भर्खरै :

शिक्षक सम्मान

आज एकाबिहानैदेखि विनोदको मुहारमा खुसीको किरण देखिन्छ । आफ्नो जीवनका स्वर्णिम दिनहरू बिताएबापत आधारभूत विद्यालय समितिको तर्फबाट सम्मान कार्यक्रम तय गरिएको छ । समितिअन्तर्गतका बाइस जना अवकाश प्राप्त शिक्षकहरूलाई सम्मान गरिने उक्त सम्मान कार्यक्रममा प्रमुख अतिथि, अग्रज आदरणीय शिक्षकहरूसँगै आफू पनि मञ्चमा आसीन हुन पाउने निमन्त्रणाले हर्षित छ ।
निधारमा सगुन, गलामा फूलको माला, हातमा सम्मान–पत्र र काँधमा दोसल्ला सजाउँदा विनोदले आँखा रसाउन थाले । विगतमा विद्यालयमा बिताएका रमाइला क्षणहरू सम्झन्दै सपनाको सागरमा उनी डुब्न थाले । जन्मपछि मृत्यु अवश्यम्भावी भएजस्तै शिक्षण सेवामा प्रवेशपछि सेवाबाट निवृत्त हुनु पनि स्वाभाविकै हो भन्दै उनले मनलाई चित्त बुझाए ।
सभामा प्रमुख अतिथिले भन्नुभयो, “शिक्षकहरू देशको लागि आवश्यक जनशक्ति उत्पादन गर्ने प्रमुख जनशक्ति हुन् । सभ्य र सुसंस्कृत समाज निर्माण गर्न र राष्ट्रको समृद्धिको निम्ति शिक्षकको अहम् भूमिका रहेको हुन्छ । पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको जोश र जाँगरले शैक्षिक क्षेत्रमा फड्को मार्न सहज हुन्छ । ”
उद्घोषकले शैक्षिक अनुभव बताउन सम्मानित शिक्षक विनोदलाई अनुरोध गरे । विनोदले आफ्नो शैक्षिक अनुभव बताउँदै भने, “मैले ३२ वर्षभन्दा बढी समय शिक्षण सेवामा बिताएँ । यस दौरानमा धैरै तीता मीठा अनुभवहरू चाखेको छु । आरोह अवरोह पनि पार गरेको छु । घोडा चढ्ने लड्छ, हिसाब गर्ने भुल्छ । कामको सिलसिलामा अनजानमा भूल हुनसक्छ । शत्रुले कमजोरीमा प्रहार गर्छ । घाउमा नुन र खोर्सानी छर्किएको हुन्छ । मित्रले आलोचना गरी सुमार्गतिर ल्याउने प्रयास गर्छन् । घाउमा मलम लगाउने गर्छ । यद्यपि, आफूले तन, मनका साथ विद्यालयको हितको लागि काम गरिरहेको छ भने मन सानो गर्नु पर्दैन । फूलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार हुने गर्छ ।
आज मैले पढाएका विद्यार्थी डाक्टर सुनिताले अस्पतालमा नमस्ते सरभन्दा, इन्जिनियर ज्योतिले कार्यालयमा मीठो बोल्दा, कलेजमा उप–प्राध्यापक सञ्जीवले नम्र बोल्दा, वकिल निरुताले बाटोमा नमस्ते गर्दा, जनप्रतिनिधि रोजीनाले वडा समितिमा शिष्ट व्यवहार अनि समाजमा मलाई विनोद सर भनेर आदर र मायालु व्यवहारको अनुभूति गर्न पाउँदा मलाई आनन्द लाग्छ । मेरो मन प्रफुल्ल हुन्छ । जीवनमा शिक्षक भएर धन कमाउन नसके पनि मन त मैले कमाएको रहेछु । धन्यवाद !” भन्दै उनले आफ्नो कुरा टुङ्ग्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *