भर्खरै :

अक्सिजन नपाउँदा कोभिड बिरामीको निधन

बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा बुधबार साँझ अक्सिजन सकिँदा आईसीयूमा उपचाररत ५ जनाको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले अस्पतालमा अक्सिजन सकिँदा बिरामीलाई बचाउन सकिएन भन्नुभयो । सूचना अधिकारी डा. गौतमले भन्नुभयो, “अक्सिजन सकिएपछि हाई फ्लो दिनुपर्ने ५ जना बिरामीको भर्खरै मृत्यु भयो ।” अस्पतालको मागअनुसार आपूर्तिकर्ताहरूले अक्सिजन उपलब्ध गराउन नसकेको जनाउँदै डा.गौतमले अस्पतालका तीन वटै सप्लायर्स उद्योगमा अस्पतालको दुई दुई वटा गाडी स्टान्डबाई राख्ने गरेको छ भन्नुभयो । “अहिले पनि बाटोमा आउँदै भन्ने सुनेको छु । कुन बेला आइपुग्ने हो ? र बिरामीले अक्सिजन पाउने हो ?” प्रवक्ता डा. गौतमले भन्नुुुभयो ।
यसअघि बुधबार मध्याह्नमा लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले प्रेस विज्ञप्ति जारी गरी अस्पतालको इमर्जेन्सी वार्ड र कोरोना विशेष अस्पतालमा भर्ना भई उपचार गरिरहेका ६ जना बिरामीको मृत्यु भएको जनाउनुभएको थियो । नयाँ भेरिएन्टको कोरोना भाइरस सङ्क्रमण दरवृद्धि भएसँगै सबैतिर अक्सिजनको माग बढेको छ तर अक्सिजन उत्पादकहरूले साविक क्षमताअनुसार पनि उत्पादन गर्न नसक्दा अक्सिजनको हाहाकार भएको छ । अक्सिजनको अभावमा कोभिड–१९ का श्वासप्रश्वाससम्बन्धी जटिल बिरामीहरू बिनाउपचार मृत्यु भइरहेका छन् ।
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सले बुधबार एक जरूरी सूचना जारी गरी दिनको ३ देखि ४ बजेसम्म मात्र अक्सिजन उपचार दिनसकिने अवस्था रहेको हुँदा त्यसपछि हुनसक्ने भवितव्यलाई मध्यनजर गरी सम्पूर्ण उपचाररत बिरामी पक्षहरूलाई यथाशीघ्र आ–आफ्नो व्यवस्थापनको लागि हार्दिक अनुरोध गर्दछौँ भनेको छ । शिक्षण अस्पतालले एक हप्तादेखि विभिन्न उपायहरू अवलम्बन गर्दागर्दै पनि सहज आपूर्ति हुन नसकेको जनाउँदै सूचनामा अस्पताललाई दैनिक करीब ७०० बढी हाराहारीमा ठुलो अक्सिजन सिलिन्डर आवश्यक भएको उल्लेख छ । शिक्षण अस्पतालका कर्मचारीहरू रातभर सीडीओ कार्यालय र अक्सिजन उद्योगमा बसेर पनि बिहान रित्तै फर्केको उल्लेख गर्दै कलेजका डा.पवन बरालले डाक्टर्स सोसाइटी अफ नेपालको फेसबुक पेजमा लेख्नुभयो, “बिनाअक्सिजन त म एउटा ढुङ्गाजस्तो मात्रै हो । अब यी बिरामी मरेको टुलुटुलु हेर्नेबाहेक केही उपाय देख्दिन ।” युनिभर्सल कलेजको लागि ल्याउँदै गरेको अक्सिजनको गाडी चितवन जिल्लामा रोकिएपछि गए राति कलेजका कर्मचारीहरू रूपन्देही सीडीओ कार्यालयमा सहयोग माग्न गएका थिए ।
रूपन्देहीमा अक्सिजनको चरम अभाव भएपछि यहाँका ‘शक्तिशाली’ नेताहरूको नामावली नै लेखेर तिनीहरू कहाँ छन् ? भन्दै सामाजिक सञ्जालमा भाइरल बनाइएको छ । आफ्नो निर्वाचन क्षेत्रका अस्पतालहरूमा अक्सिजनकै अभावमा बिरामीहरू भकाभक मर्दा पनि यस क्षेत्रबाट निर्वाचित सांसदहरू सत्ताकै दाउपेचमा मग्न छन् । शासक दलका नेताहरूको रवाफ देखेर भैरहवाका पत्रकार दीपेन्द्र बडुवाल लेख्नुहुन्छ, “अब त अभावबारे लेख्नसमेत जाँगर चलेन । यस्तो महामारीमा नेता/कार्यकर्ताको रवाफ ! झन् मानसिक समस्या नै आउला जस्तो भो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *