मे महिनाको सुरुमा भारतको आयुष मन्त्रालयले ‘कोभिड–१९ सङ्कट’ को बेला रोग प्रतिरोधात्मक क्षमता विकास गर्न उपयोगी भन्दै केही सल्लाहहरू सार्वजनिक ग¥यो । घातक कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन मन्त्रालयले दिएका केही सल्लाहमध्ये एउटा सल्लाह थियो– “हरेक दिन बिहान र बेलुका नाकका दुवै प्वालमा तिलको तेल÷नरिवलको तेल÷गाईको दूधको घ्यू राख्नू ।”
कसैलाई नाकमा यी तेल र घ्यू राख्न मन नपरे मन्त्रालयले एउटा अर्को विकल्प पनि दिएको थियो– “तिलको तेल वा नरिवलको तेल एक चम्चा मुखमा राख्नू । तेल मुखमा राखेलगत्तै निली नहाल्नु । मुखमै २–३ मिनेट चलाएर थुक्नू अनि न्यानो पानीले कुल्ला गर्नु ।”
कोभिड–१९ बाट जोगिन मन्त्रालयले जारी गरेका अन्य सल्लाहहरूमा च्यवनप्राशको सेवन, जडिबुटी चियाको सेवन, पानीको वाफ लिनु आदि थिए ।
आयुष मन्त्रालयको प्रचार सामग्रीमा उल्लेखित कुराहरूको पालना गर्ने देशभक्तलाई कोभिड–१९ सङ्क्रमण नहुनेसम्म त लेखेन । तर, यस्ता सिफारिसको पालना सकेसम्म चाँडो गरे भाइरसले छुने सम्भावना कम भएको भनी लेख्न छोडिएन । सत्तारुढ दलका नेता र प्रचारकर्मीहरूले एक्काइसौँ शताब्दीको यो प्राणघातक रोग उपचार गरेका यी अप्रमाणित तरिकाबारे प्रचार थोरैमात्र पनि विवेकसम्मत होइनन् ।
मेरो आफ्नै राज्यमा भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा पूर्वसांसद विजय शङ्करेश्वरले अक्सिजनको मात्रा कम भए निम्बु पानी तताएर वाफ लिन सल्लाह दिएका थिए । (उत्तरी कर्णाटकमा पनि अक्सिजनको अभाव थियो ।) ‘द हिन्दू’ पत्रिकामा लेखिएको थियो, “शङ्करेश्वरले हालै एउटा पत्रकार भेटघाटमा नाकको प्वालबाट निम्बुको रस राखे अक्सिजन ८० प्रतिशतले बढ्ने बताएका थिए । आफूले यो घरेलु उपचार आफ्ना आफन्त र मित्रहरूसहित दुई सय मानिसमा प्रभावकारी देखेको उनको दाबी थियो ।”

गाईको गोब्बरले जीउमा पोत्दै धर्मान्ध भारतीयहरू
शङ्करेश्वरका धेरै समर्थकले उनका यो सल्लाह पछ्याउँदा मृत्युको मुखमा पुगेको ‘द हिन्दू’ को त्यही समाचारमा उल्लेख छ ।
कर्णाटकमा भाजपाका अर्का प्रभावशाली नेता, पार्टीका महासचिव बीएल सन्तोषले कोरोना भाइरससँग लड्न वाफ लिन निकै उत्साहपूर्वक सल्लाह दिए । उनले प्रहरीहरू बिनामास्क गुच्चमुच्च बसेर उनीहरूका राजनीतिक मालिक (बीएल सन्तोष) को सल्लाहअनुसार वाफ लिइरहेको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।
भाजपाले शासन गरिरहेको अर्को राज्य मध्य प्रदेशमा त्यहाँका संस्कृति मन्त्री उषा ठाकुरले महामारीको प्रतिकार गर्ने ‘हवन’ गर्नु प्रभावकारी भएको बताइन् । मन्त्रीको भनाइ उद्धृत गर्दै ‘द टेलिग्राफ’ मा समाचार लेखिएको छ,“हामी सबैलाई यज्ञ–यज्ञादि गर्न, आहुति दिन र वातावरण सरसफाइ गर्न अपिल गर्न चाहन्छौँ किनभने युगौँ अघिदेखि महामारी उन्मूलन गर्न यस्तै चलन चल्दै आएको छ ।”
मन्त्रीको सल्लाहलाई उनको पार्टीका सदस्यले गम्भीररूपमा लिएको देखियो । कालो टोपी र खाकी जाँघे लगाएका स्वयम्सेवकहरूले घर–घरमै गएर यस्ता हवन गर्न सल्लाह दिंदै गरेका श्रव्यदृश्य व्यापकरूपमा प्रचार भएको थियो । उनीहरूले हवनमा निमको पात र दाउरा बाल्न पनि सल्लाह दिइरहेका थिए ।
अर्को रोचक दाबी त भोपालका विवादास्पद सांसदबाट आयो । महात्मा गान्धीको हत्यारालाई असल देशभक्त देख्ने तिनी सांसदले हरेक दिन गौमुत्र सेवन गरेको हुनाले अहिलेसम्म आफूलाई कोभिड–१९ भाइरसले छुन नसकेको बताइन् । लामो समयदेखि भाजपाले शासन गर्दै आएको गुजरातमा साधुहरूको एउटा समूहले नियमितरूपमा जीउभरि गाईको गोबर दल्ने गरेको समाचार आयो । त्यसो गर्दा भाइरस सङ्क्रमणबाट जोगिने उनीहरूको विश्वास छ ।
भारतका शासक दलका नेताहरूले सिफारिस गर्ने गरेका अविश्वसनीय सल्लाहको भेलमा गत वर्ष सरकारी सन्त रामदेवले केन्द्रीय सरकारका दुई जना वरिष्ठ मन्त्रीहरूलाई साक्षी राखेर ‘कोरोनिल’ नाम दिइएको औषधि सार्वजनिक गरेका थिए । रामदेवको साक्षी बसेका दुई जना मन्त्रीमध्ये एक जना स्वास्थ्य मन्त्री र अर्को विज्ञान तथा प्रविधि मन्त्री थिए । रामदेवले सुरुमा कोरोनिलको प्रवद्र्धन गर्ने क्रममा त्यसले साता दिनमा ‘ग्यारेन्टीका साथ शतप्रतिशत’ कोभिडको उपचार गर्ने झूटो दाबी गरेका थिए ।
‘पतञ्जली अनुसन्धान प्रतिष्ठानका प्रमुख अनुराग वाष्र्णेयले ‘त्यो चामत्कारिक औषधि आवश्यक निकायबाट वैज्ञानिक अनुमति प्राप्त भएको’ दाबी गरे । उनले भनेका थिए,“यो औषधिको सेवनपछि कोभिड पोजिटिभ भएका व्यक्ति सात दिनभित्र निगेटिभ हुन्छन् । तर, अन्य औषधि खाने बिरामीमध्ये ६० प्रतिशतमात्र कोभिड निगेटिभ हुने गरेका छन् । त्यसकारण यो औषधिलाई प्रभावकारी मान्न सकिन्छ ।”
चिकित्सकीय बहुलता
थप चर्चा गर्नुअघि म यहाँ एउटा कुरा प्रस्ट पार्छु– म आफै पनि चिकित्सकीय बहुलतामा विश्वास गर्ने मान्छे हुँ । आधुनिक पश्चिमा औषधिसँग मानिसले जानेका सबै रोगको उपचार हुनसक्नेमा मलाई विश्वास लाग्दैन । मेरो आफ्नै व्यक्तिगत अनुभवको आधारमा पनि गैर–आधुनिक चिकित्सा प्रणाली जस्तै आयुर्वेद, योग र होमिओप्याथीले पनि दम र ढाडको दुखाइको दीर्घ रोग, मौसमी एलर्जी आदि कम गर्न मद्दत गर्छ । मेरो जीवनमा कुनै बेला म आफै त्यस्ता समस्याबाट पीडित थिएँ ।
तर, कोभिड–१९ नितान्त एक्काइसौँ शताब्दीको भाइरस हो । आयुर्वेद, योग, युनानी, सिद्ध र होमिओप्याथी प्रणाली आविष्कार र विकास गर्नेहरूलाई यो भाइरसबारे केही थाहा थिएन । यो भाइरस फैलिएको नै भर्खर एक वर्ष र केही समय भयो । निमको पात जलाएर वा गौमुत्र पान गरेर अथवा विभिन्न जडिबुटीले बनेका औषधिका चक्की खाएर, गाईको गोब्बर दलेर वा नरिवल तेल वा गाईको दूधको घ्यू नाकको प्वालमा राखेर यो रोग हटाउन वा कोभिड–१९ को बिरामीलाई चाँडै निको पार्न सक्दैन ।
खासमा कोभिड–१९ बाट जोगिन दुई वटा उपायले ठुलो मद्दत गर्ने गरेको मनग्य प्रमाण छन् । दुई उपायमध्ये पहिलो, आपसी दूरी कायम गर्ने र अर्को कोभिड प्रतिरोधी खोप लगाउने । तर, यी दुई उपायमध्ये हाम्रो हिन्दू सरकारले कुनैलाई पनि प्राथमिकतामा राखेन । बरु, उनीहरूले ठुलाभन्दा ठुला राजनीतिक र धार्मिक मेला र सभा गर्न उत्साहित गरिरहे । अनि भारतभित्र खोप उत्पादन गर्न वा भारतमा कुनै अर्को नयाँ खोपको लागि अनुमति दिन पनि कञ्जुस्याइँ गरिरह्यो । भारत सरकारसँग यी सबै काम गर्न प्रशस्त समय थियो, तथापि उसले गरेन ।
म वैज्ञानिकहरूको परिवारबाट आएको हुँ । मेरा वैज्ञानिक पिता र वैज्ञानिक पितामहको मुखबाट मैले सधैँ सुन्ने गरेको गालीका शब्दहरू भनेको ‘मुम्बो–जुम्बो’ र ‘अन्धविश्वासी’ हुन् । आज मेरो पिता र पितामह हुनुहुन्न । तर, कोभिड–१९ को प्रतिरोधको नाममा सत्तासीन पार्टीका झूटा र मिथ्या कुरालाई भारतका ती प्रतिष्ठित वैज्ञानिकहरूले के भन्नुहोला भन्ने सोच्छु ।
सत्य कुरा बोल्नुपर्छ । यस्ता झूट र मिथ्या कुरा तथा अन्धविश्वास र ‘मुम्बो–जुम्बो’ केही असामान्य मन्त्री वा राज्यस्तरका नेताहरूले मात्र बोल्ने गरेका छैनन् । यस्ता धारणा त हिन्दूवादी सङ्घ परिवारका सदस्यबीच व्यापक छ । प्रधानमन्त्री आफै पनि त्यही सङ्घ परिवारका सदस्य हुन् । गत मार्च महिनामा के भएको थियो, स्मरण गरौँ । त्यत्तिबेला भारतमा भर्खर–भर्खर पहिलो पटक महामारी देखिएको थियो । मोदीले एक साँझ ५ बजेबाट सुरु गरेर ठीक पाँच मिनेट घरमा भएका थाल र भाँडो बजाउन आह्वान गरेका थिए ।
त्यसको अर्को महिना उनले के गरे ? महामारीको अवस्था गम्भीर बन्दै गइरहेको थियो । उनले राति नौ बजेबाट नौ मिनेट मैनबत्ती बाल्न वा टर्च बाल्न आह्वान गरेका थिए । त्यत्तिबेला उत्तर अमेरिका र युरोपमा डढेलोसरि फैलिरहेको भाइरस त्यस्ता गतिविधि गरेर कसरी हटाउन सकिन्थ्यो भन्ने कुरा प्रधानमन्त्रीका ज्योतिषीहरूलाई मात्र थाहा होला ।
सर्वप्रिय सन्त
हिन्दूवादी सङ्घ परिवारको लागि धर्मान्धता र घृणा विवेक र विज्ञानभन्दा अगाडि आउने गर्छ । नरेन्द्र मोदीका गतिविधिमा उनको वैचारिक हुर्काइमा रहेको साँघुरो सोचाइ प्रतिबिम्बित हुने गर्छ । प्रधानमन्त्री पदको लागि मोदीको पहिलो चुनावी अभियानमा उनले रामदेवको खुलेरै प्रशंसा गरेका थिए । रामदेवभित्रको ‘आगो र उनको दृढता’ को उनले खुलेरै बोल्दै हिँडेका थिए । मोदीले भनेका थिए, “म उनको मुद्दासँग नजिक छु ।”
रामदेव भारतीय सत्ताको सबभन्दा नजिकको सन्तको रूपमा उदाउनु कुनै दुर्घटना थिएन । प्रधानमन्त्री आफै पनि यस्ता प्रवृत्तिका मानिससँग सामिप्यता कायम गर्न रुचाउँछन् अथवा उनी राष्ट्रिय स्वयम्सेवक सङ्घकै कोही मान्छेलाई शिक्षा, स्वास्थ्य र विज्ञान प्रविधिजस्ता महत्वपूर्ण मन्त्रालयहरूको जिम्मा लगाउँछन् ।

बाफ लिएर कोरोना भाग्ने सन्देश प्रवाह गर्दै कर्णाटक प्रहरी
हिन्दूत्वको विवेकहीनताको सबभन्दा प्रस्ट प्रदर्शन त कुनै ज्योतिषीले भनेकै आधारमा एक वर्षपछि हुनुपर्ने कुम्भ मेला वर्ष दिनअघि सारेर महामारीले उचाइ लिइरहेको बेला पार्नुबाट देखियो । राष्ट्रिय स्वयम्सेवक र भाजपा कुम्भमेला आयोजना गरेर सामाजिक र राजनीतिक पुँजी आफ्नो नाममा जम्मा गर्न चाहन्थे । त्यसकारण जबरजस्ती कुम्भमेलाको आयोजना गरियो ।
उत्तरी भारतको ग्रामीण क्षेत्रको भित्रभित्रसम्म भाइरस फैलिनुबाट जो कोहीले केन्द्रीय सरकार र भाजपा नेतृत्वको राज्य सरकारको समर्थनमा भएको मेला र मानिसका असङ्ख्य लास जलाइएको वा नदी किनारमा बालुवामुनि पुरिएका घटनाबीच आपसमा सम्बन्ध भएको कुरा सहजै बुझ्न सक्छन् । प्रधानमन्त्रीको मातहतमा (यसमा आरएसएसको सरसङ्घचालकहरू पनि समावेश छन्) यस्ता दुःखद घटना रोक्न सक्ने अरू पनि धेरै शक्तिशाली र प्रभावशाली मानिसहरू छन् । तर, उनीहरूले दुःखद घटनाले रोक्ने त्यस्तो केही पहल गरेनन् किनभने उनीहरूको लागि विवेक र विज्ञानभन्दा धर्मान्धता र जातीय घृणा बढी प्रधान विषय बनिदियो ।
सन् २०१९ को अप्रिल अर्थात् दुई वर्षअघि मैले विज्ञानप्रति मोदी सरकारको निषेध नीतिबारे एउटा लेख लेखेको थिएँ । भारतका वैज्ञानिक अनुसन्धानका उत्कृष्ट निकायहरूलाई मोदी सरकारले कसरी राजनीतीकरण गरिरहेका छन् भनी त्यो लेखमा मैले चर्चा गरेको थिएँ । यसरी संस्थागतरूपमा ज्ञानको सिर्जना गर्ने र अनुसन्धान फराकिलो गर्ने हाम्रो उत्कृष्ट संस्थाहरूलाई मोदी सरकारले न्यूनाङ्कन गरिरहेको छ मैले लेखेको थिएँ, “मोदी सरकारले देशको सामाजिक र आर्थिक भविष्यलाई नराम्ररी बेवास्ता गरेको छ । अहिलेको भारत र अहिले नजन्मिसकेको भारतले बौद्धिकताविरुद्धको चालु लडाईमा देखिएको असभ्यताको मूल्य पक्कै चुकाउनुपर्नेछ ।”
त्यत्तिबेला ती पङ्क्ति लेख्दा संसारसँग कोभिड–१९ विरुद्ध लड्न अझै धेरै महिना बाँकी थिए । आज हामी यो समयमा छौँ । मोदी सरकारले भने अझै पनि आफ्नो असभ्य पारा त्यागेको छैन । अझै पनि बौद्धिकताविरुद्ध ऊ लडिरहेकै छ । भविष्यको धमिलो आकृति अझै धमिलो बन्दै गएको छ । महामारीको सामना गर्दै गर्दा भारत र भारतीय जनताले कठिन समय व्यतित गर्नुप¥यो । भारतको केन्द्रीय सरकार र सत्तारुढ दलले विवेक र विज्ञानलाई बेवास्ता गर्दा भारतीय जनताको लागि अझ कठिन र घातक बनेको छ यो समय ।
(लेखक भारतका इतिहासकार एवम् लेखक हुुनुहुन्छ ।)
स्रोत : द टेलिग्राफ
नेपाली अनुवाद : सुशिला
Leave a Reply