भर्खरै :

अक्सिजन सकिन लागेको आईसीयू कक्षमा

आईसीयूमा सीपीएपी र भेन्टिलेटर मेसिनहरूको टिट्टिट् र तुइँतुइँको आवाज आजभोलि बढेको छ । नहोस् पनि कसरी ! १७ – १८ वटा मेसिनको निरन्तरको आवाज ! रोकिनु पनि त भएन । तिनै मेसिनहरूको आवाजसँगै कतिको श्वास फोक्सोभित्र जाने र बाहिर निस्कने प्रक्रिया चलिरहेको छ । बरू चर्को लागे पनि, झर्को लागे पनि मेसिनहरूको आवाज बजेकै राम्रो ! यही सोच्दै चारैतिरका शय्याहरूमा सरसरती आँखा डुलाउँछु, सबै शय्या बिरामीहरूले भरिएका छन् । प्रायः जसो सीपीएपीको मास्क लगाएर बसेका निन्याउरा अनुहारहरू । २० मध्ये १९ वटा त पोष्ट कोभिडका बिरामी रहेछन् । नर्सहरू आ–आफ्नै काममा व्यस्त छन् । कोही बिरामीको ढाड थपथपाउँदै चेस्ट फिजियोथेरापी गरिरहेका छन् । कोही पर्दा पछाडि भर्खरै बितेको बिरामीको ईसीजी लिने तयारी गरिरहेका छन् । कोही कागजी कामहरूमा व्यस्त छन् । एउटी नर्स अन्दाजी २० वर्षकी ‘क्युट’ देखिने बिरामीको कति दिनदेखि लट्टा परेको कपाल कोर्दै छिन् ।
अर्को एउटा सिस्टर हातमा ८–१० वटा फोटोकपी पेपरको चाङ लिएर बसेकी छिन् । त्यसमा लेखिएको छ, “उच्च जोखिम मञ्जुरीनामा …अक्सिजनको अभावले मेरो बिरामीको ज्यान तल–माथि भएमा अस्पतालका डाक्टर, नर्स, कर्मचारीहरूलाई केही दोष दिनेछैन भनी हस्ताक्षर गर्छु ।” यसरी एक चाङ नै उच्च जोखिममा परेका बिरामीको मञ्जुरीनामा लिएको पहिलोपटक देख्दै छु ।
सामुन्नेमा आईसीयू–८ को भिजिटर (बिरामीको आफन्तजन) उभिएका छन् । “यो एकपटक पढ्नुहोला र हस्ताक्षर गर्नुहोला” भन्दै एउटा फोटोकपी पेपर दिन्छिन् ।
“पढ्नुपर्ने के छ र ¤ डाक्टर साहेबले सबै बताइसक्नुभयो ।”
लरबराएको मलिन स्वर सुनियो । “अब कति बेरसम्म चल्छ होला ?”
जानकार हुँदा हुँदै पनि कुनै सकारात्मक उत्तर पाइने आशामा सोधिएको प्रश्न थियो यो ।
“सूचनाअनुसार त चार बजेसम्म हो” तर सोचेअनुसार उत्तर आएन, उत्तर पूरा हुन नपाउँदै अर्को प्रश्न, “झ्याप्पै जान्छ हो ?” उनलाई सायद लाग्दो हो बिजुलीको बत्ती निभेजस्तै अक्सिजनको लाइन पनि अकस्मात् रोकिन्छ र त्यससँगै उनको बुबाको श्वास पनि झ्याप्प … ! त्रासको कालो बादल उनको अनुहारमा प्रस्ट झल्किन्छ एक्कासि ! विरक्तिएर छेउको कलम अपर्झट उठाउँछन् अनि मञ्जुरीनामा आफ्नो नाम, ठेगाना, मिति, नाता लेख्छन् अनि टक्क अडिन्छन्, उसको हात काँप्न थाल्छ, केही सेकेन्डपछि हस्ताक्षर गर्छन्, सहीछाप लाउँछन्– दायाँ–बायाँ ।
गहभरि आँसु राखेर सरासर शय्या नं. ८ तिर हुटिन्छन् र आफ्नो बुबालाई मायाले एकनासले हेरिरहन्छन्, तर हेर्न सक्दैनन्, अन्तै फर्किन्छन् । मनभित्र ग्लानी हुँदो हो– “मैले आफ्नै बुबाको मृत्यु पत्रमा मञ्जुरी दिएँ ।” त्योबाहेक गर्न नै के सकिन्छ र ? कस्तो विवशता, कस्तो लाचारी !
अब आईसीयू शय्या नं. ९ को पालो । दृश्य उस्तै मात्र पात्रहरू फरक–फरक । कसैकी श्रीमती उभिएकी छिन्, जसको श्रीमान आईसीयू शय्यामा मृत्युसँग लड्दै छन् । एकचरण रोएर आँखा सुनिसकेका, रातो भइसकेका फोनमा बोल्दै थिइन् । सिस्टरलाई भनिन्, “अन्त शय्या मिल्छ कि बुझ्दै छु । एकछिनपछि सहिछाप लाउँदा हुन्छ ?”
“मिल्न त मिल्छ, तर अलि चाँडो गर्नुहोला, समय धेरै छैन ।”
सिस्टरको हतारिएको तर नम्र जवाफ, “विचरीले धेरै ठाउँमा धेरै मान्छेलाई, धेरै पटक फोन गरिन् । तर, यो अभाव यहाँको मात्र होइन । जति नै हार–गुहार गरे पनि अक्सिजन र शय्या पाउने अवस्था छैन ।” केही क्षणपछि आफ्ना थकित पाइला सुस्तरी सार्दै उनी आइन्, सहीछाप र हस्ताक्षर गरिन् अनि सरासर त्यही चालमा आफ्नो श्रीमान भएतर्फ लागिन् । केही बोलिनन् । न कुनै प्रश्न, न कुनै जवाफ, न त व्याख्या, न त अनुरोध, न कसैमाथि रिस, न कसैसामु बिलौना । मात्रै मौनता ! किनकि उनलाई थाहा छ, ती केही कुराको यतिबेला कुनै औचित्य छैन ।
बाहिर सुरक्षा गार्डको आवाज सुनिन्छ, “आइसीयू–११, आइसीयू–१२, आइसीयू–१३ को मान्छे आउनुहोस् ।” फेरि तिनै दृश्यहरू … । मञ्जुरीनामाका लहरहरू एकपछि अर्को !
भो सकिनँ मैले !
अन्त्यमा, आइसीयूबाट निस्कनुअघि सीपीएपीको अक्सिजन मास्कले छोेपिएका ती हरेक बिरामीहरूलाई सरसरती नियाल्छु, देख्छु, उनीहरू पर्खिरहेछन् ।
बाहिर पनि बिरामीका कुरूवाहरू एकलाइनमै भुइँमै बसिरहेका छन् । उनीहरू पनि पर्खिरहेका छन्, दुईमध्ये कुनै एक खबर ‘अक्सिजनको आपूर्ति हुने भयो रे ¤’ त्यससँगै हर्षको श्वास अलि लम्बिनेछन् होला, आफ्ना प्रियजनहरूको जीवनका रेखाहरू ।
“अक्सिजनको आपूर्ति बन्द हुने अरे ।” त्यससँगै बज्नेछ मुटु छेड्ने अलार्म अनि सुरू हुनेछ कोलाहाल, रोदन, क्रन्दन !
तर, सबैको इच्छा र कामना एउटै : हर्ष अनि आशा – ‘अक्सिजनको आपूर्ति !’
(लेखक भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा एमबीबीसी इन्र्टन चिकित्सक हुनुहुन्छ । बुधबार अक्सिजनको अभावको कारण युनिभर्सल मेडिकल कलेजको आइसीयु कक्षको दृश्य चित्रण यो लेखमा गर्नुभएको छ । अन्तिम समयमा अक्सिजनको व्यवस्था भएपछि बिरामीहरूले अक्सिजन पाएका थिए ।)

2 responses to “अक्सिजन सकिन लागेको आईसीयू कक्षमा”

  1. Anwiti says:

    mann chhoyo didi

  2. Raghu k.C. says:

    देशमा बिध्यमान वर्तमान परिस्थितिकाे सहि चित्रण,,,अनुभव शेयर गर्नु भएकाेमा धेरै धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *