भर्खरै :

थप खोप ल्याउन सरकारले विभिन्न देशलाई ग¥यो पत्राचार

काठमाडौँ, १० जेठ । कोभिड–१९ भाइरसविरुद्धको खोपका लागि सरकारले विभिन्न खोप उत्पादक देशलाई पत्राचार गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार संरा अमेरिका, रुस, बेलायत, चीन र भारतलगायत खोप उत्पादक मुलुकसँग खोप ल्याउन औपचारिक पत्र पठाइएको छ ।
नेपाल सरकारले करिब ५० लाख खोप खरिद गर्ने तयारी गरेको हो । सरकारले औपचारिक पत्राचार गरेका देशमध्ये केहीले पत्रको जवाफ दिएका र केहीले दिन बाँकी रहेको बताइएको छ । अन्तर्राष्ट्रिय बजारमा खोपको अभाव भएकोले नेपालमा खोप आउन ढिलाइ भइरहेको सरकारले बताउँदै आएको छ । “खोप उत्पादक देशसँग व्यक्तिगत, राजनीतिक र कूटनीतिक पहल भइरहेको छ”, स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले भन्नुभयो ।
मन्त्रालयका अनुसार अहिलेसम्म २६ लाख ६५ हजार ९८७ ले पहिलो मात्रा र पाँच लाख ५३ हजार ५८९ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् । मन्त्रालयले अबको चार हप्तामा नेपालमा सङ्क्रमण दर घट्दै जाने बताएको छ ।
पछिल्लो समय भेन्टिलेटर ५७७ थप गरिएको र १०४ वटा थप्ने क्रममा रहेको छ ।
यस्तै सघन उपचार कक्ष (आईसीयू) ४०० थप गरी तीन हजार पु¥याइएको र ६३० थप्ने योजना रहेको छ । हाइ डिपेन्डेन्सी युनिट ९(एचडीयू) दुई हजार २७५ सरकारी र निजी अस्पतालमा ७७८ थपिएको तथा ४०० थप गर्ने योजना रहेको छ ।
सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि देशभरका १५७ अस्पताललाई सूचिकृत गरी उपचार गरिरहेको छ । तीमध्ये ४५ वटा निजी अस्पतालबाट कोभिड–१९ सङ्क्रमित बिरामीको निःशुल्क उपचार गरिरहेको छ ।
अक्सिजन अभाव कम
मन्त्रालयले अक्सिजनको अभाव बिस्तारै कम भइरहेको जनाएको छ । ३२ अस्पतालमा अक्सिजन प्लान्ट रहेकोमा थप १९ अस्पतालमा थप्ने योजना मन्त्रालयको रहेको बताइएको छ । यस्तै तरल अक्सिजन तीन अस्पतालमा भए पनि मन्त्रालयले थप २७ मा जोड्ने तयारी रहेको छ ।
सङ्क्रमणको दोस्रो लहर आइसकेपछि सरकारले ९०० अक्सिजन कन्सन्ट्रेटर र पाँच हजार अक्सिजन सिलिन्डर ल्याएको छ । मन्त्रालयका सचिव लक्ष्मण अर्यालले अहिले हप्तामा ७० देखि ८० टन तरल अक्सिजन ल्याइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार पहिला २० टन मात्र आउने गरेको थियो । अर्यालले अबको केही दिन सय टन तरल अक्सिजन भारतलगायत मुलुकबाट ल्याउने बताउनुभयो ।
मन्त्रालयले १६ हप्ता पुगेपछि कोभिशिल्डका दोस्रो मात्रा खोप दिइने जनाएको छ । मन्त्रालयका विशेषज्ञ डा. रोशन पोखरेलले भारतले पठाएको नयाँ मापदण्डअनुसार १२ देखि १६ हप्तासम्ममा दोस्रो मात्रा खोप लगाउने तयारी भइरहेको बताउनुभयो । अहिले सरकारसँग कोभिशिल्डको खोप ९० हजार मात्रा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *