भर्खरै :

प्राथमिकता सिद्धान्त र विचार कि कुर्सी !

देश र जनताको सेवा गर्न भनी राजनीतिमा लागेका ठुला दलका नेताहरूको मन फराकिलो र दूरदर्शी नहुँदा देश अनिर्णयको बन्दी बन्यो र स्वास्थ्य सङ्कट निम्तियो । देशको जिम्मा लिएका ती नेताहरू सिद्धान्त र विचारभन्दा पद ठुलो ठान्छन् । तिनीहरू पार्टी र विचार छोड्न चाहन्छन् तर मन्त्री या पद छोड्न चाहँदैनन् । एमाले, नेका र जसपाभित्रका शीर्ष नेताहरूको आन्तरिक कलह र फरक मतले यही कुरा पुष्टि गर्छ । एमाले र जसपा फुटको स्थितिमा पुग्नुको कारण कुर्सी नै हो या मन्त्री बन्ने लालसा नै हो । कुर्सीकै वरिपरि घुमिरहेका नेताहरूको मनस्थितिको आकलन गरेर कति राजनीतिक विश्लेषकहरूले अनेकानेक टिप्पणी गरे र भने, जसपाका अध्यक्ष प्रम बन्दै छन्, माधवकुमार नेपाल राष्ट्रपति बन्दै छन् ।
यी टिप्पणी सत्य नै नभए पनि कुर्सीको निम्ति तँछाडमछाड गर्ने उनीहरूको क्रियाकलापले त्यस्तै सोच्न बाध्य बनाउँछ । कोरोनाको महामारी भइरहेको समयमा देशका ठुला दलका नेताहरू प्रदेश र सङ्घमा कुर्सीको तानातानमा लाग्नु या मन्त्री बन्न लालायित हुनु देशको समस्यालाई बेवास्ता गर्नु हो । प्रम केपी ओलीले किन विशेष अधिवेशन बोलाए र अल्पमतको सरकार बन्न रुचाए ? अल्पमतको सरकारले पनि निर्धारित समयभित्र विश्वासको मत प्राप्त गर्न सक्ला कि नसक्ला ? ठुला दलका नेताहरू महिनौँ दिन सत्ताको खेलमा अल्झेर देशमा अस्थिरता निम्त्याउने ? यसका सबै दोषी ठुला दलका नेताहरू नै हुन् ।
यही सत्ता स्वार्थमै अल्झिएको कारण आर्थिक वर्ष ०७८÷०७९ को बजेट छलफलको निम्ति संसदमा नल्याइने हो कि भन्ने सङ्केत सत्तारुढ दलकै नेता र मन्त्रीहरूले दिइसकेका छन् । बजेट संसदमा पास नहुने स्थिति भएमा अध्यादेशमार्फत ल्याइने या असफल भए संसद नै विघटन गर्ने चेतावनी पनि तिनै नेताहरूले दिन थालेका छन् । बजेट ल्याउने तर संसदमा छलफल गर्न नदिइने सोच के सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विशेषता हो ? अचानक बजेट ल्याएर एक्कासि पास गर्ने तरिका के विधिसम्मत हुन्छ ? देशमा अहिले डाँवाडोल स्थिति छैन  । आर्थिक आन्दोलन र राजनीतिक आन्दोलन चर्किरहेको छैन । अतः प्रजातान्त्रिक विधिबमोजिम बजेटबारे संसदमा छलफल गराइनुपर्छ ।
पहिले माओवादीको नेतृत्वमा बनेको सरकारले देशमा केही गर्ला भन्ने विश्वास थियो । नेपाली जनतामा छाएको त्यो विश्वास भताभुङ्ग भयो । झन्डै दुईतिहाइ मत प्राप्त सरकारले विकासमा कायापलट नै गर्ला भन्ने पछिल्लो विश्वास थियो । त्यो पनि चकनाचुर भयो । जति जोगी आए पनि कानै चिरेको जस्तो भयो । यी समस्या दलका नेताहरू दलगत र व्यक्तिगत स्वार्थमा अल्झेकाले भएको हो । तिनीहरू देश र जनताप्रति जवाफदेही नभएकाले भएको हो । सिद्धान्त र विचारको राजनीतिभन्दा सत्तास्वार्थलाई प्राथमिकता राख्दा निम्तिएको समस्या हो यो । सत्तासीन दलका नेताहरूको यो चर्तिकला कहिलेसम्म हेरेर बस्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *