भर्खरै :

१८ हजार सिलिन्डर आइपुगे नेपाल

काठमाडौँ, २ जेठ । सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल पु¥याएको छ । स्थलमार्ग हुँदै आइतबार १८ हजार सिलिन्डर नेपाल आइपुगेको हो । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको जानकारी दिनुभयो । उहाँका अनुसार तातोपानी नाकामा सिलिन्डर चीन सरकारले हस्तान्तरण गरेपछि काठमाडौँ ल्याइनेछ ।
सिलिन्डरको अभाव हुन थालेपछि सरकारले चीन सरकारबाट अनुदानमा २० हजार खाली सिलिन्डर ल्याएको हो । यसअघि ४०० सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको थियो । अठार हजार आइसकेपछि बाँकी एक हजार ६०० सिलिन्डर पनि जहाजबाट ल्याउने तयारी भइरहेको छ ।
यस्तै आइतबार चीनबाट ५५० अक्सिजन सिलिन्डर नेपाल वायुसेवा निगमको वाइड बडी विमानले ल्याउँदै छ । शनिबार सिलिन्डर ल्याउनका लागि जहाज चीन गएको थियो । शनिबारमात्र ओमानबाट गैरआवासीय नेपाली सङ्घको सहयोगमा ५६० खाली सिलिन्डर आएको थियो । कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि अक्सिजन सिलिन्डरको अभाव हुन थालेपछि सरकारले विभिन्न मुलुकबाट सिलिन्डर ल्याउन थालेको हो ।
नेपाल सरकारलाई ५६० अक्सिजन सिलिन्डर हस्तान्तरण गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सुरू गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानमार्फत नेपाल ल्याइएका ५६० अक्सिजन सिलिन्डर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । पश्चिम एसियामा रहेका नेपाली एवं ओमानस्थित नेपाली दूतावासको सहयोग तथा सहकार्यमा शनिबार नेपाल ल्याइएका रु. ७५ लाखभन्दा बढीको अक्सिजन सिलिन्डर आइतबार सङ्घका अध्यक्ष कुमार पन्त र संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नुभएको एनआरएनए कोभिड उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।
ओमानदेखि काठमाडौँसम्म ल्याइएको अक्सिजन सिलिन्डर ढुवानीको खर्च भने नेपाल सरकारले बेहोरेको जनाइएको छ । सो अवसरमा स्वास्थ्यमन्त्री त्रिपाठीले सङ्कटका समयमा सहयोग गरेकोमा सङ्घप्रति आभार प्रकट गर्दै सिलिन्डर आवश्यकतानुसार लुम्बिनी प्रदेशमा २००, सुदूरपश्चिममा १००, कर्णाली प्रदेशमा १००, प्रदेश नं २ मा ८५ र गण्डकी प्रदेशलाई ७५ थान वितरण गर्न निर्देशनसमेत दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *