भर्खरै :

फ्रन्टलाइन फाइटर–५, जनताको स्वास्थ्यको लागि दिनरात खट्ने सुरक्षाकर्मी

विश्व नै कोभिडको मारमा छ । कोभिड रोकथाम र नियन्त्रणको लागि जति गहन भूमिका स्वास्थ्यकर्मीहरूले गरेका छन् उस्तै सडक–सडकमा खटिएका सुरक्षाकर्मीहरूको पनि उत्तिकै ठुलो भूमिका छ । दिनभर चर्को घाम र रातभरको एकान्तमा पनि आफ्नो कर्तव्य सम्झेर सडकमा खटिरहेका सुरक्षाकर्मी पनि स्वास्थ्यकर्मीजत्तिकै महामारी रोकथाम र नियन्त्रणको लागि अग्रमोर्चामा लडिरहेका छन् ।
सुरक्षाकर्मी हिकमतकुमार खत्री निषेधाज्ञा सुरु भएसँगै सडकमा खटिएका हुन् । देशैभर कोभिडको महामारी फैलिएसँगै राज्यले अनावश्यकरूपमा घरबाट बाहिर निस्कने, नियम उल्लङ्घन गर्ने मानिसलाई कारबाही गर्ने आदेश जारी गरेको छ । उनी त्यही नियमको पालना गर्दै र नियम पालना गराउन सडकमा खटिएका हुन् । सुदूरपश्चिम प्रदेश, बझाङमा घर भएका उनी हिजोआज भक्तपुरको सुडाल प्रहरी चौकीमा कार्यरत छन् ।
विश्वभर कोभिडको महामारी फैलिएको समयमा नेपाल प्रहरीले जनतालाई सुरक्षा दिइरहेका छन् । जनताको स्वास्थ्य सुरक्षाको निम्ति अहोरात्र स्वास्थ्यकर्मीहरू पनि खटिरहेका छन् । पत्रकारहरू पनि कोभिडबारे सक्दो सत्यतथ्य समाचार सम्प्रेषण गरिरहेका छन् । उनी भन्छन्, “हामीले जिल्ला प्रशासन कार्यालयको निर्देशनअनुसार काम गर्नुपर्ने हुन्छ । त्यसअन्तर्गत नियम पालन गर्न हामी सुरक्षामा खटिएका छौँ र जनतालाई सुरक्षा दिइरहेका छौँ ।” यस अवस्थामा कसैले नियम उल्लङ्घन गरेमा वा नियम उल्लङ्घन गर्छ भने सङ्क्रमण रोग ऐन २०२० अनुसार कारबाही पनि हामीले गरिरहेका छौँ । हामीबाट सकिएन भने जिल्ला प्रशासन कार्यालयमा उक्त रिपोर्ट अगाडि बढाउँछौँ ।
उनका अनुसार निषेधाज्ञाको समयमा पनि ज्याला मजदुरी गर्ने श्रमिकहरू आफ्नो भोक मेटाउन काममा जान बाहिर निस्केका हुन्छन् । एक हिसाबले हेर्दा यो उनीहरूको आवश्यकता पनि हो । तर, यस्तो अवस्थामा हामी उनीहरूलाई होल्ड गर्ने तथा सुरक्षा मापदण्डअनुरूप सहजीकरण गर्न आग्रह गर्छौँ ।

पंकजराज भट्ट


उनी आफ्नो अनुभव सुनाउँछन्, पहिलो लहरमा हेर्दा मानिसहरू कोभिडदेखि त्यति डराएको देखिएन । अहिले सङ्क्रमणअनुसार लक्षणहरू जटिल देखिएको हुँदा मानिस आफै सचेत भएका छन् । त्यहीअनुसार नियमको पालना गर्नुपर्छ । अस्पतालमा स्वास्थ्य उपचारको लागि शय्याको अभाव भएको समाचारले पनि मानिसको मनमा डर पसेको हुनसक्छ । उनी भन्छन्, “हामीहरू पनि सुरक्षा मापदण्ड सबै अपनाएर खटिरहेका छौँ ।”
पहिलो लहरमा उनी पनि सङ्क्रमित भएका थिए । ती दिनहरू स्मरण गर्दै उनी भन्छन्, “पहिलो लहरमा म आफै कोभिडबाट सङक्रमित भएको थिएँ । केही दिन ज्वरो आएर धेरै गा¥हो भएको थियो । १४ दिन जति होम आइसोलेसनमा बसेँ । पुनः पीसीआर परीक्षण गर्दा भने नेगेटिभ आयो ।” तर, यो दोस्रो लहरमा उनी सुरक्षित रहेको बताए ।
उनी भन्छन्, “कोभिड नियन्त्रण र रोकथामको लागि हामीले गाउँघरमा माइकिङ गरेर जिङ्गल बजायौँ । मास्क, स्यानिटाइजर, पञ्जा तथा फेस सिल्ड लगाएर हिँड्नु भनेर विभिन्न कार्यक्रमहरू पनि गरिरहेका छौँ ।”
उनले भने, “पहिला त मानिसहरू मास्क लगाएर हिँड्न गा¥हो मान्थे । सबैलाई मास्क लगाउन आग्रह गर्छौं । कतिलाई त जरिवानासमेत तिराएका छौँ ।”

हिकमतकुमार खत्री


दोस्रो लहरमा जनसमुदायले नियम कार्यान्वयनमा ल्याएको उनी भन्छन् । उनका अनुसार पहिलो निषेधाज्ञामा मानिसहरू विभिन्न बहानामा बाहिर निस्कन्थे । तर, यस पटकको निषेधाज्ञामा भने मानिसहरू बिनाकाम बाहिर ननिस्केको उनी बताउँछन् । उनी भन्छन्, “अस्पताल जाने तथा विभिन्न काम भएका मानिसहरूलाई भने आवतजावतमा रोक लगाएका छैनौँ ।”
कामको चापसँगै आफ्नो समस्याबारे खत्री गुनासो गर्छन्,“हामी चौबिस घण्टा ड्युटीमा खटिनुपर्छ । सुरक्षा मापदण्ड अपनाइरहेका छौँ । साथसाथै अन्य कुराहरूमा पनि राहत भइदिएको भए हुन्थ्यो ।
यो वर्ष उनको टोलीमा कोही पनि जवान सङक्रमित नभएकोले उनले खुसी व्यक्त गरे ।
खत्रीजस्तै महामारीको समयमा जोखिम मोल्दै अग्रपङ्क्तिमा खटेका छन्–पंकजराज भट्ट । उनको घर कञ्चनपुर जिल्ला, भीमदत्त नगरपालिकामा हो । हाल उनी प्रहरी हेडक्वाटर नक्सालबाट सुडाल चौकीमा खटिएका छन् ।
राष्ट्र सेवक भएकोले सरकारले दिएको आदेशअनुसार इमानदारीपूर्वक काम गर्नु आफ्नो दायित्व भएको भन्दै महामारीको समयमा सकेसम्म जोखिमबाट जोगिएर काम गरिरहेको उनले बताए ।
हामीले गर्ने आग्रह प्रहरी वा सरकारको लागि नभई जनताकै भलाइको लागि हो, उनले ने । उनले सर्वसाधारण पनि महामारीबाट सजग बन्दै गएकाले ड्युटी गर्न सहज भएको बताए ।
प्रस्तुतिः सपना श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *