भर्खरै :

दोस्रो गिद्ध बन्ने प्रयास नगरौँ !

वर्तमान समयमा भइरहेको घटनाक्रमले पुरानो घटनालाई पनि ताजा बनाइ दिँदोरहेछ । धेरैलाई याद होला सन् १९९३ ताका सुडानमा भोकमरीले गाँजेको समयमा खिचिएको एउटा विश्व चर्चित पुलिट्जर पुरस्कार पाउन सफल फोटो जसमा सानो बालकको मृत्यु पर्खेर बसेको गिद्ध थियो । मृत्युपछि बालकको लाशमाथि झम्टिन गिद्ध तयार भएर बसेको थियो । उक्त फोटो प्रथम पटक न्युयोर्क टाइम्समा छापिएको थियो । फोटोको कारण फोटो ग्राफर केविन कार्टर चर्चित भएर विभिन्न कार्यक्रममा सम्मानित पनि भए । विभिन्न टेलिभिजन च्यानलबाट केविन कार्टरबारे समाचार प्रसारण भइरह्यो । यसैबीच एक व्यक्तिले केविनलाई सोध्यो, “अन्तमा त्यो बालकलाई के भयो ?” “फ्लाइटको लागि म हत्तारमा थिए, बालकबारे केही थाहा भएन” केविनले जवाफ दिए । त्यही व्यक्तिले फेरि सोध्यो “त्यहाँ कति वटा गिद्ध थियो ?” केविनले एउटैमात्र गिद्ध रहेको बताए । प्रश्न सोध्ने व्यक्ति आफैले भने, “त्यहाँ दोस्रो गिद्ध पनि थियो तर त्यसले क्यामेरा बोकेको थियो ।” यस वाक्यमा लुकेको भाव बुझेर केविन निकै निराश, विचलित, अपराधबोध र आत्मग्लानी अनुभव गरे होलान् । त्यस संवादको केही समयपछि केविनले आत्महत्या गरे । फोटोग्राफरले सायद आफूले मानवता देखाउन नसकेको भूल स्वीकार्दै आत्महत्या गरेको हुनुपर्छ । यदि केविनले उक्त बच्चालाई नजिकैको ‘संयुक्त भोजनगृह’ मा पु¥याएको भए उनी अझै धेरै उत्कृष्ट फोटो खिच्न पाउँथे होला ।
‘केविन कार्टर एक मानवतावादी व्यक्ति थिए’ भन्नुपर्ने भयो । उनले तत्कालीन समयमा गल्ती गरे । उनले उतिनैखेर गल्ती महसुस गरी जनताबाट आएको आलोचना स्वीकार्दै सजायस्वरूप आफैले आफूलाई हत्या गरे ।

के प्रकृति आफै मानवतालाई सिध्याउन आएको हो ? सबैको दुःख हरण गर्ने प्रकृति रिसाएकै हो ? होइन । भनिन्छ, लोभी र लालचीको बाहेक सम्पूर्ण मानवजातिको आवश्यकता पूरा गर्न प्रकृतिसक्षम छ । यो भनाइ सत्य हुँदाहुँदै पनि लोभी लालचीरूपी गिद्धको सङ्ख्या धेरै हुँदा प्रकृति पनि कायल भएको अवस्था छ । वास्तवमा जीवनमा पद र प्रतिष्ठाभन्दा पनि जीवनोपयोगी र सौहार्दपूर्ण सामाजिक सम्बन्धको महत्व हुन्छ । संसारमा सबै प्राणीहरू प्रकृति सम्मत व्यवहार गर्दछन् । उनीहरू भविष्यको निम्ति सोचेर लालची हुँदैनन् तर मानिसमात्र एउटा यस्तो प्राणी हो जो भविष्य सुरक्षित बनाउने नाममा अत्यधिक धन सञ्चयको निम्ति प्रकृतिविरुद्ध अपराध गर्न उद्यत हुन्छन् । मानवतालाई तिरष्कार गरेर मानव आफू बाँच्ने प्रयास गरिरहेको अहिलेको समय हो । हामीले हरेक समयमा मानवताको बारेमा सोच्नुपर्छ । मानवोचित व्यवहार देखाउने काम नै मानिसको प्रमुख कर्तव्य हो । अनुशासन र इमानदारले नै मानव जीवनलाई बचाउँछ । समयमै चेतौ, दोस्रो गिद्ध बन्ने प्रयास नगरौँ ।

प्रसङ्गमा जाऔँ । अहिलेको समयमा हाम्रो देशमा यस्ता गिद्धरूपी मानव जताततै देखिन्छ । तर, यहाँका तथाकथित गिद्धहरू आफूले अरुमाथि जालझेल गरेको, तिकडमबाजी गरेर आफ्नो स्वार्थ पूरा गरेकोमा झनै फुरुङ्ग भएर अझै अरु बेइमान कार्य गर्न अघि बढ्छन् । यस प्रकारका गिद्धहरूले लाजशरम र जनताको आलोचना सजिलै पचाइसकेका छन् । यी गिद्धहरूले केविनले जस्तै आत्महत्या त के कुरा, भूल पनि स्वीकार्दैनन् ।
गिद्ध धेरै प्रकारका छन् । तपार्इँ कसलाई चिन्नुहुन्छ ? तपाई एउटा गिद्धबाट बच्नुभयो भने अर्कोले लखेटिहाल्छ । अहिलेका गिद्धहरू उड्दैनन् । तिनीहरू हिँडिरहेका छन् । तिनीहरू कहिले मान्छे मर्छन् भनेर पर्खिदैनन् बरु जिउँदो मान्छेमाथि नै झम्टिन तयार भएर बसेका हुन्छन् । यस्ताखाले गिद्धहरू आफ्नै समुदायको मासु लुछ्न पछि पर्दैनन् । माहामारीको यो समयमा दैनिक सयौँ निर्दोष मानिसहरू लाशमा रूपान्तरण भइरहेको अवस्थामा राजनीतिक गिद्धहरू लाशमाथि राजनीति गरिरहेका छन् । कोही सिलिन्डर बोकाएर फोटो खिचिरहेका छन् भने कोही हस्पिटलको गेटमा भर्ना हुन नपाएर छटपटाइरहेकाको फोटो खिचेर ठूला मिडिया हाउसलाई बेचिरहेका छन् । कोही गिद्ध आफ्नो नाम जनमानसमा चर्चित होस् भन्ने चाहिरहेका छन् भने कोही गिद्ध आफ्नो अनलाइन खबरको ‘भ्यूवरशिप’ बढोस् भन्ने चाहिरहेका छन् । जनताप्रति नक्कली सहानुभूति देखाउन दान दिएको प्रायोजित फोटो खिचेर तमासा देखाइरहेका हुन्छन् । कोरोनाको सन्त्रास देखाएर जनतालाई कोठामा थुन्ने तर आफ्नो राजनीतिक दुनो सोझ्याउन भने सर्वोच्च अदालतअगाडि लाइन बसिरहेका हुन्छन्, यी गिद्धहरू । यी गिद्धहरूमा केविन कार्टरको जतिको पनि मानवता छैन ।
केविनको फोटोमा रहेको गिद्ध त मान्छे मरेपछि मात्र लाशमाथि आँखा गाड्छ तर यो कोरोना कालमा यस्ता गिद्धहरू पनि देखिँदैछन् जो मान्छे मर्नुअघि नै लुछाचुँडी गर्न तम्तयार भएर बसेका हुन्छन् । कोही ५ सय मूल्य पर्ने कोरोनाको औषधि २० हजारमा बेचिरहेका छन् भने कोही त रेमडिसिभरको नक्कली स्टीकर टाँसेर १ हजार पर्ने औषधिलाई दशौँ हजारमा बेचिरहेका छन् । यस्तो मौका छोप्न पल्केका गिद्धहरू बिरामीको लागि नभई नहुने अक्सिजनसमेत लुकाएर कालोबजारी गरिरहेका छन् । अर्को थरी गिद्ध हस्पिटलमा बसिरहेका हुन्छन् । प्राण बचाउन आउने बिरामीलाई उल्टै अनेक थरी उपचारको नाममा भएभरको पैसा लुटेर निष्प्राण बनाउने गिद्ध हुन्छन् । हस्पिटलमा पुगेको बिरामीको अनुहार गिद्ध देखेर पर्सिएका बोकाको जस्तो हुन्छ कहिले मारिने हो ठेगान छैन । भर्ना हुनलाई नै लाखौँको धरौती राख्न लगाई लुछाचुँडी गर्न हरदम तम्तयार भएर बसेका हुन्छन् । महामारीजस्तो आपतलाई अवसरमा बदल्न हरबखत तयार भएर बसेका कालाबजारीरूपी गिद्ध उस्तै गरी उपभोक्ताको बाध्यताको मौका छोप्ने दाउ खोजिरहेका हुन्छन् । यति भन्दै गर्दा कहिलेकाहीँ त यिनीहरूलाई गिद्ध भनेर साँच्चैको गिद्धको अपमान त गरिरहेका छैनौँ भन्ने लाग्छ । वास्तवमा गिद्ध लोभी हुँदैन बरु पर्यावरणलाई बचाइरहेका हुन्छन् । कोरोनाभन्दा गिद्धरूपी मानिससँग डराउनु पर्ने अवस्था आयो । जहाँसम्म आँखा पुग्छ त्यहाँसम्म मुनाफाखोर देखिन्छ । शिक्षा स्वास्थ्यजस्ता मानिसको लागि अति आवश्यक सेवालाई समेत निजीकरण गर्दै लाने राजनीतिक पार्टीको घैँटोमा कहिले घाम लाग्ने होला ।
केविनको फोटोमा रहेको गिद्ध त मान्छे मरेपछि मात्र लाशमाथि आँखा गाड्छ तर यो कोरोना कालमा यस्ता गिद्धहरू पनि देखिँदैछन् जो मान्छे मर्नुअघि नै लुछाचुँडी गर्न तम्तयार भएर बसेका हुन्छन् । कोही ५ सय मूल्य पर्ने कोरोनाको औषधि २० हजारमा बेचिरहेका छन् भने कोही त रेमडिसिभरको नक्कली स्टीकर टाँसेर १ हजार पर्ने औषधिलाई दशौँ हजारमा बेचिरहेका छन् । यस्तो मौका छोप्न पल्केका गिद्धहरू बिरामीको लागि नभई नहुने अक्सिजनसमेत लुकाएर कालोबजारी गरिरहेका छन् । अर्को थरी गिद्ध हस्पिटलमा बसिरहेका हुन्छन् । प्राण बचाउन आउने बिरामीलाई उल्टै अनेक थरी उपचारको नाममा भएभरको पैसा लुटेर निष्प्राण बनाउने गिद्ध हुन्छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *