भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
भक्तपुर, १५ जेठ । ख्वप अस्पतालको निम्ति स्वास्थ्य उपकरण तथा सामग्री खरिदको निम्ति सहयोग सङ्कलन गर्न बासु माविका पूर्वविद्यार्थीहरूले पहल थालेका छन् ।
बासु माविबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका विद्यार्थीबीच शुक्रबार साँझ भएको अनलाइन बैठकमा भनपाको कोभिड कोषमा सहयोग गर्नेबारे छलफल भएको हो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् बासु मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोजराज गोसाईले भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने ख्वप अस्पताल किसान तथा मजदुरको सहयोगबाट बन्ने नमुना अस्पताल हुने बताउनुभयो ।
भक्तपुरको निम्ति अत्याधुनिक अस्पतालको आवश्यकताबोध गरी भनपाले ख्वप अस्पताल सञ्चालन गर्न लागेको भन्दै जनघनत्वको हिसाबमा भक्तपुर नगरलाई अस्पतालको बेड अपुग भएको चर्चा गर्नुभयो । उहाँले भनपाले विदेशीको सशर्त अनुदान कहिल्यै स्वीकार नगर्दा सकारात्मक प्रतिक्रियाहरू सुनिएको भन्दै आर्थिक विषयमा नगरपालिका पारदर्शी भएकोले जनविश्वास बढेको धारणा राख्नुभयो ।
भनपाले सञ्चालन गरेको जनस्वास्थ्य केन्द्रका इन्चार्ज एवम् विद्यालयका पूर्वविद्यार्थी सङ्घका संयोजक डा. रत्नसुन्दर लासिवाले भनपाले सञ्चालन गरेका जनस्वास्थ्य केन्द्र, कोभिड एकाइ, आकस्मिक कक्ष र आइसोलेसन केन्द्रमा भक्तपुर बाहिरका धेरै बिरामीले उपचार पाइरहेको भन्दै कोभिड नियन्त्रणमा सबै सचेत समुदायको उत्तिकै भूमिका रहने विचार राख्नुभयो ।
बासु माविका पूर्वविद्यार्थी डा. सत्यनारायण सुवालले सहयोगको संस्कृतिले सभ्य समाज निर्माणमा सकारात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो ।
विद्यालयका प्राचार्य अम्बिका न्याइच्याईले नयाँ पुस्ताको सक्रियताबाटै कोभिड महामारी नियन्त्रणमा सफलता पाउन सकिने धारणा राख्नुभयो ।
कार्यक्रममा बासुका पूर्वविद्यार्थीले ख्वप अस्पताल निर्माणको निम्ति आवश्यक सहयोग गर्ने तत्परता देखाउनुभएको थियो ।
Leave a Reply