भर्खरै :

फ्रन्टलाइन फाइटर – २, जो आफै सङ्क्रमित भइन्

धुलिखेल अस्पतालको कोभिड वार्डकी नर्स रोजिना गिरी अहिले आफै कोभिड सङ्क्रमण भई होम आइसोलेसनमा छिन् । कोभिड सङ्क्रमित बिरामीहरूलाई सेवा गर्ने क्रममा उनी आफै कहिले सङ्क्रमित भइन्, उनले पत्तो नै पाइनन् । चाँगुनारायण नपा, खरिपाटी निवासी उनी विगत ३ वर्षदेखि धुलिखेल अस्पतालमा कार्यरत छिन् । गिरी कोभिड महामारीको पहिलो लहरमा जस्तै दोस्रो लहरमा पनि बिरामीको सेवामा अस्पतालको कोभिड वार्डमा खटिएकी थिइन् ।
कोभिडको अघिल्लो लहरभन्दा फरक दोस्रो लहरसँगै देशैभरिका अस्पतालहरूमा अक्सिजन र शय्याको अभाव हुनथाल्यो । अस्पतालमा शय्या अभाव भएपछि कोभिड सङ्क्रमित बिरामीहरूको प्राङ्गण, लबी र कुर्सीमै पनि उपचार भयो । अक्सिजनको चरम अभावका कारण कति बिरामीको निधन भयो ।
पहिलो र दोस्रो लहरबीचको अन्तरबारे स्वास्थ्यकर्मी गिरी आफ्नो अनुभव सुनाउँछिन्, “सुरु–सुरुमा कोभिडदेखि डर लाग्थ्यो । यो रोगबारे हामी पनि अनभिज्ञ नै थियौँ । पछि अस्पतालले कोभिडसम्बन्धी विभिन्न तालिम र कक्षाहरू सञ्चालन ग¥यो । तालिम पाएपछि कोभिड बिरामीको सेवामा खट्न सहज हुँदै गयो । पहिलो लहरमा कोभिड वार्डमा काम गर्दा बिरामीहरूको त्यत्ति नजिक जानु पर्दैनथ्यो । सामान्यतः सबै कुरा ठीकठाक नै हुन्थ्यो । हामीले सीसीटीभीमार्फत बिरामीबारेमा जानकारी लिने गथ्र्यौँ । तर, अहिले भने ‘अन द फ्लोर’ (बिरामीकै समीप रहेर) नै ड्युटी गर्नु परेको छ ।”
गिरीले भनिन्,“पहिलेको कोभिड महामारीको तुलनामा अहिलेको लहर धेरै जोखिमपूर्ण छ । पहिले होम आइसोलेसन बसेर नै निको हुने बिरामीहरू धेरै जना थिए भने अहिले धेरैलाई अक्सिजनको आवश्यकता परेको देखिन्छ । त्यही भएर अहिले देशभर अक्सिजनको अभाव भएको हुनुपर्छ ।”
उनी भन्छिन्, “कहिले अक्सिजनको फ्लो एकैचोटि घट्थ्यो, बिरामीहरूलाई सास फेर्न गा¥हो भएर स्वाँस्वाँ र फ्वाँफ्वाँ हुन्थ्यो । कतिबेला वार्डमा भित्र हेर्न मनै चिसो हुन्छ । तर केही दिनदेखि भने यसमा सुधार भएको छ ।” धुलिखेल अस्पतालमा पछिल्लो केही दिन यता अक्सिजनको सकस केही कम भएको बताइन्छ ।
अक्सिजनको अभाव हुँदा भेन्टिलेटर र बाइ पेप्सीमा बस्ने बिरामीहरूलाई कठिन हुन्छ । उनी भन्छिन्, “भेन्टिलेटर र बाइ पेप्सी पेपमा बस्ने बिरामीहरूको लागि उच्च फ्लो भएको अक्सिजनको आवश्यकता पर्छ । एक जना बिरामीलाई एउटा सिलिन्डरले ४/५ घण्टाभन्दा बढी अक्सिजन पुग्दैन । अक्सिजनको फ्लो कम हुँदा बिरामीलाई जोगाउन गा¥हो हुन्थ्यो । धन्न अहिले बिस्तारै सजिलो बन्दै छ ।”
अन्य बिरामीको तुलनामा भेन्टिलेटर र बाइ पेप्सीमा बस्ने बिरामीहरूको उच्च अक्जिनको फ्लोको आवश्यकता पर्छ । त्यहीअनुसार अक्सिजनको आपूर्ति हुन नसक्दा अस्पतालमा बिरामीहरूलाई अक्सिजनको अभाव हुन पुगी मृत्युको मुखमा पुग्ने गर्छन् ।
यो पटकको लहरमा सबै अस्पतालहरूको यतिबेलाको मुख्य आवश्यकता नै अक्सिजन भएको छ । तर, त्यसैको अभाव भयो । अक्जिनको फ्लोमा कमी भएपछि बिरामीलाई गा¥हो हुँदा कुरुवा आएर कराउँछन्,“सिस्टर ! मेरो बिरामीलाई लगाइदिनु न ।”
“त्यही बेला अर्को बिरामी कुरुवा आएर उस्तै आग्रह गर्छन् । कसलाई लगाइदिने, कसलाई नलगाइदिने हामी ‘हेल्पलेस’ (निरीह) हुन्छौँ । चाहेर पनि केही गर्न नसक्दा भने दुःख लाग्छ”, गिरीले भनिन् ।

पीपीई पोशाकमा रोजिना


उनी भन्छिन्, “अक्सिजनसहितको शय्या खाली भएमा मात्र हामी बिरामी भर्ना लिन्छौँ ।” यदि बिरामीको आफन्तले हामी आफैँ अक्सिजन व्यवस्था गर्छौँ भन्छन् भने हामी त्यस्ता बिरामी पनि लिन तयार हुन्छौँ । तर, पहुँच भएकाहरूको आफन्तको लागि भनी शय्या खाली गर्ने अथवा अक्सिजनसहित शय्याको व्यवस्था नगरिदिने उनले बताइन् ।
अस्पतालको एउटा कोठामा ६ वटा बेड हुन्छ । अक्सिजनको मात्रा कमी भएको बिरामीलाई गा¥हो हुन्छ । त्यस्ता बिरामीलाई गा¥हो भएको देखेर अरू बिरामीहरू पनि आत्तिन्छन् । उनीहरूलाई काउन्सिलिङ गरेर सामान्य अवस्थामा फर्काउनुपर्ने हुन्छ । उनीहरूलाई काउन्सिलिङका साथै मुख्यतः विभिन्न व्यायाम गराउँछौँ ।
“सबै ठीक हुन्छ, डराउनु पर्दैन” भनेर श्वासप्रश्वासको अभ्यास गराउँछौँ । यसरी उनीहरू नर्मलरूपमा फर्किँदा हामीलाई पनि आनन्द महसुस हुन्छ ।
उनी भन्छिन्, “पहिला हरेक फ्लोरमा एक जनामात्र स्टाफ भए पुग्थ्यो भने अहिले ३ जना हुँदा पनि अपुग छ । पहिला भने डाक्टरहरू फोनबाट नै कोभिड वार्डमा राउन्ड लिन्थे भने अहिले डाक्टरहरू आफै वार्डमा छिरेरै सबै बिरामीहरूलाई हेर्ने र राउन्ड लिने गर्छन् । अहिले त अन ड्युटी डाक्टर पनि छुट्याइएको छ । पहिले पनि छुट्याइएको हुन्थ्यो । तर, केही इमर्जेन्सी परेमा मात्र आउँथे नत्र फोनबाटै परामर्श दिन्थे । अहिले बिरामीको अवस्था नजिक आएर नहेरी धरै छैन ।
अस्पतालमा ड्युटी सकेर घर फर्कँदा आफू कोभिड सङ्क्रमित भए घरमा कसैलाई सर्ला कि भन्ने चिन्ता हुन्थ्यो गिरीलाई । घरमा हजुरआमा र हजुरबा हुनुहुन्छ । उहाँहरूलाई नभेटी, नबोली अलग्ग आफ्नै कोठमा बस्ने गरेको उनी बताउँछिन् । घर फर्कन अस्पतालबाटै बसको व्यवस्था गरिएको छ । तर, बस जगातीसम्म मात्र हुन्छ । त्यहाँबाट उनी बुबासँग घर जाने गर्थिन् । आफूलाई कोभिड पोजेटिभ आएपछि बुबालाई पनि भयो कि भन्ने चिन्ता लागेको थियो । तर, बुबाको पीसीआर रिपोर्ट भने नेगेटिभ आयो । गिरी अहिले होम क्वारेन्टाइनमा समय काटिरहेकी छिन् ।
उनी भन्छिन्, “उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै ठीक हो । हामीले सोचेको जस्तो सजिलो छैन यो रोग । जति पनि होम आइसोलेसनमा बस्नुभएको छ, सबै जनाले कडाइका साथ आइसोलेसनको नियम पालना गर्नुपर्छ । अनावश्यकरूपमा बाहिर नहिँड्नु नै जाती हुन्छ । मास्कको अनिवार्य प्रयोग तथा सुरक्षा विधि अपनाएर निस्कनु उपयुक्त हुन्छ ।
प्रस्तुतिः सपना श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *