र सद्विवेक चाहिने कुरामा अडिग थिए । त्यसैगरी काम कुरालाई गम्भीरता र निष्पक्षताका साथ समाल्ने, इमानदारीसाथ सञ्चालन गर्ने अनि जनसाधारणको विश्वास आर्जन गर्ने उनको सिद्घान्त थियो । दैनिक जीवनका लागि पनि तीन नियम बनाएका थिए । पहिलो जाँडरक्सी छुँदै नछुने, पाहुना पाल्दै नपाल्ने र जनसमुदायले खाना खाने टेबलमा नखाने । उ रनपाओ ८० वर्ष पुग्दासमेत धेरैले भन्थे, “सचिव बाको मानसिक तन्दुरुस्ती र काम गर्ने उत्साह त नवजवानको जत्तिकै पो छ त ।” किनकि उनी त्यतिबेला पनि बिहान चार पाँच बजे उठेर गाउँ, कारखाना हुँदै निरीक्षण भ्रमण गर्दै बेलुका नौ, दस बजेमात्र घर पुग्थे ।
यसरी उ रनपाओको अथक मेहनतमा बनेको ह्वासी गाउँमा अहिले लाखौँ पर्यटकहरू आउने गरेका छन् । जो पनि त्यहाँको भ्रमण गर्छन्, त्यहाँको तारिफ नगरी रहन सक्दैनथे । जर्मनीका एक नेताले भनेका थिए, “माक्र्सले सय वर्षअगाडि परिकल्पना गरेको समाजवादी र साम्यवादी समाजको सच्चा ऐश्वर्यलाई चियाउने झ्याल त ह्वासी गाउँको ऐश्वर्यमा पो फेला पा¥यौँ ।” एकजना मान्छे धनी भएकोलाई सम्पत्तिको रूपमा हेरिँदैन । सिङ्गै गाउँ धनी भयो भनेमात्र जनता यथार्थमा सुसम्पन्न हुने लक्ष्यमा पुग्छन् । यहाँका जनताले लक्ष्यमा मात्र पुगेनन् सम्पत्ति आर्जन गर्ने आधारभूत सिद्घान्त पनि पालना गरे । ती सिद्घान्तभित्र कठोर परिश्रम गरी आत्मप्रेरित हुने, मेहनती र मितव्ययी हुने, ज्ञान र प्रतिभालाई महत्व दिने, इमानदारीको सम्मान गर्ने र कानुनको पालना गर्ने कुराहरू पर्दथे । त्यसैगरी उ रनपाओको सम्पत्तिसम्बन्धी दुई सिद्घान्तमा ‘सम्पत्तिले भरिएको थैली र सम्पत्तिले भरिएको दिमाग थिए ।’ थैलीमा गाँठ छैन भने दिमागी गाँठको त कुरै भएन । थैलीमा भरिएका गाँठले नै दिमागी गाँठको आधार सिर्जना गर्ने हो । ‘दिमागी गाँठ’ भनेको एक किसिमको मानसिक अवस्था हो । यस्तै मानसिक अवस्थाका लागि उ रनपाओले ‘६ प्रेम’ भन्ने मापन एकाइ बनाएका थिए । ती थिए : पार्टीको माया, देशको माया, गाउँको माया, आफ्नो घर परिवारको माया, साथीभाइलाई माया र आफैलाई माया । यही मायाको शिक्षणले गर्दा नै हो हरेक विश्वविद्यालय पढ्न गएका गाउँले आफ्नो मायालुसमेत लिएर गाउँमा नै फर्कन्छन् । त्यसमा उनी परम् आनन्द ठान्थे ।
यसरी यस विशाल र अति आकर्षक गाउँमा औद्योगिक क्षेत्र, बसोबास क्षेत्र, फुर्सद तथा मनोरञ्जन क्षेत्र, पर्यावरणीय खेती क्षेत्र र पर्यटकीय दृश्यावलोकन गर्ने क्षेत्रहरू समाविष्ट छन् । सन् २००४ मा नै यस गाउँका जनताको प्रतिव्यक्ति आय ६००० अमेरिकी डलर नाघिसकेको थियो । उनले यो वैभवलाई आफ्नो गाउँमा मात्र सीमित राखेनन् । निङ्स्या, ख्हेलोङचियाङ र चियाङसीजस्ता ठाउँहरूमा समेत बाँडे । बारम्बार उनी भन्थे, “समाजवाद भनेको जनतालाई सम्मुन्नत जीवन बाँच्न सक्ने बनाउनु नै हो ।”
यसरी यस पुस्तक पढेर धेरै प्रेरणाहरू पाउन सक्छौँ । एक साधारण किसानको समर्पित जीवन र सामूहिक प्रयासले एक गाउँको प्रगति देख्न सक्छौँ । उनका विभिन्न भनाइ र जीवनका उत्तारचढावबाट समेत थुप्रै सिक्नुपर्ने कुरा छ । नीति निर्मातादेखि लिएर गाउँ सहर निर्माण र व्यक्तिको जीवनस्तर उकास्ने प्रयास गर्ने सम्पूर्णलाई यो पुस्तक प्रेरणादायी र मार्गदर्शक बन्न सक्छ ।
प्रतिक्रियाको लागि
methodconsultancy@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *