भर्खरै :

राष्ट्रिय सभाको उपनिर्वाचन आज नेमकिपाका उम्मेदवार तामाङको चिह्न मादल

बाग्मती प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्यका लागि बिहीबार प्रदेश राजधानी हेटौँडामा मतदान हुँदै छ । हेटौँडा– ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा मतदान केन्द्रको बन्दोबस्त गरिएको छ ।
बाग्मती प्रदेशसभाका सदस्य र प्रदेशका ११९ वटा स्थानीय तहका अध्यक्ष र उपाध्यक्षका लागि छुट्टा छुट्टै मतदान केन्द्र बनाइएको छ । कोरोना सङ्क्रमितहरूका लागि भने मतदानस्थलको उत्तरतर्फको गेटबाट प्रवेश गरी छुट्टै मतदान केन्द्रमा मत दिने व्यवस्था गरिएको उपनिर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।
निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कृष्णबहादुर तामाङ, एमालेका रामबहादुर थापा र नेकां, माओवादी केन्द्रको समर्थनमा खिमलाल देवकोटा उम्मेदवार रहनुभएको छ । तामाङको चुनाव चिह्न मादल, थापाको सूर्य र देवकोटाको कलम रहेको छ ।
अधिकृत श्रेष्ठका अनुसार निर्वाचनको क्रममा मतदान कक्षमा मोबाइल, क्यामेराजस्ता विद्युतीय सामग्री प्रयोग गर्न रोक लगाइएको छ । मतदानलाई गोप्य बनाउन र विश्वसनीयता प्रदान गर्न मतदानमा सहयोगी प्रयोग गर्न नपाइने व्यवस्था पनि गरिएको उहाँले जानकारी दिनुभयो ।
यसैबीच राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा कोरोना परीक्षणको पीसीआर रिपोर्ट अनिवार्य नहुने भएको छ । तीनै जना उम्मेदवारका प्रतिनिधिहरूले सबै मतदाताले पीसीआर परीक्षण गर्न नपाएको र कतिपय स्थानीय तह विकट रहेकाले पीसीआर गर्न सम्भव नरहेको भन्दै परीक्षण नगरेका मतदातालाई पनि निर्वाचनमा सहभागी गराउन माग गरेका थिए ।
उम्मेदवारका प्रतिनिधिहरूको साझा मागअनुसार मतदानका लागि मतदाताको पीसीआर रिपोर्ट अनिवार्य नगरेको उपनिर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो ।
बाग्मती प्रदेशका केही स्थानीय तहमा कोरोना परीक्षणका लागि प्रयोग हुने भीटीएम किट नै नपुगेको र अधिकांश मतदाताले कोरोना परीक्षण गर्न नभ्याएकाले उनीहरूलाई संवैधानिक अधिकारबाट वञ्चित गर्न नहुने उम्मेदवारका प्रतिनिधिहरूको भनाइ थियो । निर्वाचन अधिकृत श्रेष्ठले निर्वाचन आयोगका आयुक्तसँगको मौखिक छलफलअनुसार पीसीआर रिपोर्ट अनिवार्य नगरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *