भर्खरै :

अक्सिजन बाँड्ने काम सांसद र मन्त्रीको होइन

जिल्ला–जिल्लाका अस्पतालमा अक्सिजनको कमी भएर कोरोना पीडितहरू छटपटिएर मृत्यु भइरहेको यथार्थ हो । कोरोना सङ्क्रमित र मृत्युको सङ्ख्या पनि बढिरहेको सत्य हो । अक्सिजन, औषधि, शøया र जनशक्तिको अभाव भएर बिरामीको छटपटी र मृत्युको खबरले रोगबाट पीडित परिवार, स्थानीय जनता र स्वयं चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलित हुनु र समस्या निदान गर्न सरकारको ध्यानाकर्षण गर्नु अन्यथा होइन । यो समस्या समाधान गर्न देश विदेशको ध्यान जानु स्वाभाविक हो, सहयोगको लहर चल्नु सकारात्मक पक्ष हो । यस्तो बेला सरकारका अङ्गहरू मात्रै होइन देशका सबै राजनीतिक दल, सामाजिक सङ्घ संस्था क्रियाशील हुनुपर्छ । आ–आफ्नो जिल्लामा रहेका अस्पताल र जनस्वास्थ्य केन्द्रहरूमा अक्सिजन, औषधि र शøयाको आपूर्ति गर्न राजनीतिक दलका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि र कार्यकर्ताहरूले सरकारको ध्यानाकर्षण गर्ने र शीघ्रातिशीघ्र व्यवस्था गर्नेतर्फ लाग्नु नराम्रो होइन ।
आपूर्तिको लागि आवाज उठाउनु या सरोकारवालाको ध्यानाकर्षण गर्नु एउटा पाटो हो भने विभिन्न देश र सङ्घ संस्थाबाट प्राप्त अक्सिजन र औषधि नेता, मन्त्री, सांसद र जनप्रतिनिधिहरूले भाग लगाएर आ–आफ्नो घर या जिल्लामा लाने काम उचित होइन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सांसदहरूले आफूखुसी अक्सिजन माग्दै र बाँड्दै लगेकोमा असहमति जनाउँदै सांसद र सरकारको ध्यानाकर्षण गर्नु ठिक्कै हो । एक प्रश्नको जवाफमा प्रवक्ता गौतमले भने, “अक्सिजन वितरणको काम स्वास्थ्य मन्त्रालयले गर्ने हो, सांसदहरूले आफूखुसी अक्सिजन माग्दै र बाँड्दै हिँड्ने होइन ।”
मङ्गलबार प्रकाशित ‘नयाँ पत्रिका’ मा ‘प्रणाली भत्कियो, टुट्यो भरोसा भन्दै बलबुताका आधारमा सिलिन्डर व्यवस्थापन गर्दै सांसद र मन्त्री’ शीर्षकको समाचार छापियो । उक्त पत्रिकामा वनमन्त्री प्रेमबहादुर आलेले ‘२२ सिलिन्डर अक्सिजन रिफिल गरेर डोटी पठाए’, ‘एमाले सचेतक शान्ता चौधरी सिलिन्डर, कन्सट्रेटर, रेम्डेसिभिटसहितका स्वास्थ्य सामग्री बोकेर गृह जिल्लामा’, ‘पूर्वमन्त्री शर्माले ७९ सिलिन्डर जिल्ला पठाए’, ‘सांसदको डेरामा अक्सिजन सिलिन्डर’, ‘पूर्वमन्त्री एवं माओवादी सांसदले रोल्पा पठाए स्वास्थ्य सामग्री’ आदि शीर्षकका समाचार छापिए । मन्त्री, पूर्वमन्त्री र सांसदहरूले आ–आफ्नो जिल्लामा अक्सिजन सिलिन्डर र औषधि उपचार बाँडेर लाने होइन । के देशमा स्वास्थ्य मन्त्रालय छैन ? स्वास्थ्य मन्त्री छैन ? स्वास्थ्य सामग्री आ–आफ्नो घर या ठाउँमा भण्डारण गर्ने होइन अस्पताल पु¥याइने हो । अस्पतालले रोगीहरूको आवश्यकता हेरेर उपचार गर्ने हो । आ–आफ्ना कार्यकर्तालाई अक्सिजन र औषधि उपचार गर्न यसरी हारालुछ गर्ने हो भने के आफ्ना मान्छे नभएका बिरामीहरू कीराफट्याङ्ग्राजस्तै टुलुटुलु मरेको हेर्ने ? मन्त्री, पूर्वमन्त्री र सांसदहरूको के सरकारप्रति विश्वास छैन ? विश्वास नहुँदैमा आफूखुसी गर्न पाइन्छ ? उनीहरूले जनताको माग राख्ने हो, काम सम्बन्धित निकायले गर्ने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *