भर्खरै :

महामारीमा समुदायको भूमिकाबारे अनलाइन छलफल

कोभिड – १९ को महामारी नियन्त्रणमा समुदायको भूमिकाबारे अनलाइन छलफल भएको छ ।
नेपाल मजदुर किसान पार्टी, भनपा वडा नं ८ एकाइ समितिले बुधबार आयोजना गरेको कार्यक्रममा नेकिपाका केन्द्रीय सदस्य एवम् भनपाका प्रमुख सुनिल प्रजापतिले नगरवासीको सचेत व्यवहार तथा पहलबिना महामारी नियन्त्रण कायम नहुने धारणा राख्नुभयो ।
उहाँले कोभिड महामारी नियन्त्रणको निम्ति भक्तपुर नगरपालिकाले एउटा आइसोलेसन सेन्टर सञ्चालन गरेको र आवश्यकताअनुसार थप आइसोलेसन सेन्टर खोल्नेबारे आवश्यक गृहकार्य भइरहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले भनपामा रोगीको सम्पर्कमा आएका मानिस पत्ता लगाउन कन्ट्याक्ट ट्रेसिङलाई प्राथमिकता दिइरहेको भन्दै पीसीआर रिपोर्ट नआएका बिरामीको निम्ति आकस्मिक उपचार र फिबर क्लिनिक सञ्चालन गरिरहेको बताउनुभयो । भनपाको आइसोलेसन केन्द्रमा सामान्य बिरामीको उपचार गरिने र जटिल केस भक्तपुर अस्पतालमा पठाउने गरेको प्रमुख प्रजापतिको भनाइ थियो ।
उहाँले महामारी नियन्त्रणमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच पर्याप्त समन्वय नभएको उल्लेख गर्दै प्रदेश सरकारले स्थानीय तहबाट सञ्चालित अस्पताल तथा स्वास्थ्य केन्द्रहरूलाई आवश्यक चिकित्सक तथा स्वास्थ्य जनशक्ति व्यवस्था गर्न सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले कोरोना महामारीकै समयमा समाजमा वैज्ञानिक चिन्तनको विकासको काम सँगसँगै लान सकिने भन्दै स्वयम्सेवक परिचालन गरी घरघरमा आइसोलेसनमा बसेका बिरामीको स्वास्थ्य स्थिति बुझ्न सकिने र आवश्यक सहयोग गर्न सकिने बताउनुभयो । उहाँले समुदायमै रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीले टेलिफोन वा भच्र्युअल माध्यमबाट घरघरमा चिकित्सा परामर्श दिनसक्ने उहाँको तर्क थियो ।
भनपा वडा नं ८ का वडाध्यक्ष महेन्द्र खायमलीले बुधबारसम्ममा वडामा १०८ जना कोभिड–१९ बाट सङ्क्रमित भएको भन्दै विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रमको कारण रोग फैलिरहेको विचार राख्नुभयो ।
कार्यक्रममा नेमकिपा भनपा वडा नं ८ एकाइ समितिका अध्यक्ष कृष्णप्रसाद कोजू, सचिव रामसुन्दर बासी, शिक्षक योगन्द्रमान बिजुक्छेँ, डा. सत्यनारायण सुुवाल, कमलराज गोसाईलगायतले महामारी नियन्त्रणबारे आफ्नो विचार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *